लखनउ एक्सप्रेस
गोमतीनगर (लखनउ) स्टेसनमा उत्रिँदा बिहानको ७ बजेको थियो। गोरखपुरबाट राति पौने १० बजे सवार भएका हामी ६ मध्ये तीनजनाको यो पहिलो रेल यात्रा थियो। संसारको सबैभन्दा लामो भनिएको रेलवे जक्सनबाहिर साँझको झिलिमिली हेर्दै यायावर हावाजस्तो बतासिनु कम रोमाञ्चकारी थिएन। नेपालीजनका धेरै स्मृति र सुखदुःखको ‘ट्रान्जिट’ सहर गोरखपुरको साँझ !
निदाइएन त के भन्नु ! तर, स्लिपरको निद्रा त्यो पनि जिन्दगीको पहिलो ! भएको श्रीसम्पत्ति जे थियो, पर्समै थियो। घरिघरि सिरानीमुनि पर्स अँठ्याइराख्ने सतर्कताले निद्रा भंग गरिरहन्थ्यो। धेरैले होशियार भएस् भनी सिकाएको कुरो जो थियो। सतर्क नभए कुन बेला पर्स–कतराको निशानामा परिन्छ के थाहा ? ट्रेनका चरहरूबाट उज्यालोका मसिना रेसाहरू पसेको आभास भएपछि झ्याल खोलेर हेर्दा उत्तर प्रदेशको राजधानी सहरको कर्पोरेट अनुहार टाढैबाट नजर हुन्थ्यो। तर, अग्ला–अग्ला भवनकै करेसाका वारिपट्टि, रेलमार्गको छेउछाउ टुक्रुक्क टुक्रुक्क बसेर अवशिष्ट निष्कासन गरिरहेका मानव आकृति देख्दा लाग्थ्यो— लखनउ सभ्यता आफ्नै मजाकमा मस्त छ।
हामी निर्धारित दिनभन्दा चौबीस घन्टा ढिलो तर यथासमय र ठाउँमा पुगेका थियौं। जवाहरलाल नेहरू युवा केन्द्र पुग्दा हामीलाई स्वागत गर्न निस्केका थिए लेखक, सम्पादक तथा संगोष्ठीका निमन्त्रक सत्यम् वर्मा स्वयं। उनले निनुजीलाई देख्नासाथ प्रकट गरेको सम्मान ‘नोटेबल’ थियो। अबका पाँच दिनको डेरा सहरको सबैभन्दा दर्शनीय स्थल इमामबाडाकै छेउमा पो रहेछ ! ल, योचाहिँ गजबै हुने भो। हामी प्रफुल्ल भयौं।
‘आजको समयमा साम्राज्यवाद : उद्भव, कार्यप्रणाली र गतिकी’ शीर्षकको पाँच दिने संगोष्ठी। आयोजक : अरविन्द स्मृति न्यास। यताबाट जानेमा मार्क्सवादी समालोचक तथा चिन्तक निनु चापागाईं, राजनीतिकर्मी भीम ओली, पत्रकार र अनुवादक प्रमोद धिताल, साहित्यकार अभय श्रेष्ठ, विद्यार्थी नेता जीपी मैनाली र पंक्तिकार थियौं। कारणवश, हामी एक दिन ढिलो हिँडेका थियौं। सो, अघिल्लो दिनका सेसनहरू छुटेका थिए।
बिहानको नास्तालगत्तै एकछिन पनि ढिलो नगरी कार्यक्रम सहजीकरण गर्न उभिएकी थिइन् मजदुर फाँटकी क्रियाशील नेता शिवानी कौल। उनले पहिलो कार्यपत्र प्रस्तुत गर्न युवा अध्येता तपिश मैन्दोलालाई बोलाइन्। साम्राज्यवादी विश्व राजनीतिमा उत्तर औपनिवेशिक कालमा भएका पँजीवादी विकास र उतारचढावहरू कस्ता छन् भन्ने प्रसंगमा उनको कार्यपत्रको ‘कन्सर्न’ विचारणीय थियो। उदीयमान आर्थिक शक्तिका रूपमा प्रकट भारतलगायत अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिकाजस्ता नव स्वाधीन देशहरूले कसरी काम गर्दैछन् भन्ने विषयमा पनि उनी मुखर लाग्थे। भारतलाई विशेष प्रकारको उत्तरऔपनिवेशिक पँजीवादी राज्य हो भन्दै यिनले यसमाथि कब्जा गरेको बुर्जुवा वर्गलाई साम्राज्यवादीहरूको ‘जुनियर पार्टनर’ करार गर्छन्। यति भनिसकेपछि भारतले आफ्ना छिमेकी देशरूप्रति गरेका बलमिच्याइँ र हस्तक्षेपबारे पनि यिनको कार्यपत्रले केही बोल्ला भन्ने लागेको थियो तर त्यस्तो केही आएन।
भारतको नीति विस्तारवादी त हुँदै हो। आर्थिक र क्षेत्रीय स्वार्थको राजनीतिमा उसले देखाइरहने दादागिरी साम्राज्यवादी हरकत हो कि होइन ? भारतीय बुर्जुवा वर्ग वैश्विक फलकमा जुनियर पार्टनर मात्र होलान् तर क्षेत्रीय अर्थ–राजनीति र कूटनीतिमा यसका राज्यस्तरकै साम्राज्यवादी ‘इन्ट्रेस्ट’हरू सतहमा छताछुल्ल छैनन् र ? टिप्पणी गर्ने क्रममा मैले सन् २०१५ मा भारत सरकारले नेपालमाथि लगाएको नाकाबन्दीको प्रसंगसहित आफ्ना केही कुरा राखेँ। मैन्दोलाले मलगायत अन्य टिप्पणीकर्ताका जिज्ञासाका उत्तर दिने बेला स्वीकार गरे, हो छिमेकी राष्ट्रहरूप्रति भारतको रवैया साम्राज्यवादी चरित्रको छ। आशा गर्छु, उनले यो कुरा संगोष्ठी विशेषांकमा सच्याएर छाप्नेछन्।
भाकपा (माले) रेडस्टारका नेता विजयकुमार, आयोजक संस्थाका सचिव आनन्द सिंह र आयोजकमध्येका प्रखर युवा नेता अभिनव सिन्हाले पेस गरेका आलेखहरू पुँजीवादका पछिल्ला संकटहरू र भूमण्लीकरणका नयाँनयाँ आयाममा प्रकट साम्राज्यवादका रूपबारे थिए। प्रस्तोताहरूले लामालामा आलेखहरू घन्टौं लगाएर पढेर सुनाउँदा लामो यात्राको थकानका कारण खानापछिका सेसनहरू हामीले उँघ्दै बिताएका थियौं। केही प्रस्तावना र मतहरूमा विजयकुमारका धारणा आयोजकसँग मेल खाने थिएनन्। मार्क्सवादी अर्थशास्त्रका छुरो अध्येता अभिनवले विजयकुमारलाई झन्डै काँचै निल्लान् झैं गरे। परस्पर बहसको अन्त्यसम्म पुग्दा विजयकुमार साह्रै मायालाग्दा देखिन्थे। पछि ज्ञात भयो यिनीहरू बीचको यो वादप्रतिवादको कारण पार्टीगत अन्तरविरोध पनि रहेछ।
टिप्पणीकर्ता त अरू पनि छन् तर हरेकजस्तो पत्रमाथि बहस गर्न उत्रिने एउटै पात्र छन्, अभिनव सिन्हा। एउटा प्रतिभाशाली युवा स्कलरका रूपमा यिनको ख्याति मैले पहिले नै सुनेको हो। मार्क्सवादी अर्थशास्त्र, पुँजीवादका संकटहरू, फासीवाद, अक्टोबर क्रान्ति लगायतका बहुधा विषयमा युट्युबमा हेरेका भिडियोहरूले यिनको कुशाग्रता महसुस भएकै हो। उनी यो सम्पूर्ण संगोष्ठीका ‘इन्टेरियर डिजाइनर’ पनि हुन्। कतिपय अवस्थामा निरंकुशजस्ता समेत लाग्ने अभिनवको ‘टिम म्यानेजमेन्ट’ आकर्षक छ। आँखाको इसारामै आफ्नो समूहलाई चलायमान बनाउने उनको नेतृत्व लोभलाग्दो छ।
पाको होस् या युवा, यहाँ एकले अर्कोलाई गर्ने ‘साथी’ सम्बोधन आत्मीय लाग्छ। यहाँ भेटिएका हामी सबै ‘साथी’ सम्बोधित छौं। आदर र औपचारिकतामा ‘कमरेड’ पनि। यहाँका प्रतिबद्ध साथीहरूको ओठबाट छुट्ने ‘कमरेड’ शब्द नेपालमा झैं घिसापिटा क्लिसे सुनिँदैन ! यसरी शब्दको ध्वनिशक्तिमा पनि स्थान, काल र पात्रअनुसार यत्रो फरक पर्दो रहेछ !
