काहुँ कुँडहरबाट पोखराको याद

काहुँ कुँडहरबाट पोखराको याद

पोखरा पोखराजस्तो हुनै छाड्यो। मलाई शंका हुन्छ सधैंजसो— म पोखरामै छु या अर्कै सहरमा बसेर पोखरा खोजिरहेको छु ? मेरो परिवार पोखरामा बसोबास गर्न थालेको डेढ सय वर्ष अघिदेखि हो। हजुरबाबाट मैले सुनेअनुसार हामीभन्दा पहिल्यै आएका अरू धेरै परिवार यहाँ थिए। पोखरा उपत्यकामा तिनताका औलो लाग्थ्यो।

चर्को गर्मीले आँखा तिर्तिराउँथ्यो। जमिन पुरै रूखोसुखो थियो। तालतलैयाको नजिकै जोडिएका सिमखेतबाहेक अन्यत्र खेतीपाती हुँदैनथ्यो। दिनभरि बेसीमा काम गर्ने अनि औलोको डरले घाम ओझेल नपर्दै गाउँ उक्लिने चलन थियो। नदीतटीय क्षेत्रमा खयर र बयरको घारी मात्रै थियो। यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, पोखराका प्रारम्भिक बासिन्दाहरू रहरले उपत्यका झरेका थिएनन्। उनीहरू चरम गरिबीले लखेटिएर यहाँ आएका थिए। पोखरा तिनै गरिब किसानहरूले आवाद गरेको क्षेत्र हो।

पुरानो पोखराको जनजीवन र भूगोललाई छोएर लेखिएका किताबहरूको अध्ययनबाट यो कुराको पुष्टि हुन्छ। कश्यप पुराण (कश्यप ऋषिकै नामबाट कास्की नाम रहन गएको भन्नेहरू छन् )मा उल्लिखित वनस्पति, मौसम र भूगोलको वर्णन सम्भवतः पोखराको वैदिककाल देखाउने प्रमाणहरू हुन् (लेखक सौरभको मतअनुसार)। सय वर्ष अघिजसो आएका भिक्षु इकाई कावोगुचीले 'थ्री यियर्स इन तिब्बत'मा पोखरा वर्णन गरेका छन्। उता पिटर मथिसनको आध्यात्मिक नियात्रा पुस्तक 'द स्नो लियोपर्ड'मा मात्रै होइन, कवि तथा नियात्राकार विलफ्रिड नोयरका रचनामा पनि पुरानो पोखराको प्रसंग भेटिन्छ।

जिमी रोवोर्टस, ए.डी. कोक्स, टोनी हेगन, ओलेग पोलुनिन, विल टिलमन आदिका रचनामा पनि पोखरा र सेरोफेरोको पुरानो तस्बिर देखिन्छ। क्रिस बोनिङ्टनको 'अन्नपूर्ण साउथ फेस'मा पनि यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक आयामको झल्को पाइन्छ। अन्नपूर्ण हिमालको पहिलो आरोहण गर्ने मोरिस हर्जोगको साहस–पुस्तक 'द अन्नपूर्ण'मा पनि यहाँको जनजीवनका प्रसंग अटाएका छन्।

उपत्यकाभित्रै भए पनि अलिक सुक्खा र उच्च भूभागमा भएकाले औलोको जोखिम कम भएका हालको बगर, हेमजा, लामाचौर, बाटुलेचौरमा प्रारम्भिक बस्ती बसेको थियो। त्यसबाहेक आधी उपत्यका सुनसान थियो। 'पुरानो बागबजारबाट मझेरीपाटन आउँदासम्म एउटै घर थिएनन्। झाडी मात्रै थियो। त्यसैले तर्साउँछ भनेर हामी भाग्दैभाग्दै आउँथ्यौं, मेरो गाउँका बूढापाकाहरू अझै सम्झना गर्छन्।

तीव्र गतिमा हुर्कंदो सहरले बर्सेनि आफ्नो हुलिया फेरेर हिँडिरहँदा यसको रैथाने बासिन्दा म आफूलाई भने न्युयोर्कको आदिम गल्लीमा भाँतारिएर हिँड्ने एउटा रेड इन्डियनझैं हराइरहेको पाउँछु।

