चार करोडमा खेलाडी होस्टल
![चार करोडमा खेलाडी होस्टल](https://annapurnapost.prixacdn.net/media/albums/20180414212656_hostal-player_DhOyuOMDL7.jpg)
हेटौंडा : हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानमा खेलाडीका लागि होस्टल निर्माण भएको छ। करिब चार करोड रुपैयाँको लागतमा ३६ कोठे पुरुष होस्टल निर्माण गरिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चार वर्षअघि थालेको होस्टल निर्माण सम्पन्न भएको हो। जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले खेलाडीलाई दैनिक प्रशिक्षण गर्न कभर्ड हल र खानाका लागि क्यान्टिन निर्माणपछि होस्टल प्रयोगमा आउने बताए।
होस्टलको क्षमता ६० जना रहेको छ। करिब पाँच अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले एकेडेमीको शिलान्यास गरेका थिए। त्यसपछिका सरकारले एकेडेमीका लागि बजेट विनियोजन नगर्दा समयमा निर्माण हुन सकेको छैन। नेपाली खेलकुदको सबैभन्दा महत्वाकांक्षी योजना भए पनि राष्ट्रिय खेलकुद परिषद्ले शिलान्यास भएको आठ वर्षमा ६ करोड रुपैयाँ मात्र लगानी गरेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले बताए।
हालसम्म राष्ट्रिय खेलकुद परिषद्को नाममा रहेको २३ बिघा जग्गामा कम्पाउन्ड बनाउने र रङ लगाउने काममा दुई करोड र होस्टल निर्माणमा चार करोड रुपैयाँ खर्च भएको उनले बताए। ‘योजना महत्वाकांक्षी भयो तर सरकारले बजेट विनियोजन गर्न सकेन’, अध्यक्ष तिमल्सिनाले भने, ‘हाल गौरीटार रंगशाला निर्माणमा परिषद्, प्रदेश सरकार र केन्द्रीय सरकारले समेत चासो देखाएकाले आगामी वर्ष केही बजेट विनियोजन गर्नेमा आशावादी छौं।’
माघ अन्तिम साता परिषद्ले कभर्डहलको पनि शिलान्यास गरिसकेको छ। आगामी साउनमा हुने एसियन खेलकुदमा सहभागी खेलाडीलाई गौरीटारमा निर्माण भएको होस्टलमा राखेर अभ्यासका लागि कभर्डहल निर्माण थालेको सचिव दाहालले बताए। सरकारले बजेट विनियोजन नगरेपछि महिला होस्टल र कभर्डहलको काम अगाडि बढ्न सकेको छैन। प्रतिष्ठानलाई स्पोर्ट्स युनिभर्सिटीका रूपमा विकास गर्ने सरकारी योजना रहे पनि योजनाअनुसार काम हुन सकेको छैन।
यसैबीच, होस्टल निर्माणलगत्तै कभर्डहल निर्माण पनि सुरु भएको छ। एक करोड रुपैयाँको लागतमा प्रिफेबको हल निर्माण सुरु भएको हो। तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिमल्सिनाले बताए। ‘आगामी १३औं दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राख्दै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने लक्ष्यका साथ कभर्डहल निर्माण सुरु गरेका हौं’, उनले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)