यी आमालाई कसले सुन्ने ?

यी आमालाई कसले सुन्ने ?

ललितपुर : मातातीर्थ औंसीका दिन अनेकौंले सामाजिक सञ्जालका साइटमा तस्बिर राखेर आमा पुकार्दै गर्दा थसिखेलस्थित ‘नेपाल स्नेही काख’ मा अलग अवस्थाका केही आमाहरू भेटिए । मानसिक सन्तुलन गुमाएर सडकमा पुगेका १७ जना आमाहरूलाई नेपाल स्नेही काखकी अध्यक्ष नेहा पोखरेलले हौसला थपिरहेकी थिइन् । त्यसमध्येकी थिइन् सिर्जना तामाङ ।

काठमाडौं घर बताउने सिर्जनालाई तीन वर्षपहिले बालुवाटारबाट उद्धार गरिएको थियो । श्रीमान् बितेपछि विक्षिप्त बनेकी सिर्जनाले विस्तारै मानसिक सन्तुलन गुमाएको र सडकमा निस्किएको बताइन् । त्यो बेलाको सम्झना गर्दै उनले भनिन्, ‘मलाई घर बस्नै मन लाग्दैनथ्यो कतिबेला कहाँ पुगँे थाहै छैन ।’ बल्ल ३८ वर्ष पुगेकी उनका सात वर्षका छोरा छन् ।

उनको उद्धार गरिएका बेला १८ वर्षदेखिको पुरानो गलगाँड थियो । मानसिक अस्पताल पाटनले उनको गलगाँडमा क्यान्सर भएको भन्ने ठहर गरेपछि थप उपचारका लागि भारतको एम्स अस्पताल लगिएको थियो । उनको गलगाँडको सात घण्टा लामो सर्जरी गरियो । डेढ महिनाको अस्पताल बसाइपछि उनी नेपाल फर्किइन् । उनी अहिले सामान्य अवस्थामा देखिन्छिन् । तर, उनको आवाज राम्रो फर्केको छैन ।

क्यान्सरले सासनलीसम्म छोएकाले सो ठाउँमा रेडिएसन लगाइरहेको उपचार अझै जारी रहेको संस्थाका सचिव केशवप्रसाद रिजालले जानकारी दिए । यतिबेला सिर्जना संस्थाको सबैभन्दा भरपर्दो सदस्य बनेकी छन् । सबैको लिडर बनेर अन्य सन्तुलन गुमेकाहरूका लागि आड दिँदै आएकी छन् ।

पुसको कठ्यांग्रिँदो जाडोमा सडकमा बेवारिसे अवस्थामा भेटिएकी थिइन् पवित्रा लामा । मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे अवस्थामा बसेका बेला उनलाई कसैले शारीरिक सम्बन्ध राख्यो । सो सम्बन्धपछि उनी गर्भवती भइन् । उद्धार गरेको समयमा उनको पेट निकै बढिसकेको थियो । डेढ महिना पहिला बच्चा जन्म दिइन्, सोही संस्थाका सदस्यहरूले ती नाबालकको हेरचाह गरिरहेका छन् । तर, उनको मानसिक अवस्था अझै राम्रो भइसकेको छैन ।

०५१ सालमा जन्मिएको बताउने पवित्राको पाटन अस्पतालको रेकर्डअनुसार यसअघि दुई पटक बच्चा जन्माइसकेको तथ्यांक देखिएको संस्थाकी अध्यक्ष नेहा पोखरेलले बताइन् । उनले भनिन्, ‘उनीसँग कुरा गर्न गाह्रो छ । के कारणले उनी यस्तो अवस्थामा आइन् अझै वास्तविकता बुझ्न सकिएको छैन ।’ उनी बेवारिसे आमा बनेकी थिइन् ।

उनीहरू सबैलाई संस्थाले नाम राखिदिएको छ । पवित्रा पनि संस्थाले नै राखिदिएको नाम हो । पवित्रा विभिन्न नाम बताउँछिन् आफ्नो । कहिले आफू कहिले पूजा भएको बताउँछिन् त कहिले सपना । डेढ महिने सुत्केरी उनी हृष्टपुष्ट देखिन्छिन् । आफू सुत्केरी भएको उनलाई थाहा छैन । आक्रामक रूपमा प्रस्तुत हुने पवित्राले संस्थाका सबैलाई पिटिसकेको पोखरेलले बताइन् । उनको देब्रेआँखादेखि गालासम्म कोतरिएका खत देखाउँदै पोखरेलले भनिन्, ‘व्यक्तिगत कुरा सोध्दा उनी भावुक बन्छिन्, अरूलाई कोतर्ने र पिट्ने गर्छिन् ।’

