सगरमाथामा सूर्योदय
वरुण दाइका जिन्दगीका अनेक अनुभव सुन्दै र हँसिमजाक गर्दै अन्ततः हामी लमजुरा पास पुग्यौं। उहाँले त्यहाँ होटलमा गज्जबको सेन्तेरेम पाइन्छ भनेर लोभ्याएकाले जे त पर्ला पर्ला भनेर सेन्तेरेम मगाएर तीन चार गिलास घटघट खाइयो, बडो मज्जा आयो। चिसो लेकको आलु उसिनेर अकबरे खुर्सानीसँग खान पाउँदाको आनन्द त्यही पुगेर खानेलाई मात्र थाहा हुन्छ।
हामीले त खायौं, केशव भाइ र लउरा कहाँ आइपुगे अत्तोपत्तो थिएन। लमजुरामा खाजा खाएर हिँड्नै लाग्दा उनीहरू बल्ल आइपुगे। ल खाजा खानु, धेरै बेर अलमल नगर्नु, बास बस्न जसरी नि जुनबेसी आइपुग्नु भनेर हामी निस्कियौं। लउरा थकित देखिन्थी तर न कुर्न सकिन्थ्यो, न बोक्न। हामी सबैलाई हिँडेर निर्धारित गन्तव्यमा पुग्नुबाहेक दोस्रो विकल्प थिएन। आफ्नो सट्टा अर्कोले हिंडिदिएर हुँदो रैनछ, आफ्नो यात्रा त आफैंले पूरा गर्नुपर्दो रहेछ भन्ने आत्मज्ञान त्यो दिन गहिरोसँग प्राप्त भयो। हजार मिटर उक्लेको हामीलाई अब जंगल नै जंगल झरेर जुनबेसी पुग्नु थियो। जंगलमा यदाकदा चरिरहेका चैाँरी र फाट्टफुट्ट मान्छे भेटिन्थे। झम्के साँझपछि बल्ल हामी जुनबेसी पुग्यौं र होटलमा बास बस्यौं।
हामी बसेको होटलका साहुनीका आठ वर्षीय छोरा र चार वर्षीया छोरी रैछन्। हामी तल खाना खान झरेपछि उनीहरू हाँसखेल गर्न थाले। नाचगान गर्न खप्पिस रैछन्। अनेक गीतमा नाचेर अनि गाउँखाने कथा सोधेर मनोरञ्जन गराए। दिनभर हिँडेको थकाइ एकैछिनमा कता हरायो कता। साढे ८ बज्न लाग्दा केशव र लउरा आइपुगे। केही खाऊ तिमीलाई सजिलो हुन्छ भन्दा पनि लउराले खान मानिन। सरासर गएर कोठामा घप्लक्क सुती। सायद उसले आफ्नै देशको तवरले खाएको भरले पुग्छ भनेर बेवास्ता गरी। राम्रोसँग खानपानमा ध्यान नदिँदा ऊ थलिएकी थिई।
अर्को दिन हामीलाई दिनभर हिँडेर नुनथला पुग्नु थियो। नक्सामा हेर्दा त्यस दिनको बाटो अलिक तेस्रो र सजिलो छ कि जस्तो लागेर लउरालाई आज त सजिलो जस्तो छ, चिन्ता नगर भनेका थियौं। उकालो धेरै छैन भन्ने कुराले ऊ खुसी भएकी थिई तर जुनबेसीबाट पारिपट्टि पुग्न नपाई उकालो सुरु भइहाल्यो। त्यो आउनासाथ लउरा खुइय्य गर्न थालिहाली। त्यो दिन हिँड्ने बाटोनजिकै फाप्लु विमानस्थल पथ्र्यो। लउरा हिँड्नै नसक्ने भए, कि त्यतैबाट फिर्ता पठाइदिने त भनेर पनि सल्लाह गर्यौं तर त्यहाँ पुगेर कसले सबै कुरा मिलाइदिने। कसको जिम्मा लगाएर पठाउने भन्ने भयो।
