प्रोफेट अर्थात् जर्ज अरबेल खोज्दै

 प्रोफेट अर्थात् जर्ज अरबेल खोज्दै

‘कत्था’ कयौं दिनसम्म मेरो दिमागमा घुमेको थियो ।

रंगुनमा बसेर ‘बर्मिज् डेज्’ पढिरहँदा जर्ज अरबेलले उपन्यासमा उल्लेख गरेको त्यस सहरमा म पुगूँला भन्ने थिएन । रंगुनभन्दा करिब ११ सय किलोमिटर उत्तरको त्यो सहर जानु मेरा लागि कल्पना बाहिरको कुरा थियो । बरु एम्मी लार्केनले अरबेलका पदचिह्न पछ्याउँदै लेखेको किताब ‘फाइन्डिङ जर्ज अरवेल इन बर्मा’ पढेर म मक्ख थिएँ ।

Ghimire-Yubarajतर, मलाई पनि एम्मीकै जस्तो सौभाग्य मिल्यो । त्यसैले यतिखेर युवा सम्मेलनबाहेक म उत्साहित हुनुको कारण थिए प्रिय जर्ज अरबेल । मानौं म आउने खबरले उत्साहित भएर ११४ वर्षे बूढा अरबेल टिकको काठैकाठले बनेको त्यो बडेमानको घरको बार्दलीमा लौरो टेकेर सिगार तान्दै स्वागत गर्न कुरिरहेका छन् । तर, दुर्भाग्य ४७ वर्षकै उमेरमा टीबीले सक्किए उनी । रंगुनबाट हिँडेपछि बाटोमा मैले सागर घिमिरेलाई झोलामा बोकेको उपन्यास बर्मिज् डेज् देखाउँदै भनेँ, ‘यस्तो ऐतिहासिक ठाउँमा जान पाएकोमा तपाईंप्रति आभारी छु ।’

नोभेम्बर १८ र १९ कत्थामा नेपाली मूलका म्यान्मा युवाहरूको क्षेत्रीय सम्मेलन हुँदै थियो । रंगुनमा मैले आक्कलझुक्कल नेपालीहरू भेटेको हुँ । तर, इतिहासमा पढेजस्तो वा धेरैका मुखबाट सुनेजस्तो नेपाली बस्ती देख्न पाएको थिइनँ । म्यानमारमा भएका भनिएका दुई लाख नेपालीभाषी कहाँ छन् त ? तिनको जीवनशैली हेर्नु थियो ।

बाटो लामो भएको हुनाले हामी १६ तारिख बिहानै रंगुनबाट माण्डलेका लागि निस्कियौं । हामीले ७१६ किलोमिटर लामो बाटो तय गर्नु थियो । ६ लेनको बाटोमा चालक जोओ मिन ऊले स्पिडको काँटा सयभन्दा तल नझार्ने रहेछन् ।

हाइवेको दुवैतिर आँखाले नभ्याउन्जेलसम्म खेतैखेत छ । यो उष्णप्रदेशीय क्षेत्रमा कि त साना बुट्यानका जंगलैजंगल छ कोसौंकोस । कतै धान पाकेर पहेँलपुर छ । हाइवेको दुवैतिरको जमिन अत्यन्तै उत्पादनशील छ । त्यसैले अंग्रेजहरूले आफ्नो शासनकालमा खेतीका लागि भारतको बिहारबाट हजारौं मानिस यहाँ ल्याए । पानीले भिजेको मलिलो माटोको रंगझैं छाला भएका उनीहरू गोरुगाडा गुडाउँदै, गाईबस्तु धपाउँदै वा खेतमा उसरी नै काम गर्दैछन् । शासकहरू फेरिए तर तिनको नियति उही छ ।

2

एक सय पच्चीस माइल भन्ने ठाउँमा खाजाका लागि हामी रोकिन्छौं । गाडी बाहिर निस्कँदा थाहा लाग्छ, यो मंसिरमा पनि टन्टलापुर घाम छ । बिछट्टै गर्मी छ । रंगुनबाट ठ्याक्कै दुई सय किलोमिटरमा म्यान्मारको नयाँ राजधानी नेपिडो छ । १६ लेनको बाटोसहित खुला फाँटमा निर्मित यो राजधानी भौतिक रूपमा निकै विलासी मानिन्छ । माण्डलेमा भेटिएकी गोमा दिदी मलाई प्रश्न गर्छिन्, ‘नेपालको राजधानी हैन काठमाडौं ? किन त्यस्तो कुरूप बनाएको ? ‘

