इरोमको हार
मेरो मुखबाट अचानक आवाज निस्क्यो— इरोम...इरोम !
करिब सात महिनापछि अचानक उनी मेरा आँखा अघिल्तिर परेकी थिइन्।
अकल्पनीय रूपमा, नसोचिएको स्थानमा उनलाई देखेर म अचम्मित थिएँ।
उनले मेरो आवाज ठम्याइन् या ठम्याइनन्, त्यो थाहा भएन। तर, उनले मलाई यस्सो फर्केर पनि हेरिनन्। मेरो ठूलो आवाजका कारण कतिपय आनी र लुम्बिनी पुगेका अन्य दर्शनार्थीले भने मतर्फ हेरेका थिए।
आनीको पहिरनमा रहेकी उनलाई ढोकैमा भेटेका कारण मैले पहिलो हेराइमै चिनेको थिएँ। उनी सबैभन्दा अगाडि बसिरहेकी थिइन्, आँखा चिम्लेर।
त्यति लामो समय संगत गरेको मलाई उनले नचिन्नु पर्ने कारण भने केही पनि थिएन। मेरो आवाजसँग उनी भलिभाँती परिचित हुनुपर्ने हो ! तर, उनले कुनै प्रतिक्रिया दिइरहेकी थिइनन्। यस्तो अवस्थाले म बडो असमन्जसमा परेको थिएँ।
केही बेरमा थुप्रै गेरु वस्त्रधारी आनीहरूसँग इरोम लाइनबद्ध भएर कतै प्रस्थान गरिन्। म उनलाई केही परसम्म पुगेर अपलक हेरिरहेको थिएँ। आकाश खुला थियो। म कहिले पंक्तिबद्ध आनीहरूतिर त कहिले आकाशतिर हेर्न थालेँ।
आइरन लेडी इरोमको पार्टी र विचारको म डाइहार्ट समर्थक थिएँ। उनको १६ वर्ष लामो अनशनमा कुनै पनि दिन मैले उनलाई एक्लै छाडिनँ। देशमा झाँगिँदो विकृति-विसंगति, थिचोमिचो, भ्रष्टाचार, व्यभिचारविरुद्ध उनले उठाएको आवाज जायज थियो। त्यो आवाज सबै भुइँमान्छेका पक्षमा थियो। महिलाका पक्षमा उनका अभियान सैद्धान्तिकमात्र नभएर व्यावहारिकसमेत थिए। राज्यले प्रशासन तथा सुरक्षा संयन्त्रलाई दिएको असीमित अधिकारका कारण तिनको थिचोमिचो उत्कर्षमा पुगेका बेला उनले निडर ढंगमा प्रतिवाद गरेकी थिइन्। राज्यविरुद्ध बोलेका कारण उनी पटकपटक जेल परेकी थिइन्।
‘आइरन लेडी’ उनलाई विश्वप्रसिद्ध पत्रिका टाइमले दिएको उपाधि। अनशनकै क्रममा उनलाई विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थाहरूले सम्मान तथा विभूषित गरेका थिए। उनको घरको कोठामा ती सम्मानपत्रहरू लहरै टाँगिएका थिए। एम्नेस्टी इन्टरनेसनलले त उनलाई ‘विवेकको बन्दी’ भनेर जेलमै गएर सम्मान गरेको थियो। मानवअधिकारवादी, नागरिक समाजजस्ता संस्था त उनको पछि नै लागेका थिए। अन्तर्राष्ट्रिय नारी दिवसका कार्यक्रम इरोमलाई सम्मान नगरी वा उनको सम्भाषण नसुनी आयोजना नै हुन नसक्ने भएको थियो।
सरकारका बुझाइमा ब्रह्मपुर जिल्ला क्रान्तिकारीहरूको थलो थियो। सोही बुझाइका कारण त्यस इलाकामा सैनिकलाई सक्रिय राख्ने मनशाय सरकारको थियो। नजानिँदो ढंगमा सैनिक त्यहाँ उपस्थित थिए। राति गस्ती गर्ने, बाटोमा हिँडिरहेका बटुवालाई अनावश्यक प्रश्न सोधेर हैरान पार्ने र जथाभावी खानतलासी लिने काम भइरहेको थियो। कतिपय सेना त एक्लै हिँडेकी महिलालाई एकोहोरो हेर्थे। तिनका आँखामा खराब भाव झल्कन्थ्यो।