केशवलाई लउरासँग विस्तारै आउनु है भनेर त्यो दिन पनि हामी अघिअघि लम्किरह्यौं। त्यो दिन नुनथलामा कुन होटलमा बस्ने भन्ने टुंगो लागेको थिएन। बाटोमा कहिले चिज किनेर खाँदै झरनामा खेलेर रमाउँदै हामी एकनास हिँडिरह्यौं। तीन घन्टा जतिको बाटो समथर र ओरालो नै रैछ। रिङ्मुको उकालो चढ्नुअगाडि पुलमा बसेर हामीले झोलामा भएको भुजिया खायौं। एक घन्टामा पुगिन्छ भनेर लेखेको भए पनि अब दुई घन्टा उक्लेपछि कसो ट्याकसिन्डु डाँडाको टुप्पोमा नपुगिएला त भनेर हामी कस्सेर हिँड्दै थियौं, अचानक घनघोर वर्षा भयो।
ओत नलागी सुखै पाइएन। झन्डै आधा घन्टामा पानी रहेपछि फेरि उक्लिन थाल्यौं। उकालो बाटो त्यहीमाथि खच्चर हिँडेर बिगारेको र भर्खर पानी परेर बाटैबाटो ठूलो भेल आइरहेको थियो। अलि माथि पुगेपछि फेरि पानी दर्किन थाल्यो। मान्छे हिँड्ने बाटैबाटो खोलैजत्रो भेल बगेको छ, खुट्टा टेक्ने ठाउँ छैन। आज भेलले नै बगाएर पो लैजान्छ जस्तो भइसक्यो। लउरा कता आइपुगी होली, त्यसको हालत झन् के भो होला। यो बाटो कसरी उक्लेर आउली। ४ बज्न लागिसक्यो। नुनथला पुग्न अझै तीन घन्टा लाग्ला भन्ने अनुमान छ। आज जंगलकै बास होला भन्ने पीर लाग्यो।
भेलसँग जुध्दै चिप्लँदै लड्दै अन्ततः ५ बजेतिर ट्याक्सिन्डुको टुप्पोमा पुगियो। त्यहाँ बस्ने व्यवस्था थियो तर हाम्रो गन्तव्य नुनथला थियो। हरेश खाएर बहकिन थालियो भने पछिल्ला दिनमा पनि बानी बिग्रने डर हुन्छ। अरूले पनि अब दुई घन्टा ओरालो झरेपछि पुगिन्छ भने। भेलले बगाएको, भत्काएको चिप्लो ओरालो बाटो हिँड्न झनै सास्ती भो। जंगलको बाटो हेर्दा त्यहीँ तलजस्तो देखिन्छ तर घुमाउरो बाटो कहिल्यै नसकिने।
फेरि सिमसिम पानी पर्न थाल्यो। अँध्यारोमा टर्च बाल्दै सवा ७ बज्न लाग्दा एक होटलमा बास माग्न पुगियो। आफू त जेनतेन आइयो, सहकर्मी कता पो आइपुगे होलान् भनेर मनमा हुटहुटी चलेको चल्यै छ। त्यो भेलमा र ओरालोमा लउराको हालत के भो होला ? भारी बोकेर हिँडेको केशवलाई लउरासँग हिँड्न कति मुस्किल भो होला। कतै चिप्लेर पो लडी कि, अनेक कुरा मनमा आइरहे। फोन गर्यो, मरिकाटे लाग्दैन। हामीले भात खाएर कुरेर बस्यौं। अन्ततः १० बज्न लाग्दा पनि नआएपछि साहुजीलाई यतै खोज्दै आए भने भात खान दिनु बसाउनु भनेर हामी कोठामा गयौं।
राति अचानक २ बजेतिर विनीताले बोलाई। मलाई त निदै्र लागेन, के गर्ने होला भनी। अब जे भयो भयो बिहान उज्यालो भएपछि खोजौंला सुत भनेर ढाडस दिएँ। तर निद्रा त मलाई पनि कहाँ लागेको थियो र ! लउरा र केशव कता गए, बास बस्न नुनथला आइपुगे कि पुगेनन्। केही थाहा भएन।
