सुरु भयो कर्णाली–रारा पर्यटन वर्ष (फोटो फिचर)
रारा: प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउने गरी अभियान सञ्चालन गरिने बताएका छन् ।
कर्णाली–रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताका लागि बनेकाले अग्रगामी परिवर्तन गरी विकास र समृद्धिको प्रारम्भिक वर्षका रुपमा मनाउने बताएका हुन् ।
प्राकृतिक सम्पदा, जलस्रोत र कला संस्कृतिले कर्णाली प्रदेश भरिपूर्ण भएकाले सरकारले नमुना प्रदेशकारुपमा विकास गर्ने सरकारले लक्ष्य लिएको पनि प्रधानमन्त्री ओलीले बताए ।
रारालाई स्वच्छता, सुन्दरता र प्राकृतिक स्वरुप कायमै राख्ने, नाग्मदेखि रारासम्मको बाटो स्तरोन्नति गर्ने, रारा क्षेत्रमा पैदल बाटोमा सुधार गर्नेे र मुगुस्थित छायानाथ धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने ओलीले बताए ।
त्यसैगरी पशुपालन, जडिबुटीको व्यवसायिक खेती, हावापानी हेरेर स्थानीय उत्पादनलाई जोड दिने र कर्णालीलाई देशकै पहिलो अग्र्यानिक प्रदेश बनाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले जानकारी दिए ।
सरकारले हुम्लाको हिल्सा, मुगुको नाक्चे लाग्ना र डोल्पासँग जोडिएको तिब्बतसँग जोडिएको नाका खुलाउन पहिलो प्राथामिकता दिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !