गोरेका बाबु भन्छन्ः छोरो त भरिया मात्रै रहेछ, मालिकको खोजी गरियोस
बिराटनगरः साढे ३३ किलो सुन तस्करी र सन शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेका बुवा नेत्रप्रसादले छोरामाथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला अदालत मोरङमा छोरालाई भेट्न पुगेका नेत्रप्रसादले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै छोरालाई सुरक्षित साथ राखिदिन आग्रह पनि गरेका छन् ।
‘मेरो छोराले फट्याई गरेको कुरामा दुईमत रहेन,’ उनले भने, ‘फट्याई अनुसार उसलाई कानुनी कारवाही हुनुपर्छ ।’ उनले कानुन अनुसार कारवाही गर्न सक्ने अवस्था हुँदाहुँदै छोरामाथि विभिन्न धम्की आउनु र ऊ असुरक्षित हुँदै जानुले चिन्ता बढाएको बताए ।
‘मेरो छोरो गलत धन्दामा लागेको रहेछ । यो कुरा हामीलाई पछि मात्रै थाहा भयो,’ नेत्रप्रसादले भने, ‘पछि कुरा बुझ्दा ऊ सुन बोक्ने भरिया भएको पत्तो पाइयो । सुन तस्करी गर्ने धेरै ठूलो गिरोहबारे सरकारले खोजी गर्नुपर्छ ।’
नेपाल प्रहरीमा १८ वर्ष तीन महिना जागिर खाएर अवकाश पाएका पूर्व प्रहरी सहायक निरीक्षक (असई) नेत्रप्रसादले गोरे घर नै नआउने गरेको बताए । भने, ‘माघमा एक पटक उ घर आएको थियो । त्यतिबेला गाली गरेपछि हिँडेको छोरो एकैचोटी अहिले भेट्टाउँदै छु ।’
गलत धन्दामा लागेको थाहा पाएर सम्झाई बुझाई गर्दा नमानेपछि गाली गरिएको उनको भनाइ छ । ‘नराम्रो काम गर्न हुँदैन भनेर अर्तसहितको गाली गरियो,’ उनले भने, ‘त्यसपछि ऊ (गोरे) मदेखि तर्किएर हिंड्न थाल्यो ।’
प्रहरी नियन्त्रणमा रहेको छोरालाई सुरक्षाबारे चिन्ता गर्नुपर्ने अवस्था आएको भन्दै उनले सुरक्षाको पर्याप्त बन्दोबस्त गरिदिनि आग्रह गरेका छन् ।