यस्तै क्रम चलिरहँदा स्थानीय सचेत वर्ग झनै आक्रोशित हुन पुगेका थिए। देशका अन्य भेगमा यस्तो अवस्था नदेख्ने सरकारले आफ्नो जिल्लामा मात्र सैनिक सक्रिय बनाएकाले युवाहरू चिन्तित भएका थिए। तर, कुनै पनि राजनीतिक पार्टीले यस विषयमा मुख खोल्न सकिरहेका थिएनन्। जतिसुकै पटक सरकार परिवर्तन भए पनि वा निर्वाचन भए पनि ब्रह्मपुरको अवस्थामा सुधार आउन सकेको थिएन। बिनाकारण एकपटक त्यहाँ सैनिक अप्रेसन चलायो सरकारले। र, निर्दोष-निहत्था पाँच सय जनाको ज्यान लियो। घरभित्रै पसेर कतिपय युवाको हत्या गरिएको थियो। सोही घटनापछि नै इरोमले सैनिक ज्यादतिविरुद्ध अनशन सुरु गरेकी थिइन्।
लामो अनशनपछि उनले राज्यआतंक तथा कतिपय कुरीति, विसंगतिविरुद्ध आवाज सशक्त पार्न ‘समन्याय’ नामक पार्टी खोलेकी थिइन्। उनी १६ वर्षसम्म झोल पदार्थमात्र खाने-ठोस केही पनि नखाने, कपाल नकोर्ने, अनुहारमा केही पनि नदल्ने प्रतिज्ञामा अटल रहिन्।
उनको अनशनले राज्य थर्किएको थियो। अनशन तोडाउन उनलाई नानाथरी आश्वासन दिइन्थ्यो। प्रहरी तथा प्रशासन लगाएर धम्की पनि पटकपटक दिइएको थियो। तर, यी सारा कुराबाट उनी रत्तिभर विचलित थिइनन्। अनशन चरमोत्कर्षमा पुगेको थियो। उनलाई भेट्न र हेर्न दिनहुँ हजारौं मान्छे अनशनस्थलमा आउँथे। उनको अभियानलाई समर्थन गर्दै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्थे। यसरी हस्ताक्षर गर्नेको संख्या झन्डै लाख पुगिसकेको थियो।
इरोम सोचिरहेकी थिइन्— अब अनशन होइन, पार्टी खोलेर तमाम विकृतिविरुद्ध आवाज मुखरित गर्नुपर्छ। प्रत्यक्ष राजनीतिबिना परिवर्तन असम्भव हुने उनको अन्तर्मनले ठोकुवा गरेको थियो। उनको यही सोचले मूर्त रूप लिएपछि नै उनी निर्वाचनमा होमिएकी थिइन्।
उनका हरेक सभामा कम्तीमा हजार मान्छे उपस्थित हुन्थे। चन्दा बाकसमा हालिएको पैसामात्रै १० लाख रुपैयाँभन्दा बढी भइसकेको थियो।
सरकारका बुझाइमा ब्रह्मपुर जिल्ला क्रान्तिकारीहरूको थलो थियो। सोही बुझाइका कारण त्यस इलाकामा सैनिकलाई सक्रिय राख्ने मनशाय सरकारको थियो। नजानिँदो ढंगमा सैनिक त्यहाँ उपस्थित थिए।