कार्यक्रमको नेपथ्यमा वरिष्ठ वाम नेता तथा लेखक शशीप्रकाश (जो राजनीतिक लेखन र पत्रकारितामा आलोक रञ्जनका नाममा समेत प्रसिद्ध छन्) र प्रखर लेखकद्वय कात्यायनी, सत्यम् हमेसै उपस्थित छन्। आफ्ना अनन्य मित्र (राजनीतिकर्मी, लेखक, पत्रकारसमेत) कमरेड अरविन्दको स्मृतिमा स्थापित गरेको ‘अरविन्द स्मृति न्यास’का एक दरिलो अभिभावक र उत्प्रेरक हुन् शशीप्रकाश। संस्थासँग प्रत्यक्ष रूपले गाँसिएका कात्यायनी र सत्यम्कोे बौद्धिक श्रम अनवरत पोखिएको छ। संस्थाका अध्यक्ष हुन् कमरेड मीनाक्षी। युवानेता आनन्द सिंह सचिव।
यस स्कुलले उत्पादन गरेका विद्यार्थीहरू अब एकसे एक स्कलर बन्ने पंक्तिमा छन्। अभिनव सिन्हा त भई नै हाले। सुखविंदर सिंह, कविता कृष्णपल्लवी जस्ता सुल्झिएका अभियन्ता यहीँ छन्। आनन्द सिंह, तपिश मैन्दोला, शिवानी कौल, लताकुमारी लगायतका युवा नेता तथा प्राज्ञिक कर्मीहरू जीउज्यान अर्पेर प्रतिबद्ध छन्।
औसत पैंतीस वर्ष हाराहारीको यो ‘स्कलर्स ग्याङ’ले विचारको दुनियाँमा आशालाग्दो ध्वनि उत्पादन गरेको गोचर हुन्छ। रुबी सिन्हा, सिप्रा श्रीवास्तव, विमला साकरवाल, लखविन्दर सिंह, नवनीत प्रभाकर, अरबिन्द राठी, आशीष सिंह लगायतका नेता, संस्कृतिकर्मी र लेखकहरूको ठूलो समूह छ जो पार्टीका विभिन्न फ्रन्ट, जनचेतना पुस्तकालय, राहुल फाउन्डेसन (प्रकाशन तथा अनुसन्धानसम्बद्ध), परिकल्पना प्रकाशन, मजदुर बिगुल (मासिक समाचार पत्र)सँग जोडिएर विविध जिम्मेवारीमा कार्यरत छन्।
०००
खासमा हामीलाई नेपालबाट एउटा कार्यपत्र ल्याउनुपर्ने गरी निम्त्याइएको रहेछ। मलाई यसबारे ढिलो मात्र थाहा भएको थियो। यसै पनि यति जटिल राजनीतिक महŒवको शीर्षकमा बोल्ने बानी छैन। यस्ता विषयमा मैले आफूलाई परीक्षण गरी हेरेको पनि छैन। अघिल्लोपटक २०१४ मा आउँदा नेपालको पनि कार्यपत्र थिएछ। तर, यसपटक भने निनु चापागाईंको वर्तमान नेपाली राजनीतिकेन्द्री मन्तव्य मात्र प्रस्तुत हुनेवाला थियो। यहाँ आएर देखिसकेपछि लागिरह्यो, नेपाल भूमिमा उभिएर हाम्रा अवस्थाका बीचबाट हेर्दा आजको साम्राज्यवादको चित्र कस्तो देखिन्छ ? त्यो चिज यहाँ ‘मिस’ हुन हुन्थेन।
यतिखेर त एउटा अन्तर्राष्ट्रिय स्तरको वैचारिक संगोष्ठी साक्षात्कार गर्न मात्र आएकी। किताबमा भेटेका कात्यायनी, सत्यम्जस्ता पात्रहरूसँग भेट्ने लोभले पनि आएकी। अध्ययनशील युवा बौद्धिकहरूको ‘औरा’ले आफूलाई चार्ज गर्न आएकी। अनि, नबाबहरूको सहर भनिने लखनउको रूप र बान्की मज्जाले हेर्न आएकी।
लखनउको हाम्रो मुकाम इमामबाडामै भएपछि बसाइ गज्जब नहुने कुरै थिएन ! फुत्त mत्त निस्केर बाल्कनीबाटै देख्न सकिन्थ्यो रुमी गेटपारि झल्मलाइरहेको मध्यकालीन एक टुक्रा भारतको दृश्य। डेरा अघिल्तिरको सडकबाट अघाउन्जेल देख्न सकिने अग्लाअग्ला बुर्जावाल इमारतहरूको शान। रातमा मस्जिद र दरबारहरूका मिनारमा बलिरहने बत्तीको चमकधमक। तर, त्योभन्दा कम रमाइलो थिएन रुममेटहरूसित भएको नौलोपौलो भलाकुसारी। ताछी ताछी मिलाएजस्ता यिनका कुरा ! जो हेर्यो उही खग्गु छन् बोल्न।
गोरखपुर, झारखण्ड, दिल्ली, हरियाणा, पन्जाब, महाराष्ट्र, राजस्थान, देहरादुनलगायत भारतभित्रका दर्जनौं ठाउँबाट आएका सहभागी। विद्यार्थी, मजदुर, महिला, किसान फाँटका नेता। नेपालबाट हामी ६ जना अनि अमेरिकी युवा कम्युनिस्ट नेता एरिक स्मिथ। अवश्यै, त्यत्रो ठूलो समूहको त्यति उम्दा व्यवस्थापन गर्ने स्वयंसेवक पंक्तिको अग्रसरता र भद्रता सिक्नलायक छ।
यहाँदेखि झन्डै पौने घन्टाको दूरीमा छ कार्यक्रमस्थल— गोमतीनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध अध्ययन शोध संस्थान। सभाहलको बाहिरपट्टिको लबीमा राहुल फाउन्डेसनका लगभग सबै किताब पाइने स्टल छ— हिन्दी, अंग्रेजी जुन माध्यममा खोजे पनि पाइने। कविताका पम्प्लेट, लेखकहरूका तस्बिर र अन्य प्रकाशनका पुस्तक पनि छन्। राहुल फाउन्डेसनका किताब यति सुपथ छन् कि हजार रुपियाँमै किन्न सकिन्छ अँगालाभरि अटाइनअटाई किताब ! पुस्तिकाहरू छन् पातला, सस्ता तर बुलेटजस्ता।
तेस्रो दिनको पहिलो सेसन ‘मजदुर बिगुल’ पत्रिकाका सम्पादक अभिनव सिन्हाको थियो। ५८ पृष्ठ लामो उनको कार्यपत्र अंग्रेजीमा थियो तर उनले त्यसको हिन्दी अनुवाद गरी पाठ गरे। बिहानको नास्तापछि थालिएको यो सेसन दिउँसो खानापछि बेलुकासम्मै चालू थियो। साम्राज्यवादसम्बन्धी मार्क्सदेखि आजका समकालीन मार्क्सवादी सिद्धान्तहरूको चिरफार गरिएको अभिनवको पत्र एउटा किताब नै भन्न मिल्ने खालको थियो। पत्रले साम्राज्यवादबारे मार्क्सवादका क्लासिकल सिद्धान्त, स्वयं मार्क्सले विभिन्न ठाउँमा गरेका कथनदेखि रुडोल्फ हिल्फर्डिङ, रोजा लग्जेम्बर्ग, निकोलाई बुखारिन हुँदै लेनिनसम्मका क्लासिकल व्याख्याहरूको कालक्रमिक समीक्षा गरेको मात्र छैन १९४० देखि ७० सम्मको नवमार्क्सवादी व्याख्या र त्यसयताका मुख्यमुख्य पुस्तकहरूमाथि गहन टिप्पणीसमेत गरेको छ।
यिनले क्लासिकल मार्क्सवादी व्याख्याको पुनः कथन गर्ने जोन विक्स र अनवर सेखहरूका दर्जनौं निबन्ध र किताबले सन् ७० देखि ८० का बीच पारेको प्रभावमाथि प्रकाश पार्दै नवसाम्राज्यवादी चरणका सिद्धान्तभित्र प्रवेश गरेर डेभिड हार्वे, एलेन वुड, एलेक्स क्यालिनिकस र जोन स्मिथका वैचारिक स्थापनाहरूमाथि विशेष टिप्पणी र प्रति–व्याख्या गरे। झन्डै आठ घन्टा लिएको अभिनव सिन्हाको कार्यपत्र बुझ्नेलाई श्रीखण्ड भनेजस्तो त छ तर यत्रो धैर्य जुटाएर त्यसमा ‘इन्गेज’ हुने सामथ्र्य कति मानिसमा होला ? उसमाथि यस्ता लामालामा पत्रमाथि हुने लगातारका लामै बहस ! विषय रुचिकर भए पनि पोलिटिकल इकोनोमीको छेउटुप्पो नबुझेका मान्छेलाई भने सभाहलमा एकै ठाउँ सिंगै दिन जाम परेर बस्नुपर्दाको त्रासदी भयावह छ।
नेपालको क्रान्तिलाई दन्त्यकथाझैं सुनेर रोमाञ्चित हुनेहरूका आँखामा अवसादको छायाँ प्रस्ट देखिन्थ्यो। पछि कतिपयले सोधे, ‘हैत् प्रचण्डले यस्तो कसरी गर्न सक्छन् ? ’ हामीले भन्यौं, ‘अब प्रचण्ड पुष्पकमल दाहाल मात्रै होइन, सूर्यमुखी फूल भइसके !’
