दलितबस्ती छुइमुक्त

दलितबस्ती छुइमुक्त

जुम्ला : तातोपानी गाउँपालिका–४ मा अवस्थित जैतपुर गाउँ जिल्लाकै पहिलो दलित बस्तीका रूपमा छुइगोठमुक्त भएको छ । छुइगोठमा बस्दै आएका जैतपुरका ४० घरधुरीका ७० भन्दा बढी छुई (महिनावारी) हुने महिला तथा किशोरी घरमा बस्न थालेपछि दलितबस्ती छुइगोठमुक्त घोषणा भएको हो । प्रत्येक घरमा बनाइएका छुइगोठ महिलाले आफैं हटाएका छन् ।

महिनावारी हुँदा अब गोठमा नभई सरसफाइ गरी घरमै बस्ने महिलाले प्रतिबद्धता व्यक्त गरेका छन् । लामो प्रयासपछि गाउँलाई छुइगोठमुक्त घोषणा गरिएपछि आफूहरू ठूलो संकटबाट मुक्त भएको पीडित महिलाको भनाइ छ । तातोपानी गाउँपालिका र विभिन्न संघसंस्थाको पहलमा जिल्लाको पहिलो दलित बस्तीका रूपमा जैतपुर गाउँ छुइमुक्त भएको छ ।

‘हामी छुइगोठको पिँजडाबाट बाहिरियौँ, छुइगोठमा बस्दा कीराफट्यांग्राले टोक्ने, बलात्कृत हुनेलगायतका डर छैन’, स्थानीय सम्झना कामीले भनिन्, ‘छुइ हुँदा घरमै स्वतन्त्र किसिमले बस्छौँ ।’ छुइगोठमुक्त दलित बस्तीका सबै घरधुरीका महिलालाई अभियानकर्ता संस्था आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल र सर्वोदय विकासका लागि नेपालले एक÷एक टाबेल, साबनलगायत सामग्री वितरण गरेका छन् ।

यसअघि छुइगोठमुक्त अभियानका बाधक मानिएका धामीझाँक्रीले पनि साथ दिन थालेका छन् । छुइ हुँदा घरमा बस्दा देवता रिसाउने, पाप लाग्ने, मान्छे मर्ने, खाना बनाउन नहुनेलगायत सोच गलत रहेको धामी मुनबहादुर कामीले बताए । आगामी दिनमा छोरीबुहारी छुइ हुँदा घरमै बसाल्ने आफूहरूको प्रतिबद्धता रहेको उनको भनाइ छ ।

गाउँलाई छुइगोठमुक्त घोषणा गरिएपछि आफूहरू ठूलो संकटबाट मुक्त भएको पीडित महिलाको भनाइ छ ।

नमुना गाउँपालिका बनाउन कुसंस्कारका रूपमा रहेको छुइप्रथा अन्त्य गरिने तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले बताए । ‘समृद्धिको सुरुवात हरेक वडाबाटै हुनुपर्छ । अब सबै वडाबाट नमुना कामको थालनी गर्नेछौँ’, उनले भने ।

वडा नं ४ का अध्यक्ष धीरज जैसीले पनि आफ्नो कार्यकालभित्र वडाका सबै बस्ती छुइगोठमुक्त बनाउने दाबी गरेका छन् । समाजको विकासका लागि विद्यमान कुप्रथा अन्त्य गर्न स्थानीय सरकार आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । पछिल्लो समयमा जुम्लाका ग्रामीण बस्तीमा धमाधम छाउगोठमुक्त घोषणा अभियान सञ्चालन भइरहेका छन् । जैतपुर गाउँसँगै जुम्लाका पाँच बस्ती छुइमुक्त भइसकेका छन् ।

स्थानीय तहले पनि छुइप्रथाविरुद्ध समुदायमा चेतना अभिवृद्धि गरिरहेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । गाउँमा रहेका विभिन्न समूह, सहकारीको मासिक बैठक होस् या मेलापात जाँदा गाउँबस्तीमा छुइविरुद्धका छलफल चलाइएको उनको भनाइ छ ।

०००

छुइगोठमुक्त कार्यक्रममा सहभागी दलित बस्ती जैतपुर गाउँका बासिन्दा । नन्दराम जैसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.