पाँच हजार क्विन्टल चामल माग

पाँच हजार क्विन्टल चामल माग

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा देखिएको चरम खाद्य संकट टार्न सरकारसँग तत्काल पाँच हजार क्विन्टल चामल माग गरिएको छ । बुधबार सदरमुकाम खलंगामा बसेको जिल्ला खाद्य सुरक्षा व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष मनबहादुर रावलको अध्यक्षतामा बसेको समितिको बैठकले बारेकोट गाउँपालिकामा दुई साताअघि परेको असिनापानीले हिउँदेबाली नष्ट गरिदिएपछि त्यहाँ चरम खाद्य संकट देखा पर्न थालेको भन्दै तत्काल कम्तीमा पाँच हजार क्विन्टल चामल निःशुल्क पठाउन माग गरेको हो । समितिको बैठकमा हालै असिना प्रभावित बारेकोट गाउँपालिकाका ९ वटै वडामा स्थलगत अध्ययन गरेर फर्किएका प्रदेशसभा सांसदद्वय गणेशप्रसाद सिंह र कृष्णा शाह, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहका साथै विषयगत कार्यालयका प्रमुखसमेत सहभागी थिए । बैठकले निःशुल्क चामल व्यवस्था गर्नुका साथै बारेकोटको नायकवाडामा रहेको खाद्य डिपोमा नुनको डिपो थप गर्न र बारेकोट–९ सक्लामा खाद्य डिपोको उपशाखा राख्न सरकारसँग माग गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले बताए । बर्सेनि खाद्य संकट झेल्दै आएका बारेकोटवासीलाई यसपालि परेको भीषण असिनापानीले भोकमारीको जोखिममा पु¥याएकाले तत्काल खाद्य आपूर्ति गर्न सरकारसँग माग गरिएको उनले बताए ।

१७ वैशाखमा परेको असिनापानीले पाक्ने अवस्थाको ९ सय ८० हेक्टर जग्गामा लगाएको गहुँ÷जौ बाली, तरकारी खेती र फलफूल खेतीका साथै ६० भन्दा बढी पशुचौपायको मृत्यु हुँदा चार करोड ५२ लाख रुपैयाँ क्षति भएको थियो । बर्सेनि खाद्य संकट झेल्दै आएका बारेकोटवासी यसपालि परेको असिनापानीले थप समस्यामा छन् ।

कर्णालीका जुम्ला र डोल्पासँग सिमाना जोडिएको विकट बारेकोट गाउँपालिकामा यातायात सुविधा नहुँदा किनेर खाने अन्नसमेत पाइँदैन । भौगोलिक विकटताका कारण निजी क्षेत्रका व्यापारीले बिक्रीका लागि खाद्यान्न नलिने र खाद्य संस्थानको नायकवाडास्थित खाद्य डिपोमा समेत चामल नभएपछि बारेकोटवासी चरम खाद्य संकटको चपेटामा परेका हुन् । स्थानीयले जनप्रतिनिधिमार्फत बारेकोटको खाद्यान्न समस्या समाधान गरिदिन माग गरेका छन् । गरिबीको चपेटमा परेका त्यहाँका नागरिकलाई असिनाले थप मर्माहत पारेको स्थानीय पृथ्वीबहादुर नेपालीले बताए । ‘गहुँ बालीले साउन–भदौसम्म जेनतेन धान्थ्यो तर असिनाले सबै सखाप पारिदिएपछि जेठमै के खाने भन्ने समस्याले सताउन थाल्यो । आम्दानीको अन्य विकल्प छैन । कसरी जहान–केटाकेटी पाल्ने हो’, उनले गुनासो सुनाए ।

तीन÷चार महिनासम्म खान पुग्ने अन्न सबै असिनाले माटोमा मिलाइदिएपछि गाउँले भोकमरीको चपेटामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । उनले भने, ‘गाउँपालिकामा खाद्य संकट देखिएकाले बारेकोटवासीको जीवनरक्षाका लागि तत्काल संघीय सरकारसँग खाद्यान्न व्यवस्था गर्न गुहार मागेका हौं ।’

असिनापानीले गहँुबाली नष्ट गर्दा बारेकोटमा खाद्य संकट भएको प्रदेशसभा सांसद कृष्णा शाहले बताइन् । उनले भनिन्, ‘स्थानीय बासिन्दा चरम खाद्य संकटको चपेटामा छन् । अधिकांशको घरमा खाने अन्न छैन । उनीहरूको चुलो बाल्न सरकारले अग्रसरता लिनुपर्छ ।’

००००

 

००००

क्याप्सन ः असिनापानीले गरेको क्षतिको विवरण सुनाउन उपस्थित बारेकोटवासी तस्बिर ः राजेन्द्र कार्की


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.