बीपीले राजा महेन्द्रलाई फुटबलमा हराएको त्यो दिन

बीपीले राजा महेन्द्रलाई फुटबलमा हराएको त्यो दिन

राणाकालमा उनीहरूको मनोरञ्जनका लागि फुटबल खेल नेपाल भित्र्याइएको थियो । तर यहाँ फुटबलले कहिले प्रवेश पायो र यसलाई औपचारिक रूपमा कसले भित्र्याए भन्ने कुरा प्रस्ट फेला पर्दैन । हेमन्तशमशेर राणाद्वारा प्रस्तुत नरशमशेरको जीवनीमा भारतमा पढ्न गएका जंग थापा र नरसिंह राणाहरूबाट सर्वप्रथम फुटबल खेल नेपालमा भित्र्याइएको हो भनिएको छ । अध्ययनका लागि भारतका विभिन्न सहर पुगेका राणाद्वयले भारतीयहरूसँग उतै फुटबल सिके ।

Bishnu-Thapa_4नेपाल फर्किएसँगै फुटबल कौशल लिएर आए । नेपालमा कुनै पनि काम गर्नुअघि राणाहरूको अनुमति लिनुपर्ने त्यो बेला उनीहरूले फुटबललाई सोखका रूपमा आफ्नै प्रांगणभित्र नै सीमित राखे । तर टिम भने तयार भइसकेको थियो ।

रोलक्रमका राणाहरूको सक्रियताबाट फुटबललाई दरबारको प्रांगणबाट खुला मैदानमा ल्याउने काम भएको थियो । यस काममा मुख्य रूपमा जनरल नरशमशेर राणाले अहम् भूमिका खेले । उनले आफ्नो जावलाखेल दरबारभित्र महावीर टिम तयार पारेका थिए । तर महावीर टिम तयार गर्नमा प्रमुख श्रेय भने गुणशमशेरको रहेको थियो । यसैगरी चारबुर्जाको ठमेल टिम, लालदरबारको लाहुरे टिम र विशालनगर दरबारको वसन्तशमशेरको टिमबीच दरबारभित्रै प्रतिस्पर्धा हुने गरेको नरशमशेरले आफ्नो जीवनीमा उल्लेख गरेका छन् ।

ठमेल टिम केशरशमशेरका जेठा छोरा साम्राज्य शमशेरले तयार पारेका थिए । रोलक्रमका राणाका दरबारमा हुने फुटबल प्रतिस्पर्धामा विजयी हुने टोलीलाई पुरस्कारको व्यवस्था पनि गरिएको हुन्थ्यो । मूलतः एउटा टिमले अर्को टिमलाई प्रतिस्पर्धाका लागि आमन्त्रण गर्दथ्यो । खेलमा पराजित टोलीले खसी बुझाउनु पर्थ्यो । पराजित टोलीले केही समयपछि अर्को टोलीलाई अर्को प्रतिस्पर्धाका लागि निम्त्याउने गर्थ्यो।

त्यसबेलासम्म अन्तर्राष्ट्रिय फुटबलमा 'होम एन्ड अवे' सिस्टम लागू भइसकेको थिएन । तर नेपालमा भने राणाहरूको दरबारभित्र यसको सुरुआत भइसकेको थियो । बाहिर खुला ठाउँमा खेल्दा बूढापाका र राणाशासनलाई अगाडि बढाउँदै आएकाहरूले मन नपराउने भएकाले फुटबलका सौखिन राणाहरूले त्यसलाई दरबारभित्रै सीमित राखेका थिए ।

एक पटक अहिलेको छाउनी ब्यारेकको मैदानमा महावीर र ठमेल टिमबीच फुटबल खेल चलिरहेको थियो । रोलक्रमका राणाहरूले थाहा पाउँलान् भनेर एउटा ढिस्कोमा पहरेदार राखेर खेलिरहेका थिए । पहरेदारको काम रोलक्रमका वा बहालवाला कोही राणाहरू आउँछन् कि भनेर सूचना दिनु थियो । खेल रोमाञ्चक मोडमा पुगेको थियो । त्यहीबेला श्री ३ चन्द्रशमशेर बग्गीमा सवार भएको सूचना पहरेदारले दिए । त्यसपछि फुटबल खेलिरहेका सबैले हतारहतार कपडा फेरेर फुटबललगायतका सामग्री ब्यारेकको पोखरीमा लुकाएर श्री ३ को चाकरीमा पुगेको वर्णन नरशमशेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

त्यो दिन काठमाडौंका गल्लीहरू सुनसान थिए । बीपी कोइराला र राजा महेन्द्रको टोलीबीचको ऐतिहासिक फुटबल खेल हेर्न धेरै मानिस रंगशालामा ओइरिएका थिए । बीपी आफैंले गोल ठोकेर महेन्द्रलाई हिस्स पारेका थिए ।

त्यसबेला गोपालशमशेर, श्यामशमशेर, धैर्यशमशेर, विक्रम शाह, नरशमशेर, गोविन्दमान, नीरशमशेर, इन्दुशमशेर र गोलकिपरमा लोकविक्रम शाह राम्रा खेलाडी रहेको वरिष्ठ लोकगायक कुमार बस्नेतका बुवा गंगाबहादुर बस्नेतले फुटबल संग्रहालयद्वारा प्रकाशित स्मारिकामा आफ्नो संस्मरणमा भनेका छन् । सुरुमा गोलकिपरबाट फुटबल खेल्ने गरेका गंगाबहादुरले वसन्तशमशेरले गोलकिपर छाड्न दबाब दिएपछि डिफेन्सबाट खेल्न थालेको संस्मरणमा बताएका छन् ।

