सर्जनलाई मुद्दाको सास्ती
- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न गएकी अनु यादवको सानो आन्द्रा काटिन पुग्यो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पत्नीको शल्यक्रियामा चिकित्सककै लापरबाही भएको दाबी गर्दै डिस्चार्जपछि उनका पति मोमेन्द्र मुद्दा दायर गर्ने तयारीमा छन्।
- देब्रे घुँडाको उपचार गर्न गएकी चितवनकी बिन्दु पौडेलको दायाँ घुँडाको अप्रेसन गर्ने नर्भिक इन्टरनेसनल अस्पतालका डाक्टरहरूविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले पनि मुद्दा दायर गर्ने योजना बनाएको छ।
- मोटरसाइकल दुर्घटनाका घाइते हेटौंडाका पुण्यप्रसाद चौलागाईंको खुट्टामा बाहिरी चोट लाग्यो। चुरेहिल अस्पतालमा आकस्मिक शल्यक्रिया गरेलगत्तै उनको मृत्यु भएपछि पीडित पक्षले मुद्दा दिने धम्की दियो।
- उदयपुरकी सुषमा थापाले गलत उपचारका कारण दायाँ खुट्टा गुमाउनु परेपछि सर्वोच्च अदालतले वीर अस्पतालका डा. बुलन्द थापालाई नौ लाख २० हजार क्षतिपूर्ति भराउने फैसला गर्यो।
यी केही घटनाले देखाउँछन्, बिरामीको शल्यक्रिया गर्ने चिकित्सक र बिरामीबीचको दूरी बढेको छ। आपसी सम्बन्धमा विश्वासभन्दा बढी शंका उब्जेको छ। अप्रेसन गर्ने तौरतरिकाबारे सर्वसाधारण मात्र होइन, विदेशमा समेत उपचार गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली पनि आश्चर्यमा छन्। वीर अस्पताल, सर्जिकल भवनको दुई साताअघि शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘देब्रे घुँडो र दाहिने घुँडो छुट्याउन सकिएन भने अचम्म भएन ? एउटा घुँडो बिरामी छ। बिरामी नभएको घुँडो फुकाल्ने ? १७ नम्बरको बिरामी छ भने २१ नम्बरको बिरामी लगेर अप्रेसन गर्ने ? के अप्रेसन गरेको ? यो तहको लापरबाहीलाई के भन्ने ? ’
संवादविहीनताले समस्या
उपचारका लागि आएका बिरामीलाई स्तरीय सेवा र उपचार तथा अप्रेसन गर्दा सहमति लिनुपर्ने मान्यतालाई चिकित्सा सेवामा आधारभूत सिद्धान्तका रूपमा लिइन्छ। यो सिद्धान्तको पालनामा डाक्टरहरू चुक्दा अप्रेसनपछि नतिजा अनुकूल नआउनेबित्तिकै बिरामीले कानुनी उपचारको बाटो अपनाउने गरेका छन्। यो सिद्धान्तको पालना नहुँदा बिरामी, उसका आफन्त र चिकित्सकबीच अप्रेसन गर्नुपूर्व नै बिरामी तथा बिरामीका आफन्त र चिकित्सकको संवाद हुँदैन।
अनेक स्वभावका बिरामी उपचारका लागि आउने भएकाले चिकित्सकहरू नै सही तवरले प्रस्तुत हुनुपर्ने त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवं कन्सलटेन्ट न्युरोलोजिस्ट डा. रागेश कर्ण बताउँछन्। उनी भन्छन्, ‘बिरामीले नसोचेका कतिपय परिस्थिति विकास हुनसक्छ। त्यसका लागि वातावरण सहज बनाई बिरामीको फाइल गहन ढंगले अध्ययन गर्नुपर्छ।’ बिरामीसँग खुला प्रश्न गरी सहज वातावरण बनाई उपचार गर्नेतर्फ चिकित्सकहरूले महŒव नदिने गुनासो बिरामीहरूको छ।
बिरामीलाई लागेको रोग, उपचार, अप्रेसन गर्दा/नगर्दाको जोखिम आदि विषयमा जानकारी दिनुपर्ने चिकित्सकको दायित्व हो। त्यसपछि बिरामीले सहमति जनाएपछि मात्र उपचार सुरु गर्नुपर्नेमा भाषामा फरक, समयको कमी लगायतका अनेक समस्याले आपसी सञ्चारमा अवरोध ल्याउने गरेको वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ प्राडा ढुण्डिराज पौडेल बताउँछन्। आवश्यक जानकारी पनि बिरामीलाई नदिँदा उपचार वा अप्रेसनपछि विवाद बढ्ने गरेको उनको अनुभव छ।
नेपालको संविधानमा आफ्नो कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा लिइएको छ। तर, बिरामीलाई उसको रोग तथा उपचारको व्यवस्थाबारे डाक्टरले जानकारी दिन कञ्जुस्याइँ गर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँ बताउँछन्।
स्ट्रेसमा डाक्टर
अस्पताल वा नर्सिङ होम सञ्चालन गर्न करोडौं रकम खर्च गरेका सञ्चालकले स्वास्थ्य सेवालाई अन्य उपभोगमुखी सामानको व्यापारझैं सम्झने गरेको चिकित्सकहरू बताउँछन्। त्यसकारण जतिसक्यो धेरै बिरामी जाँच गर्न तथा अप्रेसन गर्न डाक्टरलाई उक्साउने मनोवृत्ति छ। एक सर्जन भन्छन्, ‘संख्या नै तोकेर यति बिरामी हेर्नैपर्छ, अप्रेसन गर्नैपर्छ भन्ने आशय व्यक्त गर्छन्। अनावश्यक परीक्षण र कतिपय अवस्थामा अप्रेसनसमेत गर्नुपर्ने बाध्यता हुन्छ।’
ग्रान्डी अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे निजी अस्पतालले डाक्टरहरूलाई संख्या नै तोकेर बिरामी जाँच गर्न वा अप्रेसन गर्न दबाब दिने गरेको भन्नेमा आफूलाई विश्वास नभएको तर्क गर्छन्। ‘दबाब दिने अस्पतालमा काम गर्दिनँ भन्नुपर्छ’, पाण्डे भन्छन्, ‘कुनै अस्पतालले यति बिरामी जाँच गर्नैपर्छ वा यतिवटा अप्रेसन गरी पैसा कमाउनैपर्छ भनी दबाब दिन्छ भने म एक मिनेट पनि काम गर्दिनँ।’
विशेषज्ञता हासिल गर्दासम्म लाखौं रुपैयाँ खर्च भएको हुन्छ। त्यस्तै आफ्ना र परिवारका सदस्यको आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि विभिन्न अस्पतालमा काम गर्नुपर्ने चिकित्सकहरूको गुुनासो छ। यी र यस्तै कारणले चिकित्सकहरूलाई ‘स्ट्रेस’ हुने गरेको डा. पाण्डे स्वीकार गर्छन्। ‘व्यस्त हुँदा परिवारलाई समय दिन पाएका हुँदैनन्। व्यस्तताअनुसार कमाइ पनि भएको हुँदैन’, पाण्डेको गुनासो छ।
त्रुटिमा ढाकछोप
अप्रेसनका क्रममा नेपालमा मात्र होइन गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भनिने अमेरिकामा पनि त्रुटि भएका दृष्टान्तहरू छन्। वीर अस्पतालका सर्जरी विभाग प्रमुख डा. सुबोध अधिकारी विकसित मुलुकका अस्पतालमा पनि नेपालमा जस्तै बेलाबेलामा चिकित्सकबाट मानवीय त्रुटि वा लापरबाही हुने गरेको बताउँछन्।
अमेरिकामा सेवा प्रदान गरिरहेका सर्जनमध्ये पाँचदेखि १० प्रतिशतलाई मात्र ‘गिफ्टेड सर्जन’का रूपमा लिइने वरिष्ठ अर्थोपेडिक सर्जन डा. पाण्डे बताउँछन्। उनी भन्छन्, ‘सबै सर्जनमा उच्च दक्षता हुँदैन। त्यो कुरा नेपालमा पनि लागू हुन्छ।’
मानवीय त्रुटि हुने गरे पनि त्यसलाई ढाकछोप गर्ने र पीडित पक्षसँग गुपचुप सहमति गरी भरसक मुद्दा खेप्ने सास्तीबाट जोगिने उपाय अपनाउन नेपालका लगानीकर्ता र सर्जनहरू एकजुट हुने गरेका छन्। यसको एउटा उदाहरण नर्भिक अस्पतालमा भएको एक अपरेसन हो। उक्त अस्पतालमा पीडित बिन्दु पौडेलको घुँडाको अप्रेसन गर्ने चिकित्सकहरूले बायाँ गर्नुपर्नेमा दायाँ घुँडाको अप्रेसन गरे। तर, ती चिकित्सकहरूले आफ्नो गल्ती स्वीकार गरेनन्। पीडित पक्षले विरोध गरेपछि बल्ल भूलवश मानवीय त्रुटि हुन गएको स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरे।
३८ वर्षीया पौडेलको अप्रेसन गरिएको दायाँ घुँडाको कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्याको निःशुल्क उपचार गर्ने सहमति अस्पतालले गरेको थियो। देब्रे घुँडाको लिगामेन्ट च्यातिएको उपचार र त्यसैसँग जोडिएर आउने नसा लगायतका समस्याहरूमा निःशुल्क उपचार गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनले लिएको छ। यसका साथै दुवै गोडाको भविष्यमा गर्नुपर्नेे सम्पूर्ण उपचार निःशुल्क गरिने गरी अस्पताल व्यवस्थापन पक्षले पीडित पक्षसँग सहमति गरेको छ।
त्यस्तै सहमति राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पनि भएको छ। गत फागुन १६ गते गर्भवती अनीता यादवको मृत्युमा चिकित्सकको लापरबाही भएको जनाउँदै पीडित पक्षले विरोध गरेपछि मृतकका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिँदै पाँचबुँदे सहमति गरिएको थियो।
अधिवक्ता बानियाँका अनुसार डाक्टरको लापरबाहीले भएका घटनाहरू सञ्चारमाध्यमले थाहा पाएमा सार्वजनिक हुने र अस्पताल एवं डाक्टरको साख गिर्ने भयले गोप्य रूपमा सहमति हुने गर्छन्। उनी भन्छन्, ‘अस्पताल र डाक्टरको साख गिर्ने र मुद्दामामिलामा फस्दा झन् बढी क्षतिपूर्ति पनि बेहोर्नुपर्छ भनेर नै छिटो सहमति गर्ने प्रवृत्ति छ।’
न्यून पूर्वाधार, उच्च अपेक्षा
सरकारी एवं निजी अस्पतालमा पर्याप्त पूर्वाधार छैन। त्यस्तै दक्ष जनशक्ति र टिम वर्कको पनि अभाव छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र निर्देशिकाको पालना नेपालका औंलामा गन्न सकिने अस्पतालमा भएको छ।
चिकित्सकीय त्रुटि वा लापरबाही नदोहोर्याउन विश्व स्वास्थ्य संगठनले अस्पतालहरूमा चेक लिस्ट (विभिन्न तहमा जाँच गर्ने सूची) र टाइम आउट (अप्रेसन गर्नुअघि परामर्श) गर्नुपर्ने व्यवस्था हुनुपर्ने गरी निर्देशिका बनाएको छ। विडम्बना, नेपालका थोरै अस्पतालमा मात्र यस्तो व्यवस्था छ।
वीर अस्पताल, सर्जरी विभाग प्रमुख डा. अधिकारी भन्छन्, ‘बिरामी र रोगका साथै अन्य सम्बन्धित विषयको पनि सूची बनाउनुपर्छ। बिरामी उपचारका लागि प्रवेश भएदेखि नै सबै चरणको उपचारमा यो नीति पालना हुनुपर्छ। चारपाँच ठाउँमा चेक हुँदा बिरामीको परिचय, रोग र अप्रेसनमा कन्फ्युजन हुँदैन।’ यस खालको व्यवस्था गर्नेबारे वीर अस्पतालमा छलफल भइरहेको उनी बताउँछन्।
बिरामी धेरै, डाक्टर थोरै
बिरामीको अनुपातमा डाक्टरहरू न्यून भएकाले थोरै समयमा धेरै बिरामी उपचार गर्नुपर्ने बाध्यता चिकित्सकहरूमा छ।
