सृष्टि रक्स !
‘बायोपिक’ अर्थात् कसैको जीवनमा आधारित फिल्म। दृष्टिविहीन युवती सृष्टि केसीले भोगेको जीवनलाई पर्दामा उतारेको छ, ‘ब्लाइन्ड रक्स’ नामको ‘बायोपिक’ले। २६ वर्षीया सृष्टिको जीवनकथालाई ‘रिल’मा समेट्न निर्देशक मिलन चाम्सलाई केले उक्सायो होला ?
‘सृष्टिको मोटिभेसनल स्पिचले’, निर्देशक चाम्स भन्छन्। उनले युट्युबमा सृष्टिका उत्प्रेरणादायी भाषणका ‘क्लिप्स’ हेरे। ‘मलाई लाग्यो– दृष्टिविहीनहरूलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन ल्याउन संघर्षरत सृष्टिको कथा फिल्म बन्न ‘डिजर्भ’ गर्छ’, चाम्स भन्छन्, ‘फिल्मको उद्देश्य सकारात्मक सन्देश प्रवाह गर्नु हो।’
‘ब्लाइन्ड रक्स’ बेलायतमा रिलिज भइसकेको छ। नेपालमा रिलिज हुन बाँकी फिल्ममा अभिनेत्री बेनिशा हमालले सृष्टिको चरित्र निर्वाह गरेकी छन्। सृष्टि ‘बन्न’का लागि बेनिशाले कम दुःख गरेकी छैनन्। भन्छिन्, ‘म सृष्टिको नक्कल गर्ने होइन, उनलाई ‘फिल’ गर्न चाहन्थेँ। त्यसका लागि तयारी पनि जोडदार गरेँ।’ सृष्टिको जस्तै बोली, हिँडाइ, हाउभाउ उतार्न उनले केही समय पोखरा गएर अभ्यास गरिन्। सेतो छडी समाएर पोखराका सडकहरूमा बरालिइन्, रेस्टुरेन्टहरूमा पुगिन्। सृष्टिजस्तै देखिन ६ किलो तौलसमेत घटाइन्। अर्थात्, आफूलाई पूर्ण रूपमा सृष्टिमा अनुवाद गर्न उनले हरसम्भव प्रयत्न गरिन्।
यी त भए फिल्मका कुरा। पर्दाका कुरा। एउटा अर्कै दुनियाँको कुरा।
अब सृष्टिका कुरा गरौं। यही दुनियाँको कुरा गरौं। उनको आफ्नो दुनियाँको कुरा गरौं।
०००
घरकी एक्ली छोरी थिइन्, सृष्टि। उनीमाथि दुई दाजु थिए। कान्छी छोरी भएकाले पुलपुलिएकी थिइन्। घरमा कसैले एक वचन गाली गर्दैनथ्यो उनलाई। बालसुलभ चञ्चलताले भरिएकी थिइन्। एकछिन चुप लागेर बस्न उनलाई महाभारत पर्थ्यो। कुरा असाध्यै गर्नुपर्थ्यो उनलाई। चाखलाग्दा गफ गर्थिन्। बालिका सृष्टिको मीठो बोलीमा सबै लट्ठिन्थे।
बानेश्वर, बुद्धनगरमा घर थियो। घरनजिकै रहेको अक्सिडेन्टल पब्लिक स्कुलमा सृष्टिलाई भर्ना गरियो। बेलुका स्कुलबाट फर्किएपछि बाग्मती किनारमा रहेको चौरमा साथीहरूसँग फुटबल, क्रिकेट खेल्न पुग्थिन्। ‘मोजामा थोत्रा कपडा कोचेर बल बनाइन्थ्यो’, उनी सम्झन्छिन्, ‘मोजाको बलमा मज्जाको बाल्यकाल काटियो।’
