रुपन्देहीका विद्यालयहरुलाई निर्देशन : स्वागत, विदाइका कार्यक्रम होटलमा नगर्नू
भैरहवा : रुपन्देहीको शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रमहरु विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले सञ्चालन गर्न निर्देशन दिएको छ ।
बुधवार कार्यालयले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा अत्यन्तै जरुरी सूचना जारी गर्दै केही विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाइ जस्ता कार्यक्रमहरु विभिन्न होटलमा सञ्चालन गरेकोले विद्यार्थी तथा अभिभावकहरुमा अतिरिक्त आर्थिक भार सिर्जना भएको गुनासो प्राप्त भएको जनाएको छ ।
जिल्लाका सबै स्थानीय तहरुलाई समन्वय, सहजीकरण तथा अनुगमन गर्नका लागि अनुरोध गर्दै इकाइ प्रमुख विष्णुप्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयमा गुनासो प्राप्त भएकाले जिल्ला अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले उपरोक्त अनुसारका कार्यक्रमहरु सञ्चालन गर्दा विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले गर्नु हुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस !