भक्तपुरमा अनौठो तरिकाले मनाइयो श्रीकृष्ण जन्माष्टमी, तस्बिरहरू
भक्तपुर : देशभर धूमधामका साथ मनाइने श्रीकृष्ण जन्माष्टमी भक्तपुरमा भने अनौठो र विशिष्ट तरिकाले मनाइएको छ। यहाँ यो पर्व तेलको दियो बोकेर शिर, काँध र हातमा राखी नगर परिक्रमा गर्दै मनाउने परम्परा छ।
हरेक वर्ष झैँ यस वर्ष पनि भक्तपुर नगरपालिका–९ स्थित सूर्यमढी वाकुपाटी क्षेत्रको चाँगुनारायण मन्दिरबाट दीप प्रज्वलन यात्रा सुरु भई पुरानो सहरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर समापन गरिएको हो।
यो यात्रा गाईजात्राको परम्परागत घिन्ताङ्घिसी नाचको मार्ग हुँदै सम्पन्न गरिन्छ। खासगरी जन्माष्टमीका दिन, जुन जनैपूर्णिमाको आठौँ दिन पर्छ, यो दीप प्रज्वलन यात्रा गरिन्छ। यसरी तेलको दियो बोकेर नगर परिक्रमा गर्ने परम्परा यहाँको पुरानो संस्कृतिको एक अद्वितीय पक्ष हो।
यात्रामा सहभागी महिलाहरू परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएर आउँछन् भने पुरुषहरू दौरा सुरुवाल लगाएर यात्रा गर्छन्। यस अवसरमा सांगीतिक समूहहरू, दमाहा–बाजा र डाफा भजन समूहहरूको पनि उल्लेखनीय सहभागिता देखिन्छ।
श्रीकृष्ण जन्माष्टमी, जसलाई जनसाधारणले जन्माष्टमी, श्रीकृष्ण जन्माष्टमी वा गोकुलाष्टमी पनि भन्ने गर्छन्, भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मदिनको रूपमा हरेक वर्ष मनाइन्छ। यो पर्व हिन्दु चान्द्रपात्रोअनुसार श्रावण वा भदौ महिनाको कृष्णपक्षको अष्टमी तिथिमा पर्ने गर्छ।
















प्रतिक्रिया दिनुहोस !