दृश्यमा नदेखिएका दृश्य
साँझपख टोलतिर निस्कन्छु। महँगा–महँगा बाइकको ताँती देखिन्छ, चर्को गीतसंगीत उस्तै छ, टिनएजर्सको भीडभाड देखिन्छ। बाटो काट्न पनि मुस्किल हुन्छ। एक मन सोच्छु, मेरा सहर आधुनिक बन्दै छ। मेरो सहरले नयाँपन सिकेको छ। जीवनशैलीमा परिवर्तन आएको छ। क्याफेमा कफीका अनेक आइटम चाख्दैछ। बार र पबमा कम्मर मर्काउँदै छ।
अनेक ब्रान्डका रक्सीको स्वाद फेरिरहेछ। ढिलोसम्म जाग्छ अनि बिहानको समय मर्निङ वाक गर्नेलाई छोडेर मस्त निदाउँछ। (उसो त आधुनिकीकरण शब्द नै पश्चिमीकरणको पर्यायवाचीजस्तो भइसकेको छ।) मेरो सहर परम्परागत मान्यताका पर्खाललाई भत्काउँदै छ। मान्छेलाई उन्मुक्त संसारतर्फ लैजाँदैछ। एक मन सोच्छु— मेरो सहर साँच्चै फरक हुँदैछ।
तर जब तथ्यांक र शास्त्र पल्टाउन थाल्छु, मेरो मनमा विचारका लहर लहरिन थाल्छन्। मेरो देशको व्यापारघाटाको तथ्यांक झन् भन्दा झन् उकालो लाग्दैछ। मेरो देशको प्रतिव्यक्ति ऋणले प्रतिव्यक्ति आयलाई सधैं गिज्याइरहेछ। यसो तथ्यांक पल्टाउँछु — मेरो देशले सबैभन्दा धेरै पेट्रोल, इलेक्ट्रिकल सामान, पेय पदार्थ, मोटर पार्टस् आयात गर्दो रहेछ। मेरो सहरमा जति धेरै होटल, रेस्टुराँ, बार, पब खुलिरहेछन् त्यति धेरै आयात बढिरहेको छ। पिउने पानीको धनी मेरो देशले पानी पनि आयात गर्दो रहेछ। म सोच्न थाल्छु, के मेरो सहर देशको व्यापारघाटा बढाउने कारक बन्दैछ ?
जब–जब बढ्दा होटल, रेस्टुराँ, बार, पबका लगानीका स्रोत खोज्न थाल्छु, मेरो आशंका सत्यमा फेरिँदै जान्छ। देख्छु, मैले चिनेका उद्योगीहरूले बिस्तारै उद्योगबाट हात झिकेर होटल व्यवसायमा लगानी गरिरहेका छन्। जग्गामा लगानी गर्नेहरूले त्यसको मुनाफा होटल–रेस्टुराँमै लगाएका छन्। गल्लीपिच्छे नै होटल, पब र रेस्टुरेन्ट छन्। युवाहरूले आवश्यकता कम र बढी सोखले महँगा बाइक, ग्याजेटमा खर्च गरिरहेछन्। यसले आयातलाई निकै बढाइरहेको छ। देशको परनिर्भरता गहिरिँदै छ।
जब सहरबारे चिन्तन गर्न थाल्छु— शास्त्रको आवश्यकता पर्छ। अनि पल्टाउन थाल्छु, सहरीकरणसम्बन्धी किताब। भूगोलविद् पीताम्बर शर्माले 'सहरीकरण जीविकाको विविध आयाम'मा नेपालको सहरीकरणको मसिनो चर्चा गरेका छन्। त्यस्तै हरि रोकाले पनि सहरीकरणबारे प्रशस्त लेखेको भेट्छु। हर्क गुरुङका किताबमा पनि ऐतिहासिक विवरण पाइन्छ।
सहरले परनिर्भरताको खेती गरिरहेको छ। नेपाली युवाले रगतपसिना बगाएर रेमिट्यान्स पठाएका छन्।उक्त रेमिट्यान्सको अधिकांश हिस्सा आयातमै खर्च भइरहेको छ।
पुस्तकहरूको सार खिच्न खोज्छु। काठमाडौं उपत्यकाबाहेक नेपालको पछिल्लो सहरीकरणको मुख्य स्रोत यातायात नै रहेछ। अंग्रेजकालीन भारतको समयदेखि नै व्यापारिक जमघट स्थलहरू नै सहर बन्न थालेका रहेछन्। महेन्द्र लोकमार्गको निर्माणसँगै र औलो उन्मूलनपछि तराईमा बसाइँसराइ तीव्र भयो। यसले चोकहरूलाई सहरीकरणतर्फ धकेल्यो। सुरुमा आउनेहरू, केही आर्थिक स्रोत हुनेहरूले चोकमा घरघडेरी बनाउन थाले। पछि आउनेहरू, कम आर्थिक स्रोत भएकाहरूले अलि भित्रतिर घर बनाउन थाले। यसरी बसाइँसराइकै कारण सहरीकरण बढ्न थाल्यो।
पीताम्बर शर्मा लेख्छन्, 'हरेक समाज उत्पादन पद्धतिमा आधारित हुन्छ।' माक्र्सको समाजबनोटको विश्लेषणको आँखाबाट समाजको विश्लेषण गर्ने शर्माको कोसिस देखिन्छ। उनको बहुआयामिक विश्लेषणको माध्यमबाट मेरो सहरको बनोट केलाउने प्रयास गर्छु। एक ठाउँमा शर्माले लेखेका छन्, 'तेस्रो विश्वको सहरीकरणलाई भूमण्डलीय आर्थिक कोर (केन्द्र)को सापेक्षमा आश्रित (डिपेन्डेन्ट) सहरीकरण भनेर पनि चित्रित गरिएको छ। आर्थिक उदारवादको सन्दर्भमा गरिब मुलुकहरूको सहरीकरणमा अन्तर्राष्ट्रिय पुँजीको भूमिका निकै महत्वपूर्ण रहेको छ।' वालरस्टिनको 'वल्र्ड सिस्टम' सिद्धान्तमा आधारित यो व्याख्याले मेरो सहरको रूपरंग झनै खुट्टिन्छ।
अनि मलाई सम्झना आउँछ— फ्रान्कको 'डिपेन्डेसी थ्योरी' (परनिर्भरताको सिद्धान्त)को। हो यहीँनेर आइपुग्छन् चैतन्य मि श्र आफ्नो सन् १९८७ मा प्रकाशित 'डिभलपमेन्ट एन्ड अन्डरडिभलपमेन्ट : अ प्रिलिमिनरी सोसियोलोजिकल प्रस्पेक्टिभ' लिएर। यो लेखमार्फत मि श्रले नेपाली समाजको अल्पविकासको कारण खोज्ने प्रयास गरे। उनको निष्कर्ष थियो— परनिर्भरता नै नेपाली समाजको अल्पविकासको कारण हो। नेपाली समाज पुँजीवादमा प्रवेश गरिसकेको विश्लेषण पनि उनैले गरे।
उक्त लेखमा उनले मसिनो गरी कसरी बेलायती साम्राज्यवादी शक्तिले दलाल शासक वर्गको निर्माण गरे अनि सत्ता र शक्तिका लागि कसरी शासक वर्ग सधैं विदेशी पुँजीको दलाल भइरह्यो भन्ने विश्लेषण गरेका छन्। यद्यपि अहिले मि श्र कसरी सोच्दैछन् म कन्फ्युज्ड छु तर उनको उक्त लेख नेपाली समाजको वास्तविक विश्लेषणको लागि महत्वपूर्ण छ।
यी सबै अध्ययनले मेरो सहरले परनिर्भरताको खेती गरिरहेको देख्छु। नेपाली युवाले रगतपसिना बगाएर रेमिट्यान्स पठाएका छन्। उक्त रेमिट्यान्सको अधिकांश हिस्सा फेरि आयातमै खर्च भइरहेको छ। केवल उपभोगमा खर्च भइरहेको छ। केही पैसा भएको उच्च मध्यमवर्गका लगानीकर्ताले पुँजीको लगानी सेवा क्षेत्रमा मात्र खुम्च्याएको छ।
हो, मेरो सहर झिलिमिली देखिन्छ। मेरो सहर उन्मुक्त र स्वतन्त्र देखिन्छ। तर, जरोमा पुगेर हेर्ने हो भने मेरो सहर परनिर्भरताको चक्र चलाउने साधनजस्तो देखिन्छ। होटल, रेस्टुराँ, पब, बार आदिको लगानीले पुँजीलाई लगानी र पुनर्लगानीको चक्रमा प्रयोग गरेको छैन। यसले केवल कमोडिटीलाई चलायमान मात्र गरेको छ। केहीछिनलाई बजारलाई चलायमान गराएको छ।