१७ भदौ २००३ नेपाली फुटबलका लागि महत्वपूर्ण दिन मानिन्छ । टुँडिखेलको खरीबोटनजिकै (अहिले आर्मी अस्पताल रहेको स्थानमा) बाँसको पोल गाडेर पहिलो पटक आधिकारिक रूपमा फुटबल प्रतियोगिता आयोजना भएको थियो । जुद्धशमशेरले सुरु गरेको रनिङ सिल्ड प्रतियोगितामा ठमेल-११, दरबार हाइस्कुल, वसन्तशमशेरको टिम र नरशमशेर राणाको महावीर टिम थियो ।

यो प्रतियोगितालाई त्यसबेला निकै महत्वका साथ हेरिएको थियो । किनभने राणाहरूले प्रतियोगितालाई आफ्नो प्रतिष्ठाका रूपमा लिएका थिए । प्रतियोगितालाई जसरी पनि जित्नुपर्ने अभियानमा राणाहरू थिए । त्यही भएर नरशमशेरले त्यसबेलाका राम्रा खेलाडीलाई समावेश गरेर टिम बनाएका थिए । त्यतिमात्र नभई त्यसबेलाका भारतका चर्चित खेलाडी लक्ष्मीनारायणलाई नेपालमा बोलाएर प्रतियोगितामा सहभागी चारै टोलीलाई विशेष प्रशिक्षण दिएका थिए । फाइनलमा नरशमशेरको टिमले वसन्तशमशेरको टिमलाई पराजित गर्दै उपाधि जितेको थियो । सो दिन खेल हेर्न राणाका उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा उपस्थित भएका थिए ।

नेपाली फुटबलकै कुरा गर्नुपर्दा १५ कात्तिक २०१६ लाई पनि महत्वपूर्ण दिनका रूपमा हेरिँदै आएको छ । त्यो दिन नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्र शाह फरक टोलीको क्याप्टेन भई काठमाडौंको दशरथ रंगशालाको फुटबल मैदानमा उत्रिएका थिए ।
त्यसबेला प्रधानमन्त्री बीपी र राजा महेन्द्रबीच ठूलै खटपट थियो । बीपी प्रधानमन्त्री होऊन् भन्नेमा राजा महेन्द्र थिएनन् । तर चुनावमा नेपाली कांग्रेसले बहुमत ल्यायो र बीपी प्रधानमन्त्री बनेका थिए।

राजा महेन्द्र र बीपीबीच फुटबल खेल हुँदैछ भन्ने हल्ला एक साताअघि नै काठमाडौंमा फैलिइसकेको थियो । काठमाडौंका चोकचोकमा यही विषयमा हरेक दिन चर्चा हुन्थ्यो । खेल हुने दिन १५ कात्तिकमा काठमाडौंका गल्लीहरू सुनसान थिए । त्यो ऐतिहासिक खेल हेर्न धेरै मानिस रंगशालामा भेला भएका थिए।

महेन्द्रको टोलीमा सुवर्णशमशेर राणा, रंगविक्रम शाह, युवराजद्वय हिमालय र बसुन्धराविक्रम शाह, राजा महेन्द्रका एडीसी शेरबहादुर मल्ल, लोकविक्रम शाह, नरशमशेर, नीरशमशेर, हरिविक्रम शाह, सुरेन्द्रशमशेर राणा थिए । यस्तै बीपीको टोलीमा होराप्रसाद जोशी, तुलसी गिरी, भरतशमशेर राणा, जमानसिंह गुरुङ, डा. त्रिवेणी प्रधान, महेश्वरशमशेर राणा, प्रकाशचन्द्र ठाकुर, सुरेन्द्रबहादुर शाह, रोमविक्रम थापा र धीरविक्रम शाहलगायतले खेलेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा प्रधानमन्त्री बीपीको टिम विजयी भयो । प्रधानमन्त्री-११ ले १-० गोलले जित्दा बीपी कोइरालाले नै गोल गरेका थिए । बराबरीतर्फ उन्मुख खेलको अन्त्यतिर राष्ट्रिय खेलकुद परिषद्का पहिलो सदस्यसचिव होराप्रसाद जोशीको पासमा गोल गरेका थिए उनले ।

दशरथ रंगशालामा फुटबल भएको ५८ वर्ष पुगेको छ । त्यो प्रतियोगिता नेपाली फुटबल खेलका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिँदै आएको छ । यही प्रतियोगिताका कारण पनि नेपाली फुटबलको विकासमा योगदान पुगेको मानिन्छ । उक्त खेलमा हार बेहोरेको १४ महिनापछि नै राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपीलाई अपदस्त गर्दै सत्ता आफूले लिएका थिए।

यसैगरी नेपाली फुटबलले पहिलो पटक सन् १९८२ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । सन् १९८२ नोभेम्बर २० का दिन भारतको नयाँदिल्लीको जवाहरलाल नेहरू रंगशालामा नवौं एसियाली खेलकुदमा नेपालले पहिलो पटक फुटबल टोली पठाएको थियो । कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भयो ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पराजय बेहोरे पनि नेपालले नयाँ कीर्तिमान बनाएको थियो । नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै गोल गरेको थियो । नेपाली टोलीबाट मिडफिल्डमा खेलिरहेका वाईबी घलेले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९८४ मा जित्यो । काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.