३३ किलो सुन प्रकरण : अडियो रेकर्ड सुनाउँदा आपत्ति

३३ किलो सुन प्रकरण : अडियो रेकर्ड सुनाउँदा आपत्ति

विराटनगर : वरिष्ठ अभिवक्ता सुशील पन्तले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याको थुनछेक बहसमा प्रहरी अधिकारीबीच भएको फोन संवादको अडियो रेकर्ड प्रस्तुत गरेका छन् ।

निलम्बित एसएसपी दिवेश लोहनीका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता पन्तले मंगलबार तत्कालीन एआईजी बमबहादुर भण्डारीसँग भएको फोन संवाद (४८ सेकेन्ड)को रेकर्ड पेस गर्दै लोहनी निर्दोष रहेको बताए । अपराध अनुसन्धान महाशाखामा कार्यरत रहँदा लोहनीले शाक्यको हत्या भएको थाहा पाएपछि भण्डारीलाई जानकारी गराएको र उनकै निर्देशनमा त्यसपछिका कारबाही अघि बढाएको फोन संवादमा रहेको उनले सुनाए ।

 सुरुमा घटनाबारे महाशाखाका सइ बालकृष्ण सञ्जेलले जानकारी पाएका थिए । मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीले फोन गरेर शाक्यको हत्या भएको बारेमा जानकारी दिएपछि सञ्जेलले लोहनीलाई खबर गरेका थिए । लोहनीले भण्डारीसँग अनुमति लिएर शाक्यको शव बरामद गर्न र गोरेलगायत अभियुक्तलाई पक्राउ गर्न डीएसपी प्रजित केसीको नेतृत्वमा महाशाखाको टोलीलाई धरान पठाएको रेकर्डले प्रस्ट पारेको पन्तले बताए ।

‘जिम्मेवारी निर्वाह गर्ने क्रममा गरिएको राम्रो कामलाई पनि उल्टो बनाएर प्रहरी अधिकारीलाई फसाउन मुद्दा लगाइएको छ’, उनले बहसमा भने, ‘फोनमा गरिएको कुराकानीले पनि अपराध महाशाखा घटनाका अभियुक्त पक्राउ गर्न र शाक्यको शव बरामद गर्न केन्द्रित रहेको पुष्टि गर्छ ।’ उनले लोहनीकै सक्रियतामा मुद्दा स्थापित भएको जिकिर गर्दै भने, ‘समाजमा राम्रा काम गर्ने र अपराधमा संलग्नलाई पक्राउ गर्न सक्रिय रहेका लोहनी, केसी र सञ्जेललाई नै अभियुक्त बनाइनुपर्ने कुनै कारण छैन ।’

लोहनी र केसीलाई क्षेत्राधिकार मिची अभियुक्तलाई भाग्ने मौका दिएको अभियोग लागेको छ । पन्तले अभियुक्त भगाउनेभन्दा पनि लोहनीको सक्रियतामा घटनामा संलग्न तीन जनालाई तत्काल पक्राउ गर्न प्रहरी सफल भएको तर्क गरे । लोहनीका तर्फबाट मंगलबार अधिवक्ता रामचन्द्र सुवेदी र मोरङ बारका पूर्वअध्यक्ष देवेन्द्र कोइरालाले पनि बहस गरे ।

वादीका तर्फबाट सरकारी वकिलले शुक्रबार प्रमाणका रूपमा प्रस्तुत गरेको भिडियो रेकर्ड भने प्रतिवादी पक्षका कानुन व्यवसायीले नदेखाउन दबाब दिएपछि रोकिएको थियो । फोन रेकर्ड प्रस्तुत गरिन लाग्दा भने जिल्ला सहन्यायाधिवक्ता पदम वस्तीले पनि वादी पक्षको प्रमाण देखाउन नदिइने अनि प्रतिवादी पक्षका प्रमाणचाहिँ इजलासले सुन्ने भनेर आपत्ति जनाएपछि बहसमा माहोल तात्तिएको थियो । वस्तीले प्रमाण प्रस्तुत गर्ने र नगर्ने विषयमा वादी र प्रतिवादीबीच भेदभाव गरिएको बताए ।

वरिष्ठ अधिवक्ता टंक उप्रेती, अधिवक्ताहरू नारायण वस्ती, राजेन्द्र खनाल र केदार भण्डारीले निलम्बित सइ सञ्जेलको पक्षमा मंगलबार बहस गरे । उनीहरूले सञ्जेललाई अपराधमा संलग्नसँग नजिक रहेर सुराकी दिने भूमिका दिइएको भए पनि फसाइएको जिकिर गरे । घटना छानबिन समितिमा रहेका डीएसपी सुदीप पाठकले फसाएरै छाड्ने धम्की दिएका कारण सञ्जेलको हकमा प्रहरी अधिकारी नै पूर्वाग्राही ढंगबाट प्रस्तुत भएको जिकिर उनीहरूले गरे ।

प्रतिवादीका तर्फबाट मंगलबार नौ कानुन व्यवसायीले बहस गरे । उनीहरूले प्रतिवादीलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरे । अधिवक्ता नारायणप्रसाद दाहालले टेकराज मल्ल ठकुरी र राजन थापा तथा अधिवक्ता जयबहादुर भुजेलले एलबी भनिने लालबहादुर मगरका पक्षमा बहस गरे । अधिवक्ता दाहालले अनुसन्धान गर्ने नाममा छानबिन समितिमा रहेकाहरूले कुटपिट गरेको र यातनासमेत दिएको भनेर बहस गरेपछि इजलासले थापाको घाउजाँच केस फारम गर्न पनि अनुमति दिएको छ । मंगलबारसम्ममा २५ कानुन व्यवसायीले बहस गरिसकेका छन् । प्रतिरक्षामा बहसका लागि ६६ कानुन व्यवसायीले १ सय १३ वटा वकालतनामा दर्ता गराएको अदालतका तहसिलदार अधिकृत केदार गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.