भोलिपल्ट, चौथो दिनको पहिलो सेसनमा प्रकट हुन्छन् ४० पेज लामो कार्यपत्रसहित पञ्जाबी पत्रिका ‘प्रतिबद्ध’का सम्पादक सुखविंदर सिंह। यिनको ‘सेन्स अफ ह्युमर’ यस्तो तगडा छ कि यति लामो पाठ निरन्तर सुन्नुपर्दा कतिखेरै हाई काढिँदैन, न त उँघिन्छ। यो पत्रले अन्तरसाम्राज्यवादी प्रतिस्पर्धा र बदलिँदो शक्ति सन्तुलनको सटिक चित्र प्रस्तुत गर्छ। यिनी साम्राज्यवादबारे लेनिन र काउत्स्कीका परस्पर विपरीत मतहरूलाई समीक्षा गर्दै अघि बढेर पुँजीवादका पछिल्ला प्रकरणहरूले कसरी काउत्स्कीपन्थी मतको खण्डन गरे अनि साम्राज्यवादलाई बुझ्न लेनिनका तत्कालीन कथनहरू कसरी सही छन् भन्ने कुरामा पुग्छन्।
विश्व पँजीवादमा आएको महŒवपूर्ण बदलाव अमेरिकी साम्राज्यवादको आर्थिक शक्तिको क्षरण र साम्राज्यवादी शक्तिको स्थानान्तरण रुस, चीन, युरोपेली युनियनलगायत अन्य केही देशमा हुँदै जानु हो भन्ने कुरालाई आर्थिक र कूटनीतक विकासक्रमका पछिल्ला कडीहरूबाट प्रमाणित गर्छ। उता छ अमेरिकी साम्राज्यवादको विश्व वर्चश्वलाई चुनौती दिने सम्भावित स्रोतका रूपमा देखिने युरोपेली युनियन।
यता छ चीनसँग लड्न सैन्य खर्च बढाउँदै जान थालेको जापान। रुसी साम्राज्यवादको पुनरुत्थान, उत्तर एटलान्टिक सन्धि संगठनविरुद्ध रुस, चीन लगायतले गठन गरेको सांघाई सहयोग संगठन, एकध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने भनी गठित ब्राजिल, रुस, भारत, चीन, दीक्षण अफ्रिका सम्मिलित ‘ब्रिक्स’, अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकलाई चुनौती दिने ब्रिक्स विकास बैंक र एसियाली अधिरचना बैंक आदि संगठित प्रयासहरू आजको साम्राज्यवादका अन्तरविरोधहरू कसरी मुखर हुँदैछन् भन्ने स्पष्ट चित्र हुन्— कार्यपत्रको मजबुन।
रमाइलो कुरा, यहाँ साम्राज्यवादमाथि मात्रै होइन एकै लेखकका कृति र विचारहरूमाथि समेत एउटा सिंगै कार्यपत्र प्रस्तुत भयो। कार्यपत्र प्रस्तोता थिए विपिन बलराम। भारतीय अर्थशास्त्री प्रभात पटनायकका विचारहरूमाथि केन्द्रित यो पत्रले सीपीएमको गलत लाइनको पैरवी गर्न थाल्दा पटनायक आफ्नै विचारहरूबीचका अन्तर्विरोधमा फँसेको आरोप लगाएको छ। प्रोफेसर पटनायकका सबै किताबको छानबिन गरेका बलरामले सेसनभरि तिनको धुलाई नै गरे। यति बेला भने मैले केही दिनअघि मात्रै नेपाल आएर यहाँका बुद्धिजीवीलाई खिज्याउने पटनायकको वार्ता झल्झली सम्झिएँ।
एरिक स्मिथ, तीस हाराहारीका होलान्। संसारको सातो खाने साम्राज्यवादको जिमदार देश अमेरिकामा बसेर कम्युनिस्ट राजनीति गर्छन्। यिनको कार्यपत्रको शीर्षक छ : ‘वैश्विक स्थिति र वैश्विक क्रान्ति’। कार्यपत्र बँदागत छ। यिनी भन्छन्— क्रान्तिको चरण हरेक देशको भिन्दाभिन्दै हुन्छ तर त्यो विश्व सर्वहारा क्रान्तिको अंग हुन्छ। क्रान्ति जन्माउने कुरा हो, निर्यात गर्ने कुरा होइन। त्यसैले कुन देशमा कस्तो क्रान्ति हुने ? त्यो राष्ट्रिय परिस्थितिसापेक्ष हुन्छ। यसै पनि हामी अब अक्टोबर चक्र (१९१७–१९७६) को जुगमा छैनौं। आजका परिस्थिति भिन्न छन्। आज उठेका राष्ट्रिय मुक्ति आन्दोलनहरू साम्राज्यवादविरोधी आन्दोलन पनि हुन् भन्ने कुरो कम्युनिस्टहरूले बुझ्नुपर्छ। दमित राष्ट्रहरूको पक्षमा र साम्राज्यवादको विपक्षमा एउटा नयाँ धु्रुव बनाउन सक्ने हो भने मात्र सर्वहारा वर्गको वैश्विक जित हुन्छ। यो पत्रमाथि पनि एरिक र अभिनवको परस्पर बहस लामै चल्यो।
‘कठमुल्लावाद !’ यो शब्दले अलिबेर हल गर्मायो। सहभागीमध्ये कसैलाई त्यसले राम्रै ‘पिन्च’ गरेछ। उनी प्रतिवादमा उत्रिए। उनको प्रतिवादमा अभिनव आए। त्यसपछि फेरि उनै मित्र आए। फेरि अभिनव। यो चक्र दिक्कलाग्दो थियो। हिजो र आजका आलेखमा प्रयुक्त यो शब्दका प्रयोगकर्ता आनन्द सिंह र सुखविन्दर पनि उही शब्दमाथि स्पष्टीकरण दिन उभिए। पाहुनासँग यसरी सबै नखनिनुपर्ने ! हामीलाई लाग्यो। कुरो के परेछ भने प्रतिवादी साथी आयोजक समूहद्वारा ‘कठमुल्ला’ आरोपित पार्टीका सदस्य रहेछन्। पछि अध्यक्षमण्डलका अध्यक्ष निनु चापागाईंले निसाफको शैलीमा भन्नुभो, ‘कठमुल्लावादी पनि कम्युनिस्ट नै हुन्। यसमा दुई मत छैन। तर उनीहरू सिर्जनात्मक भने हुँदैनन्।’
बाहिर निस्कँदै गर्दा आयोजकमध्येका एक साथीलाई सोधेँ, ‘पाहुनासँग त यस्तरी दहल्फसेल नगरेको भए राम्रो हुन्थ्यो !’ तिनले पड्किँदै भने, ‘कुरो जहाँ उठ्छ त्यहीँ ठोकेर भन्नुपर्छ बुझ्नुभो !’
