जिन्दगी कसैले लेखेको किताब होइन
मुक्तिचोकमा उभिएर चारैतिर हेरेँ। आउनेहरू आइरहेका थिए। जानेहरू गइरहेका थिए। उभिने एउटा म मात्र थिएँ। हतारले भरिएको एउटा जिन्दगी; मानिस हतारमै सवार भएर दौडिरहेका थिए। यस्तो लाग्थ्यो मलाई, म एउटा रूख हुँ। अविचल उभिएको छु बीच चौरस्तामा सडकलाई छेउछेउबाट जान दिँदै। मानिसभन्दा धेरै पहिलादेखि हिँड्न थालेका यी सडकहरू कहाँसम्म पुगिसके होलान् यतिका युगभरि गइरहँदा। मानिसभन्दा अघिअघि निरन्तर आफ्नो थुतुनो लम्काइरहेका यी सडकका किनारमा उभिएको म। एक पीपल, कल्पवृक्ष यही ठाउँमा यहीँ कतिपल्ट मरेँ, सडेँ, गलेँ। बोटबिरुवा हुँदै, वृक्ष बन्दै, हुर्किंदै गल्दै र सड्दै गएँ।
सोच्छु, के जिन्दगी बिम्बै बिम्ब मात्रै हो ! के जिन्दगीलाई चिन्न अरू थुप्रै थुप्रैहरूलाई पनि सँगसँगै चिन्दै गइरहनू ! रूखहरू, खोलाहरू, पहाडहरू, प्रकृतिका अनेक कुराहरू नबुझी बुझिँदैन र जिन्दगी ! मैले सधैं आफूलाई एक्लै हिँडाउन खोजेकै हुँ। म सक्दिनँ यो भिडसँग दौडिन भनेकै हुँ। अरूको गति र चालसँग सक्दिनँ चल्न भनेकै हुँ। हिँड्दाहिँड्दै जब म पछि छोडिँदै जान्थेँ, कोही आएर हातमा समात्दै घिसार्न थालिहाल्थे। भन्थे, ‘यात्रा एक्लै हिँड्नु सधैं खतरनाक हुन्छ। यात्रामा यात्रीको साथ छोड्नु सधैँ असुरक्षित हुन्छ।’ डरैडरको कहालीलाग्दो कथा सुनाउँदै उनीहरू मलाई एक्लै नछोड्न कटिबद्ध थिए।
कहिले घोडचढीका पछाडि परियो र धुलैधुलोले पुरियो। कहिले भीडको बीचमा परियो र ठेलमठेलमा निसासियो। उकालीमा दम फुलेर एकछिन चौतारीमा सुस्ताउँदै गर्दा कहिले साँझले उठाएर दौडायो, कहिले भोक र तिर्खाले घिसार्दै उकालीलाई तेर्सो बनायो। उभिन्छु भन्दा पनि पछाडिबाट घोक्य्राइरहने विगतको पञ्जातिर मुन्टो फर्काएर हेर्न कहिल्यै पाइएन। आगतका अनुहारमा कहिले दिवंगत आमाबाबुहरू कहिले कल्पनीय नातिनातिनाहरूका अनुहार जल्यांगजुलुंग गरिरहँदा यात्राको एकाकी निराशाको ऐनामा लागेको बादल बिस्तारै फाटेझैं लागिरहन्थ्यो।
इतिहासको उचाल्नै नसकिने भारीले थिचिँदै भविष्यको कहालीलाग्दो अनकन्टार ओडारतिर बढिरहँदा मैले आफूलाई बिर्सिएको थिइनँ कुनै बेला पनि। कहिले लाग्थ्यो, म गरुड पुराणको कुनै कुम्भीपाक यात्रातिर हेलिँदै गइरहेछु। कहिले लाग्थ्यो, म उत्तरतिरको सोह्र योजन अग्लो पर्खाल नाघ्दै अघि बढिरहेछु। कहिले लाग्थ्यो, समयको प्रत्येक क्षणलाई अक्षर बनाएर जिन्दगीको आख्यानको ग्रन्थ घिसारिरहेछु आफ्नै ढाडलाई विगततिर फर्किएको चट्टान बनाएर। जसमा आएर एकएक गरी बज्रिरहन्छन् आरोपहरू, आदर्शहरू, स्मृतिहरू।
इतिहासले निर्माण गरेका सबै ऐना फुटाएर निस्किएको हुँ म यो यात्रामा। यही यात्राकै क्रममा त हो नि धेरै पहिला भेटिएका थिए बाटामा गान्धीहरू, हिटलरहरू, अलेक्जेन्डरहरू। यही बाटोमा भेटिएका हुन् किट्सहरू, वाइरनहरू, भिन्ची र अमर चित्रकारहरू। मलाई भृकुटीको इतिहासमा गर्व गर्न लगाउनेहरूले कहिल्यै बुद्धको बारेमा पढाएनन्। आज भनिरहेछन्, ‘जोड जोडले चिच्याएर भन बुद्ध बर्न इन नेपाल (बुद्ध नेपालमा जन्मेका हुन्)।’ चिन्दै नचिनेको मान्छे जन्मे पनि के नजन्मे पनि के ! बुद्ध जन्मेकै थिए भने यो देशमा बौद्ध कति छन्, बौद्धिक कति छन्, बुद्धत्व कति छ ? नेपालमा त मेरा जिजु बा पनि त जन्मेका थिए नि ! उनी जन्मेकैले त म पनि यहाँ जन्मन पाएको। लेखक फेरिँदै जाँदा कि त लेखकका कलम फेरिँदै जाँदा जब इतिहासका अक्षरहरूमा आग्रहको मसी लतपतिन्छ अनि कसरी त्यो कुनै युगको कथा हुन्छ ? कसरी हुन्छ त्यो समाजको बिम्ब !