२०५८ सालतिर ५ कक्षा सकेर ६ कक्षा भर्ना हुने बेला उनको परिवार बुद्धनगर छोडेर भक्तपुर बसाइँ स¥यो। उनी भक्तपुरस्थित सिद्धार्थ विद्यापीठमा भर्ना भइन्। पढाइमा उनलाई कहिल्यै गहिरो अभिरुचि भएन। कोर्सका किताबमा ध्यान दिन्नथिन्। पढाइमा ‘हुने बिरुवाको चिल्लो पात’का कुनै लक्षण थिएनन् उनमा। तर, उनी कहिल्यै फेल भइनन्। टाकनटुकन पढेर पाससम्म हुन्थिन्।
तर, नियमित र एकरसे पढाइबाहेकका अन्य क्रियाकलापमा भने उनको सघन लगाव थियो। स्कुलमा हुने वक्तृत्वकला, हाजिरिजवाफ, नृत्य, कविता प्रतियोगितामा उनको अनिवार्य सहभागिता हुन्थ्यो र ज्यादातर स्पर्धामा उनी अब्बल हुन्थिन्। ‘पुरस्कार त कति पड्काइयो, पड्काइयो’, सृष्टि सम्झन्छिन्। बालअधिकारका विषयमा हुने तालिमहरूमा सहभागी हुन उनी विभिन्न ठाउँ पुग्थिन्। रेडियोमा बोल्ने तालिम पनि लिइसकेकी थिइन्।
स्कुलमा सबैकी प्यारी थिइन्। साथीहरूको झगडा प¥यो भने ‘मिलापत्र’ गराउने जिम्मा उनले नै पाउँथिन्। कसैले कसैलाई हेपेको उनलाई पटक्कै चित्त बुझ्दैनथ्यो। मर्कामा परेका साथीहरू (बालसंसारमा पनि आफ्नै खालका अन्याय र अत्याचार हुन्छन्) लाई न्याय दिलाउने काम सृष्टिको थियो। त्यसैले साथीहरू उनलाई ‘वकिल’ भन्थे। यो सम्बोधनमा अलिअलि जिस्क्याइ हुन्थ्यो, अलिअलि सम्मान पनि हुन्थ्यो। ‘साथीहरूले मलाई जिस्क्याएर, माया गरेर वकिल भन्ने गरेपछि अनायासै मैले पनि एउटा सपना देख्न थालेँ’, उनी स्मरण गर्छिन्, ‘त्यो सपना थियो— वकिल बन्ने।’
वकिल बनेर न्यायका लागि लड्ने सपना देखेकी सृष्टि १४ वर्ष पुग्दै थिइन्।
०००
जिन्दगी ‘ठीकठाक’ चलिरहेको थियो।
कुनै ‘बेठीक’ थिएन।
यत्ति हो— कहिलेकाहीँ उनका आँखामा एलर्जी हुन्थ्यो र बेस्सरी चिलाउँथ्यो। छिट्टै बिसेक पनि हुन्थ्यो। औषधि पनि लिइरहेकी थिइन्। एक दिन डाक्टरले भने, ‘तपाईंलाई जलबिन्दु भयो। केही समयपछि निको हुन्छ।’ डाक्टरको वचन बिरामीका निम्ति ‘शिलालेख’ हुने नै भयो। उनी ढुक्क भइन्— एक दिन निको हुन्छ।
तर, त्यो एक दिन कहिल्यै आएन।
डाक्टर सान्त्वना दिइरहेका थिए तर सृष्टिका आँखाले मधुरो–मधुरो देख्न थालिसकेको थियो। उनको मनमा चसक्क त त्यति बेला भयो, जब हिजोसम्म देखेका दृश्यहरू एकाएक गायब हुन थाले। आकाशमा टिमटिमाइरहेका ताराहरू उनलाई खुब मन पर्थ्यो। घरको छतमा बसेर चम्किएका तारा गन्न खोज्थिन्।
एक्कासि आकाशबाट ताराहरू गायब भए।
उनले आफूलाई झुटो सान्त्वना दिइन्— औंसीको रात होला यो।
एक्कासि ऐनाले उनको अनुहार देखाउन छाड्यो।
एक्कासि उनको जिन्दगीमा ‘ठीकठाक’ हराउन थाल्यो।