बिहान ६ बजेतिर विनीता मुख धुन बाहिर निस्कँदा अचानक केशवसँग बोलेको सुनियो। ऊ पनि हामीलाई यता छौं कि भनेर खोज्न आएको रैछ। ऊ राति १० बजेतिर आउँदा हामी बसेको होटलको ढोका बन्द थियो रे, त्यसैले नसोधी अलि तल गएर बसेछ। धन्न प्रभु ! आइपुगेछन् भनेर सन्तोषको लामो सास फेरियो। नास्ता खाएर होटलबाट निस्कियौं र लउरा बसेको ठाउँमा गयौं। ऊ निस्लोठ भएर सुतेकी थिई। ऊ ज्यादै थाकेकी र झन्झन् गलेकी थिई। ऊ अब जान सक्दिन भन्दै थिई। अब दुई दिन हिँडेपछि लुक्ला पुगिन्थ्यो।
कमसेकम त्यहाँसम्म पुर्याउन पाए प्लेन टिकट सारेर भए पनि काठमाडौं फर्काइदिन हुन्थ्यो भन्ने थियो। उसलाई हामीले केही समय आराम गर्नु तर विस्तारै भए पनि हिँड्नचाहिँ पर्छ भनेर बल्लबल्ल मनायौं। बाध्यता यस्तो थियो कि उसलाई एक्लै छोड्न पनि सकिन्नथ्यो। एक दिन कुर्न पनि सकिन्नथ्यो। ल केशव केही खुवाएर बिस्तारै भए पनि बुप्सासम्म ल्याउनु है भनेर हामी नुनथलाको ओरालो झर्यौं।
तल फेदीमा मेरो मनजस्तै दूधकोसी पनि उर्लेर बगिरहेको थियो। दूधकोसी कटेपछि तीन घन्टा उकालो चढेर खरीखोला पुग्यौं र खाजा खायौं। अब पारिपट्टि डाँडामा बुप्सा देखिन्थ्यो। दुई घन्टामा पुगिन्छ भनेपछि ढुक्क भइयो। त्यो दिनचाहिँ ५ बजे नै बुप्सा पुग्यौं र बाटै छेउको सुरुकै होटलमा बस्यौं। खाना खायौं, १० बज्यो तर केशव र लउरा आज पनि आइपुगेनन्। साहुजीले अब आउन्नन् तलतिर बसे होलान् भन्दै थिए तर के विश्वास बढेको थियो भने केशवले जसरी पनि ल्याइपुर्याउँछ, ढोका खोल्दिनु है भनेर हामी सुत्यौं। कतिखेर आए थाहा भएन तर बिहान उठ्दा ढोकाबाहिर केशवले बोकेको भारी बिसाइएको थियो। मन खुसी भयो।
हरेक दिन ढिलोमा ८ बजेभित्र हिँडेन भने गन्तव्यमा पुग्न गाह्रो पथ्र्यो। त्यस दिन पनि लउरा अब हिँड्नुपर्छ भनेर सम्झाउन गयौं तर अब उसले हरेश खाइसकेकी थिई। अब म सक्दिनँ हेलिकोप्टर मगाइदेऊ फर्किन्छु भनी। बीमा कम्पनीले मेरो खर्च बेहोर्छ भनी। उसले अब सक्दिनँ नै भनेपछि हामीले होटल साहुजीलाई कहिलेलाई मिल्छ हेलिकोप्टर मगाइदिनु। यताबाट नमिले मेरो साथीलाई काठमाडौंमा फोन गर्नु मिलाइदिन्छ भनेर आश्वस्त पारेँ। लउरा त्यहीँबाट फर्कने भई।