उनले विसंगतिविरुद्ध लड्न थालेदेखि नै म उनलाई नजिकबाट नियालिरहेको थिएँ। उनको अभियान सुरु हुन लाग्दा म देशको एउटा ठूलो प्रजातान्त्रिक पार्टीको केन्द्रीय सदस्य थिएँ। म संलग्न पार्टी सत्तामा जाँदा कुनै पनि बेला मन्त्री बन्नसक्ने अवस्थामा थियो मेरो राजनीतिक पहुँच। सभासद् त म थिएँ नै, समानुपातिकबाट। मेरो गृहजिल्ला ब्रह्मपुरमा म लोकप्रिय पनि थिएँ। अनाहकमा जेलमा थुनिएका युवा, जागिर खोज्नेहरू, सानोतिनो आर्थिक सहयोग माग्नेहरू वा भनसुनका काम गर्नु मेरो नित्य कर्म बनेको थियो। यस्तै कामका कारण पनि म जिल्लामा चिनिएको थिएँ।
मलाई प्रत्यक्ष निर्वाचनसँग सधैं अविश्वास थियो। सर्वसाधारणको मनभित्र पसेर हेर्न र कसलाई मत दिन्छन् भनी बुझ्न निकै कठिन लाग्थ्यो मलाई। त्यसैले मैले समानुपातिकतर्फकै बाटो रोजेँ र सभासद् बनेँ।
इरोम निर्वाचनमा होमिने निर्णयमा पुगिन्। मेरै जिल्ला ब्रह्मपुरको क्षेत्र नम्बर १ बाट। ब्रह्मपुर राज्यद्वारा किनारमा पारिएको जिल्ला थियो। राज्यको ज्यादा निगरानीले यस जिल्लामा चरम नकारात्मक असर परेको थियो। मैले आफ्नै पहलमा केही विद्यालय, सडक, स्वास्थ्यचौकी खोल्न सरकारलाई बाध्य पारेको थिएँ। त्यसका निम्ति हरेक आर्थिक वर्षमा बजेट छुट्याउन लगाएको थिएँ। तर, ती सबै अपुग थिए। लोकतान्त्रिक विचारको खोल ओढेको मेरो पार्टी राजधानी र केही सुगम भेगमा मात्र रमाइरहेको थियो। मोफसल तथा सुदूर क्षेत्र उसको प्राथमिकतामा कहिल्यै परेको थिएन। पार्टीलाई देशको समावेशी विकाससँग कुनै चासो थिएन। लोकतान्त्रिक भनिएको र सारा संसारले पत्याएको मेरो पार्टीको आन्तरिक लोकतन्त्र निकै कमजोर थियो। पार्टी क्रमश: व्यक्तिवादी र नातावादी बन्दै गएको थियो। आवधिक निर्वाचन उसको प्राथमिकतामा कहिल्यै परेन। यसकारण पनि म उक्त पार्टीका कतिपय बैठकमा कि त भागै लिन्नथेँ कि त बैठकमा फरक मत राख्थेँ। कतिपय युवा नेता मेरो कुरामा सहमत हुन्थे, तर ती पार्टीका शीर्ष नेतासामु चुइँक्क पनि बोल्न सक्दैनथे। त्यो पार्टीका अधिकांश नेता ‘राजनीति जोगी बन्न गरेको होइन’ भन्ने मान्यता राख्थे।
इरोम र म कलेजका सहपाठीका साथै एउटै जिल्लाका बासिन्दा पनि भएकाले हाम्रो परिचय पुरानो त थियो नै साथमा एकअर्काप्रति विश्वास पनि गथ्र्यौं। उनी आईए पढ्दादेखि नै विद्रोही स्वभावकी थिइन्। पढाइमा पनि अब्बल। वाककलामा खुबै दख्खल भएकी। एकपटक देशव्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो, हाम्रो कलेजले। त्यस बेला म दोस्रो भएको थिएँ, इरोमले पहिलो पुरस्कार हात पारेकी थिइन्। उनले आफ्नो कवितामा देशलाई धूवाँको बिम्ब दिएकी थिइन्। त्यो धूवाँ बेलाबेलामा आकार परिवर्तन गरिरहन्थ्यो। कवितामा उनले कतै देशको अस्तित्व नै नामेट हुने त हैन, देशै नरहने त