सृष्टि जहाँ सुक्खा ठाउँ भनेर टेक्थिन्, त्यहाँ पानी हुन्थ्यो र एउटा ध्वनि आउँथ्यो— छप्ल्यांग। अनि, जहाँ पानी छ भनेर नाघ्थिन्, त्यहाँ सुक्खा ठाउँ हुन्थ्यो।
एक्कासि किशोरी सृष्टिको जीवन अनौठो घुम्तीमा आइपुगेको थियो।
सबैभन्दा गाह्रो त उनलाई स्कुलमा भयो। एकदमै मिल्ने साथीहरूलाई पनि अचानक उनले चिन्न छाडिन्। ‘सबिता’ भनेर बोलायो, ‘सिर्जना’ हुन्थिन्। ‘अनिता’ भनेर बोलायो, ‘पूजा’ पर्थिन्। साथीहरू ‘यल्ले त मेरो नामै बिर्सिई’ भनेर हाँस्थे। साथीहरूलाई फरकफरक नामले बोलाउन थालेपछि उनीहरू के भयो भनेर सोध्थे। सृष्टि उनीहरूको प्रश्न सुन्थिन्, जवाफ दिन्नथिन्। किनभने, उनी आफैंलाई थाहा थिएन— जिन्दगीमा एक्कासि यो के भइरहेको छ ?
सरले ब्ल्याकबोर्डमा लेखेका कुराहरूलाई क्लासको अन्तिम सिटबाट उनले धमिलो देख्न थालेकी थिइन्। त्यसपछि दैनिक एकपछि अर्को सिट सर्दै अगाडि बस्न थालिन्। हिजोसम्म चकिलो लेखिरहेको डटपेनले आज मधुरो लेख्न थाल्यो। त्यसपछि उनले ‘मार्कर’ प्रयोग गर्न थालिन्। धर्के कपीमा सीधा लेखिरहेको अक्षरलाई सरले बांगो किन लेखेको भन्दै गाली गर्न थाले।
ध्यान दिएर पढ्न बेलाबेलामा सरहरूले सुझाउँथे। आफ्ना समस्याहरू उनले घरमा त भनेकी थिइन्, स्कुलमा कसैलाई थाहा थिएन। अस्पतालमा जँचाएकी थिइन्, निको हुन्छ भन्ने पूरा आशा थियो। किनकि, डाक्टरले भनेका थिए, ‘आत्तिनु पर्दैन, सब ठीक हुन्छ।’
उनको चुलबुलेपन एक्कासि हराउन थालेको थियो। स्कुलका सांस्कृतिक कार्यक्रमहरूमा अरू नै प्रथम हुन थालेका थिए। बोलिरहनुपर्ने मान्छे सृष्टिलाई अब एकान्त मन पर्न थालेको थियो। बस्, सोचिरहन्थिन्— आखिर के भइरहेछ मलाई ?
सबै चिज एकपछि अर्को गर्दै धमिलो देखिन थालेका थिए। मानौं, चिसो मौसममा तराईको बाक्लो हुस्सुमा उनी साथीहरूसँग ‘भेट्टाइ–भेट्टाइ’ खेलिरहेकी छन्। देखिए–देखिएजस्तो लाग्ने, नठम्याइने। यस्तो अस्पष्टता, यस्तो अन्योलमा अड्किएको थियो, सृष्टिको जिन्दगी।
यो २०६३ सालतिरको घटना हो। देशमा भर्खरै ०६२/६३ को जनआन्दोलन सकिएको थियो। देशसँगै सृष्टि पनि नयाँ मोडमा पुगेकी थिइन्। फरक यति थियो— देशले गणतन्त्रको नयाँ उज्यालो हासिल गरेको थियो। र, सृष्टिले आफ्नो पुरानो उज्यालो गुमाएकी थिइन्।
०००
अघिल्लो शुक्रबार।