नरमाइलो लाग्यो। जिन्दगीमा चाहेर पनि कसैलाई अन्तिमसम्म साथ दिन सकिन्न रैछ भन्ने पुनः आत्मबोध भयो। कम्तीमा नाम्चेसम्म पुगेकी भए राम्रोसँग हिमाल हेर्न पाउँथी भन्ने थियो। लउरासँग बिदा मागेर निस्कियौं। अब उसको पीर गर्न परेन भनेर खुसी पनि लागेको थियो, सँगै लान सकिएन भनेर दुःख पनि लागेको थियो। बाहिर निस्कँदा केशवले बनाइदिएको लउराले टेकेर आएका दुइटा लौरा रैछन्। लउरालाई लान नसके पनि उसले यहाँसम्म टेक्दै आएको लौरोलाई चाहिँ सगरमाथा देखाएर ल्याउँछु भनेर टेक्दै अघिअघि लागेँ।
लुक्ला मुन्तिर पुग्दानपुग्दै होटल साहुजी ग्याल्जेन दाइले लउरालाई काठमाडौं उडाएको खबर सुनाए। त्यो दिन हाम्रो सकेसम्म फाक्दिङ नभए छिप्लुङ पुगेर बास बस्ने योजना थियो। झमक्क साँझ ढलेपछि छिप्लुङचाहिँ बल्लबल्ल पुगियो। साहुनीले छिटै खाना खुवाइन्। भोलिपल्ट नाम्चेमा साँझ ढल्नुअघि नै पुग्यौं। हामी लगालग हिँडेको सात दिन भएको थियो। एक दिनचाहिँ आराम गरौं भनेर भोलिपल्ट नाम्चेमै नुहाइधुवाइ गरेर बस्यौं। बिहान उठ्दा थामसेर्कु हिमाल हाँसिरहेको थियो।
अलिपछि भ्यु टावर उक्लेर सगरमाथा र अन्य हिमाल हेर्न गयौं तर बादल लागेर सगरमाथा देखिएन। त्यसको भोलिपल्टको यात्रा त्याङ्बोचेसम्म पुग्ने थियो। नाम्चेको होटलका दाइ छिरिङले अगाडिका दुई बास बस्ने ठाउँ पक्का गरिदिएका थिए। झललल्ल टल्केका हिमाल, सयौं पर्यटकका लावालस्करले अबचाहिँ हिँड्नुको मज्जा बेग्लै थियो। जति फोटो खिचे पनि धित मर्दैनथ्यो। त्यो दिनको बाटो तेर्सैतेर्सो र ओरालो थियो तर तेङ्बोचे पुग्न एउटा डाँडा उक्लनुपर्ने रैछ।
टन्टलापुर घाम चर्केको थियो। पानी परे पनि सुख छैन, घाम चर्के पनि मान्छेको मनलाई मौसम पनि ठ्याक्क आफूले खोजेजस्तो चाहिँदोरैछ। आधा उकालो नसक्किँदै बोकेको पानी सक्कियो। घाँटी प्याकप्याक भइसक्यो पानीको मुहान धारा कहीँ भेटिन्न। अरूसँग मागे उनैलाई नपुग्ला, फेरि के भन्ने हुन् जस्तो हुने।
एकजना नेपाली गाइडको झोलामा नखोलेको एक बोतल पानी देखेँ। दाइ एक घुट्को पानी दिनु न कस्तो गाह्रो भो भनेर मागिहालेँ। तर, उनले मैले खोलेकै छैन, दिन मिल्दैन भनेर दिएनन्। हस् त हस् धन्यवाद भनेँ। जिन्दगीमा एक घुट्को पानी माग्दा पनि पाइएन, ए मानिस यस्तासम्म हुँदारैछन् भन्ने भयो। अब अरूसँग माग्ने हिम्मत नै आएन। एकजना भरियाले अब आधा घन्टा हिँडेपछि पानीको धारो छ भनेपछि त्यही पानी सम्झँदै आफूलाई घिसारिरह्यौं। २ नबज्दै ३,८७६ मिटर उचाइमा रहेको होटलमा पुग्यौं।
