दुर्गमको पीडाः काल बन्दै भिरको बाटो

दुर्गमको पीडाः काल बन्दै भिरको बाटो

जाजरकोट: घटना १- जिल्लाको नलगाड-५ ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको गत सोमवार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो ।  घर नजिकैको भिरबाट लड्दा करिब तीन सय मिटर तल उनी मृत अवस्थामा फेला परेका थिए ।

घटना २: गत फागुनमा बाटोमा पैदल यात्रा गर्ने क्रममा नलगाड-५ गेरेनी भिरमा माथिबाट आएको ढुङ्गाले लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो । जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घटनास्थलमै उनको ज्यान गयो ।

घटना ३: गत चैत्रमा जङ्गलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुङ्गा लागेर मृत्यु भयो । माथिबाट आएको ढुङ्गा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागी जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो ।

घटना ४: नलसिङ्गाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको गत चैतमा मृत्यु भयो । नलगाड–५ गेरेनीस्थित नलसिङ्गाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो ।  

यी केही प्रतिनिधिमुलक घटना हुन् । जाजरकोटमा हिँड्दा हिँड्दै ज्यान जानेको सङ्ख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दा हिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ । 

जिल्ला प्रहरी कार्यालयसँग पैदल यात्राको क्रममा ज्यान जानेको सङ्ख्या १३ जनाको मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार जाजरकोटमा एक वर्षको अवधिमा हिँड्दा हिँड्दै लडेर ३० जनाको ज्यान गइसकेको छ । 

खबर गर्दा लडेर वा ढुङ्गा लागेर मृत्यु भएकाहरुको पोस्टमार्टम गर्नुपर्ने भएकोले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्याङ्क थोरै देखिएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्याङ्क पोस्टमार्टम गरिएकाको मात्र हो । पोष्र्टमार्टम गर्ने झन्झटले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएको छ । जाजरकोट भौगोलिक रूपमा निकै विकट भएकोले लडेर मर्नेको सङ्ख्या धेरै रहेको बताए ।

‘माथि हेर्दा पुरै पहाड मात्र देखिन्छ तल सुसाउने खोला र नदी । हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङ नै सिरिङ्ग गर्छ’, जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अफ्ठयारो र जोखिमपुर्ण छन् बारेकोट–५ का पृथीबहादुर नेपालीले भने, ‘महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसहरूलाई यो बाटो हिँड्न निकै सकस खेप्नु पर्दछ ।’ 

बारेकोट जानेबाटोमा भिरबाट खसेर तथा ढुङ्गा लागेर ५ जनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकाम बाहेकका गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन । 

गाडी नपुग्दा स्थानीय बासिन्दा पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोरेटो बाटो साँघुरो, जीर्ण र जोखिमपुर्ण हुँदा मानिसहरू मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।

कतिपय ठाउँमा पुल छैनन् फड्केबाट खोला तर्नुपर्छ । कतिपय ठाउँका पुल एकदमै जीर्ण छन् । बाटो मर्मत सुधार हुन सकेको छैन । जसले गर्दा मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन् नलगाड १० का नरबहादुर ध्यारले भने ‘स्थानीय बजारबाट गाउँ जाने बाटाहरू जोखिमपुर्ण छन् । माथिबाट ढुङ्गा खस्ने हो कि तल खुट्टा चिप्लिने हो पत्तै हुँदैन । हिँड्दा पनि निकै सावधानी भएर हिँड्नु पर्छ ।’ 

लडेर घाइते भएकाहरुले पनि तत्काल उपचार नपाउँदा ज्यान जाने गरेको छ । नजिकमा सुविधा सम्पन्न अस्पताल छैनन् । टाढा लिनका लागि यातायातको सुविधा नहुँदा निकै समस्या पर्ने गरेको ध्यारले बताए । उनले भने ‘घरबाट निस्केको मान्छे फर्केर आउँछ कि आउँदैन भनेर चिन्ता गर्नुको विकल्प छैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.