अहिलेको हरियो खर्क अस्पताल तथा वन क्याम्पस रहेको क्षेत्र पनि पूरै झाडीले भरिएको बन्जर जमिन थियो। छोरेपाटन 'छोडेको पाटन' हो। बूढाहरू सम्झन्छन्— अहिलेको गुलजार लेकसाइडमा तिनताका छोरी दिनसमेत गाह्रो मानिन्थ्यो। खेतीपाती कम हुने, घाँसदाउरा र खानेपानीका लागि डुंगा चढेर फेवातालको वारपार गर्नुपर्ने हुनाले बैदामका महिलाको जीवन कष्टकर मात्रै थिएन, असुरक्षित पनि थियो।

त्यसो त म आफैं किशोर छँदासम्म कुँडहर फाँटमा जम्मा चार घर मात्रै थिएँ। न्युरोडको दायाँबायाँ कोदो र मकै फलेको मात्रै देख्थेँ। अहिले दुवै ठाउँ घरैघरले भरिएका छन्। चिप्लेढुंगा माथिको बजार सर्वेश्वर मार्गमा खिर्राका बडाबडा रूखहरू थिए जसको फेदमा गरिएको शौच बगेर कहिलेकाहीँ चिप्लेढुंगासम्मै आउँथ्यो।

तीव्र गतिमा हुर्कंदो सहरले बर्सेनि आफ्नो हुलिया फेरेर हिँडिरहँदा यसको रैथाने बासिन्दा म आफूलाई भने न्युयोर्कको आदिम गल्लीमा भौंतारिएर हिँड्ने एउटा रेड इन्डियन झैं हराइरहेको पाउँछु। आप्रवासीहरूको अचाक्ली भीडमा आफैंलाई आउटसाइडर जस्तो अनुभूत गर्छु। नेपालका महाविद्वान्हरूले यदाकदा भनेको पाउँछु— धरान र बुटवलजस्तै पोखरा उपत्यका लाहुरेहरूले आवाद गरेको सहर हो। तर, यो अहँ कदाचित् सत्य होइन। पोखरामा लाहुरे बसोबास बढेको निकै पछि हो।

उनीहरूले पोखराको आर्थिक गतिविधि मात्रै बढाएका हुन्। यहाँका कठोर बलौटो जमिनमा नंग्रा खियाएर आवाद गर्नेहरू गरिब किसानहरू हुन्। कुनै लाहुरे या व्यापारी होइनन्। दिनभरि बेसीमा काम गरी साँझ गाउँ उक्लिने पोखरा उपत्यकासँग गाँसिएका सराङकोट, कास्कीकोट, अर्मला, काहँुकोट, कन्धनी, अर्चले आदिजस्ता वरपरका डाँडामा बसोबास गरेका समुदाय नै यहाँ सक्कली आदिबासी हुन्। उपत्यका तिनैले आवाद गरेका हुन्।

पोखराभरि डिठ्ठा बा भनेर चिनिने ९६ वर्ष बाँचेर केही वर्षपहिले स्वर्गे भएका लक्ष्मण कार्की भन्थे, 'कल्पना सिनेमा हलका मालिक धीरबहादुर गुरुङको परिवार उपत्यका झर्ने गुरुङ समुदायको पहिलोमध्येको परिवार थियो।' पोखराका गुरुङहरू कास्कीकै विभिन्न पहाडी भूभागसहित स्याङ्जा, पर्वत, बागलुङ, लमलुङ, तनहुँ (तथापि तिनताका जिल्ला विभाजन भएकै थिएन) आदि ठाउँबाट उपत्यकामा स्थानान्तरण हुन थालेको निकै पछि हो।