सँग जवाफ छैन । माण्डलेमा मेरो दोस्रो यात्रा हो । हरियाली यो सहर रंगुनभन्दा कम गर्मी लाग्छ । ब्रिटिस सरकारले रंगुनमा सार्नुअघिको पुरानो राजधानी हो यो । गौतम बुद्धको २४००औं जन्मजयन्तीको अवसर पारेर सन् १८५७ मा राजा मिन्दोनले राजधानी यहाँ सारेको मानिन्छ । दरबारको उत्तरतिर अवस्थित थुम्को माण्डले हिलले चर्चित छ । यहाँ दुई सय वर्ष पुरानो स्तूपा छ । यही थुम्कोको नामले पछि सहरको नाम राखियो । माण्डले हिल गोर्खालीका लागि ऐतिहासिक छ । जहाँ गोर्खाली सैनिकहरूले ९ मार्च १९४५ को पूरै एक दिन एक रात जापानी सैनिकसँग खुकुरीले लडेर विजय प्राप्त गरेका थिए भनिन्छ ।

माण्डले सहरभित्र रहेछ नेपाली गोर्खा धर्मशाला, जसको तेस्रो तलामा काठमाडौंको पशुपतिनाथ शैलीमा मन्दिर बनाइएको छ । मन्दिरभित्र भने कृष्णको मूर्ति छ । यही परिसरमा म्यान्मा गोर्खा हिन्दु धार्मिक संघको केन्द्रीय उपकार्यालय छ । सन् १९८२ मा नन्दराम न्यौपाने र अन्य धेरैको पहलमा म्यान्मा देशभरिका नेपालीहरूको चन्दाबाट बनेको यो मन्दिर नेपालीहरूका लागि स्वतन्त्रताको श्वास फेर्ने थलो भयो । संस्थाका धार्मिक विभाग प्रमुख प्रकाशचन्द अर्यालका अनुसार म्यानमार देशभरिमा गोर्खाली हिन्दुहरूको स्वामित्वमा करिब तीन सय मन्दिर छन् । इतिहासलाई हेर्दा निरंकुश सैनिक शासनले देश नियन्त्रणमा लिएपछि सामाजिक संगठन बनाउन नपाएका नेपालीभाषीहरूले सन् १९७० मा तत्कालीन राजा महेन्द्रको म्यानमारको भ्रमण गरेपछि थोरै सहजता महसुस गरे । त्यही बखत राजा महेन्द्रले म्यानमारबाट नेपाल फर्किन चाहने हरेक परिवारलाई दुई बिघा जग्गा दिने घोषणा गरेपछि दुई सयभन्दा बढी परिवार नेपाल फर्किएको इतिहास छ । आज पनि पूर्वपश्चिम राजमार्गको आसपासका केही गाउँहरू बर्मेली टोलले चिनिन्छन् ।

म्यानमारमै बसिरहेका नेपालीभाषीहरू सामाजिक अभ्यास र स्वतन्त्रताको मौन संघर्षमा थिए । सन् १९७८ मा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला हिन्दु धर्मसभा नामको भेला गराइयो । यही धर्म सभाले नेपालीभाषीहरूको संगठनको आवश्यकता ठानी ददिराम गौतम, नेत्रप्रसाद खनाल, कुलबहादुर थापा, पारस प्रधानजस्ता अग्रजहरूको भेलाले संस्था स्थापना गर्ने निर्णय ग¥यो । लामो अभ्यासपछि सन् १९८२ मा मात्रै लेफ्टिनेन्ट कर्णेल दुरा लक्ष्मण राईको अध्यक्षतामा अखिल म्यान्मा गोर्खा हिन्दु धार्मिक संघको गठन भयो । कुनै पनि राजनीतिक वा सामाजिक संगठन बनाउन नपाइने निरंकुश शासन व्यवस्थामा यो संघको स्थापना म्यान्मा नेपालीहरूका लागि ठूलो विजयजस्तै भयो ।

देश अनुसारको भेष भनेझैं बौद्ध धर्मको बहुमत भएको यस मुलुकमा धार्मिक बाटोबाट मात्रै नेपालीले आफ्नो समुदाय वा जातिको रक्षा सम्भव देखे । हजारौं गोर्खा सैनिकले रगत बगाएको, हजारौं नेपाली युवाले ब्रिटिसका माइम खानीमा पसिना बगाएको अस्तित्व यस मुलुकमा धार्मिक सहारामा मात्रै भेटे । ती तीन सय मन्दिर वा धार्मिक पाठशालाका नाममा ओगटिएका जमिन वा जंगल कुनै सामाजिक संस्थाका लागि यिनले पाउने थिएनन् । त्यसो त भारतीय हिन्दु, मुस्लिम वा क्रिस्चियनहरूले पनि आफ्ना समुदाय भेट्ने र सांस्कृतिक आदानप्रदान गर्ने थलोको रूपमा मन्दिर, मस्जिद र चर्चलाई बनाएका छन् ।

भोलिपल्ट बिहानको यात्रामा अरू चारवटा गाडी मिसिए । ६ बजे हिँड्ने भनेर ८ ३० मा मात्रै हिँड्यौं । एकजना भाइले मज्जैले कुराए । त्यत्रो कुराएर पनि कुर्नेहरूसँग क्षमा मागेनन् । नेपालीहरू जति पर पुगे पनि आफ्ना गुण अवगुण त भुल्ने रहेनछन् । संघका पदाधिकारीहरूसहित १९ जनाको टोली कत्थाका लागि प्रस्थान ग¥यो । माण्डलेबाट करिब चार सय किलोमिटर उत्तरपश्चिम गुडिरहँदा मेरो मनमा अनेकौं तर्क खेल्दैछन् । हाम्रा पुर्खाहरू के खोज्न यति टाढा आएका होलान् । ‘मान्छे र सर्पको बच्चा एकै ठाउँमा बस्तैन’ भन्थे । हो, रहेछ ।


घाम डुब्न लाग्दा कत्था पुग्यौं । म्यानमारको उत्तरी क्षेत्रमा पर्ने सघाईं डिभिजनभित्रको सानो र सुन्दर यो सहर इरावडी नदीको किनारमा लमतन्न बसेको छ । होटलको कोठामा पुगेर पर्दा उघारी हेर्दा पूर्वतिर देखिइन् इरावडी । अरबेलले उपन्यासको पहिलो पानामा नदीसहित कोरेको सहरको चित्र मेरो मनमा गडेको छ । नदीको किनार टेक्न म आतुर थिएँ । तर त्यसका लागि भोलिसम्म कुनुपर्ने भयो । चित्त बुझाउन झ्यालबाट केही तस्बिर लिएँ ।

yubraj

अर्को दिन बिहान सूर्य नउडाउँदै म इरावडीको किनारमा पुगिसकेको थिएँ । नदी किनारमा गाडी गुड्ने बाटो । बाटोको छेउमा लमतन्न बस्ती । नदीमाथिको विशाल आकाशमा रुवाजस्तो देखिने बादलका पुञ्जहरूले झन् सुन्दर बनाएको छ । मन विछट्टै फुर्किएको छ । पूर्व सगर विस्तारै रातो हुँदैछ । यस्तो नदी किनारमा बस्न पाउने मानिसहरू कति भाग्यमानी होलान् । त्यही सगरको लाली चोरेर रंगाएका कलेजी वस्त्रधारी दर्जनौं भिक्षुहरू भिक्षाका लागि यात्रामा निस्कन्छन् । तिनका अघिअघि दुई भिक्षुले काँधमा भार बनाएर भिरेको घन्टी बजाउँदै हिँड्दा घन्टीको आवाज पानीमा तरंगित भएर मान्छेका हृदय जागृत भएजस्तो महसुस हुन्छ । तर, नदी किनारमा बसेर धेरै भावनात्मक हुने स्थिति छैन । युवा सम्मेलनका लागि ८ बजे सिटी हल पुग्नु छ ।