मैले यात्रामा जब आफूलाई एक्लै कतैतिर बरालिरहेको भेटंँे त्यसै बेला कसैले भनेकोे हो बिग बैंगको कुरा, ब्लाक एनर्जीको कुरा, गड पार्टिकल्स र टेलिपोर्टका कुरा। पुराण, कुराण र बाइबलहरूबाट मुक्ति खोज्दै एक्लै भौंतारिरहेका बेला तिनले मलाई नै फेरि किन सुनाएका होलान् तिनको सृष्टि र प्रलयको सिद्धान्त। के म एक प्रकाश वर्ष मात्रै पनि बाँच्न पाउँछु र ! मैले लाखपल्ट जन्मिँदा पनि एकपल्ट प्रलय नहुने त्यो कथा मलाई सुनाएर के पाउनु थियो र तिनले ! जब मैले उनका कुरामा कुनै ध्यान दिइनँ उनी झुसिलो अनुहार बनाउँदै कतै लागे। म सुन्थेँ होला उनको कुरा पनि। म मानिदिन्थेँ होला उनको जानकारी पनि तर मलाई त अझै धेरै पर पुग्नु थियो यो शब्दै शब्दहरूको जंगलबाट पाखा निस्कनँ।
उकालीमा दम फुलेर एकछिन चौतारीमा सुस्ताउँदै गर्दा कहिले साँझले उठाएर दौडायो, कहिले भोक र तिर्खाले घिसार्दै उकालीलाई तेर्सो बनायो। उभिन्छु भन्दा पनि पछाडिबाट घोक्य्राइरहने विगतको पञ्जातिर मुन्टो फर्काएर हेर्न कहिल्यै पाइएन।
मबाटै भेटिएका हुन् आमाबाबाहरू, दिदीबहिनीहरू, दाजुभाइहरू, श्रीमती र छोराछोरीहरू। पहिला उनीहरूले माया गरे। ढलेको बेला थियो उभ्याए, तंग्य्राए। उभिन र बिस्तारै हिँड्न सिकाए। बाटामा भेटिएका यात्रीहरू आफन्त भए। परिवार भए। अलिअलि गर्दै उनीहरू माया भए, प्रेम भए, आदर्श र कर्तव्य भए। एक्लै दौडिन पनि कठिन भएको बेला खुट्टामा कोही परालका त्यान्द्रा भएर अल्झाउन लागे। कोही फलामकै साङ्ली भएर किलो गाडिन खोजे। जिन्दगी हिँड्दाहिँड्दै ऐरावत हात्ती भयो कुनै बेला। कुनै बेला गणेशको वाहन भयो।
अनि बिस्तारै भन्दै गए, ‘लौ ! अब तिम्रो पालो। अब हामीलाई डोहोर्याउनु, तान्नु, घिसार्नु र बोक्नु।’ कैयौं वर्षसम्म सिसिफस बनेर चढिहेरेँ उकालो। बोक्नै नसक्ने त्यो भारी बिसाउन पनि नपाइने। एक रात सबै निदाएका बेला बिस्तारै भिरालोमै राखेर भागेको म, यी यहाँ आइपुगेको छु।
यतै जान्छु भनेर म हिँडेकै होइन। हिँड्दा हिँड्दै आइपुगियो अहिले यहाँ। मसँग त्यस्तो कुनै सिद्धान्त थिएन अरूले हिँडेको बाटो नहिँड्ने भन्ने। वा आफ्नो लागि आफैंले बाटो बनाउनुपर्छ भन्ने पनि कुनै अठोट थिएन। मलाई उछिन्दै कुद्नेहरूका आआफ्नै बाटाहरू थिए कुनै उनीहरू आफैंले बनाएका, कुनै अरूले खनिदिएका। एकएक वटा सपनाका कुम्लोहरूले ढाड कुप्य्राउँदै उनीहरूलाई पुग्ने हतार थियो। कहिले उनीहरूलाई बाटो छोडिदिँदै, कहिले किनारमा उभिँदै गड्यौला गतिमा घिस्रिरहेकै हुँ म पनि उहिलेदेखि नै।
कसैसँग कुनै आग्रह थिएन त्यस्तो। विशेष प्रस्ताव पनि थिएन। मैले जिन्दगीमा जिन्दगीजस्तो कुनै तस्बिर पनि खिचिनँ। त्यसो त जसले पनि भन्न सक्छ, ‘के बाँच्यौ त त्यस्तो जिन्दगी ! के तिमीले आफ्नो लागि केही नगरे पनि अरूको लागि पनि केही गरेनौ त !’