अन्तिम दिनको पहिलो सेसन, मजदुर नेता शिवानी कौल आफ्नो आलेख पढ्न उभिन्छिन्। यिनको पत्रले एक्काइसौं शताब्दीको कम्युनिस्ट मेनिफेस्टो भनी प्रचारित ‘एम्पाएर’ (सन् २०००) किताबको खरो आलोचना गर्छ। यसका लेखक एन्टोनियो नेग्री र माइकल हार्ड्ट हुन्। शिवानीको कार्यपत्र ‘एम्पाएर’ किताबकै शिरपुच्छर समीक्षा थियो। किताब पढ्नेहरूले त रस मानीमानी सुनेको देखिन्थ्यो। उक्त किताब नपढ्नेलाई पनि यिनले त्यसप्रति जिज्ञासु बनाइदिएकी थिइन्।
त्यसपछि डा. टेरेन्स सेमुअलको संस्कृति र साम्राज्यवाद विषयक कार्यपत्र आयो। यो संगोष्ठीकै सबैभन्दा छोटो पत्र थियो। यिनले सांस्कृतिक साम्राज्यवादप्रति आलोचनात्मक दृष्टि बुझ्न एडवर्ड सइदको प्राच्यवाद (ओरियन्टालिज्म) बुझ्नुपर्ने आग्रह गरे। पुँजीवादले आक्रामक रूपले संस्कृति उद्योगको प्रयोग र विस्तार गरेको, युरोप–केन्द्री धारणा थोपर्दै सांस्कृतिक हेजेमोनीमार्फत संसारलाई शासन गर्दै आएको विचार राखे। ‘समुदायमा संस्कृतिप्रतिको सचेतता बढ्दै जाँदा यो पहिचानको राजनीतितिर लक्षित हुँदै जान्छ त्यसैले पहिचानको संघर्षलाई कसरी लिने भन्नेमा मार्क्सवादीहरू स्पष्ट हुनैपर्छ’, यिनले भने।
अब निनुजीको मन्तव्य प्रस्तुत हुनु थियो। घर्किंदो समय र पेस हुन बाँकी कार्यपत्रको दबाबले उहाँ धेरै लामो बोल्नुभएन। उहाँको वक्तव्य नेपाल विषयक नै थियो। नेपालको कम्युनिस्ट आन्दोलनको विघटनबारे उनीहरू स्वयं जानकार नभएका होइनन् तर यहाँ आसन्न चुनावको दैलोमा भर्खरै घोषित वाम गठबन्धन र त्यसपछि हुने भनिएको एकताको कुरा सुन्दा हल चकमन्न देखिन्थ्यो। जो जो नेपालका पछिल्ला घटनाक्रमसँग अद्यावधिक थिए उनीहरूका लागि यो उति नयाँ कुरा थिएन। तर नेपालको क्रान्तिलाई दन्त्यकथाझैं सुनेर रोमाञ्चित हुनेहरूका आँखामा अवसादको छायाँ प्रस्ट देखिन्थ्यो। पछि कतिपयले सोधे, ‘हैत् प्रचण्डले यस्तो कसरी गर्न सक्छन् ? ’ हामीले भन्यौं, ‘अब प्रचण्ड पुष्पकमल दाहाल मात्रै होइन, सूर्यमुखी फूल भइसके !’
अन्तिम दिनको अन्तिम कार्यपत्र लिएर फेरि अभिनव सिन्हा नै उभिए। आलेखको नाम थियो, ‘विद्यमान साम्राज्यवादी संकट : एक नयाँ महामन्दी’। उनले विगतका संकटहरूभन्दा अहिले देखिएका संकटहरू दीर्घकालीन र संरचनात्मक भएको औंल्याए। वर्तमानका संकट १९३० को जस्तो भयावह देखिन्न तर सतहमा प्रकट ‘लङ डिप्रेसन’का पर्याप्त सूचक कति डरलाग्दा छन् भन्ने आँकडाहरू प्रस्तुत गरे। समय धेरै नै चिप्लिएर होला, यो पत्र हतारको सराद्धमा पण्डितले एकैसाथ तीन पाना फर्काएझैं गरी सकाइयो।
सबै सेसनहरू सकिएका थिए तर गोष्ठीको औपचारिक समापन भइसकेको थिएन। चिया ब्रेकको लागि निस्केका सहभागीलाई बाहिरै रोकेर भित्र समापन उत्सवको तयारी चल्दै थियो। आजको साँझ एउटा म्युजिकल ब्यान्डको ‘इन्ट्रोडक्सन’ हुँदै रहेछ, ‘अनुष्टुप’। यसको लोगोमा छ, हँसिया हथौडा अंकित गितारको चित्र। यहाँ पनि अभिनव ? यिनी अल इन वन नै रहेछन्। लिड भोकलिस्ट उनै। साथमा सिप्रा, अनहद र सृजन।
गरमागरम बहसपछि संगीतको भव्य माहोलले सबै सहभागीमा एउटा सन्तुष्ट उत्सव भाव प्रकट भएको देखिन्थ्यो। अघिल्लोपल्ट आउँदा हाम्रा साथी संगीत श्रोताले कार्यपत्र मात्र होइन नामअनुसार संगीतको पनि बेजोड प्रस्तुति दिएर छोडेका रहेछन्। धेरैले उनलाई ‘मिस’ गरेको देखेपछि मैले पनि एउटा नेपाली गीत गाएँ। लौ जा, जेसुकै होस् भनेर। तै, धन्न तारिफ पाइयो। म पछि महाराष्ट्रबाट सहभागी भाइबैनाले जोशिलो स्वरमा गाए, ‘इन्क्लाब जिन्दावाद !’