क्षेत्रीय युवा सम्मेलनमा यति धेरै नेपालीभाषी युवा देखेर म त नेपालमै छु जस्तो भान भयो । कत्था सहरका नगरप्रमुख उ विन आउँ र म्यान गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेबाट उद्घाटन गरिएको कार्यक्रममा मिचिना, माण्डले, मोगोकजस्ता अन्य सहरबाट पनि युवाहरू आएका छन् । संघभित्र शिक्षा, महिला, युवा, सांस्कृतिक, सामाजिक, धार्मिकजस्ता विभिन्न विभाग रहेछन् । त्यसैगरी दुःख निवारण सहयोग मण्डली, नेपाली गोर्खा विश्वविद्यालय विद्यार्थी सहयोग मण्डली रहेछन् । युवा विभाग कत्था शाखाले आफ्नै पहलमा आर्थिक स्रोत जुटाएर यो सम्मेलन गरेको रहेछ । नेपाली समुदायका युवाहरूको विकास र उत्थानका लागि सम्मेलन गरिएको आयोजक समितिकी खिनमाया भट्टराईले बताइन् । संघका अध्यक्ष सागर घिमिरेको चिन्ता कसरी युवाहरूलाई शतप्रतिशत शिक्षित बनाउने भन्ने छ । संघका उपाध्यक्ष तथा विश्वविद्यालय विद्यार्थी सहयोग मण्डलीका अध्यक्ष दीपक अधिकारीको चिन्ता पनि नेपाली समुदायका युवाहरू पढाइ छोडेर विदेश नजाऊन् भन्ने छ । डा. विमल दाहालको नेतृत्वमा मेडिकलका विद्यार्थीसहित सम्मेलन स्थलमा स्वास्थ्य शिविर राखिएको छ । शिक्षा विभागका अध्यक्ष तथा साहित्यकार ज्ञानबहादुर थापा बगालेको चिन्ता कसरी म्यान्मा नेपालीहरूको भाषा सम्पन्न बनाउने भन्ने छ । उनले नेपाली साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत गरे र त्यस विषयमा दर्शकहरूसँग लामो अन्तरक्रिया भयो । सम्मेलनको अर्को विशेष आकर्षण रह्यो सांस्कृतिक कार्यक्रम ।

एकपछि अर्को नेपाली गीतमा नाचेका युवाहरूको भाषाप्रेम देखेर सम्मोहित भएँ । मिचिनाबाट आएका जेशिका ढकाल र गोकुल खनालले ‘कुटुमा कुटु सुपारी दाना’ गीतमा गज्जबको नृत्य गरे ।

जेशिका र गोकुल नेपाल पुगेका छैनन् । पुर्खाको थलो भएकाले एक दिन पैसा कमाएर घुम्न जाने गोकुलको सोच छ । जेशिकाका कोही आफन्त नेपालमा छन् भन्ने थाहा छैन । गोकुलकी फुपू भने धरानमा हुनुहुन्छ रे । ‘इन्डियाको मणिपुर र हाम्रो कचिनप्रान्त मिलेको छ । टन्नाईबाट बाटो जान्छ । हाम्रा बाचाहिँ बराह क्षेत्रबाट पैदल यात्रामै बर्मा आउनु भएको रे । मैले सुनेअनुसार नेपालबाट गाईगोरु धपाउँदै धपाउँदै तीन महिनादेखि ६ महिना लाएर आइपुग्थे रे । कति मान्छे त खान नपाएर बाटोमै मर्थे अरे ।’ उनी हाँस्दै भन्छन्, ‘नेपालका पुर्खाहरूले के भन्थे अरे भने हाम्रो बर्मा देशमा रूखमा पैसा फल्थ्यो अरे । अनि टिप्न आएका रे ।’

आँखैमा राख्छु मेरो देश... मुटुमा राख्छु...
गुराँस फुल्ने पाखामा छ यो देशको छाया
छायाभित्र बसेको छ नेपालको माया

१० युवतीले अर्को गीतमा मन छुने नृत्य गरे । यीमध्ये कोही पनि नेपाल पुगेका छैनन् । तर, आमाबुवा र समाजले जगाइदिएको चासो र भाषाका कारणले नेपालप्रति उनीहरूको गोप्य माया यसरी नै बेलामौकामा छचल्किन्छ । त्यसैगरी १६ युवकयुवतीले म्यानमारका सात आदिवासी र नेपालीहरूको पहिचानका लागि सारीचोलो, दौरासुरुवाल सहितको सांस्कृतिक नृत्य प्रस्तुत गरे । नेपालभित्र राष्ट्रिय झन्डा, भेषभूषादेखि राष्ट्रिय भाषामाथि नै प्रश्न उठिरहेका बेलामा संसारभरिका नेपालीलाई जोड्ने एउटा साझा विम्ब त चाहिने नै रहेछ ।

संयोग के भने, त्यस सम्मेलनमा नेपालबाट आएको म चासोको केन्द्र थिएँ । उहाँहरूले मलाई गरेको मायाले मलाई निकै पुलकित र भावुक बनायो । मजस्तो धार्मिक संस्कार नभएको मान्छे यहाँ त तीर्थजस्तो भएँ । सरम लागेर आयो ।

