ईश्वर : विश्वास कि त्रास ?

ईश्वर : विश्वास कि त्रास ?

ईश्वर त्यो हो, जसको आफ्नो स्वार्थ हँदैन। मेरो सामान्य बुझाइ हो यो।

ईश्वर छ तर ईश्वर छैन भन्ने प्रश्न पनि छ। चार्वाकले अस्वीकार गरे। बुद्धले प्रश्न गरे। फ्रेडिक नित्सले स्वीकार र अस्वीकारको सिमाना भत्काएर मृत्युको घोषणा गरे।

चार्वाक अनिश्वरवादी थिए, अस्वीकार गरे। बुद्ध संशयवादी थिए, प्रश्न उठाए। बुद्ध हरेक विषय र वस्तुमाथि प्रश्न गर्थे। कारण खोज्थे। ईश्वरका बारेमा पनि सधैं प्रश्न गरे। पादरी परिवारमा जन्मेका नित्से आस्तिक थिए। आस्तिक आँखाले ईश्वर खोजे, भेटेनन्। बरु मानिस ईश्वरको दास भएको देखे। घोषणा गरे, ‘ईश्वरको मृत्यु भयो र मानिस स्वतन्त्र भयो।’

तर यहाँनेर नित्से नराम्रोसँग चुकेका छन्। ईश्वर छ–छैन भन्ने विवाद चलिरहँदा नित्सेले ईश्वर मृत्युको घोषणा गरे। जन्मेकै छैन भने मृत्यु कसरी हुन्छ ?  ईश्वर मृत्युको घोषणा गरेर अतिमानव जन्माउने नित्सेलाई यो सामान्य ज्ञानको बोध नभएको देखिन्छ। मृत्युको घर जीवन हो। जीवनबिना मृत्युको न उपस्थिति सम्भव छ, न अस्तित्व !

सोरेन किर्किगार्डपछि नित्सेलाई पछ्याउने पश्चिमा अस्तित्ववादीहरू जिनपाल सात्र्र, अल्वर्ट कामु, मार्टिन हेगर, गेब्रिल मार्कल आदिले अस्तित्ववादको व्याख्यालाई बढाए तर ईश्वरको अस्तित्व–विवादको समाधान दिन सकेनन्। ईश्वरको जन्म–मृत्यको टुंगो लगाउन सकेनन्। नित्सेको घोषणापश्चात् ईश्वरका बारेमा झन् धेरै प्रश्न उठे। कहाँ छ, कस्तो छ, के हो ईश्वर ?

उत्तर खोज्न हामी अझै आकाशतिर आँखा डुलाउँछौं, धरतीतिर मुन्टो घोप्ट्याएर एकछिन सोच्दैनौं। हामीलाई आकाशतिर हेर्न सिकाइएको छ, सोच्न सिकाइएको छैन। मान्छेलाई यान्त्रिक बनाइएको छ। अरूको आदेशअनुसार आफ्नो मुन्टो चलाउने यन्त्र भएको छ, मान्छे।

धरतीको दुःख हेर्न धरतीमै हेर्नुपर्छ, आकाशतिर हेरेर हुँदैन। जे जति दुःख त यही धरतीमा छ। मान्छे धरतीमा छन्। पहाडको चुचुरोबाट मास्तिर हेरे केही देखिँदैन। तल्तिर हेरे धेरै कुरा देखिन्छ। बुद्धलाई यो सामान्य ज्ञानको बोध थियो। बुद्धले कहिल्यै आकाशतिर हेरेनन्। उनका आँखा सधैं धरतीतिरै गाडिए। बुद्धले जे देखे, यही धरतीमा देखे। बुद्धका हरेक पोज, पोस्चर र जेस्चरले त्यही संकेत गर्छ।

ईश्वर कहाँ हुन्छ ? एउटा फिक्सन जोड्न चाहन्छु। मन्त्री वीरबल सधैं ईश्वरका कुरा गथ्र्यो। एक दिन अकबर बादशाहले वीरबललाई सोध्छ, तिम्रो ईश्वर कहाँ छ ? कहाँ बस्छ ?  देखाउन सक्छौ ?