काठमाडौं, बानेश्वरस्थित एक क्याफेको छतमा छौं हामी। सृष्टि आफ्नो ‘आँखाको ज्योति’को अवसान–कथा हाँसीहाँसी सुनाइरहेकी छन्। मानौं, कुनै उपन्यासको कथा भनिरहेकी छन्। उनीसँगै आएका उनका साथीहरू अलि पर बसेर चिया पिइरहेका छन्। चिसो मौसममा बेस्सरी हावा चलिरहेछ। आफ्नो विगत बताउँदै गर्दा उनको मुहारमा उदासीको कुनै रेखा देखिँदैन। बाल्यकालमा विचरण गर्दा अहिले पनि सृष्टि केटाकेटीजस्तै बनिदिन्छिन् र खितित्त हाँस्छिन्। साथीहरूसँग बल खेलेको, नाचेको, स्कुलको कार्यक्रममा प्रथम भएको उनलाई भर्खरैजस्तो लाग्छ। त्यो चुलबुले उमेरका हरेक घटना, क्रियाकलाप र पात्रहरू सम्झिन खोज्छिन् उनी।
‘म ठीक समयमा दृष्टिविहीन बनेँ’, सृष्टि भन्छिन्, ‘कि दृष्टिविहीन नै नभएको भए हुन्थ्यो, हुनु नै थियो भने त्यसका लागि १५/१६ वर्षको उमेर ठीकै थियो।’
‘टिन एज’ निष्फिक्री हुने, बेपर्वाह रम्ने उमेर हो। जिन्दगीको सबैभन्दा उन्मुक्त कालखण्ड हो। यो उमेरमा न भविष्यको तनाव हुन्छ, न वर्तमानको हेक्का। सृष्टि पनि १६ वर्ष पुगेकी थिइन्। तर, उनको जिन्दगीको रेखाचाहिँ आम मान्छेको भन्दा अलि बांगोटिंगो भएर अघि बढ्यो।
दृष्टिविहीन भएसँगै उनका क्रियाकलापहरू फेरिए। रहरहरू फेरिए। सोचाइहरू फेरिए। सृष्टि भन्छिन्, ‘जिन्दगी जिउने शैली नै फेरियो।’ पहिले उनी कथा लेख्थिन्। दृष्टिविहीन भएपछि कविता लेख्न थालिन्। ‘कथा लामो हुने भएकाले लेख्न गाह्रो हुन्थ्यो’, उनी भन्छिन्, ‘थोरै शब्दमा भावना पोख्न सकिने भएकाले मेरो ध्यान कवितामा गयो।’ लेख्न गाह्रो हुने भएकाले कहिलेकाहीँ सीडी चक्कामा रेकर्ड गर्थिन्। त्यति बेला उनलाई ‘ब्रेल’ लिपि आउँदैन थियो। कक्षामा साथीहरूसँग सिकाइ माग्थिन्। किताब पढ्न गाह्रो हुने भएकाले सरहरूले पढाएको बेला निकै ध्यान दिन्थिन्। सबैभन्दा गाह्रो गणितमा हुन्थ्यो। याद गर्न पनि नमिल्ने, लेख्न पनि नसकिने। जे होस्, ८ र ९ कक्षा जेनतेन पास गरिन्। ‘आइरन गेट’ भनिने एसएलसी एकजना भाइको सहारा लिएर पार गरिन्।
जिन्दगीमा ठूलो अभाव र रिक्तता एसएलसी दिएपछि महसुस गरिन् उनले। साथीहरू ब्रिजकोर्स गर्ने भन्थे। कोहीकोही कलेज खोज्ने ध्याउन्नमा थिए। उनले आफ्नो दिमाग रित्तो भएको महसुस गर्न थालिन्। न कसैले कुनै कलेज सिफारिस गर्थे, न सल्लाह नै दिन्थे। सबैबाट अलग भएको महसुस गरिन्। एसएलसीमा ७० प्रतिशत अंक ल्याएर प्रथम श्रेणीमा पास भएकी थिइन् उनी। साथीहरूसँग कलेज बुझ्न गइन्। ‘कलेजहरूमा मलाई निरुत्साहित पार्ने ढंगले कुरा गरिन्थ्यो’, उनी सम्झन्छिन्, ‘बराबरी परिणाम ल्याएको साथीलाई ३०/४० प्रतिशत छुट दिइन्थ्यो। मलाई भने नपढ्ने सल्लाह दिइन्थ्यो।’ अन्ततः उनले डिल्लीबजारस्थित पद्मकन्या कलेजमा भर्ना पाइन्। उनको मुहारमा एकाएक खुशी नाच्यो। र, प्रण गरिन्— अब पढाइको शैली बदल्नुपर्छ।
