सुन तस्करीको अनसुन्धान सकियो  : समातिए अर्का डीएसपी

सुन तस्करीको अनसुन्धान सकियो  : समातिए अर्का डीएसपी

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अनुसन्धानको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। घटनाको अनुसन्धान सकिएको जानकारीसहितको मिसिल मोरङ जिल्ला प्रहरीले आइतबार बुझाएको जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले जानकारी दिए।

सुन तस्करी र शाक्य हत्याको अनुसन्धान गरिरहेको मोरङ प्रहरीले घटनामा संलग्न भनिएकाहरूविरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले प्रहरीका तर्फबाट अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयको जिम्मा लगाइएको पुष्टि गरे। ‘घटनालाई लिएर प्रहरीले गर्नुपर्ने सबै अनुसन्धान सकिएको छ', उनले भने, ‘अब अदालतमा मुद्दा दर्ता हुन्छ।'

प्रहरीले घटनाको अनुसन्धानका लागि पाएको ६० दिनको समयसीमा वैशाख १८ गते मंगलबार सकिँदै छ। सोमबार र मंगलबार दुवै दिन सार्वजनिक बिदा परेका कारण प्रहरीले आइतबार नै अनुसन्धान सकिएको भनेर मिसिल बुझाएको हो। प्रहरीका तर्फबाट अनुसन्धानको काम सकिएका कारण सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर अदालतमा दर्ता गर्ने जानकारी न्यायाधिवक्ता पाठकले दिए। उनका अनुसार वैशाख १९ गते बुधबार अदालतमा अभियोगपत्र दर्ता गरिनेछ। त्यसपछि मुद्दाको बहस सुरु हुन्छ।

यसैबीच सुन तस्करी र शाक्य हत्या घटनामा सुरुदेखि नै विवादमा तानिएका डीएसपी प्रजित केसी पनि विराटनगरबाट पक्राउ परेका छन्। उनी शनिबार मोरङ प्रहरीको सम्पर्कमा आफैं आएका थिए। ‘आफैं प्रहरीको सम्पर्कमा आए पनि बयान चित्तबुझ्दो नदिएपछि आइतबार पक्राउ गरिएको हो', एक प्रहरी अधिकारीले भने, ‘उनीविरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा तीन दिनको म्याद मिलान गरिएको छ।'


० अनुसन्धानको मिसिल प्रहरीले सरकारी वकिललाई बुझायो।

० वैशाख १९ गते बुधबार अदालतमा अभियोगपत्र दर्ता गरिने।

० पक्राउ पर्ने अभियुक्तको संख्या २८ पुग्यो, ६ जना प्रहरी।

० मुख्य अभियुक्त गोरेसहित २१ जनाभन्दा बढी फरार

केसीविरुद्ध पनि अन्य अभियुक्तसँगै बुधबार अभियोगपत्र तयार पारी अदालतमा दर्ता गर्ने तयारी सरकारी वकिल कार्यालयले गरेको छ। घटनाको ५७ दिनपछि पक्राउ परेका उनी अहिले मोरङ जिल्ला प्रहरीको हिरासतमा छन्।

उनीसँगै पक्राउ प्रहरी सेवासँग जोडिएकाको संख्या ६ पुगेको छ। घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग ‘कनेक्सन' देखिएको भन्दै यसअघि पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, सइ बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का पक्राउ परिसकेका छन्। अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनी र पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललाई भने निगरानीमा राखिएको स्रोतले जनाएको छ। यो प्रकरणमा पक्राउ पर्ने अभियुक्तको संख्या २८ पुगेको छ। 

मुख्य अभियुक्त गोरेसहित २१ जनाभन्दा बढी फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई पनि प्रहरीले विपक्षी बनाएको छ। बयानका क्रममा पूर्वडीआईजी निरौलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको स्रोतको भनाइ छ। ‘सुन तस्करीमा गोरेलाई सहयोग गरेको कुरा निरौलाले स्वीकार गरिसकेका छन्', एक अनुसन्धान अधिकृतले भने, ‘तर, शाक्य हत्यामा भने संलग्नता स्वीकार गरेको अवस्था छैन।'

सुन लुकाएको आरोपमा गोरे समूहले करेन्ट लगाएर यातना दिने क्रममा उर्लाबारीका सनम शाक्यको फागुन १८ गते मृत्यु भएको थियो।

यस घटनालाई लिएर शाक्यसहित तीन जनाको रहस्यमय हिसाबबाट मृत्यु भइसकेको छ। तीनै जनाको मृत्युलाई सुन तस्करीसँग जोडेर हेरिएको छ। मुख्य अभियुक्त गोरे भने पक्राउ पर्न सकेका छैनन्। तस्करीको साढे ३३ किलो सुन पनि फेला परेको छैन। गोरे भारततर्फ भागेको दाबी गर्दै प्रहरीले पक्राउका लागि अन्य मुलुकका प्रहरीसँग पनि सहयोग लिन डिफ्युजन नोटिस जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.