सबैजना नेपालमा भएका आफन्तका बारेमा कुरा गर्नुहुन्थ्यो । कति आमाबुवाहरू त मलाई छुन खोज्नुहुन्थ्यो । मैले दर्जनौं बुवाआमा, दाजुभाइ, दिदीबहिनीसँग कुराकानी गर्ने मौका पाएँ । यहाँ धर्म, थर र गोत्रले काम गर्ने रहेछ । जसले पनि सोध्ने पहिलो कुरा थर र गोत्र रहेछ । यहाँ म धेरैका माइती, मावली, ससुराली, दाजुभाइ कहलिएँ । हरेक परिवारको पुर्खाको कथा चलचित्रझैँ लागिरहेछ । हरेकका कथा सुन्न म आतुर छु ।

घर चहार्दै जाँदा

त्यही भीडमा साह्रै मिजासिला ६३ वर्षे ज्ञानप्रसाद खनाललाई भेट्टाएँ । दिउँसो ३ बजे उनी दूध दुहुन भनेर घरतिर लाग्दा म पनि उनको पछि लागेँ । उनको घर त इरावडी नदीको ठ्याक्कै किनारमा रहेछ । ‘पहिला धेरै गोर्खालीको घर नदीको पारिपट्टि थियो । उता नदीले धेरै कटान ग¥यो । धेरै गाईबस्तु बगायो । त्यसपछि धेरै परिवार यता सरे ।’ इरावडी नदी कहिलेकाहीँ माथिसम्म बढेर आए पनि यताचाहिँ नोक्सान नगरेको उनको अनुभव छ ।

घरमा कमलादेवी खनाल (५५) नातिनातिना हेरेर बसेकी रहिछन् । भनिन्, ‘यी छोराका छोराछोरी । छोराबुहारी थाइल्यान्डमा छन् । बच्चा पाएर यता पठाइदिए ।’ संघका उपाध्यक्ष दीपक अघिकारीको चिन्ता पनि यही हो । जन्मिएको तीनचार महिना भएपछि बच्चालाई घर पठाइदिन्छन् । न आमाबुवाको काख पाउँछन्, न त आमाको पोसिलो दूध । यो घरका दुई छोरी र छोराबुहारी फुकेट छन् । काठमाडौंमा रहेका आफ्ना दिदी भिनाजुका बारेमा कमलादेवीले सुनाइन् ।

खनाल बा गाई ल्याउन खेततिर लागे । उनीसँगै जोडिएको घर कालीदास घिमिरेको रहेछ । गोठबाट भर्खरै ल्याएको दूध बिक्रीका लागि नाप्ने काम हुँदै थियो । ‘गाईबाच्छा गरेर त्यस्तै २५ वटाजति होलान्’, ७८ वर्षीय कालीदासले भने । चार छोरा, बुहारी र नातिनातिना, उहाँकी भाउजू (८४ वर्षे) गरेर १४ जनाको परिवार छ हाम्रो । ‘पोल्टामा राखेको पान खाँदै कालीदासकी श्रीमती चन्द्रमाया (६३)ले भनिन् ।

बर्मेली युवक भन्छन्, ‘नेपालका पुर्खाले के भन्थे अरे भने हाम्रो बर्मा देशमा रूखमा पैसा फल्थ्यो अरे । अनि टिप्न आएका रे ।’

कार्यक्रमस्थलमा अर्का रसिक भेट्टिए बलबहादुर भण्डारी (६०) । कत्थानजिकै भामो नगरमा उनको घर रहेछ । ‘६० घर छन् गोर्खालीका । म भामो शाखाको अध्यक्ष हुँ’, उनले पुर्खाको कथा खोले, ‘मेरा हजुरबा जगतबहादुर नेपालबाट आएका रे भारतको इम्फाल हुँदै । यहाँबाट इम्फाल पुग्न दुई दिन लाग्छ । नेपालको ठाउँको नाम घरमा लेखेर राखेको छु । अहिले भुलेँ ।’ इलेक्ट्रिक वायरिङको काम गर्ने थापाले इलेक्ट्रिक लाइटरले चुरोट सल्काउँदै भने, ‘म केही कुराको पनि चिन्ता गर्दिनँ । भन्छन् नि, शोक न सुर्ता भोक न भकारी ।’