सोच्दछु, ‘आफ्नै लागि समेत केही नगर्नेले अरूका लागि झन् के गर्न सक्छ !’ मेरो जिन्दगी कसैका लागि ऊर्जा वा निराशाको बिम्ब बन्न सक्दैन। न यो कुनै चोकमा उभिने सालिक नै हुन सक्छ। यो पहिले कुनै बेला प्रदर्शनीमार्गको किनारमा थुप्रिने गरेको फोहोरको डुंगुरजस्तो पनि थिएन। वा टुँडिखेलमा उर्लिने गरेको निरन्तर सपना सुनिरहनेहरूको भीडमा पनि पसेन। न आँखाभरि उदासीको मोतीबिन्दु बोकेर थच्चिएको छ यो। न गंगाको बीचतिर डुंगामा टहलिँदै गरेको अवस्थामा पनि छ।
मलाई लाग्दैन, जिन्दगीको कुनै खास अर्थ पनि हुनुपर्छ। यहाँ अर्थ बोकेर को नै बाँचेको हुन्छ ! अर्थहरूको अर्थसँगको एक छुट्टै लडाइँमा व्यस्त मानिसहरूका भीडबाट किनारा लाग्दै आइपुगेको हुँ अहिले यहाँ।
कुनै बेला मलाई कसैले सुस्तरी छेउमा आएर बिस्तारै कानमा मुख लगी सुकरातले झैं विष पिउने सल्लाह पनि दिए, सिकन्दरले झैं विश्वविजय गर्ने आशीर्वाद पनि थपथपाए। कसैले सिद्धार्थको जस्तो कौपिन धारण गर्न पनि सुझाए। कसैले शंकराचार्यको जस्तो खड्ग पड्काए पनि हुन्छ भने। मैले एकएक पल्ट सबैका अनुहार नियालेर हेरेँ। ती ज-जसलाई यी उपदेशहरू दिन आउँथ्यो उनीहरूमध्ये कसैलाई पनि ती बाटोतिर जाने दिशाचाहिँ थाहा थिएन। उनीहरू अरूलाई जानू त भन्थे तर आफूहरू भने तिनै हजारौं वर्ष पुराना आदर्शलाई घोटेर चम्काउन व्यस्त थिए। उनीहरू भन्थे, ‘हामीसँग नयाँ बाटोहरू बनाउने औजार छैनन्, पुरानै सडकको जीर्णोद्धारमा लागेका छौं।’
जोसँग आफ्नै बाटो बनाउने औजार थिएन, उनीहरूसँग मैले जिन्दगीको नयाँ बाटोबारे सोध्नु नै के थियो र ! एक्लै हिँड्नेलाई बाटो पनि किन चाहिन्छ र ! बाटो त हिँड्दा हिँड्दै आफैं बनिँदै जाँदो रहेछ। आफ्नै पाइतालाका डोबहरूले आफैं बाटो बनाउँदै जाँदो रहेछ। जाँदाजाँदै जब हिँड्दै गरेको बाटो हराउँछ तब अनेकौं नयाँ बाटोका सम्भावनाहरू आफैं खुल्दै जाँदा रहेछन्। आज जुन सडकमा गाडीहरू कुदिरहेका छन् त्यहाँ त्यो बाटो कहिले देखिको हो ? के त्यो बाटो त्यहाँ बन्नुअघि पनि त्यहाँ बाटो थियो ? थियो पनि कि ! कसरी जान्नू !