पोखरालाई धेरैले सांस्कृतिक सम्पदा नभएको आधुनिक सहरको रूपमा मात्रै बुझ्छन्। तर, त्यस्तो हुँदै होइन। पोखरा उपत्यकाले आफ्नै कृषि संस्कृतिको आनन्द उठाउँथ्यो जसको जरो ढुंगेसाँघु थियो भने किलो थियो काहुँडाँडा। राणाकालीन मालअड्डामा तिरो–भिरो–तमसुक गर्दा सेती नदी पूर्वको जमिनलाई 'काहुँ कुँडहर' र पश्चिमको जमिनलाई 'काहुँ पोखरा' भनिन्थ्यो।

यसबाटै कुरा स्पष्ट हुन्छ, काहुँडाँडाको सांस्कृतिक महत्व। उपत्यकाभरिको कृषिकर्म र कृषिसंस्कृतिको माउ थियो काहुँ। उपत्यका वरपरका धेरै कोटमध्येको काहुँकोटमा पूजा नगरी धान रोप्ने वा काट्ने काम नगर्ने चलन थियो। खडेरीका बेलामा काहुँकोटमा पूजा गरे पानी पर्ने जनविश्वास थियो।

माघेसंक्रान्तिको दिन मेला लाग्ने ढुंगेसाँघु तिनताका पोखराको अपायक ठाउँ थियो, अझै छ। यस्तो ठाउँमा पनि विशाल मेला लाग्थ्यो। मेला भर्न पूर्वमा गोरखा र पश्चिममा रिडीसम्मका मानिस आउँथे। ढुंगेसाँघुको मेला नभर्ने कोही हुँदैनथ्यो। काठमान्डु उपत्यकामा इन्द्रजात्राको जत्रो महिमा छ, ढुंगेसाँघुको उत्रै महिमा हुनुपर्ने हो पोखरामा। तर, गण्डक क्षेत्रकै सबैभन्दा ठूलोमध्येको एक मेला भएर पनि आजकाल ढुंगेसाँघुको मेलाले आफ्नो सांस्कृतिक छनक गुमाइसकेको छ। आप्रवासीले स्थानीय समुदायलाई किच्दै गएको हुनाले पोखरा उपत्यकाका सांस्कृतिक पर्व, मेला र सम्पदाहरू समूल नष्ट हुने बाटोमा छन्।

चौताराहरू सांस्कृतिक सम्पदा हुन् र कसैको कीर्ति यसमा जोडिएको हुन्छ भन्ने नबुझ्ने मूर्ख समाजसेवीको वर्चश्व भएको बेलामा चौताराहरू विनाश हुनु कुनै आश्चर्य भएन।

मैले जान्दासम्म पोखराका हरेक पाटनहरूमा सय पचास मिटरको दूरीमा एउटा चौतारो भेटिन्थ्यो। आज पोखरामा एउटै पनि सद्दे चौतारो भेट्न मुस्किल छ। बाटो, विद्युत्को तार वा सामान्य सुरक्षाको बहानामा यहाँका चौताराहरू कति मुर्कट्टा पारिए, कति मुठुर्‍याइए, कति आफ्नो चार किल्लाभित्र पारेर गुप्त्याइए त्यसको लेखाजोखा छैन। कुँडहर फाँटमा खाजा खाँदा थकाइ मार्ने पीपल डाली, अमरसिंह चोक, पृथ्वी चोक, फूलबारी आदि ठाउँका चौताराहरू पूरै नष्ट गरिए।

गौंडाको मुखको कदमको चौतारीका हात छिनालिएका छन्। चौताराहरू सांस्कृतिक सम्पदा हुन् र कसैको कीर्ति यसमा जोडिएको हुन्छ भन्ने नबुझ्ने मूर्ख समाजसेवीको वर्चश्व भएको बेलामा चौताराहरू विनाश हुनु कुनै आश्चर्य भएन। कति दुक्खले पुर्खाले हुर्काएको पोखराको त्यो रहरलाग्दो कृषिसंस्कृति आज भताभुंग छ।

वालन र रोइला उपत्यकाका उम्दा संस्कृति थिए। 'जाउँला ढुंगेसाँघु, खाउँला बदाम किनेर, लाउँला माया चिनेर': यो रोइला हो। भन्नेहरू रोइलालाई गुल्मीको देन भन्छन्। स्याङ्जा नुवाकोटको पेवा ठान्छन्। तर, पोखरामा रोइलाको स्वर सर्वाधिक गुञ्जिन्छ (थ्यो)। छ–सात–सात अक्षरको संरचनामा गाइने रोइलाको साइनो झ्याउरे, चुड्का, चुट्का, ख्यालीसँग गाँसिएको छ। 'खुट्टामा नील परे पर्ला, झ्याउरेमा ननाची छोड्दिनँ' नसुन्ने पोखरेली को नहोला ?

