आज ओली–दाहाल वार्ता : नमिलेका विषयमा सहमति जुटाउन अन्तिम कसरत

आज ओली–दाहाल वार्ता : नमिलेका विषयमा सहमति जुटाउन अन्तिम कसरत

काठमाडौं : ‘बहुप्रतिक्षित’ एमाले–माओवादी केन्द्र पार्टी एकता निर्णायक चरणमा पुगेको छ। बिहीबार दुवै (एमाले–माओवादी) पार्टी अध्यक्षबीच हुने छलफलमा नमिलेका विषयमा सहमति जुटे कार्ल माक्र्सको जन्मदिनका दिन (वैशाख २२) पारेर एकताको मिति घोषणा गर्ने तयारी भएको छ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक पार्टी कमिटिको बैठकपछि बिहीबार एक्लाएक्लै वार्तामा बस्दैछन्। बुधबार दाहालले पार्टी केन्द्रीय कार्यालयको विस्तारित भेला र ओलीले स्थायी समिति बैठक बोलाएर एकतासम्बन्धी छलफल गरेका थिए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय नेताहरूको अनौपचारिक भेलालाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेकाले आन्तरिक तयारीमा लाग्न नेताहरूलाई निर्देशन नै दिएका थिए।

‘छिट्टै पार्टी एकता हुन्छ, एकता समान रूपमा नै हुन्छ। एकीकृत पार्टीको संख्या टुंगिएको छैन, त्यो पनि टुंगो लगाएर सकभर २२ गते पार्टी एकताको मिति घोषणा हुन सक्ने सम्भावना छ’, दाहालको भनाइ उद्धृत गर्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘एमालेको सोच कस्तो हुन्छ, उहाँहरू तयार हुनुभयो भने अब सबै कुरा टुंगो लाग्छ।’ दाहालले एकता पछिको संगठनात्मक मोडालिटी समानता, सम्मानजनक र न्यायोचित आधारमा हुन लागेकाले संख्यामा झण्डै–झण्डै आधा–आधीकै आधारमा एकता हुने ब्रिफिङ गरेका थिए।

एमाले केन्द्रीय समिति र माओवादी केन्द्रीय सचिवालय समायोजन गरी एकीकृत पार्टीको केन्द्रीय समिति बनाइने दाहालले बताएका थिए। उनले माओवादीको केन्द्रीय सचिवालयमा पार्टी एकताका क्रममा सहभागी भएका र अन्य सहभागी नगराइ नहुने नेताहरूलाई ‘अपग्रेड’ गरेर १ सय ५१ देखि २ सय हाराहारीको बनाइने पनि जानकारी गराए। ‘संख्या टुंगोपछि अहिले रहेको हाम्रो सचिवालयको संख्या विस्तार गर्ने र एमालेका तर्फका केन्द्रीय समिति समेटेर एकीकृत पार्टीको कमिटी बन्छ’, प्रवक्ता पम्फा भुसालले बताइन्।

एमालेको केन्द्रीय समिति २ सय ६ र माओवादीको सचिवालय अहिले ७७ जनाको छ। पार्टी नेता कृष्णबहादुर महरा सभामुख, नेताहरू लोकेन्द्र विष्ट, गोपाल किराँती र विश्वभक्त दुलालले पार्टी छाडेर नयाँ पार्टी घोषणाको तयारीमा लागेपछि माओवादी सचिवालयमा अहिले ७७ जना नेता आधिकारिक रूपमा छन्। यसबीच नयाँ शक्ति छाडेर आएका देवेन्द्र पौडेललगायत नेताहरू, पार्टी एकतामै आएको नेकपा संयुक्तका नेताहरू र केही पार्टीभित्रैबाट अपग्रेड गरेर सचिवालय विस्तार गर्ने तयारी माओवादीको छ।


–ओली–दाहालबीच बिहीबार निर्णायक छलफल, विवादित विषयमा कुरा मिले २२ गते पार्टी एकताको मिति घोषणा गर्ने तयारी।

–एकीकृत पार्टीको केन्द्रीय समिति एमाले केन्द्रीय समिति र माओवादी केन्द्र सचिवालयबीच समायोजन गरेर बनाइने।