सक्छु महाराज, भन्छ वीरबल। तर, ईश्वर हेर्न सबैभन्दा अग्लो पहाडमा सय हात अग्लो मचान बनाउनुपर्छ। त्यहाँबाट मात्र ईश्वर देखिन्छ, अरू ठाउँबाट देखिँदैन।

अकबरले आदेश दिन्छ, मचान बन्छ। बादशाहसहित मन्त्री र दरबारका अधिकारी ईश्वर हेर्न जान्छन्। पहाडको टुप्पामा बनाएको मचान चढेर आकाशतिर हेर्छन्। कसैले केही देख्दैनन्। आँखा घुमाई घुमाई हेर्छन्, फेरि पनि केही देख्दैनन्।

अकबर क्रोधित हुन्छ। क्रोध राजाको पर्याय हो। वीरबललाई सोध्छ, खै तिम्रो ईश्वर ?  सारा आकाशमा आँखा डुलाइसकेँ कहीँ देखिँदैन। कहाँ छ तिम्रो ईश्वर ?

वीरबल फिस्स हाँस्छ। देख्नुभएन महाराज, ऊ तिनै हुन् ईश्वर ! ऊ त्यहाँ छन् ईश्वर भन्दै चोर औंलाले आकाशतिर देखाउँछ। कहिले यता देखाउँछ। कहिले उता देखाउँछ। वीरबल जताजता देखाउँछ, बादशाह उतैउतै हेर्छ। राजासँगै सबैका टाउका घुम्छन्। आँखा तानिन्छन्। तर, कसैले केही देख्दैनन्।

अकबर झन् क्रोधित हुँदै भन्छ, तिमीले झूठो बोल्यौ वीरबल। अब म तिमीलाई कडा दण्ड दिन्छु। बादशाहको कुरा सुनेर वीरबल मुसुक्क मुस्कुराउँछ। बादशाह छक्क पर्छ। सबै छक्क पर्छन्।

मुस्कुराउँदै वीरबल भन्छ, ‘महाराज ! ईश्वर त्यसले मात्र देख्छ, जसले कहिल्यै कुनै अपराध र पाप गरेको छैन।’ बादशाहसहित सबै एकछिन मुखामुख गर्छन्। सबैको अनुहार धमिलो हुन्छ। भित्रभित्रै सबै त्रसित हुन्छन्। बादशाह झन् त्रसित हुन्छ।

मनमनै ईश्वर पुकार्दै बादशाह फेरि आकाशतिर हेर्छ। हाँस्दै भन्छ, ‘तिमीले भनेको सत्य रहेछ, वीरबल। हो, मैले पनि ईश्वर देखेँ। ऊ त्यहाँ रहेछन्। क्या सुन्दर ! क्या तेजस्वी !’ बादशाह ईश्वरलाई ढोग्छ। त्यसपछि सबै मन्त्री र अधिकारी फेरि आकाशतिर हेर्छन्। बादशाहले जस्तै सबैले पालैपालो भन्छन्, ‘मैले पनि देखेँ। मैले पनि देखेँ।’ बादशाहले जस्तै सबैले नमस्कार गर्छन्। ईश्वरप्रति  श्रद्धा देखाउँछन्।

तर न वीरबलले ईश्वर देखको छ, न राजाले, न अरूले देखेका छन्। सबैलाई थाहा छ, आकाशमा कुनै ईश्वर छैन तर पापी र अपराधी ठहरिने डरले सबैले देखेँ भन्छन्।

ईश्वर कस्तो हुन्छ ?  अमेरिकाका एउटा विद्यालयका साना बालबालिकालाई प्रश्न सोधियो। आफूले बुझेको ईश्वरको बारेमा उनीहरूले बताए। सबैको भनाइको सारांश निकालियो। सारांश डरलाग्दो थियो।

उनीहरूले भने, ‘ईश्वर आकाशमा बस्छ। बडेमाको डरलाग्दो हुन्छ। संसारै उचाल्नसक्ने तागत हुन्छ। दाह्रीजुँगा फुलेको बूढो हुन्छ। माथिबाट सबैलाई हेरिरहेको हुन्छ। पूजा नगरे रिसाउँछ। सबैले मान्नुपर्छ। नमान्नेलाई कठोर सजाय दिन्छ। मान्नेलाई सधैं माफ गरिदिन्छ। जति अपराध गरे पनि वरदान दिन्छ।’

ती बालबालिकालाई यो पनि सोधियो, ‘तिमी ईश्वर किन मान्छौ ? ’ सबैको उत्तर उही थियो, ‘नमान्नेलाई ईश्वरले कठोर सजाय दिन्छ। नर्क पठाउँछ।’