आईएमा उनले टीयू टप गरिन्। राष्ट्रपतिबाट ‘नेपाल छात्रा विद्या पदक’ प्राप्त गरिन्। यसमा एउटा इखले पनि काम गरेको थियो। सृष्टि भन्छिन्, ‘कुनै कलेजले भर्ना लिनसमेत नमानेको ‘इगो’ मनमा गढेर बसेको थियो। पढ्नु थियो, मैले मेहनत गरेर पढेँ।’ उनी धेरैसँग बोल्दिन थिइन्। चुपचाप कलेज आउँथिन्, चुपचाप फर्किन्थिन्। आईए टप गरेको मान्छेले ब्याचलर्स पनि टप गर्नुपर्छ भन्ने सोचेर उनले पढाइमा तलमाथि गरिनन्। र, स्नातकमा पनि नेपाली विषयमा ‘कलेज टपर’ भइन्।
ब्याचलर्स पढ्दासम्म पनि उनलाई ब्रेल लिपि आउँदैन थियो। सरले पढाएको रेकर्ड गर्थिन्। साथीहरूलाई विषयमाथि बोल्न लगाउँथिन्। लेख्नका लागि काठको सहारा लिन्थिन्। कापीमा काठ तेस्र्याएर सीधा अक्षर लेख्ने प्रयास गर्थिन्। परीक्षामा आफूभन्दा जुनियरबाट लेखाइमाग्थिन्।
कलेजमा उनले एउटा ‘टेक्निक’ अपनाएकी थिइन्। भन्छिन्, ‘हरेक कुरामा ‘गिभ एन्ड टेक’ हुनुपर्छ। आफूले जानेका पाठहरू साथीहरूलाई सिकाइदिन्थेँ। यसको बदलामा म साथीहरूलाई आफूले नजानेका पाठमाथि बोल्न लगाएर रेकर्ड गर्थें।’ अरूबाट लिई मात्रै रहँदा त्यसले मान्छेलाई परनिर्भर बनाउने उनको तर्क छ। ‘दोहोरो भयो भने अरूले हेप्न सक्दैन’, उनी भन्छिन्, ‘त्यसले सम्बन्धलाई पनि दरिलो बनाउँछ।’
पढाइको कुरा गरिरहँदा उनी सन्तुष्ट मुद्रामा देखिन्छिन्। क्याफेमा वरपर बसेका मान्छे बेलाबेलामा उनलाई हेर्छन्। उनी हाँसिरहन्छिन्। उनको हाँसोको ‘भोल्युम’ पनि चर्काे छ। वरपरकालाई आकर्षित गर्छ।
०००
समाजले दृष्टिविहीनहरूलाई देखाएको ‘ओभर रियाक्सन’ उनलाई मन पर्दैन। कलेजमा पनि साथीहरू ‘जिन्दगी यस्तै हो’ भन्दै गफ गर्थे। ‘विचरा’ भन्थे। उनलाई लाग्छ— जिन्दगीको विषयमा सबैभन्दा बढी गफ दृष्टिविहीनहरूलाई नै दिइन्छ। भन्छिन्, ‘हरेकसँग जिन्दगी जिउने कला हुन्छ। यो कला दृष्टिविहीनहरूसँग पनि हुन्छ।’
दृष्टिविहीनहरूप्रति अनावश्यक समवेदना देखाउन जरुरी ठान्दिनन् उनी। ‘विचरा’, ‘दैवले ठगेको’, ‘जिन्दगी यस्तै रहेछ’ जस्ता शब्दावलीले आफूहरूलाई झनै कमजोर पार्ने महसुस गर्छिन् उनी। ‘समाजको व्यवहारले हामीलाई प्रत्येक दिन आफू कमजोर छु भनेर सोच्न बाध्य बनाउँछ’, उनी भन्छिन्, ‘हामीलाई पनि सामान्य व्यवहार गरिनुपर्छ। ससाना कुराले हाम्रो जिन्दगीलाई ठूलो प्रभाव पार्छन्।’