सामाजिक विभागका कत्था शाखा अध्यक्ष फेला परे निकै सहयोगी । जिम्मी अर्थात् दीनानाथ धमला । उनी भन्छन्, ‘यो सहरमा गोर्खालीका ११५ घर छन् । प्रायः खेतीकिसानी नै गर्छन् । अरूकाझैं उनका पनि छोराबुहारी र छोरी विदेशमै छन् । छोरो ९ कक्षा र छोरी १० कक्षा फेल भएपछि थाइल्यान्डतिर लागे । कान्छो छोरो स्कुल पढ्दैछ । फुकेटमा भएको छोरासँग धमलाले छोटो कुरा गराए स्काइपमा । नेपालका हिमालयन टाइगरको जस्तो ज्यान भएका उनको शरीरभरि गज्जबका ट्याटु देखिन्थे ।

खनाल बाको बाइकपछाडि बसेको छु गाउँ घुम्न । उनको १० नं. क्वाटरमा १५ घर नेपाली परिवार रहेछन् । अझै पर्तिर ४० घर रहेछन् । यशोदा र अर्जुन पोखरेलले २५ वटा ठूला गाई पालेका छन् । यशोदा भन्छिन्, ‘पहिला ६० वटा जति थिए, साना बर्मा गाई । ती पालेर फाइदा भएन ।’ यिनीहरूका जेठा छोरा पनि थाइल्यान्ड छन् । कान्छा छोरा १० कक्षामा पढ्दैछन् ।
सिमाना जोडिएका अर्जुनका भाइले पनि ठूला गाई पालेका छन् । आमा बुद्धमाया भाइसँग बस्छिन् । ‘दुइटै छोरा सानै थिए । यिनीहरूका पिताजी नेपाल जानुभएको फर्केर आउनुभएन । उहाँका दिदी नेपालमा हुनुहुन्थ्यो र जानुभएको थियो । नशा पिउने बानी थियो । पछि उतै बित्नुभएछ । मैले माइतीमा बसेर यिनीहरूलाई हुर्काएँ’, आफ्ना संघर्षका दिन सम्झन्छिन् बुद्धमाया ।

सम्मेलनको दोस्रो दिन । महिलाहरूको जागरणको कुरा, नेपाली समुदायबीच मतमतान्तरले बन्न थालेका धेरै संस्था, पढाइ छोडेर मजदुरी गर्न जाने युवाहरूको लर्को बढ्दो, सरकारी कागजातको अभावमा नागरिकता बनाउँदाका झमेलाहरू अनेकौं विषयमा छलफल तथा प्रवचन चलिरहेका थिए । म छटपटीमा थिएँ । कार्यक्रम पनि नछुटोस् धेरै मानिसहरूसँग गफगाफ पनि गर्न पाइयोस् ।

परिसरमा धेरैबाट घेरिएको छु । सबैले आआफ्ना बारेमा भन्दैछन् । कचिन स्टेट मोगाउँका किशोर निरौला (६०) भन्छन्, ‘गजे घले नाम सुनेको छ ? दोस्रो विश्वयुद्धमा मोगाउँ इलाकामै लडेर उनले भिक्टोरिया क्रस पाएका हुन् ।’ मेरो नामथर सुनेपछि निकै ठूलो पेट भएका होचा कदका पचासेले छोएका दाइ बोले । ‘मेरो नाम धुर्व सुबेडी हो । तपाईं त मेरा जेठान पो हुनुहुँदो रहेछ । घिमिरे त मेरा ससुराली हुन् । दक्षिणा पाइने भो नेपालको ।’ सुवेदी दाइले एकछिनमा सासूआमा सत्यवती घिमिरे र श्रीमती राधिका लिएर आएछन् नेपालका ससुराली भेटेँ भनेर ।

राधिका दिदीको उमेर सोधेपछि नातो लाग्यो । ‘म चालीस आठ भएँ, मेरी बुडी चालीस सात ।’ सुवेदी मेरा भिनाजु भए । ८२ वर्षीय सत्यवतीले आफ्नो कथा भनिन् । उनी डेढ वर्षकी हुँदा उनका बुबा र साइँला काका म्यानमार आएर मिचिना भन्ने ठाउँमा बसे रे । ‘पछि सेबु खोलाको किनारमा आएर बसेँ’, भावुक हुँदै भनिन्, ‘११ जना दाजुभाइ दिदीबहिनीमध्ये म मात्र बाँकी छु । कान्छा दाजु र उनको परिवार नेपाल गएका थिए, यहाँ गडबड भएर । अहिले उनका छोराहरू छन् नेपालमा ।‘