होइन भन्ने आशय कलात्मक ढंगमा उतारेकी थिइन्। कविता वाचन पनि प्रभावकारी थियो उनको। उनको कविताको सर्वत्र प्रशंसा भएको थियो। म दोस्रो भए पनि ओझेल परेको थिएँ। कविता त मैले पनि राजनीतिक विषयमै लेखेको थिएँ। सायद मेरो कविता उनको भन्दा कलाका दृष्टिमा केही कमजोर थियो। मूल्यांकनकर्ताको निर्णयप्रति मेरो शतप्रतिशत समर्थन थियो, इरोमको प्रथम भएको कविता निश्चित रूपमा मेरोभन्दा उत्कृष्ट थियो नै।
त्यस बखत विद्यार्थी युनियनमा पनि मेरो पहुँच बलियो थियो। कारण म संलग्न युनियन नै त्यहाँ निर्वाचनबाट विजयी भएर कार्यरत थियो।
म औसत स्तरको पढाइमै रमाइरहेको थिएँ। राजनीति त गर्थें नै म पनि, लोकतान्त्रिक दलको भ्रातृ संगठनमा आबद्ध रहेर। इरोम स्वतन्त्र थिइन्, कुनै दलमा आबद्ध नभईकन कलेजमा उनको प्रभाव गज्जबको थियो। उनलाई हरेक विद्यार्थी युनियनले तान्ने प्रयास गर्थे, तर उनी कुनै पनि नामको युनियनको सदस्य भइनन्। र, कहिल्यै विद्यार्थी चुनावमा भाग पनि लिइनन्।
सरकारले प्रतिनिधिसभा निर्वाचनको तिथि तोकेपछि म इरोमसँग चौबीसै घन्टाजस्तो रहन थालेँ। उनले सम्बोधन गर्ने हरेक कार्यक्रममा मेरो सहभागिता हुन्थ्यो। कार्यक्रमको सञ्चालन अधिकांश म नै गर्थें।
उनलाई भेट्न आनन्द कुमार नामका एकजना भारतीय प्राध्यापक बेलाबखत घरमै आउने गरेको म देख्थेँ। ती प्राध्यापकसँग इरोमले मेरो सामान्य परिचय गराइदिएकी थिइन्। जब ती इरोमको घरमा आउँथे, तब म त्यहाँबाट बाहिरिन्थेँ। मलाई लाग्थ्यो, प्राध्यापक आएपछि इरोम पनि म बाहिरिए हुन्थ्यो भन्ने सोच्थिन्। उनीहरू घन्टौं बसेर गफ गर्थे। आनन्द कुमार भारतको प्रख्यात विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउँथे। भारतीय कम्युनिस्ट पार्टीमा उनको राम्रै पहुँच रहेको चर्चा चल्थ्यो। यता, नेपालमा भने उनलाई ‘रअ’को एजेन्ट, गुप्तचर संस्थाको कर्मचारी आदि भन्दै आशंका गरिन्थ्यो। काठमाडौंबाट निस्कने ठूला आकारका केही अखबारमा उनीविरुद्धका समाचार मैले पढेको थिएँ। यसबाहेक मैले आनन्द कुमारसँग दोहोरो कुराकानी पनि गरेको थिइनँ। मलाई आनन्द कुमारका बारेमा यतिचाहिँ थाहा थियो— जसरी इरोम एकल थिइन्, उसैगरी त्यो प्राध्यापक पनि अविवाहित नै थियो। म पनि सोही पक्तिमा थिएँ।
मलाई विवाह गर्नु र प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु उस्तैउस्तै लाग्थ्यो। अरूमा आ िश्रत हुनुपर्ने अवस्था ! झुट बोल्नुपर्ने बाध्यता। त्यसैले विवाह र निर्वाचनमा उम्मेदवारी मेरो प्राथमिकतामा कहिल्यै परेनन्।
