प्रेतहरूसँग अब्राहम लिंकन
अमेरिकी लेखक जर्ज सन्डर्सको पहिलो उपन्यास नै ‘म्यान बुकर’ पुरस्कार जित्न सफल भयो । यस वर्षको बुकर बिजेता ‘लिंकन इन द बार्दो’मा सन्डर्सले अब्राहम लिंकनका छोरा विली लिंकनको मृत्युलाई उपन्यासमा उतारेका छन् ।
अमेरिकाका १६औं राष्ट्रपतिका रूपमा लिंकन निर्वाचित हुँदा मुलुकमा गृहयुद्ध सुरु भइसकेको थियो । ह्वाइटहाउसको आनन्दभन्दा धेरै युद्धको छटपटीले उनलाई सताएको हुन्थ्यो । यही छटपटीमाथि उनलाई अर्को पीडा थपियो— ११ वर्षका छोरा विलीको मृत्यु । विली लिंकनको मृत्यु कसरी भयो र उनको मृत्युले राष्ट्रपति लिंकनमाथि कस्तो प्रभाव पर्यो भन्ने देखाउनु उपन्यासको मूल ध्येय हो ।
सन् १८६२ फेब्रुअरी १९ को राति राष्ट्रपति लिंकनले ह्वाइट हाउसमा रात्रिभोज आयोजना गरेका थिए । कतिपयले मुलुक गृहयुद्धमा फसिरहेका बेला राष्ट्रपति उत्सव मनाउन लागेको भनेर चर्को आलोचना पनि गरेका थिए । ह्वाइट हाउसमा रात्रिभोज चलिरहँदा माथिल्लो तलामा विली ज्वरोले अचेतझैं सुतिरहेका थिए । उनलाई टाइफाइड भएको थियो ।
रात्रिभोजको तामझाम नसकिँदै भोलिपल्ट बिहान, १८६२ फेब्रुअरी २० मा विलीको मृत्यु भयो । सन्डर्सले उपन्यासको केही भाग यही दृश्य उतार्न खर्चिएका छन् । डेढ सय वर्ष पहिलेको त्यो रात्रिभोज, ह्वाइटहाउसको तामझाम, बिरामी विली, उनको मृत्यु र त्यसपछि राष्ट्रपति लिंकनको विह्वलता उनले जीवन्त रूपमा उतारेका छन् । उक्त रातको बारेमा लेखिएका अनेकौं गैरआख्यानलाई उनले सन्दर्भका रूपमा आफ्नो उपन्यासमा प्रयोग गरेका छन् ।
उपन्यासको धेरैजसो कथा विलीको शव राखिएको ओक हिलमा छ । ओक हिल एउटा चिहानघारी हो । सन्डर्सको परिकल्पनामा यहाँ मृत्य भइसकेका तर मृत्युलाई स्वीकार्न नसकेका र जीवनका केही तृष्णा बाँकी रहेका मानिसहरू प्रेतको रूपमा अल्झिरहेका हुन्छन् । उपन्यासको सुरुमा एउटा पात्रले आफ्नो मृत्युको कथा सुनाउँछ, जसलाई सन्डर्सले हान्स भोलम्यान नाम दिएका छन् ।
यो पात्र निकै वर्षदेखि प्रेतका रूपमा अल्झिरहेको हुन्छ । उसले ४६ वर्षको उमेरमा १८ वर्षकी युवतीसँग विवाह गरेको हुन्छ । गरिबीका कारण धेरै उमेरको भए पनि धनी मानिससँग विवाह गरेका उसलाई थाहा हुन्छ । त्यसैले आफ्नी नवविवाहिता श्रीमतीलाई अप्ठ्यारो नहोस् भनेर साथीको रूपमा मात्र व्यवहार गर्ने प्रस्ताव राख्छ । लामो समय आफ्नो यौन चाहना दबाएर सुहागरात स्थगित गर्दै जान्छ ।
उपन्यासको धेरैजसो कथा विलीको शव राखिएको ओक हिलमा छ । ओक हिल एउटा चिहानघारी हो । सन्डर्सको परिकल्पनामा यहाँ मृत्य भइसकेका तर मृत्युलाई स्वीकार्न नसकेका र जीवनका केही तृष्णा बाँकी रहेका मानिसहरू प्रेतको रूपमा अल्झिरहेका हुन्छन् ।
जुन दिन उसले श्रीमतीबाट सुहागरातको प्रस्ताव पाउँछ, दुर्भाग्यवश त्यही दिन छानाबाट खसेको बिमले लागेर उसको मृत्यु हुन्छ । जवान श्रीमतीसँगको रतिरागको तृष्णाले ऊ प्रेतावस्थामा झुन्डिरहेको हुन्छ । सन्डर्सले यस्ता विभिन्न पात्र यहाँ जमघट गराएका छन् । चिहानघारीका अधिकांश कथा हान्स भोलम्यान, रोजर बेभिन्स तीन, दी रिभरइन्ड इभर्ली थोमस लगायतका प्रेतहरूले भनिरहेका हुन्छन् । उनीहरू मृत्युलाई स्वीकार्न नसकेर आफूलाई बिरामी मात्र सम्झिरहेका हुन्छन् । उनीहरू शव राखेको बाकसलाई ‘सिक बक्स’ अर्थात् बिरामी बाकस र मृत शरीरलाई आफ्नो ‘सिक फर्म’ अर्थात् बिरामी स्वरूप भन्छन् ।