सृष्टिलाई आँखाबारे मात्रै सोचेर बस्ने फुर्सद छैन। ‘यो समाज र यहीँ हुर्किएको मेरो जिन्दगीमा हजारौं समस्या छन्’, उनको स्पष्ट कथन छ, ‘तिनको समाधान गर्नु छ। दृष्टिविहीन छु भनेर चौबीसै घन्टा आँखाका बारेमा मात्रै सोच्ने समय कहाँ छ र मसँग ? ’
तर, समाजले उनलाई बेलाबेला उनको दृष्टिविहीनता सम्झाइरहन्छ। आँखाको ज्योति सम्झाइरहन्छ। यसको एउटा उदाहरण पर्याप्त छ।
केही समयपहिले उनी देशको एउटा नामी बैंकमा कारोबारका लागि पुगेकी थिइन्। बैंक छिर्नै लाग्दा ढोका घड्याक्क लाग्यो। आफूलाई बैंक किन छिर्न दिइएन भनेर उनले मेसै पाइनन्। गार्डलाई ‘ढोका खोल्नुस् न !’ भनिन्। गार्डले बैंकको असुरक्षा देखाउँदै भित्र नआउन भने। उनलाई अचम्म लाग्यो। अलिअलि रिस पनि उठ्यो। र, ती गार्डलाई भनिदिइन्, ‘दाइ, हामीजस्ता दृष्टिविहीनहरूले आजसम्म कतिवटा बैंक फोरे होलान् ? बताइदिनुस् न !’
यस्ता तीता अनुभव उनीसँग धेरै छन्। भन्छिन्, ‘नाग लागेको भन्दै नाग देवताको पूजा गर्नसमेत भने मान्छेहरूले।’ बाटामा हिँड्दा धेरैले ‘पूर्वजन्मको पाप’ हो भनेको पनि सुनेकी छन्। पहिला–पहिला स्टाफहरूले गाडी चढाउनसमेत नमानेको यथार्थ भोगेकी छन्।
दृष्टिविहीनहरूलाई हेर्ने दृष्टिकोणमा विश्वभरि नै परिवर्तन हुन जरुरी देखेकी छन् सृष्टिले। नेपालीको चेतनास्तर त उनले पाइलैपिच्छे मूल्यांकन गरेकी छन्। ‘दृष्टिविहीनलाई कुनै अर्कै ग्रहबाट आएझैं व्यवहार गरिन्छ’, उनी भन्छिन्, ‘चेतनाको स्तर त यहाँ मात्र होइन, विदेशमा पनि उस्तै हो। तर, त्यहाँ अपांगमैत्री पूर्वाधारचाहिँ छन्। नेपालमा चाहिँ चेतना र पूर्वाधार उस्तैउस्तै छन्। सडक होस् वा अस्पताल, कलेज होस् या सवारीसाधन; कुनै पनि ठाउँ अपांगमैत्री छैन।’
दृष्टिविहीनलाई गरिने सहयोगमै पनि उनको उतिसारो चित्त बुझाइ छैन। ‘नर्मल’ मान्छेले एकअर्कालाई जसरी सहयोग गर्छन्, त्यही भावनाका साथ दृष्टिविहीनलाई पनि सहयोग गरिनुपर्छ जस्तो लाग्छ उनलाई। आफूहरूलाई सहयोग चाहिने तर त्योभन्दा बढी आफूहरूका लागि साथ महŒवपूर्ण रहेको देख्छिन्। भन्छिन्, ‘दियर इज ए प्रोब्लम इन माइन्डसेट अल ओभर द वल्र्ड।’ अर्थात्, संसारभरि नै दृष्टिविहीनलाई हेर्ने मानसिकतामै समस्या छ।
