सुन तस्करी र सनम हत्याकाण्ड: दुई दिनमा पनि सकिएन 'गोरे'को बयान
१६ पेज लामो बयान
विराटनगरः साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान लिने काम दुई दिनमा पनि सकिएन ।
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका गोरेलाई दोस्रो दिन बिहीबार विहान १० बजे बयानका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बुधबारबाट उनीसँग बयान लिन सुरु गरिएको थियो ।
बयान नसकिएपछि उनलाई पूर्ववत् फेरि उपस्थित गराइने गरी हिरासतमा राख्न पठाइएको छ । बुधबार र बिहीबार गोरेसँग १६ पृष्ठको बयान लिइएको छ । उनले दिएको बयानबारे अदालतले केही खुलाएको छैन ।
अदालतका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बयान लम्बिएको बताउँदै यसलाई शुक्रबार पनि निरन्तरता दिइने बताए । उनले बयान सकिने मितिबारे एकिन नभएको बताए ।
बयान लिएर बादी र प्रतिवादी वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले गोरेलाई थुनामा पठाउने, तारेख वा धरौटीमा छाडेर मुद्दाको सुनुवाई गर्ने भन्ने आदेश गर्ने गौतमको भनाइ छ ।
मंगलबार पक्राउ परेका गोरेलाई काठमाडौँबाट त्यही दिन विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले आफू असुरक्षित रहेको बताएका थिए । उनले आफूलाई विभिन्न व्यक्तिबाट धम्की आइरहेको बताउँदै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनुपर्ने आवाज उठाएका थिए ।
न्यायाधीश शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा आदेश जारी गरेको थियो ।
जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार नै आदेश दिइसकेको छ ।
प्रतिवादीमध्ये एकजना धरौटी र एकजना साधारण तारेखमा रिहा भएका छन् । ६३ प्रतिवादीमध्ये मुख्य अभियुक्त गोरेसहित पक्राउ परेकाको संख्या ३१ पुगेको छ । एसएसपी श्यामबहादुर खत्रीसहित ३२ अभियुक्त अझै फरार छन् ।