०००
गत वर्ष दिल्ली जाँदा कात्यायनीसँग भेट्न मन थियो तर भेट हुन सकेन। फोनमा भने कुराकानी भयो। उनको स्थायी बसोबास लखनउमा रहेछ। यतिखेर लखनउ आउन लोभिनुपर्ने कारण उनीसँगको भेट पनि थियो। भारतमा उनको तीक्ष्ण दृष्टि र मुखर लेखाइले बनाएको स्पेस निकै ठूलो छ। पोहोर दिल्ली जाँदा उनका प्रायः सबै किताब ल्याएको हो। उनलाई पढिसक्दा लागेको हो, उनी जति उम्दा कवि हुन् उत्तिकै खरो गद्यशिल्पी पनि हुन्, उति नै जिम्मेवार ‘एक्टिभिस्ट’ पनि। सम्पादकका रूपमा पनि उनी गिनेचुनेका मध्ये पर्छिन्। अनेक लेख, निबन्ध संकलनका सम्पादकका रूपमा कात्यायनी–सत्यमको जोडी सफल देखिन्छ। सृजन परिप्रेक्ष्य, नान्दीपाठ लगायतका आफैंसम्बद्ध प्रकाशनलाई सोद्देश्य र सार्थक बनाउन पनि यी दुई अहोरात्र लागेका छन्।
संगोष्ठीबीचको फुर्सदमा कात्यायनीसँग गफिनु प्रेरक मात्र छैन रमाइलो पनि उत्तिकै छ। अत्यन्तै सरल र घरिघरि ठट्टालु स्वभावकी यिनी मैले सोचेको भन्दा धेरै नै मैत्री छिन्। नेपाली र भारतीय साहित्य, नारीमुक्ति र नारीवादबारे यिनीसँग गफिनु मेरो लागि आफैंमा एउटा ऐतिहासिक घडी थियो। नेपाली साहित्यको कुरा आउनासाथ उनले घरिघरि पारिजात सम्झिनु र मलाई उनीसँग उभिँदा पारिजातको झल्को लाग्नु संयोग मात्र थिएन। मलाई किन यसरी झल्को लाग्यो ? थाहा छैन।
प्रायः सभाको सबैभन्दा पछिल्लो पंक्तिमा बस्ने स्निग्ध सेतै फुलेका दाढीवाल, अग्ला, हँसमुख मानिस शशीप्रकाश रहेछन्। संगोष्ठी बीचबीचका खाना, खाजाका ब्रेकहरूमा नेपाली र भारतीय कम्युनिस्ट आन्दोलनबारे यिनीसँग धेरै कुराकानी भए। आरसीएलका प्रमुख र यस सम्बद्ध सबै फोरमका अभिभावक, प्रखर पत्रकार, स्तभ्कारसमेत रहिसकेका यिनी कवि र गीतकार पनि रहेछन्। ‘पतझडका स्थापत्य’ र ‘कोहकाफ पर संगीत’ बुक स्टलमै थिए। एउटा किनेँ, एउटा उपहार भन्दै उनैले हस्ताक्षर गरेर दिए।
गफ गर्दै जाँदा थाहा पाइयो विश्व साहित्य र भारतीय साहित्यका उम्दा अध्येता रहेछन् यिनी। राजनीतिक त हुँदै भयो, यिनीसँग साहित्यिक वार्ता पनि उत्पात चाखलाग्दो भयो। यिनले आलोक रञ्जनका नामबाट लेखेको ‘नेपाली क्रान्ति’ माओवादीको संसदीय संक्रमणमाथि केन्द्रित पठनीय किताब रहेछ जसमा सन् २००८ मै माओवादीमा आज आउनसक्ने वैचारिक अवसानबारे भविष्य कथनसमेत गरिएको रहेछ। यी भव्य व्यक्तित्व कात्यायनीका जीवनसाथी र अभिनवका पिता हुन् भन्ने ज्ञात भएपछि लाग्यो यिनको भव्यताको भाइब्रेसन प्राप्त नभएको भए कात्यायनी र यस्ता मातापिता नभएको भए अभिनवको निर्माण हुन्थ्यो कि हुन्नथ्यो होला ?