म फेरि दोमन हुन्छु। एक मन भन्छ— केटीहरू मोर्डन हुँदैछन्, स्वतन्त्र हुँदैछन्। समाज फेरिँदैछ। हिजो चुलोमा सीमित हुने केटीहरू खुला भएका छन्।
पुँजी एकछिन मेरो सहरको बजारमा नाच्छ, युवाहरूलाई नचाउँछ र दोब्बर, तेब्बर भएर सीमा काट्छ। पुँजीलाई वस्तु उत्पादनमा बढी प्रयोग गरिएको हुन्थ्यो भने लगानी र पुनर्लगानीको चक्र चल्थ्यो जसले राष्ट्रिय पुँजीको निर्माणमा योगदान गथ्र्यो। तर, मेरो सहर परनिर्भरताको चक्र चलाइरहेछ। दलाल अर्थतन्त्रको पुनर्उत्पादन गरिरहेछ।
बजारमा युवती
मेरो गल्लीको उत्तर–दक्षिण जताततै बार छन्। बाटोमा हिँड्दा केही युवती मबाट तर्कीतर्की हिँडेको देखेपछि जिज्ञासु हुन्छु। नियालेर हेर्दा थाहा पाउँछु— ती स्कुल तह पढ्ने मेरै विद्यार्थी हुन्छन्। म फेरि दोमन हुन्छु। एक मन भन्छ— केटीहरू मोर्डन हुँदैछन्, स्वतन्त्र हुँदैछन्। समाज फेरिँदैछ। हिजो चुलोमा सीमित हुने केटीहरू खुला भएका छन्।
स्वतन्त्रताको उपयोग गर्दैछन्। फेरि अर्को मन सोच्छु— के यिनीहरूले स्वतन्त्रताको उपयोग सामाजिक मुद्दाहरूमा खर्च गरे ? के यिनीहरू बढ्दो बलात्कारबारे प्लेकार्ड लिएर सडकमा उत्रे ? जतिजति प्रतिप्रश्न गर्छु, मलाई डर लाग्दै जान्छ। एउटा नमीठो तस्बिर आँखामा छाउँछ। यिनै केटीहरू पब र बारका लागि दिनहुँ आउन थाल्छन्। यिनका बाआमा निम्न मध्यम वर्गका हुन्। पब र बार, त्यहाँ भेटिने साथी, त्यसका लागि लगाउनुपर्ने लुगा, खल्तीमा हुनुपर्ने दाम सबैले यिनलाई कहाँ पुर्याउँछ ? यिनीहरूलाई यो पब संस्कृतिले भन्छ— तिमी बारमा जाँदैनौ भने तिमी कमजोर हौ। तिमी पीडित पात्र हौ। जसरी पनि तिमी पब जानैपर्छ।
यो 'जसरी'भित्र के छ ? यो जसरीभित्र युवतीको बजार छ। ओहो ! हेर्दाहेर्दै मेरो सहर युवतीको विशाल बजार पो बन्दैछ। बजारका लगानीकर्ताहरूले सूचना जारी गरिरहेका छन्। उनीहरू भन्छन्— यौन व्यक्तिको स्वतन्त्रता हो। एकबारको जिन्दगी मोज गरेर बिताउनुपर्छ। तिमी मोज गर। विज्ञानले तिम्रो लागि कन्डम बनाइदिएको छ। विज्ञानले इकोन बनाइदिएको छ। होइन भने मेरी स्टोप जिन्दावाद। उफ्फ् मेरो सहर युवतीको बजार भएको छ। बजारमा युवतीहरू छन्।
कसैले भन्छ— दोष केटीहरूकै हो। तर, सामाजिक विज्ञानको धेरैथोरै अध्ययन गरेको मेरो दिमागले अस्वीकार गर्छ। सामाजिकीकरण प्रक्रियाले नै मान्छेको रुचि, आनीबानी, मनोविज्ञानको निर्माण गर्ने भएकाले जस्तो समाज, मान्छे त्यस्तै हुन्छ। महिलालाई भोग्या सम्झने, कमोडिटी (बिकाउ माल) सम्झने समाजले सानैदेखि केटीहरूलाई 'तिमी बेचिनुपर्छ' भनेर सिकाउँछ भने केटीहरूले आफूलाई बेच्ने नै भए। मेरो सहर युवतीको बजार।
किनारका मान्छेहरू