मृत्युपछि विली पनि ओक हिलका प्रेत समूहको सदस्य बन्छ । प्रेतहरू उसलाई राजकुमारझैं व्यवहार गर्छन् । उनीहरू विलीको कुरा सुन्न लालायित हुन्छन्, तर विली प्राय:जसो चुपचाप बसिरहन्छ । विलीका कुरा सुन्न जम्मा भएको प्रेतहरूको भीडमा कसै न कसैले आफ्नो कथा सुनाइरहेको हुन्छ । यसै क्रममा आउँछन्— अमेरिकामा हेपिएका काला जातिका दासहरूको दु:ख, बलात्कृत अश्वेत बालिकाको पीडा, युद्धमा मारिएकाहरूको पीडा ।
विली प्रेतका रूपमा अल्झिनुको कारण बुवा लिंकनको प्रतीक्षा हो । विलीको मृत्यु भएको केही रातपछि लिंकन चिहानमा आउँछन् । छोराको शवलाई अँगालो हाल्छन्, रुन्छन् । यो दृश्य सन्डर्सको कल्पनाको उपज हो, जसलाई प्रेतहरूले भनिरहेका हुन्छन् । मध्यरातमा एक्लै चिहानघारी आइपुगेका लिंकनको शरीरमा प्रेतहरू पस्छन्, उनको दिमागमा पस्छन् र उनको सोचलाई प्रभावित पार्ने प्रयास गर्छन् । लिंकनको दिमागमा पसेपछि मात्रै पुराना प्रेतहरूले थाहा पाउँछन्— लिंकन अमेरिकाका राष्ट्रपति हुन्, देश युद्धमा छ, विली लिंकनको छोरो हो । उनले छोरासमक्ष फेरि आउने प्रतीज्ञा गर्छन् । यही प्रतिज्ञाका कारण विली प्रेतका रूपमा उनलाई पर्खेर बसिरहन्छ ।
अन्तिमपटक चिहानघारी आएपछि लिंकनले महसुस गर्छन्— यो शवमात्र आफ्नो छोरा होइन । आफूले असीम प्रेम गरेको विली जे थियो, त्यो अब छैन । लिंकन यसपछि नफर्कने सोच बनाउँछन् । तर, प्रेतहरू लिंकनले यसरी विलीलाई माया नमारून् भन्ने चाहन्छन् । लिंकनले फेरि नआउने सोच बनाए भने विली यहाँबाट जान्छ भन्ने उनीहरूलाई थाहा छ । त्यसैले, उनीहरू लिंकनलाई रोक्न प्रयास गर्छन् । लिंकनको दिमागमा पसेर उनको सोच बदल्न चाहन्छन् ।
प्रेत र मोक्षको यो अवधारणा सन्डर्सले तिब्बती बौद्ध संस्कृतिबाट लिएका हुन् । तिब्बतीहरू मानव जीवनमा विभिन्न किसिमका ‘बार्दो’हरू हुने विश्वास गर्छन् । ‘बार्दो’ एकबाट अर्को अवस्थामा रूपान्तरित हुँदै गरेकोे अवस्था हो । सन्डर्सले यहाँ प्रयोग गरेको मृत्यु र अर्को जन्मबीचको समय ‘बार्दो थोदोल’ हो । त्यसैले उपन्यासको नाम नै उनले ‘लिंकन इन द बार्दो’ रोजेका छन् ।
कथा लेखनका लागि नाम कमाएका सन्डर्सले यसअघिका कथामा पनि प्रेतहरूलाई पात्र बनाएका छन् । उनी यसै किसिमको लेखनीबाट चिनिएका छन् । यो उपन्यासमा भने इतिहासका वास्तविक पात्रलाई उभ्याउने जोखिम उनले उठाएका छन् । त्यतिमात्रै होइन, उपन्यासको शैलीमा पनि उनले चुनौतीपूर्ण प्रयोग गरेका छन् । यो उपन्यासमा कथावाचनको दुईवटा शैली छ— असाध्य कल्पनाशील र असाध्य यथार्थपरक । पहिलो शैलीमा प्रेतहरूबीचको संवादले सम्पूर्ण कथा भनिरहेका हुन्छन् । प्रेतहरू सबै लिंकनको कल्पनाका उपज हुन् र तिनले भन्ने कथा तथा घटनाको वर्णन पनि ।
चिहानघारीको कथा भन्न सन्डर्सले यो शैलीको प्रभावकारी प्रयोग गरेका छन् । दोस्रो शैली उनले वास्तविक जीवनमा अब्राहम लिंकन र विली लिंकनको स्वभाव चिनाउन, त्यस रातको रात्रिभोज, विलीको मृत्यु र यसपछि लिंकनमा परेको प्रभाव वर्णन गर्न अपनाएका छन् । यसका लागि उनले विभिन्न गैरआख्यानका पुस्तकबाट अंशहरू साभार गरेका छन् । यसरी साभार गरिएका सामग्रीहरूबाट मात्रै उनले आख्यान बुनेका छन् । गैरआख्यानबाट साभार गरिएका वाक्य तथा कतै सिंगा अनुच्छेद एकै ठाउँमा पढ्दा आख्यान पढेको आनन्द दिलाउन सक्नु नै सन्डर्सको सफलता हो । ‘बुकर’ले आख्यान लेखनमा उनले मोलेको जोखिमको सम्मान गरेको छ ।