भोलिपल्ट पर्यटक मुद्रामा लखनउका दरबार र स्थापत्यहरू टेकियो। राजाहरूका प्रशस्ती र बयान सुन्यो, इतिहासको गुमनाम सत्यहरू कहीँ लुप्त भएजस्तो मात्रै लाग्छ। टुरिस्ट गाइडको पछिपछि लागेर भुलभुलैयाका अनकन्टार गल्लीहरूमा, छत र कौसीहरूमा हिँडिरहँदा असंख्य मजदुरहरूको शील्प र पसिनाको अज्ञात कहानीका पन्नाहरू कतै छुटेजस्तो लागिरह्यो।
१८५७ को सिपाही विद्रोहमाथि दमन गर्न राणाजीका उर्दीले नेपाली फौजको त्यो फोस्रो वीरताको किस्सा यहीँ कतै घटित भएको हुँदो हो। इतिहासले छोडेका ती क्रूर हरफ यत्तिकै बिर्सी छोड्न सकिँदो रहेनछ। हेर्नु त के हो र ? यी त स्थीरभावमा गम्ने कुरा हुन्। हतारोमा घुम्नु भनेको केही आलंकारिक दृश्यहरूले आँखालाई गिज्याउने काम मात्र हो, त्यही गरियो।
कृष्णानगरका प्रकाशक साथी हरेप्रकाश उपाध्यायले खातिरसाथ गरेको सत्कारपछि जनचेतनाको बिक्रीकक्ष र पुस्तकालय हेर्न निरालानगर पुगियो। बिहान हामीसँगै निस्केका कतिपय सहभागी साथीहरू रातको गाडी चढुन्जेल यतै अल्मलिएका रहेछन्। जनचेतना एउटा पुस्तकालय मात्र कहाँ हो र ? यो त भारतका विभिन्न प्रदेशमा नेटवर्क भएको वैचारिक आन्दोलन नै हो। राहुल फाउन्डेसन, मजदुर विगुल, अरविन्द न्यास जेजे नाम भए पनि प्रायः उनै उनै अनुहार हुन्। यहाँका साथीहरू पुस्तकालयभित्रै पाहुनाहरूलाई दिउँसोको खाजा ख्वाउन व्यस्त रहेछन्। एकपटक फेरि बिदाइको मित्र मिलाप गर्दै त्यहाँबाट हिँडियो।
आउने बेला पूर्ण राजनीति विषयक कार्यक्रमको कल्पना थियो। फर्किने बेलासम्म यो साहित्यिक उद्देश्यको समेत परिभ्रमण भयो। लखनउ बसाइको अन्तिम रात नेपाली समूह मात्रै बाँकी थियौं। सत्तरीको दशकयता भारतीय कवितामा आएको नयाँ उभारदेखि नक्सलबाडी आन्दोलनका रापतापका प्रसंग र उतारचढावसम्म। महाश्वेतादेवीदेखि मृणाल पाण्डे, अनामिका, कात्यायनीहरूसम्मको व्यापक वृत्त।
अवतारसिंह पाश, केदारनाथ सिंह या धूमिल आदिका कवितालाई कसरी लिने भन्नेदेखि उदयप्रकाशले लेखेको ‘राम सजिवनकी प्रेमकथा’को रचनागर्भमा कवि गोरख पाण्डेको जुडावसम्म अनेक सन्दर्भमा शशीप्रकाशलाई सुन्नु बडो रोचक थियो। यी पाका मानिस हामीसँग अन्तरंग राजनीतिक, साहित्यिक वार्तालाप गर्नैका लागि त्यहाँ रोकिएका थिए। निनुजीको अस्तिको मन्तव्यतिर फर्कंदै उनले नेपाली राजनीतिका पछिल्ला परिदृश्यबारे राखेका निष्कर्षहरू अर्थपूर्ण थिए।
यहाँ आएपछि राम्रैसँग देखियो, ‘वामपन्थ’ भन्ने कुरा मात्र होइन, इमानसाथ प्रयोग गर्ने कुरा हो। वामपन्थ विचारविलास र सत्तारोहणको कुटिल नीति होइन, जनताको स्पन्दनसँग जोडिने जीवनशैली हो। प्रतिरोधको चेतना जोगाउँदै विविध विषय र धारामा गतिशील बहस गर्ने, निरन्तर मजदुर, किसान, विद्यार्थी र बुद्धिजीवीका बीचबाट आन्दोलनको प्रवाह लिएर हिँडेका यी जोशिला र छुरा वैचारिक मानिसहरूले अभिभूत बनाइदिएका अनेकौं प्रसंग छन्।
भोलिपल्ट बिहान नेहरू युवा केन्द्रबाट बिदा भएर यता लागेपछि बाटोमा हामीले आपसमा भन्यौं, ‘यी साथीहरूलाई नेपालमा बोलाएर मज्जाको बहस गर्नुपर्छ है ? ’