–केन्द्रीय समितिको आकार (संख्या) र समितिमा रहने नेताहरूको छनोट दुवै अध्यक्षले संयुक्त रूपमा योग्यता, क्षमता र पार्टीमा पुर्‍याएको योगदानका आधारमा गर्ने।

– नयाँ शक्ति र संघीय फोरमसँग पनि तत्काल कार्यगत एकता गर्दै पार्टी एकताको छलफल चलाउने।

नेताहरुको योग्यता, क्षमता र पार्टीमा गरेको योगदानका आधारमा एकीकृत पार्टीको केन्द्रीय समिति बनाउन एमाले अध्यक्ष ओली तयार भएको दाहालको ब्रिफिङ थियो। केन्द्रीय समितिमा रहने दुवै पार्टीका नेताहरूको क्षमता, योगदान लगायतको मूल्यांकन भने दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने दाहालले जानकारी दिए। ‘संख्याको विषय टुंगेको छैन, टुंगिन्छ, हामी दुई अध्यक्ष बसेर सकभर बिहीबार टुंग्याउँछौं’, उनको भनाइ थियो, ‘एकीकृत पार्टीको केन्द्रीय समितिमा रहने दुवै तर्फका नेताहरूको टाउका–टाउका गन्ने र उनीहरूका योग्यता, क्षमता, योगदान हेरेर छान्ने जिम्मा पनि दुई अध्यक्षले संयुक्त रूपमा नै सँगै बसेर गर्छाैं।’

अन्तरिम विधान बनाउन गठित कार्यदलले सुझाएको संख्याभन्दा ठूलो आकारको केन्द्रीय समिति बन्ने देखिएको छ। दाहालले बैठकमा खुलेरै त्यसबारे नभने पनि पार्टी सचिवालय १ सय ५१ देखि २ सयको हाराहारीमा विस्तार गर्न र झण्डै आधाआधीका आधारमा कमिटीमा समेटिने भनी दिएको धारणाले पुष्टि गर्ने माओवादी नेता बताउँछन्। ‘संख्या बढ्न पनि सक्छ, उहाँहरूको कमिटी कति संख्याको हुन्छ, त्यही सेरोफेरोमा माओवादीको पनि मिलाउनु पर्दा बढ्न सक्छ्, नेता श्रेष्ठले भने।

बाबुराम र उपेन्द्रसँग कार्यगत एकता

एमाले–माओवादीले पार्टी एकताकै क्रममा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई वृहत एकतामा ल्याउने वा कार्यगत एकतामा ल्याउने भन्ने विषयमा पनि छलफल गरेका छन्।

यी दुई पार्टीबीचको गठबन्धन निर्माण र एकताको सैद्धान्तिक सहमति हुँदै गर्दा नै डा.भट्टराईको नयाँ शक्ति पनि सहभागी थियो। बीचमै गठबन्धनबाट अलग्गिए पनि अहिले डा.भट्टराई र उपेन्द्र्र दुवै ओली–दाहालसँग छलफलमा छन्।

‘बाबुरामजी र उपेन्द्रजीसँग पनि छलफल मेरो र ओली दुवैको भएको छ, सकभर उहाँहरूलाई कार्यगत एकतामा ल्याउने कुरा छ’, दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले भनिन्। नेता श्रेष्ठले भने दाहालले उपेन्द्र अझै सरकारमा आउने विश्वासमा रहेको र बाबुराम नआए पनि उनका पार्टीका अन्य नेता आउने पनि ब्रिफिङ गरेको खुलाए। ‘बाबुरामजीका सबै मान्छेहरू आउँछन्, बाबुरामजी अब एक्लै जस्तो हुनुहुन्छ। उहाँहरूका सबै मान्छे आउँछन्। उपेन्द्रजी सरकारमा आउनु हुन्छ जस्तो नै लाग्छ। त्यसपछाडि यो प्रक्रियामा पनि सामेल भए बेस हुन्छ भन्ने लागेको छ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो’, नेता श्रेष्ठले भने। नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठले पनि डा.भट्टराईको ओली र दाहाल दुवैसँग भेटघाट र कुराकानी भइरहेको खुलाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.