निर्वाचनको प्रचार गर्न पाउने दिनको अघिल्लो बिहान आनन्द कुमार टुप्लुक्क इरोमको कोठामा देखा परेको थियो। त्यस समय इरोम र म निर्वाचन रणनीतिबारे गम्भीर कुराकानीमा जुटेका थियौं। तर, प्राध्यापक टुपुल्किएपछि म सदाझैं लुसुक्क बाहिरिएँ। बेलाकुबेला आइरहने ती प्राध्यापकसँग मलाई कहिलेकाहीँ त रिस पनि उठ्थ्यो। मुखै खोलेर भनिदिऊँ, समय लिएर मात्र आऊ प्राध्यापक महोदय ! तर, म त्यसो भन्न सकिरहेको थिइनँ अर्थात् त्यसो भनिदिने हिम्मत जुटाउन मैले सकिरहेको थिइनँ। किनकि, ऊ इरोमको निकै नजिक थियो। सायद मभन्दा धेरै नजिक ! हुनसक्छ इरोमको नजरमा म उनको दोस्रो विश्वास पात्र थिएँ, आनन्द कुमारचाहिँ पहिलो।
निर्वाचनको पूर्वसन्ध्यामा आनन्द कुमारको आगमनले विपक्षी अर्थात् प्रतिस्पर्धी उम्मेदवारहरूलाई मसला मिलिहाल्यो। तिनले अन्तिम दिनको सभा-समारोहमा इरोमलाई भारतीय दलाल, जासुससमेतको आरोप लगाउन भ्याइहाले। आनन्द कुमारसँग इरोमको यौनसम्पर्क रहँदै आएको पनि तिनको आरोप रह्यो। त्यतिमात्र कहाँ हो र ! इरोमले हिन्दु संस्कृतिविपरीत महिनावारीसमेत नबार्ने गरेको आरोप पनि लगाइएको थियो। वास्तवमै इरोमले कहिल्यै महिनावारी बारेको चाहिँ मलाई पनि थाहा थिएन। म पनि यस्ता परम्पराको पक्षपाती बिल्कुलै थिइनँ।
विपक्षीले अर्को आरोप पनि लगाइरहेका थिए। त्यो आरोप नितान्त मसँग जोडिएको थियो। लामो समयदेखि मेरो र इरोमको यौनसम्बन्ध रहँदै आएको तिनले आरोप लगाएका थिए। त्यही कारण मैले आफ्नो पुरानो पार्टी छाडेको तिनको भनाइ थियो। आफूसँग जोडिएको आरोपले भने म रन्थनिएको थिएँ।
आनन्द कुमारको नामसँग जोडिएर आएको आरोपको खण्डन मैले गर्न नसकूँला तर मसँग जोडिएको आरोप भने शतप्रतिशत मिथ्या थियो। कहिल्यै पनि मैले इरोमलाई त्यस खालको दृष्टिले हेरिनँ। म उनको सिद्धान्त र उनले निर्माण गरेको अभियानको पक्षपाती मात्रै थिएँ। म उनलाई एउटा असल साथी मान्थेँ।
आफूमाथि लागेको आरोपको खण्डन गरिरहनु जरुरी लागेन मलाई। इरोमको निर्वाचनको अन्तिम दिनको सभा पनि मैले नै सञ्चालन गरेको थिएँ। त्यस सभामा दसौं हजार मान्छे उपस्थित थिए, त्यहाँ मैले आफूलाई चोख्याउन सक्थेँ। तर, मैले सोचँे— म जब बिटुलिएकै छैन भने चोख्याउनुपर्ने आवश्यकता नै किन ? यही कारण मैले कार्यक्रम सञ्चालनका क्रममा इरोमका भावी योजना र उनले बोेकेको सिद्धान्त बुझाउने प्रयत्न गरेँ।
इरोम भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आफ्ना अभियानमा दिनरात खटिइरहिन्, साथमा आफ्ना योजनाका कुरा पनि गर्दै रहिन्। म उनको पछिपछि लागिरहेँ। उनको जितले कम्तीमा आफ्नो जिल्लाको अनुहार फेरिनेमा म विश्वस्त थिएँ। राज्यको कुदृष्टि हट्ने आशा मभित्र पलाएको थियो।