सहर चुम्बकजस्तो हुन्छ। यसले मान्छेलाई सपना देखाउँछ। त्यही सपनाको लोभमा मान्छेहरू बसाइँ सर्छन्। एक गाँस खाना, एक जोर लुगा र एउटा ओतको लागि आएका मानिसलाई सहरले चिन्दैन। तैपनि तिनले सहरसँग आश गरिराख्छन्। पैतृक सम्पत्ति नभएका, पहुँच नभएका, जातीय श्रेणीमा तल्लो तहमा जाकिएका, सीप सिक्ने अवसरबाट वञ्चित भएका यी मान्छेहरू सहरले हेपेर छोडेको काम गरेर ज्यान पाल्ने मेसो गर्छन्। यिनीहरू खोला किनार, जंगल नजिकै, कसैले नस्याहारेको सार्वजनिक जमिनमा, डम्पिङ साइटमाथि बस्न बाध्य छन्।
जतिजति प्रतिप्रश्न गर्छु, मलाई डर लाग्दै जान्छ। एउटा नमीठो तस्बिर आँखामा छाउँछ। यिनै केटीहरू पब र बारका लागि दिनहुँ आउन थाल्छन्।
यिनीहरूले फालिएका टिन, बोरा, झिँजाझिँजी र पार्टीहरूका कार्यक्रमको फालिएको ब्यानर प्रयोग गरेर आफ्नो गुँड बनाउँछन्। सहरले यिनलाई सुकुमवासी भनेर लखेट्छ। यिनीहरू सके जुध्छन् नसके भाग्छन्। यो क्रम वर्षौंसम्म चलेर बन्जर जमिनलाई बस्नलायक बनाएपछि त्यहाँ लाजकाज पानीको मसिनो धारो पुग्छ, विद्युत्को चुहेको करेन्ट पुग्छ। अब त्यो बस्ती आशलाग्दो हुन्छ।
अब त्यसले लालपुर्जा पाउने सम्भावना हुन्छ। अब त्यो बस्तीमा नयाँ मान्छेहरू आइपुग्छन्। तिनले अनेक जालझेल गरेर, लोभ र डरको खेती गरेर सस्तोमा ती जमिन किन्छन्। अनि ती विचरा मानिसहरू ? ती त अर्को सुकुमवासी बस्तीका लागि अर्को लडाइँ सुरु गर्छन्। मेरो सहरको किनारामा यो दृश्य वर्षौंदेखि दोहोरिइरहन्छ।
मेरो सहरले आफ्नो केन्द्रमा गगनचुम्बी सपिङ सेन्टर बनाउँछ। मेरा सहरका मानिसहरू हतारिँदै त्यहाँ पुग्छन्। अब सहरमा नयाँ चलन सुरु हुन्छ। सपिङ मल नपुग्ने मान्छे त अब निम्छरो देखिन्छ। अब मेरा सहरका मान्छेलाई भोक लाग्छ। तिनलाई सी फुडको भोक लाग्छ, पिज्जा र पेट्रिसको भोक लाग्छ, नयाँ फेसन र डिजाइनको भोक लाग्छ। उता सहरका किनाराका मान्छेलाई यसले कत्ति पनि छुँदैन। एक दिन म ती किनारका मान्छेलाई सोध्न पुग्छु, 'सहरमा एउटा ठूलो पसल खुलेको छ रे, तपाईं हेर्न जानुभो ? ' जवाफ बडो तीतो हुन्छ, 'एक गाँस खान त हम्मेहम्मे छ, के पाइन्छ र त्यहाँ ? '
गणतन्त्र नेपालको संविधानको मौलिक हकमा एउटा व्यवस्था छ— व्यक्तिगत गोपनीयताको हक। सहरको किनारामा जन्मिएका यी सहरी गरिबहरू खोलामा वा सार्वजनिक धारामा नुहाउन बाध्य छन्। एउटै कोठामा तीन पुस्ता कोचिनु पर्दा नवविवाहित जोडीहरू प्राकृतिक सुखबाट वञ्चित छन्। मेरो सहर विचित्रको छ। दिनभरि मकै पोल्दै सहरलाई स्वाद चखाउने मान्छे बेलुका खाली पेटमा लोकल ठर्रा धकेल्छ। मेरो सहर मेसिन हो, जसले सहरी गरिबलाई प्रशस्त जन्माउँछ। यी सस्ता, अनौपचारिक काम गर्ने ज्यामीहरू।
प्रतिक्रिया दिनुहोस !