लाखौं रुपैयाँ खर्च गरेर विशेषज्ञता हासिल गरेका डाक्टरहरूलाई खर्च उठाउने र समाजमा साख बढाउने चुनौती पनि छ। आफू र आफ्नो परिवारका लागि सुखसुविधा प्राप्तिको लालसा पनि उत्तिकै देखिन्छ। डा. कर्ण भन्छन्, ‘अस्पतालले दिने पारि श्रमिक निकै कम छ। त्यसकारण एकजना डाक्टरले धेरै ठाउँमा काम गर्छ। यसले गर्दा चिकित्सकमा तनाव बढ्छ।’ तनावमा काम गर्ने डाक्टर बिरामीसँग परामर्श गर्न रुचाउँदैनन्। मुड नहुँदा पनि बिरामीको उपचार वा अप्रेसन गर्नुपर्ने बाध्यताका कारण पनि मानवीय त्रुटि हुन पुग्ने सर्जनहरू बताउँछन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीश अग्रवाल थोरै समयमा सरकारी अस्पतालमा धेरै बिरामीलाई जाँच गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। गुणस्तरीय शिक्षा नपाएको र दक्षता पनि नभएको अवस्थामा चिकित्सकले त्रुटि गर्नसक्ने उनको धारणा छ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. पाण्डे विश्व स्वास्थ्य संगठनको मापदण्ड र निर्देशिकाबमोजिम उपचार गर्न आउने बिरामीलाई उचित हेरविचारका साथै अस्पतालले ‘चेक लिस्ट’ र ‘टाइम आउट’लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्। उनी थप्छन्, ‘यसलाई व्यवहारमा लागू गर्ने हो भने उनान्सय प्रतिशत मेडिकल इरर हुने सम्भावना टर्छ।’
नजिरहरू
- चिकित्सकले गलत सेवा प्रदान गरेको वा लापरबाहीपूर्ण कार्य गरेको कारणबाट उपभोक्तालई असर वा हानि नोक्सानी पुग्न गएको अवस्थामा क्षतिपूर्ति पाउनु पीडित उपभोक्ताको कानुनी अधिकार पनि हो। केही चिकित्सकको लापरबाही र गलत उपचारको कारणले चिकित्सा सेवाप्रति पर्न गएको नकारात्मक सोचलाई बेवास्ता गर्नसमेत सकिँदैन। कुनै चिकित्सकले लापरबाही तथा गलत सेवा प्रदान गरी उपभोक्तालई क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति भराउने कानुनी व्यवस्थासहित उपभोक्ता संरक्षण ऐन जारी भएको पाइन्छ। सोही उपभोक्ता संरक्षण ऐनअनुसार क्षतिपूर्तितर्फ दाबी लिएको अवस्थालाई न्यायोचित रूपबाट हेरिनुपर्ने हुन्छ। (सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७३ सालमा गरेको क्षतिपूर्ति मुद्दामा गरेको फैसलाको अंश)
- बिरामीप्रति डाक्टरको खराब भावना, खराब आचरण र खराब मनशाय हुँदैन। कुनै बिरामीले डाक्टरप्रति यस्ता लापरबाहीका आरोपहरू लगाउँछ भने डाक्टरविरुद्ध आरोप लगाउनेले नै प्रमाणित गर्नुपर्छ। मेडिकल लापरबाहीको आरोपमा अदालतले डाक्टरको दोष प्रमाणित नहुन्जेलसम्म डाक्टरलाई निर्दोष मान्नुपर्छ।
- समयमा उपचार नगरी बसेको वा बिरामीलाई अन्यत्र लगी सम्बन्धित डाक्टर वा अस्पतालमा ढिला गरी लगेकोमा डाक्टरले प्रयास गर्दा पनि उपचार सफल नभएमा डाक्टर वा अस्पताल जवाफदेही हुने व्याख्या गर्ने हो भने त्यो गलत व्याख्या हुन जाने मात्र होइन, डाक्टरले बिरामीको उपचार नै गर्न नचाहने अवस्था उत्पन्न हुन्छ। (सर्वोच्च अदालतका न्यायाधीशद्वय बलराम केसी र मोहनप्रकाश सिटौलाको संयुक्त इजलासबाट २०६६ सालमा भएको क्षतिपूर्तिसम्बन्धी फैसलाको अंश।)
प्रतिक्रिया दिनुहोस !