आँधीखोलाका जलचर सखाप

स्याङ्जा : गल्याङ् नगरपालिकास्थित आँधीखोलाका जलचर सखाप भएका छन् । खोलामा रहेका स—सानादेखि ठूला एवं लोपोन्मुख माछासहित सबै जलचर सखाप भएका हुन् । खोलाका माछा मरेर बग्रेल्ती तैरिन थालेपछि प्रशासनले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा प्रशासनले खिलुङ कालिका एग्रोफार्मलाई आरोप लगाउँदैै फार्मका कार्यकारीसहित ४ जना कर्मचारीमाथि मुद्दा दायर गरेको छ ।
फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकाललगायत डिल्लीराम अर्याल, सन्तोष अर्याल र कृष्ण परियारविरुद्ध जलचर संरक्षण ऐन अनुरुप मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । प्रजिअ निरोैलाका अनुसार ऐनअनुसार नोक्सान बिगो बमोजिम ५ हजारसहित प्रयोग गरिएको सामान जफथ हुने व्यवस्था छ ।
भीरकोट नगरपालिकामा सञ्चालित एग्रोफार्मले गल्याङ नगरपालिका ११ र ७ पेलाकोटको संगमस्थल बरेक भन्ने स्थानमा जग्गा भाडामा लिएर सुली व्यवस्थापन गर्दै आएको थियो । सो स्थल फर्मभन्दा झण्डै ३० किलोमिटर दक्षिणतर्फ छ । फार्ममा कुखुरासहित अण्डा उत्पादन हुन्छ । सोही स्थानतर्फका आँधीखोलाका माछा मरेका हुन् । फर्मले आँधीखोला किनार भन्दा करिब ३५ मिटर वर २ वटा पोखरी खनेर सुली व्यवस्थापन गर्दै आएको थियो । सुलीकै कारण आँधीखोलाका माछा मरेको हुनसक्ने प्रहरीको दाबी छ ।
पानीभित्र रहेका कछुवा, गड्यौलालगायत दुर्लभ जातिका सहर, आर्य, गर्दी जातका माछा पनि सखाप भएका छन् । करिब ३० टन माछा मारेको अनुमान गरिएको छ ।
मरेका माछाका कारण दुर्गन्ध फैलन सक्ने जनाउँदै मिर्मिमा मरेका माछा संकलन गरी खाडलमा पुर्ने काम भइरहेको मत्स्य विकास सहकारी संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिए । अध्यक्ष भुसालले भने, ‘३५ जना कामदारसहित २ वटा स्टिमर प्रयोग गरेर तैरिएका माछा झिक्दै खाडलमा पुरेका छौं ।’ जैविक विविधता जोगाउन र गर्मीसँगै बढ्दो झाडापाखालाबाट बच्न र बचाउन तत्काल मृत माछाको व्यवस्थापन गर्न जरुरी भएको हो ।
आँधीखोला जलविद्युत आयोजनाको ड्याममा मृत माछा संकलन भएको छ । पानीभित्र रहेका कछुवा, गड्यौलालगायत दुर्लभ जातिका सहर, आर्य, गर्दी जातका माछा पनि सखाप भएका छन् । करिब ३० टन माछा मारेको अनुमान गरिएको छ । आयोजनाले वर्षेनी आँधीखोलामा छाड्दै आएको लाखौंका संख्यामा माछाका भुरा पनि नष्ट भएपछि वर्षौंको लागि क्षति पुगेको दाबी भुसालको छ ।
कुखुराको सुली आँधीखोलामा मिसिँदा अक्सिजन कमी भई माछा मरेको जनाउँदै प्रशासनले मरेको माछा नखान स्थानीयलाई आग्रह गरेको छ । आँधीखोलाको पानी जिमुवा हुँदैं कालीगण्डकी ए विद्युत उत्पादन केन्द्रसम्म पुग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