ध्रुव सुवेदी र राधिकाको दूध डेरी र नान पसल कत्थामा प्रसिद्ध छ । दूध डेरीबाटै उनीहरूले राम्रै आम्दानी गरे । सहरभित्रै दुईतले शानदार घर बनाए । तीन छोराछोरीलाई गतिलैसँग पढाइरहेका छन् ।

हामी ऐरावत नदीको किनारमा रहेको रेस्टुरेन्टमा छौं । एउटा हातले बियर सुक्र्याउँदै अर्को हातले नदीतिर देखाउँदै सुवेदीले भने, ‘एक सय ३० थानसम्म गाईबस्तु थिए हाम्रा । गाईका पुच्छर समातेर यो नदी धेरै पटक वारपार गरेको छु ।’

त्यही कार्यक्रममा भेटिए शोभाकर भुसाल (७२) । ‘मेरा पिताजी धनबहादुर भुसालले सन् १९४२ को लडाइँ फोर्थ राइफलबाट लड्नुभएको थियो । सन् १९८३ मा उहाँको मृत्यु भयो ।’ नेपालबाटै ब्रिटिस सेनामा भर्ती भएर आएका धनबहादुर सपरिवार म्यानमार सरेछन् । ‘हामी १० जना सन्तान थियौं । बुवाको जागिर जता सरयो उतै जानु पथ्र्यो ।’

प्रिय अरबेलको घर

कत्था सहरमा दुई रात बितिसक्यो तर प्रिय अरबेलको पत्तो छैन । जसरी गोटिवहा गाउँका मान्छेलाई भवानी भिक्षुको पत्तो छैन । ज्ञानेश्वरका मान्छेलाई बालकृष्ण समको वास्ता छैन । डिल्लीबजारका मान्छेलाई महाकविको मूल्य छैन । आममान्छेका लागि यहाँ अरबेल बूढा गुमनामझैं छन् । कसले लगिदेला मलाई उनी बसेको घर हेर्न ? धन्न सुवेदीसँग अघिल्लै दिन साइनो लागिसकेको थियो । उनकै शरणमा परेँ । अरबेलले दुई वर्ष (सन् १९२६ देखि १९२७) डिपुटी सुपरटेन्डेन्टका रूपमा काम गरेको कार्यालय लगे उनले । निकै ठूलो कम्पाउन्डमा बढेमानको काठको दुईतले घर रहेछ । अरबेल बुढाका अनेकौं मुडका तस्बिरहरू रहेछन् त्यहाँ । युनिफर्ममा उनका सहकर्मीहरूसँगैका तस्बिरहरू छन् । तस्बिरमा गोर्खालीजस्ता देखिने अनुहार पनि लाग्छ तर नाम छैन । ब्रिटिस पुलिसका लागि पाँच वर्ष काम गरेका अरबेलसँगै पक्कै गोर्खालीहरू पनि थिए होला । तर, एउटा समान्य पुलिस अफिसर एकिर आर्थर ब्लेयर आफ्नो नामसहित कर्म फेरेर संसारप्रसिद्ध लेखक बन्लान् भन्ने कसले जानेको थियो र । पुलिसको एउटा साधारण नोकरी गरेका अरबेल आखिर साम्राज्यकै विपरीत धारमा उभिएर संसारप्रसिद्ध भए ।

बर्मिज् डेज् कत्था सहरलाई केन्द्रमा राखेर ब्रिटिस साम्राज्य र अशिक्षित बर्मेलीहरूको कष्टकर जीवनपद्धतिमाथि लेखिएको उपन्यास हो । तर पिटर डेभिसन र इम्मा लार्केनजस्ता प्रसिद्ध समीक्षकहरू उनका बर्मिज् डेज्, एनिमल फार्म र नाइन्टिन एट्टी फोरलाई ट्रियोलोजी मान्छन् । यी तीनवटै उपन्यासले म्यानमारको ब्रिटिसराजदेखि आजसम्मको राजनीतिक इतिहासलाई बताउने उनीहरूको दाबी छ । त्यसैले म्यानमारका राजनीतिक र साहित्यिक जमातमाझ जर्ज अरबेल ‘प्रोफेट’का रूपमा चर्चित छन् ।