तीन महिनापहिले सातदोबाटोको सेल्सबरीपछाडि गल्लीमा राति बलात्कार हुन लाग्दा ‘नेपाल स्नेही काख’ समूहले हुम्लाकी दीपाको उद्धार गरेको थियो । ‘समूह जन्मदिन पार्टी सकाएर फर्किंदै गर्दा तीन जना युवाले दीपालाई बलात्कार प्रयास गरिरहेको भेटेको थियो । तुरुन्त सातदोबाटो प्रहरीलाई जानकारी गराएर उनको उद्धार भएको थियो । हुन त उनी ठेगानको कुरा केही गर्दिनन् तैपनि धुमधाम मातातीर्थ औंसी मनाउने क्रममा रमाइरहेकी थिइन् । ४० वर्षकी जस्तो उमेर देखिने दीपाबारे बुझ्ने प्रयास जारी रहेको संस्थाले बताएको छ ।

तारबार लगाएर घेरा हालिएको आ श्रय स्थलमा सिर्जना, पवित्रा, दीपाजस्तै अन्य १७ जना सन्तुलन गुमाएका आमाहरूको रेखदेख गरिरहेका तन्नेरी समूह छन् । त्यसमध्येकी नेहा पोखरेल संस्थाकी अध्यक्ष हुन् । पोखरेल भन्छिन्, ‘यी आमाहरूलाई रमाइलो होस् भनेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल आउने भनिए पनि उनी अनुपस्थित थिइन् ।

पोखरेलले भनिन्, ‘सडकमा कोही पनि देखिनुहुन्न भन्ने उद्देश्यले यो संस्था जन्मिएको हो ।’ मानसिक सन्तुलन गुमाएका मानिसलाई कुनै पनि निकायले हेर्न नमान्ने, मापदण्डमा बाहिरका कुरा भन्दै पन्छिने गरेको अनुभव उनीसँग छ । ‘सबैले सुखी र स्वस्थ जीवन बिताउन पाउनुपर्छ’, पोखरेलको भनाइ छ ।

सन्तुलन गुमाएकाहरूको कथा सुनिनसक्नु छ । शोभा नाम गरेकी ३६ वर्षीया महिलालाई सातदोबाटो औद्योगिक क्षेत्रबाट दुई महिनापहिले उद्धार गरिएको थियो । उनी त्यसबेला अचेतजस्तै देखिन्थिन् तर उनका दुई वर्षका बच्चाले शोभालाई बिस्कुट खुवाइरहेको अवस्थामा भेट्टायांै । दुई वर्षकी बालिका अहिले आमासँगै संस्थामा छिन् । पोखरेलले उद्धार गरिएको समय सम्झना गर्दा आफूलाई सम्हाल्न गाह्रो हुने बताइन् ।

अन्यको तुलनामा मानसिक सन्तुलन बिग्रिएकाको हेरचाह गर्न निकै कठिन छ, ‘कहिले बार नाघेर भाग्न खोज्छन्, सम्झाउँदा सम्झाउँदै चिथोर्ने, पिट्छन्, पोखरेलले भनिन् यद्यपि उचित परामर्श, रेखदेखले सबैमा परिवर्तन आउँछ ।

मनोविद् करुणा कुँवरले मानसिक सन्तुलन गुम्नुमा दुई, तीन वटा कारण हुने बताइन् । कसैको वंशाणुगत हुन्छ । यी आमाहरूजस्ता बिरामी कडा खालका मानसिक सन्तुलन बिग्रिएका रोगी हुन् । यस्ता रोगी सत्यतासँग अनभिज्ञ हुन्छन् । परिणामस्वरूप उनीहरू यो अवस्थामा आइपुग्छन् । उनीहरू नांगै भएको, बरबराउँदै हिँडेको थाहा पाउँदैनन् किनकि उनीहरू त्यसैलाई रियालिटी मान्छन् ।

मानसिक सन्तुलन बिग्रनुको अर्को कारण पारिवारिक, सामाजिक वातावरणले पनि प्रभाव पार्छ । सानैमा लैंगिक तथा यौनजन्य हिंसालगायत दुव्र्यवहारको कारण मानसिक रोगी बनेको कुँवर बताउँछिन् । उनका अनुसार परिवारले माया, सहयोग गरेको खण्डमा पहिलाको अवस्थामा फर्किन सक्छन् । यस्ता बिरामीले औषधि खान मान्दैनन् ।

मातातीर्थ औंसीको अवसरमा यी सबै आमाहरूलाई सहयोग गर्ने वडा नम्बर १३ का अध्यक्ष गणेश केसीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.