बाँदर समात्न जंगलमा जनप्रतिनिधि
धनकुटा : धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन् । बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको थियो । चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरणको अभियान सुरु गरिएको छ।
बाँदर समात्न भारतबाट आएका तालिमप्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् । वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीयको टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ क्षेत्रका जंगलमा बाँदर खोज्दै डुल्दै छ । यी क्षेत्रबाट ४ सयभन्दा बढी बाँदर नियन्त्रण गरी स्थानान्तरण गरिसकिएको जानकारी वडाध्यक्ष श्रेष्ठले दिए । बाँदर सुरक्षितसाथ घना जंगलमा छाड्ने गरिएको छ तर स्थान भने खुलाइएको छैन ।
बाँदर समात्न भारतबाट ८ भन्दा बढी तालिमप्राप्त व्यक्ति ल्याइएको छ । उनीहरू बाँदर समात्ने, बोरामा राख्ने र अन्यत्र सार्ने काममा खटिएका छन् । यो कामबापत प्रतिबाँदर २ हजार रुपैयाँसम्म ज्याला दिइएको वडाध्यक्ष श्रेष्ठले खुलाए ।
चुनावका बेला भोट माग्दै खाल्डे, पाङसिङ पुग्दा जनताले विकासको योजनाभन्दा पनि बाँदर नियन्त्रणको माग गरेका कारण आफूले वडाको पहिलो बजेट विनियोजनमै बाँदर स्थानान्तरणको कार्यक्रम राखेको उनले बताए ।
‘बाँदर आतंकले बाली नष्ट भएर खेतबारी बाँझो र बसाइसराइ गर्नुपर्ने अवस्था आएकाले जसले हाम्रो समस्या समाधान गर्छ उसलाई भोट दिने कुरा स्थानीयले कुरा गरे’, उनले भने, ‘जब हामी चुनाव जितेर आयौं, तब बजेटमै पहिलो कार्यक्रम भनेर बाँदर स्थानान्तरणलाई ५ लाख रुपैयाँ राख्यौं ।’ बाँदर स्थानान्तरण गर्न वडा कार्यालयको बजेट अपुग देखिएपछि धनकुटा नगरपालिकाले ५ लाख विनियोजन गरिदिएको छ ।
कार्यपालिकाबाट अनुमोदन गर्ने बेला आफ्नो कुरा सुनेर सबै सदस्य गलल्ल हाँसेको उनले सुनाए । ‘सदस्य साथीहरूले मेरो प्रस्तावलाई हुनै नसक्ने कुरासम्म भने । बजेट विनियोजन गरिए पनि कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल भयो’, उनले भने, ‘तर, भर्खरै सरुवा आएका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईको सहयोगमा बाँदर सार्ने काम सफल भयो ।’
७ सय बाँदर समातेर स्थानान्तरण गर्ने वडा कार्यालयको योजना छ । बाँदर समूहगत रूपमा एक हुल भएर बस्ने भएकाले समात्न कठिन भएको वडा सदस्य खड्गीले सुनाए । ‘बाँदर समात्ने काम कठिन रहेछ, एक हुल भएर आउँछन्, पासोमा रहेको दाना खाइदिएर भाग्छन्’, उनले भने, ‘तर, तालिमप्राप्त व्यक्ति र स्थानीयको सहयोगमा समातिरहेका छौं ।’
बाँदर समातेर स्थानान्तरण गर्न थालिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पाङसिङका पुरुषोत्तम अर्यालले बाँदर नियन्त्रण हुने रहेछन् भन्ने आशा पलाएको बताए । ‘हामीले मकै, कोदो, गहुँ र नगदे बाली केही खान पाएका थिएनौं, बाँदरले नै सक्थे’, उनले भने, ‘अब भने हामीलाई राहत हुने भयो । बाली लगाएर खान पाइने भयो ।’
यसरी फस्छन् बाँदर
भारतको उत्तरप्रदेश गोरखपुरबाट बाँदर समात्न आएकाहरूका इन्चार्ज मुक्तार खानले एकपटकमा सयदेखि डेढ सयसम्म बाँदर पासोभित्र पर्ने सुनाए । ‘सुरुमा बाँदरले नदेख्ने गरी माटोभित्र जाल बिछ्याइन्छ । जमिनमा मकै, गहुँ छरेर राखिन्छ’, उनले भने, ‘लामो तार एकातिर बिछ्याएर राखिन्छ । बाँदर अन्न खान आउँदा तार तान्नेबित्तिकै माटोमुनि राखिएको जालोमा फस्छन् ।’
०००
धनकुटा–६ पाङसिङ क्षेत्रको जंगलबाट नियन्त्रण लिइएको बाँदर । हरिबहादुर लम्जेल