दृष्टिविहीन हुन् या अन्य किसिमका अपांगता भएका, उनीहरूलाई संस्थाहरूमा राख्नु जायज नभएको तर्क छ उनको। घर र समाजको सोच अपांगता भएकालाई कुनै सरकारी संस्थामा राखिदिने हुन्छ। सृष्टि भन्छिन्, ‘हाम्रो रंगीन जिन्दगी संस्थामा बस्न थालेपछि फिक्का हुन्छ। हामीहरू पनि आमाको न्यानो काखमा रमाउन चाहन्छौं। बाबाको मायामा हुर्किन चाहन्छौं।’ बरु राज्यले पूर्वाधारको विकासमा ध्यान दियो भने आफूहरू पनि अन्य सामान्य मान्छेजस्तै बाँच्नसक्ने बताउँछिन् उनी। तर, उनको यसमा एउटा ‘नोट अफ डिसेन्ट’ खालको टिप्पणी छ, ‘राज्यसँग मेरो ठूलो अपेक्षा छैन।’
०००
बानेश्वरको क्याफेमा सृष्टि आफ्नो इतिहास ‘रिभिजिट’ गरिरहेकी छन्।
उनले केही समयअघि युरोपको ‘कोरियोमुन्डस इन्टरनेसनल ज्वाइन्ट मास्टर्स डिग्री’अन्तर्गत ‘डान्स एन्थ्रोपोलोजी’ पढेर आइन्। नर्वे, फ्रान्स, हंगेरी, यूकेलगायत देशमा फैलिएको छ, यो शिक्षा कार्यक्रम।
केही हप्तापछि उनी भारतको केरला जाँदैछिन्। महिना, दुई महिनामा केरलास्थित कान्थरी इन्स्टिच्युटमा प्रशिक्षकका रूपमा पुग्छिन्। ‘समाज परिवर्तनको नेतृत्व विकास’का सन्दर्भमा उनी ‘स्पिच’ दिन्छिन्। आफैंले पनि भक्तपुरमा ‘ब्लाइन्ड रक्स’ नामक संस्था चलाएकी छन्। प्रायः यतै व्यस्त हुन्छिन्। अहिले यो संस्थामा नौ जना सदस्य छन्। संस्थाको मूल नारा छ— यू एन्ड मी : अ वन्डरफुल वी।
(अर्थात्, तिमी र म : सुन्दर हामी।)
विभिन्न सामाजिक काममा संस्थाले सहयोग गर्छ। अपांगता भएकाहरूलाई ‘पर्फर्मिङ आर्टस्’, नृत्य सिकाउने, ‘एड्भेन्चर टुर’ गराउने, व्यक्तित्व विकासका लागि तालिम दिने काममा उनको संस्था ‘ब्लाइन्ड रक्स’ लागिरहेको छ। ‘२०७२ सालको भूकम्पमा पीडितहरूलाई सहयोग गर्न संस्थाले ठूलो भूमिका खेल्यो’, सृष्टि भन्छिन्, ‘संस्थाका सदस्यहरूले सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायत भूकम्पप्रभावित जिल्लामा पुगेर राहत वितरण गरे।’ त्यस्तै, केही समयअघि टीकापुर पुगेर उनीहरूले पाँचजना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुका साथै केही स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे।
यही संस्थाको नामबाट बनेको फिल्म हो, ‘ब्लाइन्ड रक्स’। आफ्नै कहानी बोकेको सिनेमा उनले हेरिसकेकी छन्, बेलायत पुगेर। सिनेमाको आवाज सुनिन् उनले। दृश्य बताइदिने एकजना सहयोगी थिए। पहिलो सो हेर्दा उनका आँखा थामिएनन्, बेस्सरी रोइन्।
यही रोएको प्रसंग पनि उनी क्याफेको छतमा बसेर हाँसीहाँसी सुनाइरहेकी छन्।
देखिने उज्यालोबिना, अनुभव गर्ने उज्यालोले उनी जिन्दगी यति सुन्दर ढंगले बाँचिरहेकी छन्।
भन्न कर लाग्छ— सृष्टि रक्स !