पोखराबाट एक ठेकेदार पक्राउ, अरुको सूची बन्दै

पोखराबाट एक ठेकेदार पक्राउ, अरुको सूची बन्दै

‘ठेकेदार आफूलाई सरकारभन्दा माथि ठान्छन्’

पोखरा : पृथ्वीराजमार्गको पोखरा-३२ गगनगौंडा खण्डको पिच गर्नुपर्ने काममा ढिलासुस्ती गरेका सिरुवा कन्ट्रक्सनका व्यवसायी सुरेन्द्र बस्नेतलाई कास्की प्रहरीले पक्राउ गरी ससर्त छाडेको छ। 

राजमार्गमा गिटी छरेर पिच गर्न बाँकी राख्दा धुलोको प्रदूषण र दुर्घटना बढाएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। कास्की सीडीओ तारानाथ अधिकारीले सडक अलपत्र छाड्दा कयौं यात्रुको आवातजावत अप्ठेरो पारेको, निद्रा बिथोलेको र दैनिक कार्यमा बाधा उत्पन्न गरी शान्ति व्यवस्थामा खलल पु¥याएको हुँदा ठेकेदारलाई पक्राउ गरेको जानकारी दिए। ‘समयमा काम नसक्नेलाई सम्बन्धित कार्यालयले नै सार्वजनिक खरिद ऐन अन्तर्गत कारबाही गर्नुपर्छ’, उनले भने, ‘अमनचयनमै असर गरेको हुँदा गृह प्रशासन सक्रिय हुनु परेको हो। बिहीबार पक्राउ परेका उनलाई समयमै काम सक्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गराएर शुक्रबार छाडिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। 

सिरूवा कन्ट्रक्सनले पृथ्वी राजमार्गअन्तर्गत कास्कीको गगनगौंडादेखि लेखनाथ नगरपालिकासम्मको १ हजार  ४ सय ७४ मिटर सडकखण्ड डेढ वर्षमा बनाइसक्ने गरी ठेक्का लिएको थियो। तर, निर्धारित समय गुज्रेको लामो समयसम्म पनि बस्नेतले काम नगरी सडक अलपत्र छाडेका थिए। एसपी रानाले  भने, ‘ठेकेदारसँग बिटुमिन छर्कने मिसिनै रहेनछ।’ 

सीडीओ अधिकारीले उपकरण नभएकालाई पनि ठेक्का दिन मिल्ने कानुनी कमजोरीको फाइदा उठाउँदै काम लिएर बेलामा नसक्ने प्रवृत्ति देखिएको बताए। गत वर्ष असारभित्रै सक्ने गरी सम्झौता भएको उक्त ठेक्का उनले अहिलेसम्म पूरा गरेका छैनन्। पोहोर नसकेको कामका लागि गएको चैतसम्मको समय थप भएको थियो। उक्त सडक पिच गर्न गिटीमात्रै छरेर अलपत्र छाडेको भन्दै स्थानीयले पटकपटक विरोध जनाएका थिए। 

उक्त सडक पिच गर्न सडक डिभिजन कार्यालय पोखराले २ करोड रुपैयाँमा ठेक्का दिएको थियो। बस्नेत स्वामित्वको सरुवा कन्ट्रक्सनले कछुवा गतिमा काम गर्दा दुर्घटना र प्रदूषण बढेको सिकायत स्थानीयले गर्दै आएका थिए। 

गृह मन्त्रालयले तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनीको सूची संकलन गरेर सातामै पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर निर्देशन दिएको थियो। कास्कीबाहेक जिल्लामा भने अरु ठेकेदार पक्राउ परेको समाचार आएको छैन। कास्कीमा ठेकेदारले काममा अल्छी गरेको गगनगौंडा सडक खण्डमात्रै होइन। त्यस्ताको सूची विकासे अड्डासँग मागिएको सीडीओ अधिकारीले जानकारी दिए। 

रुपा गाउँपालिकाका स्थानीयले पनि आफ्नो गाउँ हुँदै लमजुङ जाने सडक खण्डमा भएको लापरबाहीबारे बेलाबेला आवाज उठाउँदै आएका छन्। रुपाताल नजिकैबाट लमजुङको सीमा गाउँ थुम्कीसम्म जोड्ने १३ किलोमिटर सडक कालोपत्रे गर्ने काम आउँदो असारसम्म सक्ने गरी ठेक्का लागेको हो। तर जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इन्जिनियर नारायण बरालका अनुसार ठेकेदारले अहिलेसम्म ४० प्रतिशतमात्रै काम सकेको छ। 

उक्त सडकमा ठेकेदारले गिटी बिच्छ्याएर लोडर लगाउँदा पानी नहालेको र ३१ ठाउँमा ह्युम पाइप राख्नुपर्नेमा १७ ठाउँमा मात्रै राखेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनाए। ‘दसौंपटकसम्म लापरबाही भेटेर काम रोकेका छौं’, उनले भने, ‘तर पनि टेरपुच्छर लगाउँदैनन्, ठेकेदारले आफूलाई सरकारभन्दा माथि ठान्छन्।’ स्थानीय युवा अशोक ओझाले पनि ठेकेदारको चरम लापरबाहीले दुख पाउनुपरेको सुनाए। उक्त सडक जिल्ला प्राविधिक कार्यालयले ११ करोड ९२ लाख रुपैयाँमा लोहनी एन्ड ब्रदर्स ठेकेदार कम्पनीलाई ठेक्का दिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.