मेरो गाउँमा यति धरै भजनकीर्तन हुन्थ्यो कि एकताका हाम्रो गाउँको चोकलाई 'आराधना चोक' नै भनिन्थ्यो। साँझ तम्तम्याइलो हुँदै जाँदा भजनले भगवान् गुनगानको बाटोलाई बिस्तारै बिर्संदै जान्थ्यो र सुरु हुन्थ्यो रोइलाको रन्कोः 'अल्ली यता सर, उता चिसो भैं भयो, माया लाम् कि झैं भयो।'

पोखराको संस्कृति कृषिसँग जोडिएको छ। अन्नपूर्ण अर्थात् अन्नकी देवीलाई नसम्झी कुनै बाली रोपिँदैनथ्यो, हिमाललाई अर्पण नगरी कुनै पनि बाली भित्र्याइँदैनथ्यो। पोखरा फाँटैफाँटको उपत्यका हो। नेपालभर प्रख्यात यहाँका कुँडहर, बिरुवा, बुढुवा, फेवा, बिरौटा, अर्मला, खराने आदि फाँटमा सयभन्दा बेसी प्रजातिका त धानमात्रै फल्दथे।

पहेलेँ, जेठोबूढोजस्ता रैथाने धानको प्रचलन जोगिएको भए पनि मनसरा, खोलेमार्सी, झिनुवा, वर्मेली, कन्जिराजस्ता अनेकन धान लोप भइसकेका छन्। अझै पनि लट्टे खाने प्रचलन कायमै रहेको हुनाले पुराना किसानले जर्नेली र अनदी धेरथोर लगाएको पाइन्छ। जग्गाको भाउ अचाक्ली बढेको हुनाले पुराना गरिब किसानहरू रातारात धनी भएका छन्। उनीहरूले खेत भाडामा दिन थालेका छन्। जग्गा भाडामा लिएर खेती गर्ने आगन्तुक किसानले फाइदाअनुसारको बाली लगाउने हुनाले यहाँका दर्जनौं रैथाने धानसहित अन्य बालीनाली चल्तीमा छैनन्।

पोखरेली जनजीवनको झल्को दिने अर्को अध्याय थियो, हिटी। काठमान्डु उपत्यकामा खानेपानीका लागि ढुंगेधारा भएझैं पोखरामा हिटीहरू थिए। काठमान्डुका ढुंगेधाराहरू सांस्कृतिक अवयवका रूपमा टोलटोलमा संरक्षित छन् तर मेरो सहरका हिटीहरू भने सबका सब पुरिएर गए। पाइपमा खानेपानी आउन थालेपछि यस्ता हिटीहरू बिस्तारै हट्दै गए।

पोखरा उपत्यकाभरि यस्ता हिटीहरू सयको हाराहारीमा थिए भनेर बूढापाकाहरू सुनाउँछन्। 'पोखरेली हिटी' भनेको ढुंगेधाराजस्तै जमिन खनेर बनाइएको खाल्डो हो जसमा मुहानदेखि खनेर ल्याइएको कुलोबाट (पाइपबाट होइन) पानी जम्मा गरिन्थ्यो। पोखरेली इतिहासको झल्को देखाउन भए पनि केही हिटी उत्खनन् गरेर संरक्षण गरे हुने हो।

पोखरीलाई आफ्नो सामाजिक सम्पत्तिका रूपमा नलिने र यसलाई सांस्कृतिक सम्पदाको रूपमा व्याख्या हुन नसक्दा अहिले उपत्यकामा मुस्किलले पाँचदसवटा मात्रै पोखरीको अस्तित्व छ।