बालक त्यो ऐना हो, जुन ऐनाले कपटी आँखा गाडिएका अनुहार हैन, मनको मुहार देखाउँछ। नदेखेको ईश्वरका बारेमा आफूलाई जस्तो बुझाइएको थियो, ती बालबालिकाले ईश्वरलाई त्यस्तै चित्रण गरे। ईश्वरलाई निराकार मानिएको छ तर ती बालबालिकाको मस्तिष्कमा त्यही ईश्वरको एउटा डरलाग्दो आकार ठडिएको छ जसको जन्म त्रासबाट भएको छ।

के प्रश्न उठ्दैन, त्यो ईश्वर, जुन ईश्वरलाई हामी आकाशतिर खोज्छौं। त्यो त्रासबाट उम्रिएको एउटा विश्वासको आकृति मात्र हो। के यो प्रश्नले अर्को प्रश्न जन्माउँदैन ?  विश्वास कसलाई गरिन्छ ?

विश्वास त्यसैलाई गरिन्छ, जसलाई देखेको छ, चिनेको छ, जानेको छ, बुझेको छ। तर ईश्वर... ?  यो प्रश्नले आजसम्म उत्तर पाएको छैन। किनभने यहाँ विश्वासको जन्म त्रासबाट भएको छ।

त्रास अर्थात् भयका बारेमा धेरैले धेरै लेखे। भयवादी लेखक भनेर चिनिए, नेपाली मूलका हङ्कङेली देश सुब्बा। सबै कुरा भयबाट जन्मिन्छ भनेर भयवाद लेखे। तर भयको जन्म कहाँबाट हुन्छ भनेर लेखेनन्। चुकेका हुन् कि भेउ नपाएका हुन्, लेखेनन्।

त्रास अर्थात् भयको जन्म दुविधाबाट हुन्छ। मानिसभित्र दुई शक्तिको उपस्थिति नै दुविधा हो। ती शक्तिको टकरावले नै मानिसभित्र भय उत्पन्न गर्छ। हो–होइन ?  यो पनि हो–त्यो पनि हो ?  यो पनि हैन–त्यो पनि हैन ?  यो पनि हुन्छ–त्यो पनि हुन्छ। यो पनि हुँदैन–त्यो पनि हँदैन ?  जबसम्म मानिस यस्ता दुविधामा डुब्छ, ऊ भयभीत हुन्छ।

ईश्वरका बारेमा आफू दुविधाको कति गहिरो खाडलमा डुबेको छु ?  आफैंलाई एकपटक प्रश्न गरे ईश्वरप्रति न्याय हुनेछ। ईश्वर अन्यायमा परेको छ। भयको भकुण्डो बनाएर मान्छेले ईश्वरलाई उफारेको छ। ईश्वरप्रति अन्याय गरेको छ।

त्यो ईश्वर, स्त्री कि पुरुष ? प्रश्न उठेका छन् तर यो प्रश्न बेकार छ। यसको उत्तर ‘परमपुरुष’ शब्दले दिएको छ। त्यसैले ईश्वर सधैं पुरुष आकृतिमा कँदिएको छ। यहाँ पनि एउटा सामान्य मानवीय मनोविज्ञानको प्रयोग भएको छ, नारीभन्दा पुरुषसँग त्रास पैदा गर्ने शक्ति बढी हुन्छ। नारीभन्दा पुरुषसँग मान्छे बढी त्रसित हुन्छ।

स्वाभाविक हो, त्यो ईश्वरका बारेमा प्रश्न उठ्नु तर बन्देज लगाइएको छ प्रश्न गर्न। एकोहोरो लादिएको छ, प्रश्न गर्नु ईश्वरको निन्दा हो। महाअपराध हो। त्रास देखाइएको छ, महाअपराध गरे सात पुस्ताको भलो हुँदैन। पुस्तौंपुस्ता सीधै नर्क जान्छन्। तर त्यो नर्क, जुन कहीँ छैन त्यहाँ कोही कसरी जान्छ ?

मैले नदेखेको ईश्वरका बारेमा मेरा पनि केही सामान्य प्रश्न छन्। प्रश्न गर्नु अपराध हो भने भोग्न तयार छु। नर्क जानुपर्छ भने जान पनि तयार छु। तर, जिउँदै जान पाए नर्कको बारेमा फेरि केही लेख्न पाइन्थ्यो, कस्तो छ नर्क ?

