वाम गठबन्धनलाई प्रचण्डबाटै खतरा
जनमतको प्रारम्भिक रुझान वाम सरकारतर्फ देखियो । यसको मतलब हो वाम समीकरण सफल भयो । स्थानीय निकायमा पाएको भोट सहज ट्रान्सफर भएका कारण वामको पक्षमा मत गएको हो । यो त सुरुआती संकेत मात्र हो । ‘स्विप’ गर्छ भन्ने मेरो पहिल्यै अनुमान थियो । दोस्रो चरणको परिणामले दोस्रोमा पनि ‘सक्’ नै हुन्छ कांग्रेसलाई । नेतृत्व, सैद्धान्तिक अन्योल, चुनावी रणनीतिको अभाव, वामको प्रस्ट गठबन्धनका अघि कांग्रेसको अस्पष्ट र काँचो गठबन्धन पनि कांग्रेस हारको कारक हो । यसको मतलब कांग्रेस नेतृत्व पूर्णरूपमा असफल देखियो । अब करिबकरिब वाम सरकार बन्ने भयो । वामले जिते अधिनायकवाद आउँछ भन्ने कांग्रेसको प्रचार जनताले पत्याएनन् । कांग्रेसको नारा नै कमजोर भयो । वाम समीकरणको ‘स्थिरता र समृद्धि’ को नारा रुचाए जनताले । अहिलेसम्म नेपालको इतिहासमा वामको बहुमत आएकै थिएन । कांग्रेसले पटकपटक अवसर पाउँदा पनि स्थिर सरकार दिन नसकेकाले पनि जनताले वामशक्तिलाई रुचाएका हुन् ।
तर पनि अबको बाटो यस्तै होला भन्न सकिन्न । एमाले–माओवादी गठबन्धन टिक्ला अथवा पार्टी एकीकरण होला भन्ने विषयको निरूपण हुन बाँकी नै छ । वामपन्थी इमानदार भए भने अवश्य पनि नेपाली जनताले स्थिर सरकार पाउन सक्छन् । तर एमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालमा अस्थिरतामा रमाउने र राजनीतिमा चलखेल गर्ने प्रवृत्ति छ । उनले प्रधानमन्त्रीको महŒवाकांक्षा छोडेको देखिन्न । त्यसो हुँदा वाम गठबन्धनलाई कहींबाट खतरा छ भने त्यो वाम गठबन्धनभित्रका प्रमुख नेता प्रचण्डबाटै छ । खड्ग ओली र एमालेका सामु दाहालको व्यवस्थापन गर्ने चुनौती सबैभन्दा ठूलो छ । स्थिर सरकार भताभुंग हुने खतरा पनि त्यहींबाट छ । अहिले वामपन्थीको जितलाई बधाई दिन सकिन्छ । उत्सव मनाउन पनि सकिन्छ, तर अगाडिका बाटा राजनीतिक र आर्थिक चुनौतीले भरिएका छन् । यो जितका कारण अर्को समस्या भूराजनीतिमा पनि आउन सक्छ । वाम भएकाले उत्तरबाट सहयोग र समर्थन त यसले प्राप्त गर्ला,
तर दक्षिण वामको जितलाई टुलुटुलु हेरेर बस्ला भन्ने नचिताए हुन्छ । तसर्थ भोलिको सरकारलाई दक्षिणको व्यवस्थापन चुनौतीले भरिएको छ ।
जनतामा जुन समृद्धिको आशा पलाएको छ, त्यसलाई प्रारम्भिक दिनबाटै ‘डेलिभरी’ गर्न सकिएन भने आउने सरकारको चुनौती तिनै जनताबाट आउनेछ । संविधानले परिकल्पना गरेको तीन तहको जुन राजनीतिक तह छन्, तिनको व्यवस्थापन, साधनस्रोतको बाँडफाँट र ती क्षेत्रमा गर्नुपर्ने प्रशासकीय स्थापना पनि उत्तिकै चुनौतीले भरिएका छन् । प्रादेशिक राजधानी, नाम र प्रादेशिक गभर्नरका कुरा चुनौतीपूर्ण नै छन् । तर पनि यी चुनौतीका बीच सम्भावना के छ भने जनताको व्यापक समर्थन र भरोसाबाट भावी सरकार बन्दैछ । जनताको समर्थन पाइसकेपछि गर्न नसक्ने चुनौती केही हुँदैन । आशा गरौं, भावी दिन नेपाल र नेपाली जनताको समृद्धिको दिन हुनेछ ।
प्रतिक्रिया दिनुहोस !