चिनियाँ राजदूतले उपहार गैंडाको अवस्था बुझिन्
![चिनियाँ राजदूतले उपहार गैंडाको अवस्था बुझिन्](https://annapurnapost.prixacdn.net/media/albums/20180427010135_Rhino-chitawan_dUcdiogXRT.jpg)
काठमाडौं : नेपालले चीनलाई उपहारस्वरूप दिने एकसिंङे एक जोडी गैंडाको अवस्थाबारे चिनियाँ राजदूत यू होङले चासो देखाएकी छन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबारको भेटघाटमा होङले गैंडा चीन लैजान जानकारी लिँदै चासो राखेकी हुन् ।
सरकारले चीनलाई उपहारस्वरूप दुई जोडी एकसिङे गैंडा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । भौगोलिक अवस्थाबारे चासो राख्दै राजदूत होङले काठमाडौं ल्याउने तयारी भइरहेको गैंडालाई सकुशल चीन पुर्याउने बताइन् । मन्त्री बस्नेतले दुई चिनियाँ विशेषज्ञ समेतको सहयोगमा चीन लैजान तयार पारिएका गैंडा संरक्षणको काम भइरहेको बताए ।
मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमा रहेका ती गैंडा राजधानी ल्याएर राख्न वासस्थानको निर्माण भइसकेकाले असारमा एक जोडी गैंडा चीन पठाउने तयारी गरेको छ । राजदूत होङले चीनको राष्ट्रिय चिडियाखानामा लगेर राखिने ती गैंडाले चिनियाँमाझ नेपाल चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री बस्नेतले चीनको उच्च प्राथमिकतामा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘बीआरआई चीनको गौरवपूर्ण आयोजना हो’, उनले भने, ‘नेपाल बीआरआई सफल पार्न सदैव चीनको साथ रहनेछ ।’ नेपाल चीनसँग ऊर्जा, जडिबुटी, वन, वातावरणलगायत क्षेत्रमा थप सहकार्य गर्न तयार रहेकोसमेत उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)