हाम्रो यात्रा बिस्तारै उक्लिँदै थियो। हिँड्न सके पनि एकै दिन एकैचोटि माथिमाथि हिँडे लेक लाग्ने डर हुन्थ्यो। त्यसैले वातावरणसँग घुलमिल हुँदै जानु बाध्यता थियो। धेरै ठाउँमा एक छाक सादा भात खाएको कम्तीमा ६ सय पथ्र्यो। २०० एमबी डेटा प्याक भएको इन्टरनेट पनि ६ सय नै। तातोपानी एक लिटरको ३००, तातोपानीले नुहाएको ३०० देखि ५०० र मोबाइल चार्ज गरेको ३०० देखि ८०० रुपैयाँ सम्म लेखिएको थियो।
सकेसम्म खाने तातोपानीको हामी नेपालीलाई त नलिनु है भनेर अनुरोध गथ्र्यौं तर कहीँ त लिएरै छाड्थे। हरेक होटलको कोठामा बत्ती हुन्थ्यो तर चार्ज गर्न मिल्ने ठाउँ हुन्नथ्यो, ताकि सबैले काउन्टरमा चार्ज गर्न ल्याऊन् र पैसा असुल्न सकियोस्। यसरी पानीको छुट्टै, चार्ज गरेको छुट्टै पैसा लिएर ठगेको हो कि भन्ने बनाउनु साटो कोठाको प्याकेजमै समावेश गर्न सके राम्रो सन्देश जाने थियो। नेपाली पर्यटकको हकमा पनि एउटै मूल्य कायम गर्नु न्यायसंगत देखिएन।
सिजनमा चल्ने र लाखौं कारोबार गर्ने अधिकांश होटल दर्ता नै नभएका र करको दायरामा आएको देखिएन। खुम्बु क्षेत्रको संरक्षणका लागि ठाउँठाउँमा प्लास्टिक र अन्य फोहोर संकलन गर्ने ससाना छाप्रा बनाइएका थिए। ठाउँठाउँमा चर्पी, पानीको धारा र प्राथमिक स्वास्थ्यकेन्द्र भने देखिएन।
हाम्रो तीनवटा पास पनि छिचोल्ने योजना थियो। अर्को दिन डिङबोचबाट हिँड्ने दिन बिहानै पानी पर्यो। त्यहाँबाट छुकुङ हुँदै कोङमा ला पास हुँदै भोलिपल्ट लोबुचे पुग्ने धोको थियो। तर, हिमनदी फुटेर बाटो बिग्रेको छ भन्ने होटलका साहुजीले भनेपछि जोखिम मोल्ने साहस गरेनौं। प्लास्टिक ओढ्दै सोझै लोबुचेतर्फ लाग्यौं। जतिजति उचाइतर्फ लाग्यौं, उतिउति हिँड्न गाह्रो हुन्थ्यो।
अक्सिजनको कमीले गर्दा हेर्दा सम्मै ठाउँ देखिए पनि पाइला छिटो सर्दैनथे। अरूले पाइला सारेको देख्दा आफूलाई हाँसो लाग्थ्यो, सायद अरूलाई नि त्यस्तै हुँदो हो। लोबुचे नपुग्दै बाटोमा एकजना नेपाली युवतीलाई लेक लागेर दुईजना साथीले समातेर तल झार्दै रहेछन्। त्यो दृश्य देखेपछि एकछिन त कतै मलाई पनि लेक लाग्ने हो कि क्या हो भन्ने रन्को हान्यो। एकफेर लामो सास फेरेर आफूलाई जाँचे। ठीक छु, सक्छु भनेर आत्मबल भरेँ। लोबुचे बसेको साँझ एक हजार रुपैयाँ तिरेर हेलिकोप्टर चढेर आएको कुखराको मासु र भात खाएर भुक्लुक्क सुतियो।
भोलिपल्ट चार घन्टा हिँडेपछि अन्तिम बासस्थल गोरखसेप पुगिन्थ्यो। बिहानको नास्ता खान लाग्दा रोहितले सन्चो नभएको जस्तो कुरा गर्यो। लौ केटोले बितायो भन्ने भयो। बाहिर चिसो हावामा एकछिन बस् भन्यौं। कर गरेर भए पनि अलिअलि खायो। उसले जान सक्छु भनेपछि हामी विस्तारै लेक लाग्नबाट बच्न लसुनको पोटी खाँदै पाइला लतारिरह्यौं। १२ बज्न लाग्दा गोरखसेपको कोठा भनेको हिमालय होटलमा पुग्यौं तर हामी चाँडो आइपुगेनम् भनेर गोराहरूलाई दिइसकेछन्।
अन्त बुझ्न लगाउँदा पनि खाली छैन भनेपछि अब एउटा अँध्यारो कोठा मात्र बाँकी छ, हुने भए बस्नुस् भने। विकल्प भए पो रोज्नु ! मर्नुभन्दा बौलाउनु निको, लौ सुत्नसम्म भए नि पाइयो भनेर पोकापुन्तरा बिसायौं। जिन्दगीमा त्यति नजिकै वरपर झलल टल्किरहेका हिमालहरू मैले कहिल्यै देखेको थिइनँ। हिमाल देखेरै मन रमाइरहेको थियो।
खाना खायौं। होटलबाट दुई घन्टा हिँडेपछि बेस क्याम्प पुगिन्थ्यो। त्यहाँ पुगेर फर्किरहेका र गइरहेका सयौं पर्यटकबीच एक ७५ वर्षीय पर्यटक थिए, जो आफ्नो छोरासँग विस्तारै लट्ठी टेक्दै हिँडिरहेका थिए। अन्ततः म पनि ५३६४ मिटरको उचाइमा रहेको बेस क्याम्प पुगेरै छोडेँ र सन्तोषको सास फेरेँ। यत्रो दिन हिँडेर लागेको थकाइ एकैछिनमा मेटिएजस्तो भयो। नेपालमा जन्मेर म पनि एभरेस्ट बेस क्याम्प पुगेँ भन्ने भयो। सगरमाथाको काखमा पुगेर प्रफुल्लित भएको मन र यात्राको प्रमुख गन्तव्य पुग्न सफल भएकोमा सन्तोष महसुस गर्दै साँझ ढल्नै लाग्दा होटलमा पुगियो।
भोलिपल्ट ५६४३ मिटर अग्लो कालापत्थर चढ्नु थियो। बिहान ४ बजे नै उठेर कालापत्थर उक्लन सुरु गरियो। बिहानको चिसो, उकालो बाटो १० पाइला हिंड्न नपाई स्याँस्याँ हुन्थ्यो। बेलाबेला सकिन्न कि क्या हो जस्तो पनि लाग्थ्यो तर आफूभन्दा दोब्बर उमेरका समेत हिँडिरहेको देख्दा कुनै हालतमा हरेश खान हुन्न भन्ने भयो।
आराम गरीगरी झन्डै ७ बज्न लाग्दा कालापत्थरको टुप्पोमा पुगिछाडेँ। टाउको वरिपरि हाँसिरहेका हिमाल देखेपछि स्वर्गमै छु कि जस्तो लाग्यो। कालापत्थरको टुप्पोमा पुगेर आल्हादित हुन पाएको थिइनँ, पारि सगरमाथाको टुप्पोबाट विस्तारै घाम झुल्किएर न्यानो स्वागत गर्यो। म हर्षविभोर भएर यसरी चिच्याएँ कि सगरमाथाकै टुप्पोमा पुगेको अनुभूति भयो। म धन्य भएँ।
प्राकृतिक ठाउँमा लामो यात्रामा हिँड्दा शरीरमात्र हैन, दिमाग र आत्माको पनि शुद्धीकरण हुन्छ। आफैंसँग कुरा गर्न, आफैंलाई राम्रोसँग चिन्न पनि यात्राले सहयोग गर्छ। कुनै पनि यात्रा आफूले सोचेजस्तो, जोखेजस्तो हुँदैन। बाटोमा अनेक सुखदुःख आइलाग्छन्। एभरेस्ट बेस क्याम्पको यात्रामा भरिया र पथप्रदर्शकबाहेक नगण्य मात्रामा नेपाली पर्यटक थिए। धेरैलाई अत्यन्त कठिन छ भन्ने भ्रमले पनि हुन सक्छ तर त्यस्तो हैन।
कहाँकहाँ विदेशबाट आएर ७०÷७५ वर्षका वृद्ध त पुगेका छन् भने हामीले नसक्ने कुरै छैन। लुक्लासम्म प्लेनमा गएर सोझै जाँदा दैनिक ६ घन्टा आरामले हिँडदा हरेक दिन बास बस्न पुगिन्छ र १२ दिनमा त पुगेरै फर्किन सकिन्छ। फाप्लुसम्म गाडीमा गएर हिँडने हो भने चार दिनमा नाम्चे पुगिन्छ वा हामीले जस्तै शिवालयको पुरानो बाटो भएर पनि पुग्न सकिन्छ। यात्राका बाधाहरूसँग जुध्दै अनेक शारीरिक, मानसिक पीडा सहँदै अघि बढेर गन्तव्यमा पुगेर फर्कंदा जिन्दगीको सार र जिउने मन्त्र पनि सिकिन्छ।
हाम्रो भागमा दुःख भोग्न अझै सक्किएको रैनछ। बेस क्याम्पबाट फर्किंदा बाटोमा पर्ने थुक्ला खोला तर्न छोटो वैकल्पिक बाटो भेटिएला भनेर बाठो हुन खोज्दा बगरैबगर दुई घन्टा हिँड्दा पनि कुनै जँघार भेटिएन। रोहित र विनीताले खोला तर्ने प्रयास गर्दा चिप्लेर आफूले लगाएको जुत्ता चिसो पानीमा चुर्लम्म डुबाए। पुनः सोही बाटो फर्किनु पर्यो। रोहितले जुत्ता बोक्यो र चप्पल लगायो तर विनीतासँग चप्पल थिएन।
मेरो चार उमल ठूलो चप्पल घिसार्दै विनीताले जुत्ता नसुकुन्जेल थप दुई दिन कष्टपूर्ण तरिकाले हिँडी। अन्ततः दुई सय किमीभन्दा धेरै पैदलयात्रा सकेर सत्रौं दिन नाम्चेबाट बिहान निस्केको हामी दिउँसो ३ बजे लुक्ला एअरपोर्ट पुग्दा हेर्दाहेर्दै एउटा जहाज उडिहाल्यो। हामीले टिकट काटेकै जहाजले अन्तिम उडान भर्न ठिक्क परेको रैछ।
भरिया दाइले दुइटा झोला होटलमा छोडेका थिए। ल जाने भए पाँच मिनेटमा आइहाल्नुस् भनेपछि विनीतालाई नाम लेखाउँदै गर भनेर रोहित र म हस्याङफस्याङ गर्दै झोला लिन कुद्यौं र फर्केर असिनपसिन हुँदै प्लेनभित्र पस्यौं। विमानमा त हामी तीनबाहेक अरू यात्रु नै रैनछन्। प्लेन नै चार्टर गरेर फर्केजस्तो पो भयो। त्यत्रो दिन लगाएर हिँडेको बाटो पसिना राम्रोसँग नओबाउँदै विमानले काठमाडौं एअरपोर्टमा झारिदिइहाल्यो।
यतिखेर घरको बैठककोठामा बुप्साबाट लिएर गएको लउराको लौरो झुन्डिरहेको छ। यस्तो लाग्छ, आउने जति सबैले यो लौरो किन झुन्ड्याएको भनेर सोधून् र बाँचुन्जेल सगरमाथा हेर्न जाँदाको कहानी सुनाइरहन पाइयोस्। यो लौरो सबैको लागि प्रेरणा बनोस् र सबैलाई हिँडिरहन सिकाओस्। त्यो लौरो देखेर र यो कहानी पढेर अझ कसैले हिम्मत गरेर भनोस्- म बेस क्याम्पमात्र हैन, एक दिन सगरमाथाकै टुप्पोमा पुगेर फर्किन्छु।