कांग्रेसका शीर्ष नेताबीच घोचपेच
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र चुलिएको गुटगत असन्तुष्टिमाथि दलका शीर्ष नेताहरूबाटै व्यंग्यात्मक घोचपेचका रूपमा अभिव्यक्त भएको छ । पार्टीलाई गतिशील बनाउन नसकेको भन्दै आलोचना झेलिरहेका सभापति शेरबहादुर देउवाले कसैले आफूलाई गेटआउट भन्दैमा पार्टी सभापति नछाड्ने बताएका छन् भने उनी इतर गुटका वरिष्ठ नेता रामचन्द्र पौडेलले मौजुदा अवस्थामा पार्टी नेतृत्वले गल्ति गरेर पार्टी एक हुन नसकेको भनाइ राखेका छन् ।
कांग्रेसनिकट नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेताहरूको नाम नलिई कसैले नेतृत्व छाड्न दबाब दिँदैमा पद नछाड्ने दृढता व्यक्त गरेका हुन् । कार्यक्रममा महामन्त्री डा.शशांक कोइरालाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एक हुन आग्रह गरेपछि उनले त्यस्तो दृढता व्यक्त गरेका हुन् ।
महामन्त्री कोइरालाले सभापति देउवा र वरिष्ठ नेता पौडेलले पार्टीभित्र किन गुटबन्दी गरेको प्रश्न गरेका थिए । उनले भने, ‘के कालागि तपाईंहरूबीच मतभेद आएको हो ? सत्ताका लागि कि आपसी भेदभावले ? ’ उनले आफू पार्टीका गुट उपगुट अन्त्य गर्दै कांग्रेस एक ढिक्का पार्ने मिसनमा सक्रिय रहेको दाबीसमेत गरे ।
महामन्त्री कोइरालापछि मन्तव्य दिएका सभापति देउवाले पार्टी सभापतिका रूपमा आफ्नो चाहना पनि पार्टी एक ढिक्का बनाएर अघि बढ्ने रहेको दाबी गरेका थिए । उनले भने, ‘तर केही सार्थीहरू गेट आउट भन्न थालेका छन् ।’ कसैले गेट आउट भन्दै आफू नेतृत्व नछाड्ने दृढता व्यक्त गर्दै उनले यसअघि आफूले पराजित हुँदा कसैलाई त्यस्ता वचन नलगाएको स्मरण गरे । उनले भने, ‘म पनि दुई÷दुई पटक महाधिवेशनमा पराजित भएँ, तर कसैलाई गेट आउट भनिनँ ।’ उनले तीन वर्षपछि हुने महाधिवेशनमा आफू पराजित भए पनि सहर्ष स्वीकार गर्ने बताए । ‘महाधिवेशनसम्म यस्तो नगर्नुस्’, उनले भने, ‘पार्टीको सवालमा सबै एकजुट भएर अघि बढौं ।’
कांग्रेसले यसपल्ट हारे पनि आगामी निर्वाचनमा जित्ने गरी अघि बढ्न अहिलेदेखि नै सबै आ–आफ्नो ठाउँबाट खट्नुपर्नेमा उनले जोड दिए । हार्दैमा आत्तिइहाल्नु नपर्ने भन्दै उनले पार्टीमा एकजुट भएर अघि बढ्न जोड दिए । ‘पार्टी बलियो बनाउन हामी एक भएर अघि बढ्न आवश्यक छ’, उनले थपे, ‘एमाले–माओवादी एक हुन सक्ने, एउटै पार्टीका हामी किन मिल्न नसक्ने ? अहिलेको आवश्यकता कांग्रेस एकजुट हुने हो ।’
वरिष्ठ नेता पौडेलले आफूले चाहना गर्दैमा पार्टीभित्र सबै एक हुने अवस्था नरहेको जिकिर गरे । उनले भने, ‘चाहना गर्दैमा एकता हुने अवस्था छैन । एकताका लागि ठोस आधार बन्नु पर्यो ।’ उनले पार्टी विधानअनुसार र लोकतान्त्रिक विधिले चल्न नसकेको आरोप लगाए । उनले पार्टीमा आफ्नो फरक धारले पनि कांग्रेसलाई फाइदा नै हुने दाबी गरे । ‘पार्टी एकजुट बनाउन नेताकार्यकर्ताको न्यायपूर्वक, निष्पक्ष र पारदर्शी मूल्यांकन गरे धेरै कुरामा मिलेर अघि बढ्न सकिन्छ’, उनले भने । दुई कम्युनिस्ट पार्टीको गठबन्धनले कांग्रेस पराजित भएको पार्टी सभापति देउवाको भनाइमा आफू कहिल्यै सहमत हुन नसक्ने उनको भनाइ थियो । सिद्धान्त विजयी भए पनि चुनावमा कांग्रेस हारेको भन्दै उनले मतदाता आकर्षित गर्न नयाँ कार्ययोजना बनाउन जोड दिए ।
उपसभापति विमलेन्द्र निधिले वाम घटकको सरकार देशका सबै क्षेत्रमा सिन्डिकेट लगाउन अघि बढेको आरोप लगाए । उनले भने, ‘सरकारको सय दिन हेर्दा चौतर्फी प्रहार गर्न लागेको देखिन्छ ।’ उनले संघीयता र समावेशीतालाई वाम सरकारले सिध्याउन लागेको आरोपसमेत लगाए । उनले प्रेसलाई समेत सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै कांग्रेस त्यसविरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी पनि दिए ।
पूर्वसञ्चारमन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालले वाम सरकारले चिनियाँ मोडलको सञ्चारमाध्यम तयार पार्ने प्रयास गरिरहेको आरोप लगाए । उनले भने, ‘यस्तो हुन सक्दैन । म सञ्चारमन्त्री हुँदा तत्कालीन एमालेका दर्जनौं प्रभावशाली नेताले मलाई तराईका केही एफएम बन्द गर्नु पर्यो भन्दै लिस्ट नै लिएर आउनुभएको थियो’, उनले भने, ‘मैले उहाँहरूको प्रस्ताव ठाडै अस्विकार गरें ।’
प्रतिक्रिया दिनुहोस !