बर्मिज् डेज्मा उल्लिखित सरकारी कार्यालय, टेनिस कोर्ट, जेल सबै अझै ठीकठाक छन् । खालि तिनका वरिपरिका शिरीषका रूखहरू बढेर अजंगका भएका छन् । सयौं वर्ष पुराना ती रूखभित्र लाग्छ अरबेलको आत्मा छ । र, तिनलाई अरबेलले लेखेको इतिहास सबै थाहा छ ।

अरबेल केही वर्ष बसेको घरमा अहिले नगरका पुलिस इन्चार्जको क्वार्टर रहेछ । हामीले घर हेरिसकेपछि ती पुलिस इन्चार्ज आइपुगे । मैले उनलाई भनेँ, ‘तपाईं निकै भाग्यमानी हुनुहुन्छ । यस्तो ऐतिहासिक घरमा बस्न पाउनुभएको छ ।’ धेरै पर्यटकले उनलाई यस्तै भनेको तर अरबेलको बारेमा आफूले केही पढ्ने अवसर नपाएको उनले बताए । अरबेल नियमित रूपमा जाने गरेको चर्च पनि संरक्षण गरेर राखिएको रहेछ ।

अलिक अबेर भयो कार्यक्रमस्थल फर्किन । एकजना युवती भोमा भट्टराई मलाई उनको घर लिएर जान पर्खेर बसेकी रहिछन् । उनले चुइँक्क गर्न दिइनन् । पाखुरामा समाएर घर पु¥याइन् । घरको गेटदेखि नै हल्ला गर्न थालिन् आमाबुवा, दाजुभाइ, सबैलाई गुहारिन् । मानौं, वर्षौंदेखि खोजिरहेको अपराधीलाई उनले फेला पारेर ल्याइन् वा लोपोन्मुख जनावर भेटेकाले सबैलाई देखाउन चाहन्थिन् । नेपालबाट आएको भनेपछि सबैको मुहारमा खुसी देखिन्थ्यो । कारण यस्तो रहेछ । उनका बडाबा अर्थात् पिताका जेठा दाजु नन्दराम अर्घाखाँचीमा छन् भन्ने उनले थाहा पाइछन् । मैले जसरी भए पनि आफन्तको पत्ता लाइदिनु प¥यो भन्ने उनको आग्रह रहेछ । त्यतिमात्रै हैन, आफन्त भेट्ने आशामै उनले काठमाडौं र झापाका दुईजना कुइँकेल थरका पुरुषलाई मामा बनाएकी छन् ।

भीमप्रसाद भन्छन्, ‘करिब सात वर्षअघि दाजु तम्मु आउनुभएको थियो । चोरीको बाटो भएको हुनाले यहाँसम्म आउन उहाँलाई मिलेन । मैले दाजुलाई त्यहीँ भेटेँ ।’ उनी दाइले भनेको सम्झन्छन्, ‘भाइ ५२ वर्षमा भेट भयो हाम्रो । तँ पनि मलाई भेट्न नेपाल आइज भन्नुभएको थियो । तर, नम्बर ठेगाना केही राखिएनछ ।’ लामो समय सरकारी बैंकमा जागिरे भएर अवकाश जीवन बिताइरहेका उनी आफ्नो पुर्खाको थलोको नाम खाँची मात्रै सम्झन्छन् । उनकी श्रीमती देवीमाया भन्छिन्, ‘अर्घाखाँची ।’

केही वर्ष अघिसम्म म्यानमारको राजनीतिक अवस्थाको कारणले नेपाल जान आउन त्यति सहज थिएन । त्यही पनि धेरै आफन्त भारत हुँदै खुसुक्क आउनेजाने क्रम चलिरहेको थियो । आफन्त र पुर्खाप्रति चासो भएका नयाँ पुस्ताहरू अचेल माथिकै बाटो जाने गरेको पाइन्छ । तर, नेपाल र म्यानमारबीच सीधा उडान नभएकाले आवतजावत महँगो छ । जमिनको बाटो लामो र दुःखदायी छ । गत वर्ष सुरु भएको चाइनिज कम्पनी हिमालयन एयरको उडानले धेरैलाई खुसी बनाएको थियो तर त्यो उडान धेरै महिना टिक्न सकेन । दुवै देशका दूतावासलाई यसमा खासै चासो देखिँदैन । सीधा उडानले दुई देशमा छुटेर बसेका आफन्तलाई मात्रै जोड्ने थिएन, म्यानमार र नेपालका बौद्ध धर्मावलम्बीलाई पनि जोड्ने थियो । लुम्बिनी र म्यानमारलाई सजिलै जोड्ने थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.