पाठ्यक्रमभित्र वा बाहिरबाट, अदालतभित्र वा बाहिरबाट, संसद्भित्र वा बाहिरबाट जतै पनि विगतका पुनरुक्तिहरू जोडजोडले चिच्याइरहेछन्। हिजोले नै भोलिमाथि लठ्ठी उज्याइरहेछ। आफू विगत हुनुको गर्वले उन्मत्त ऊ हरेक भोलि माथि अधिकारको दाबी गरिरहेछ। म यस्तो जंगलमा आइपुगेको छु जहाँ विचार, सिद्धान्त, दर्शन, परम्परा, संस्कृति र पहिचानका झ्याउँकीरीहरू कान खाने गरी कराइरहेछन्। देब्रेको लहरोले कसिएको सालको रूख हजार वर्ष बाँच्न सक्छु तर यो लहरोले मलाई उभिनै दिँदैन भन्छ। मलाई त थाहा छैन कति वर्ष बाँच्छु तर यत्तिमै खुसी छु कि अहिलेसम्म बाँचिरहेको छु।
म यसकारण पनि हिँडेको हुँ कि मैले बाँच्दा अरू धेरैले कुनै न कुनै तरिकाले मर्नुपर्ने रहेछ। कि त तिनलाई बाँच्न छोडिदिँदा आफैंले मर्नुपर्ने रहेछ। सोचेँ के अरूलाई नमारी आफू मात्र चाहिँ बाँच्न सकिँदैन !
परिवार, समाज, धर्म, राजनीति प्रत्येकले मलाई तिनको आख्यानको नायक बनाउन चाहन्छन्। उनीहरू मलाई यस्तो किताबको वाक्यमा लगेर टाँस्न चाहन्छन् जहाँबाट म कहिल्यै बाहिर ननिस्कूँ र सधैं सबै युगमा एउटै अर्थ र परम्परा बोलिरहूँ। एउटै विश्वास र मान्यता बोकिरहूँ। म यस्तो बिम्ब बनूँ जसले ढल्दै गरेको धरहरा पनि नदेखोस्, उम्रिरहेको बिरुपाक्षको उचाइ पनि ननापोस्। म पानीमा कोरिएको रेखा जस्तो सभ्यतामाथि जिन्दगीको डुंगा कुदाइरहेछु। पुस्तकै पुस्तकको पर्खालले छेलिएको घुर्मैलो पूर्वतिर फर्किएर इतिहासका बड्यौलालाई भटमास सम्झेर चपाइरहेछु।
परपरदेखि स्याँस्याँ गर्दै आफैंतिर दौडँदै आइरहेका पूर्वक्रान्तिकारी कमान्डरले चिच्याउँदै भने, ‘उता नजानू। विप्लवीहरू यतैतिर आइरहेछन् बम बोकेर।’ म जसले कहिल्यै न बम बोकेँ न बन्दुक। न कहिल्यै जाली तमसुक लेखेँ न जाली किताब। म त सधैं घुन हुँ, हिजो पनि पिसिएँ भोलि पनि पिसिन्छु। इतिहासका अक्षरभरि मैजस्ता घुनहरूलाई डिको बनाएर पृष्ठ भरिन्छ र विश्वविद्यालयका कक्षाकोठाहरूमा अनुसन्धानका तथ्यांकमाथि छलफल चल्छ।
कहिल्यै नपढिएका पुस्तकका सूची दिमागभरि बोकेर कुदिरहेका उनीहरूका अघि एक दिन म ठिंग उभिन पुगेछु। तिनले भने—
- ‘तिमीले कार्ल माक्र्सको पुँजी पढिसक्यौ ? ’
- ‘तिमीलाई गीताको कुन अध्याय कण्ठस्थ छ ? ’
- ‘गान्धीले अर्को गालो पनि किन थापेका, तिमीले थाहा पायौ ? ’
- ‘सञ्जीव उप्रेतीको हाँसको कथा तिमीले पढिसक्यौ ? ’
- ‘पूर्वक्रान्तिकारी कमान्डरलाई परेको पुत्रशोकबारे तिम्रो भनाइ के छ ? ’
अर्को एकजना पछाडि उभिएका रहेछन् भने—
- ‘तिमीलाई थाहा छैन होला अचेल शंखपार्कको गेटमा क्यान्सरको औषधि पन्ध्र रुपैयाँ ग्लास किन्न पाइन्छ नि !
- ‘सधैं काँचो लसुन खायौ भने मुटुको रोग च्वाट्टै हुन्छ।’
- ‘हरेक पार्टीका ज्यातिषीले आआफ्ना अध्यक्षको प्रधानमन्त्री बन्ने जोग कस्तो छ भनेर हेरिरहेका छन् रे।’
मैले तिनलाई उनको आफ्नै कपालमा अघाएर पल्टेको ढाडी देखेँ। ती आफ्नै कपालभित्र आफैं हराएका थिए।
हरेकले आआफ्ना पुस्तकको प्याराग्राफ बनाउन खोजिरहे मलाई। मैले आफैंलाई इरेजर बनाएर मेटिरहेँ तिनका अक्षरहरू। आज जब जीवनको यो मैदानमा आइपुगेँ र देखेँ- म कसैले लेखेको किताबको पात्र थिइनँ। म त एक्लै हिँड्दाहिँड्दै आफै बनिएको एउटा सानो कथा थिएँ। आफ्नै कथा थिएँ।