भनिन्छ, पोखराको नामै पोखरीबाट बनेको हो। पोखरीको सीधा सम्बन्ध पशुपालनसँग जोडिएको हुन्थ्यो। (पशु चरनका लागि ठूल्ठूला खर्कहरू थिए। सेती किनारको गौखर्कमा पाँचसात सय गाईभैंसी एकसाथ चरेको दृश्य म आफैंले देखेको हुँ। अचेल त्यहाँ नेपाली सेनाको तालिम चल्छ।)

'दस वर्ष अघिसम्म मात्रै साविकको पोखरा उपमहानगरपालिकाभित्र ३६ वटा पोखरी थिए।' पोखरीको अनुसन्धानमा लागेका दीपक गौतमका अनुसार 'तिनको क्षेत्रफल हाराहारी २० हेक्टर जति थियो।' तर, त्यो बेलामा उपमहानगर रहेको पोखरा बाहेकका साविक लेखनाथ नगरपालिकासहित छिमेकका गाउँहरूमा पोखरीको तादात झन् ज्यादा थियो।

'उपत्यकामा मात्रै ६७ वटा पोखरीको गणना गरेको थिएँ जसको क्षेत्रफल हाराहारी ३५ हेक्टरजति थियो। यो भनेको एउटा राम्रै तालको क्षेत्रफल बराबर हो', गौतम अझै दुःखेसो पोख्छन्। पोखरीलाई आफ्नो सामाजिक सम्पत्तिका रूपमा नलिने र यसलाई सांस्कृतिक सम्पदाको रूपमा व्याख्या हुन नसक्दा अहिले उपत्यकामा मुस्किलले पाँचदसवटा मात्रै पोखरीको अस्तित्व छ।

त्यसो त सांस्कृतिक रूपमा हेर्ने हो भने पोखराको परिचय उपत्यकामा मात्रै सीमित हुँदैन। मादी, मोदी र आँधीखोलाको बीचको सबै भूभाग पोखरा हो। यो भूगोलमा बसेर उस्तै अन्न उमार्ने, उस्तै खाने, उस्तै बोल्ने, उस्तै गाउने, उस्तै नाच्ने, धर्म समुदाय अनुसारका उस्तै चाडबाड उस्तै पाराले मनाउने, उस्तै हाँस्ने उस्तै रुने समूहमा जति मान्छे पर्छन् ती सबै पोखरेली हुन्।

नेपाली साहित्यमा पोखरेली कृषि संस्कृतिको स्वाद ट्वाक्कै चिन्न सकिन्छ। साहित्यमा प्रयुक्त परिवेश, शब्द, प्रस्तुतिको बान्की, लय आदिलाई एकसरो हेर्ने हो भने पोखरेली भन्न सकिने साहित्यकार चिन्न गाह्रो छैन। आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, राष्ट्रकवि माधव घिमिरे, भूपि शेरचन, लोककवि अलिमिया, मुकुन्दशरण उपाध्याय, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, विजय वजिमय, सरुभक्त, तीर्थ श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी, चेतन कार्की, नारायण वाग्ले, नवराज कार्की, उषा शेरचन, प्रकट पगेनी, हरिदेवी कोइराला आदि मेरो पुस्ता अघिका ट्वाक्कै चिनिने पोखरेली सुगन्ध भएका सर्जक हुन्।

त्यसो त महाकविकै 'मुनामदन'को झ्याउरे लय यतैको देन हो। उनका पुर्खा गण्डक क्षेत्रबाटै उता बसाइँ सरेका हुन सक्छन्। नभए महाकविको हृदयमा त्यो तहको मिहिन झ्याउरेप्रेम देखिन सम्भव थिएन। पुरानो पुस्तामा गढेको पोखेरेली कृषि संस्कृतिको आभा यत्रो फराकिलो भए पनि अचेलको पुस्ताको सिर्जनामा भने यसको सांस्कृतिक चेत धेरै कम छ।

प्रिय पाठक, यसैले त मलाई शंका हुन्छ सधैंजसो-म पोखरामै छु या अर्कै सहरमा बसेर पोखरा खोजिरहेको छु ? '
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.