निर्वाचन भयो। ब्रह्मपुरमा देशको सबै निर्वाचन क्षेत्रभन्दा बढी मत खसेको अनुमान सरकारी सञ्चारमाध्यमले लगाए। ८० प्रतिशतभन्दा बढी मत त्यहाँ खसेको तिनको भनाइ थियो।
पर्सिपल्ट मतगणनाको नतिजा आयो। नतिजा सुनेर मलाई भाउन्न भयो। रिँगटा लागेर त्यहीँ ढलिएला जस्तो भयो। आफूले हेरिरहेको टेलिभिजन फुटाइदिऊँझैं लाग्यो।
इरोमले जम्मा ९० भोट पाइन् ! उनको प्रतिद्वन्द्वीले १० हजार सात सय ४० भोटसहित शानदार विजय हासिल गर्यो। इरोमको जमानत जफत भयो। उक्त जिल्लाका निम्ति प्रतिनिधिसभामा पाँच सिट छुट्याइएको थियो। इरोमका पार्टीबाट पाँचैजना उम्मेदवार उठेका थिए। इरोम पहिलोपटक ब्रह्मपुरबाट मात्र आफ्नो पार्टीको उम्मेदवारी रहने, त्यसपछि क्रमश: अन्य जिल्लामा पनि पार्टी सञ्जाल फैलाउने र राष्ट्रिय स्वरूपमा जाने सोचमा थिइन्। तर, निर्वाचनमा इरोममात्र होइन, उनको पार्टीका सबै जनाको जमानत जफत भयो।
म कुद्दै इरोमको घरतिर लागेँ।
घरमा ताल्चा ठोकिएको थियो।
जिन्दगीको महत्वपूर्ण उमेर १६ वर्ष देश र जनताका लागि लडेकी इरोम। उच्चतम सुन्दर उमेर २८ वर्षको छँदा उनले आफ्नो जिन्दगी जनताका निम्ति भन्दै समर्पित गरेकी थिइन्। उनलाई जनताले दिएको भोट जम्माजम्मी ९० !
म विश्वासै गर्न सकिरहेको थिइनँ।
निर्वाचन सकिएको महिना दिन पनि बित्न नपाउँदै इरोमका पार्टीका चार उम्मेदवारले पार्टी परिवर्तनको घोषणा गरे र म पहिला आबद्ध पार्टीमा प्रवेश गरे। पार्टी प्रवेशका क्रममा तिनले पनि इरोमलाई सोही आरोप लगाए, जुन आरोप निर्वाचनअघि प्रतिद्वन्द्वीले लगाएका थिए। ती चारैजना पार्टी प्रवेश गरेको समाचार देशका अधिकांश दृश्य सञ्चारमाध्यमले निकै प्राथमिकतासाथ प्रसारण गरेका थिए।
निर्वाचनपछि इरोम कसैसँग पनि भेटघाट गर्न चाहिरहेकी थिइनन्। एक प्रकारले उनी बेपत्ता थिइन्। सञ्चारमाध्यमले उनलाई निकै पछ्याइरहेका थिए। पत्रकारहरू उनीसँग सोध्न चाहन्थे, उनको लज्जाजनक हारको कारण। तर, उनलाई कसैले भेट्न सकेन। कतिपय पत्रकारले मलाई इरोमसँग समय लिइदिन अनुरोध पनि गरेका थिए। कहाँ छिन् इरोम भनी मसँग थुप्रै सम्पादकले सोधेका थिए। तर, तिनलाई के पत्तो इरोम मसँग पनि सम्पर्कविहीन छिन् भन्ने ! मैले ती पत्रकारहरूलाई ‘मेरो भेट भयो भने तपाईंहरूलाई पनि भेट गराइदिऊँला’ भन्दै पन्छाउँदै गर्नु परेको थियो।
उनको मोबाइलमा मैले सयौंपटक सम्पर्क गर्न खोजेँ, तर त्यो स्विचअफ थियो।
इरोम अचानक बेपत्ता भइन् !
