ठूला सफलताको प्रतीक्षा

ठूला सफलताको प्रतीक्षा

काठमाडौं : भलिबल यस्तो खेल हो, जो नेपालको प्रायः सबै स्थानमा खेलिन्छ। सहभागिता र दर्शकको रोजाइका दृष्टिबाट भलिबल नेपालमा लोकप्रिय खेल पनि हो। नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै हैन, विभिन्न स्थानमा हुने घरेलु प्रतियोगितामा समेत भलिबल हेर्ने दर्शकको उपस्थितिमा कहिल्यै कमी देखिएको छैन।

यही लोकप्रियता र नेपालको भौगोलिक जटिलतासँग समेत मेल खाने भएका कारण सरकारले गत वर्ष जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा गरेको छ। यही खेल भलिबलको अन्तर्राष्ट्रिय उपलब्धि भने सोचेअनुसार हुन सकेको छैन। नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले गत वर्ष माल्दिभ्समा भएको एसियन भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा जितेको कांस्य पदक नै अहिलेसम्मको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय पदक हो।

विसं २०३३ मा भलिबल संघको रूपमा दर्ता भएसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिता पनि सुरु भएको हो। तर, पहिलो अन्तर्राष्ट्रिय पदकका लागि भने नेपाली टोलीलाई लामो समय कुर्नुप¥यो। नेपाली टोली त्यसको एक वर्षपछि फेरि एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ। यही शनिबारबाट बंगलादेशमा सुरु हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको चौथो संस्करणमा सहभागिता जनाउन नेपाली टोली यही बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ।

राष्ट्रिय खेल घोषणा भएपछिको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता र तेस्रो संस्करणमा कांस्य जितेको खुसीपछि चौथो संस्करणको यो प्रतियोगितामा पनि नेपाली टोलीले सशक्त प्रदर्शनसँगै ठूलो सफलताको अपेक्षा गरेको छ। नेपाली टोलीका प्रशिक्षक र कप्तानले पनि त्यही सफलताको योजना बनाएको सुनाए।

नेपाली टोलीका कप्तान इम रानामगरले अघिल्ला प्रतियोगिताको तुलनामा तयारी धेरै राम्रो भएकाले नतिजा पनि पहिलेको भन्दा राम्रो आउने बताए। ‘हामीले पहिलेको भन्दा लामो समय तयारी गर्ने अवसर पाएका छौं। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताअघि म्याटमा अभ्यास गर्न पाएका छौं। पहिले म्याटबिना नै अभ्यास गरेर म्याटमा आयोजना हुने प्रतियोगिता खेल्न जान्थ्यौं’, कप्तान राना भन्छन्, ‘तर, यसपटक यी समस्या छैन। त्यसैले यसपटकको नतिजा पहिलेको भन्दा राम्रो हुनेछ। हाम्रो प्रयास पनि त्यही हुनेछ।’

नेपाली टोली प्रतियोगिताका लागि पछिल्लो ४५ दिनयता तयारीमा छ। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताअघि म्याटमा अभ्यास गरिरहेको छ। नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले पनि यसपटक स्वर्णकै योजना बनाएको बताए। ‘हामीले पहिलेको भन्दा राम्रो तयारी गरेका छौं। प्रतियोगितामा सहभागी टोलीहरू पनि हाम्रै स्तरका हुन्। सहभागी टोलीमध्ये धेरैलाई यस अघिका प्रतियोगितामा पराजित गरेका छौं। पराजित गर्न नसकेकासँग पनि प्रतिस्पर्धात्मक सेटमा मात्रै पराजित भएका छौं’, प्रशिक्षक भट्टले भने, ‘त्यसैले हामीले यसपटक स्वर्णकै योजना बनाएका छौं। हामी स्वर्णकै लागि खेल्नेछौं।’

प्रशिक्षक भट्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगले समेत प्रतियोगिताको तयारीमा निकै सहज भएको बताउँछन्। ‘राखेपले यसपटक हामीलाई निकै सहयोग गरेको छ। खेलाडीका लागि आवश्यक डाइटदेखि नियमित बन्द प्रशिक्षण सञ्चालनमा सहयोग पुगेको छ’, प्रशिक्षक भट्टले भने, ‘राखेपबाट यस्तै सहयोग प्राप्त हुने हो भने भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्नेछ।’

यसपटक प्रतियोगितामा आयोजक बंगलादेश र नेपालसहित माल्दिभ्स, ताजकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछ। यी टोलीमध्ये नेपालले माल्दिभ्स, अफगानिस्तान र बंगलादेशलाई यस अघिका भेटमा पराजित गरिसकेको छ। नेपालका लागि तुर्कमेनिस्तान, उज्बेकिस्तान र ताजकिस्तान बलियो प्रतिद्वन्द्वी हुनेछन्।

बलियो पक्ष

प्रतियोगिताअघि नेपाली टोली उच्च मनोबलमा रहेको छ। नेपाली टोलीका कप्तान इम रानामगरको भनाइलाई विश्वास गर्ने हो भने राष्ट्रिय खेल घोषणा भएपछि र गत वर्षको कांस्य पदकको सफलताले मरिसकेको नेपाली भलिबलमा फेरि प्राण भर्ने काम गरेको छ र त्यसपछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि खेलाडीको मनोबल पनि उच्च बनाएको छ। त्यसबाहेक प्रतियोगितामा नेपाली टोलीको बलियो पक्ष भनेको ओपन स्पाइक हो। प्रशिक्षक भट्टका अनुसार सर्भिस र रिसिभ पनि बलियो पक्ष हुन्।

कमजोर पक्ष

यसपटक नेपाली टोलीमा केही परिवर्तन भएका छन्। पाँच नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। पाँच नयाँ खेलाडीको आगमनले प्लेइङ सेटमा पनि परिवर्तनको सम्भावना छ। विशेष गरी क्विक स्पाइकरद्वय भैरब बम र महेन्द्र        श्रेष्ठ दुवै चोटग्रस्त बन्दा नयाँ खेलाडीलाई अवसर दिनुपर्ने बाध्यता छ। नयाँ खेलाडी प्लेइङ सेटमा फिट भइनसकेकाले नेपालको ब्लक र रिसिभ केही कमजोर हुनसक्छ। प्रशिक्षक भट्ट बाँकी रहेको केही दिनमा टोलीमा देखिएको कमीकमजोरीलाई सुधार ल्याउन पहल गर्ने बताउँछन्।

के हो सेन्ट्रल जोन भलिबल ?       

अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) र एभीसीले एसियाली भलिबललाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रमा बाँडेको छ। नेपाललगायत मध्य एसियाका दोस्रो स्तरका टोलीहरूलाई सेन्ट्रल जोन बी क्याटेगोरीमा राखेको छ। ए क्याटेगोरीमा भारत, श्रीलंकालगायत पहिलो स्तरका टोलीहरू छन्। प्रत्येक वर्ष आयोजना हुने सेन्ट्रल जोन बीको प्रतियोगिता जितेपछि एमा बढुवा हुनेछ। यसपटक चौथो संस्करण आयोजना हुन लागेको सेन्ट्रल जोन बीको प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिताको तयारी गरिरहेको हो। सेन्ट्रल जोन भलिबल प्रतियोगिता नेपाली पुरुष भलिबल टोलीले प्रतिस्पर्धा गर्ने अहिलेसम्मकै ठूलो प्रतियोगितामध्ये एक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.