हजारौं वर्षदेखि भनिँदै आएको छ, त्यो ईश्वर सर्वव्यापी छ। तर, जहाँ त्यो ईश्वरको खाँचो छ, त्यहाँ उसको उपस्थिति कहिल्यै छैन, किन ?  ती दीनदुःखी, जो सधैं नांगो आकाशतिर त्यही ईश्वर हेरेर बाँँच्न बाध्य छन्। ती असहाय, जो सधैं पेटमा काठमाडौंका सडकभन्दा गहिरा खाल्डा पारेर बाँचेका छन्। ती गरिब, जो सधैं शिशिरमा कठ्यांग्रिएको बिरुवाजस्तो जीवनभर कठ्यांग्रिएर मरिरहेका छन्। ती निरपराध निमुखा जसको कतै कुनै सहारा छैन, जसले सधैं ईश्वरको सहारा खोजका छन्। किन कहिल्यै पुग्दैन त्यो ईश्वर त्यहाँ ?  खै त्यो ईश्वरको सर्वव्यापकता ?

हजारौं वर्षदेखि मानिँदै आएको छ, ईश्वर सर्वशक्तिमान छ तर जहाँ ईश्वरीय शक्तिको खाँचो छ, त्यहाँ त्यो शक्तिको शक्ति किन कहिल्यै देखिँदैन ?  किन देशमा दुराचारको राज छ ?  ती दुराचारी जो कुकर्मलाई नै कर्म ठान्छन्, यिनलाई किन दण्डित गर्न सक्दैन, त्यो ईश्वर ?  किन दुशासनहरूसँग शासित हुनु परेको छ मान्छेले ?  खै त्यो सर्वशक्तिमानको शक्ति ?

कसले बनायो यी दुराचारीलाई ?  जुन ईश्वरले अरू मान्छे बनाए, ती पापीलाई बनाउने पनि उही ईश्वर हैन ?  तिमी आफैं हेर ईश्वर, तिमीले बनाएका मान्छे ?  नित्सेले शब्दको अगुल्टो त्यसै उजाएका हैनन्, ‘ईश्वरले मान्छे बनाउन गल्ती गर्‍यो कि मान्छेले ईश्वर ? ’

ईश्वर सर्वगुणी छ, ईश्वर समदर्शी छ। हजारौं वर्षदेखि यो कुरा पनि घोकाइँदै आएको छ तर जहाँ ईश्वरीय गुणको खाँचो छ, त्यहाँ त्यो गुणको एउटा झिल्कोसम्म किन छैन ?

ईश्वर ! तिमीले बनाएका मान्छे कोही देशको नेता भएका छन्। कोही आफूलाई समाजको अगुवा बनाएर हिँडेका छन्। कोही लेखक–कवि–पत्रकार कहलिएका छन्। कोही तिम्रो असीम भक्त देखिएका छन्। तर, यिनैलाई सबैभन्दा नांगो र रित्तो किन बनायौ ईश्वर, तिमीले ?  ठूल्ठूला अपराध गर्ने शक्ति यिनैलाई किन दियौ ईश्वर, तिमीले ?

जहाँ ईश्वरीय गुण र दृष्टिको खाँचो छ, त्यहाँ त्यसको झल्कोसमेत छैन भने खै सर्वगुण ?  खै समदर्शिता ?

त्यसैले त्यो ईश्वर प्रश्न बनेको छ। जुन ईश्वरले अपराधीलाई अपराध गर्नबाट रोक्न सक्दैन, त्यो सर्वगुणी हैन।

त्यो ईश्वर, जुन ईश्वरसँग अपराधीको अपराध देख्न सक्ने दृष्टि छैन, त्यो समदर्शी हैन।

त्यो ईश्वर, जुन ईश्वरले अपराधीलाई दण्डित गर्न सक्दैन, त्यो सर्वशक्तिमान हैन।

त्यो ईश्वर, जुन ईश्वरले अपराधीलाई बचाउन चाहन्छ तर सक्दैन, ऊ सर्वशक्तिमान हैन।

त्यो ईश्वर, जुन ईश्वरले ती अपराधीलाई दण्डित गर्न सक्छ तर चाहँदैन, त्यो ईश्वर छ कि छैन ?

ईश्वर छ तर आकाशमा छैन। स्वर्ग र नर्कको कुनै भूगोल छैन। एउटा मान्छे नै सिंगो स्वर्ग हो। एउटा मान्छे नै सिंगो नर्क हो। आकृति हैन, आचरण हो ईश्वर। स्वरूप हैन, स्वस्वत्व हो ईश्वर। ईश्वर छ, यही धरतीमा छ।

ईश्वरमा शक्ति छ। ईश्वरको शक्तिलाई ओशोले पनि नकारेका छैनन्। मात्र ईश्वरप्रतिको आमदृष्टिकोणलाई नकार्दै त्यो दृष्टि परिवर्तन गर्नुपर्ने खाँचो औंल्याएका छन्। त्यो शक्तिको स्रोत के हो ?  खोज्न आवश्यक छ। बुद्धले ईश्वर र मान्छेबीचको पर्खाल ढाले। ईश्वरको स्थानमा शून्यलाई राखे। शून्य खोज भने।

मान्छे विभिन्न आशक्तिको शक्तिले बाँधिएको छ। विचार र वादका दूषित शक्तिले मान्छे मस्तिष्क भरिएको हुन्छ। त्यो मान्छे जब शून्यमा पुग्छ, रित्तो हुन्छ। शून्यमा पुगेर जब आँखा खोल्छ, उसले यसअघि देखेका सारा तस्बिर फरक हुन्छन्। मान्छे, विचार, विषय र यो संसारको तस्बिर फरक हुन्छ। जहाँ ईश्वर पनि छ। वास्तविक तस्बिर त्यति बेलामात्र देख्छ, जब मानिसले शून्यलाई स्पर्श गर्छ।

शून्यमा त्यो शक्ति हुन्छ जुन शक्ति अरू सबै शक्तिभन्दा शक्तिशाली हुन्छ। शून्यको अस्तित्वसामु सबै शक्तिको अस्तित्व समाप्त हुन्छ। शून्यको शक्तिले सबै शक्तिलाई धकेलेर टाढा लैजान्छ, समदूरीमा राखिदिन्छ।

त्यो विशाल शक्ति ‘शून्य’ आकाशमा छैन। पातालमा छैन। यही धरामा छ। जहाँ मानिस उभिएको छ, त्यो शक्ति त्यही मानिसभित्र छ। त्यो विशाल शक्ति शून्य केवल एउटा बिन्दु हो, जसलाई बुद्धले मानिसभित्रको मध्यबिन्दु भनेका छन्।

जब मानिस आफैंभित्रको गहिराइमा डुब्छ, त्यो बिन्दुलाई छुन्छ। जब मानिसले त्यो बिन्दु छुन्छ ऊ दुविधा, आशा, निराशा, विकार, विश्वास र त्रासरहित हुन्छ। बुद्धले यसैलाई मुक्ति भनेका छन्। जीवनले जीवन पाउनु नै मुक्ति हो। मृत्युपछि कुनै मुक्ति छैन। कुनै स्वर्ग छैन। कुनै नर्क छैन।

ईश्वर छ तर न माथि छ, न तल छ। सबै यही छ, जहाँ मान्छे छ। ईश्वर अर्थात् देव, मानव र दानवको घर एउटै हो, त्यो घर यही धरती हो। यी सबै मान्छेभित्रै छन्। मान्छेबाटै जन्मिने हो देव र दानव।

जे गर्छ, मान्छेले गर्छ। ‘देवत्वकरण’ र ‘दानवीकरण’ मान्छेले नै गरेको हो। लेखक विजयकुमारले एक दिन एक प्रसंगमा मसँग भन्नुभयो, देवत्वकरण शब्दको पहिलो प्रयोगकर्ता म हुँ। नेपाली शब्दकोशमा यो शब्द भेटिँदैन तर प्रयोगमा आयो।

एउटा मान्छेले ‘करण’ नगरे अर्को जन्मिँदैन। करण र करणी सधैं मान्छेले नै गर्छ। बुद्ध स्वयंभित्र देवको परिकल्पना छैन तर कपिलवस्तुका राजाका छोरा सिद्धार्थ गौतमलाई पनि देवत्वकरण गरियो। अयोध्याका राजाका छोरा राम, गाईगोठाला कृष्णदेखि भेडागोठाला क्राइस्ट, महम्मद, महावीर, नानक सबै मानिस थिए। यी सबैलाई देवत्वकरण गर्ने मान्छे नै हो।

तर यहाँ मानिस हैन, मानिसको गुण, आचरण र चरित्रलाई देवत्वकरण गरिएको छ। मानिसको स्वस्वत्व देवत्वको हकदार भएको छ। मेरो सामान्य बुझाइले त्यही भन्छ, ईश्वर त्यो हो, जसको आफ्नो स्वार्थ हँदैन। त्यो ईश्वर त्रास हैन, विश्वासले जन्माएको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.