म संलग्न पुरानो दलका कतिपय शुभेच्छुक आएर मलाई पार्टीमा फर्किन अनुरोध र सल्लाह दिइरहेका थिए। म भने राजनीतिबाट अलग कसरी हुन सकिन्छ भन्नेबारे सोचिरहेको थिएँ।
किशोरवयमा पढेको आचार्य रजनीशको एउटा पुस्तकको अंश याद आयो मलाई निर्वाचन परिणाम देखेपछि। उनले भनेका थिए, ‘निर्वाचन भनेको खराबहरूको प्रतिस्पर्धा हो, जो बढी खराब छ, उसैले निर्वाचन जित्छ।’ पचास वर्षभन्दा पनि अझै अघिको समयको भारतको अवस्थालाई देखेर उनले भनेको वाक्य आज आफ्नो मुलुकमा पनि साकार भएको पाउँदा मलाई निकै दु:ख लागिरहेको थियो।
अचानक बेपत्ता हुने इरोमको शैली पछ्याउन मन लाग्यो मलाई पनि। राजनीतिमै बसिरहने हो भने आफूलाई डिप्रेसन हुने संकेत मैले पाइरहेको थिएँ। जतिसक्यो चाँडो यसबाट आफूलाई मुक्त पार्नुमा मैले आफ्नो बाँकी जिन्दगीको हित हुने बुझिरहेको थिएँ।
अरुले सोचे होलान्, म पनि अचानक बेपत्ता भएँ भनेर !
मलाई पनि भित्रभित्रै राजनीति र समाजसँगै विरक्ति जन्मिएको थियो। विरक्तिलाई बिसाउन चाहन्थेँ म। बाँकी जिन्दगी आफ्नै मर्जीमा बिताउन चाहन्थेँ म।
एकाबिहानै केही कपडा झोलामा कोच्दै घरबाट निस्किएर बसपार्कतिर लागेँ म। केही दिन पोखरामा बिताएपछि बुद्ध जन्मथलो लुम्बिनीमा केही दिन बिताउने विचार मनमा आएको थियो।
र, साँझपख म लुम्बिनी पुगेको थिएँ।
इरोम गेरु वस्त्रमा बौद्ध धर्म गुरुहरूसँग ध्यान गरेर बसिरहेकी थिइन्। उनी आनी भइसकेकी रहिछन्। अचानक उनलाई नयाँ रूपमा देखेपछि मैले उनलाई बोलाएको थिएँ— इरोम, इरोम भनेर। ध्यानमा मग्न उनलाई मेरो आवाजले स्पर्श गर्न सकेन सायद, अथवा मेरो आवाज पनि इरोमका निम्ति अपरिचित भइसकेको थियो !
उनको बाक्लो कपाल लट्टा परेका थिए। तर, अनुहारमा भने अर्कै कान्ति देखिन्थ्यो। एक प्रकारको जितको खुसी प्रतिविम्बित थियो उनको अनुहारमा। सफा, कोमल, आधा शताब्दी पुगेको गालामा पनि एउटै चाउरीका धर्सा नदेखिएका ! मैले मिल्नेसम्म नजिक गएर हेरेँ उनलाई। र, उनी त्यस क्षण निकै सुन्दर देखिएकी थिइन्।
‘ओम् माने पेमे हुम्’को लयबद्ध र सुमधुर आवाजमा म तरंगित भइरहेको थिएँ। पर कतैबाट उक्त ध्वनिमा संगीत पनि मिसिइरहेको थियो। एकातिर मलाई त्यहाँ दिव्य शान्ति मिलिरहेको थियो भने अर्कोतिर अचानक इरोमको दर्शनले अनौठो कौतूहल पनि उत्पन्न भइरहेको थियो।
भजनको आवाज विस्तारै मधुरो हुँदै गयो। तर, मेरो कानमा मीठो ध्वनि भने गुञ्जिरहेको थियो।
साँझपख घाम पहेलिँदै थियो।
करिब पचास जनाको हूलमा मलाई सबै इरोम लाग्न थाल्यो। उनी केही पर पुगिसकेकी थिइन्, त्यसैले अब उनलाई चिन्न सकिँदैनथ्यो।
आकाशको पहेँलो घाम क्रमश: गेरु रङको बन्दै गएको थियो। आनीहरूले लगाएको गेरु वस्त्रको प्रतिच्छाया आकाशमा परेजस्तो देखिन्थ्यो। मलाई यस्तो अनुभूति हुँदै थियो— ओम् माने पेमे हुम्को ध्वनि आकाशबाटै गुञ्जँदै थियो। र, ध्वनिसँगै लहरिँदै इरोम उनको जिन्दगीको अगाडिको आनन्ददायी यात्रा तय गरिरहेकी थिइन्।