शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

काठमाडौं : शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले झन्डै दुई खर्ब बजेट विनियोजन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले ‘समाजवाद यात्रातर्फको प्रस्थानबिन्दु हुने’ भनेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै शिक्षामा एक खर्ब ३४ अर्ब र स्वास्थ्य क्षेत्रमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने र स्वास्थ्यसेवालाई सर्वसुलभ एवं गुणस्तरीय बनाउनेलगायत लोकप्रिय कार्यक्रम अघि सारिएको छ । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर खारेज गरिएको छ । त्यस्तै, मदिरा, चुरोेट, सुर्तीजन्य पदार्थजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको छ ।

२० प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे पनि बजेटमार्फत शिक्षामा गरिएको लगानी हेर्दा आफू धेरै आशावादी नभएको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले बताए ।

सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा आगामी दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने जनाएको छ । ‘बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियान सञ्चालन गर्ने भएको छ । शिक्षामा पहुँच सुनिश्चित गर्न आगामी वर्ष नै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइने भएको छ । माध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइनेछ । विकास सूचकांकमा पछि परेका सामुदायिक विद्यालयमा पाँच कक्षासम्म अध्ययनरत सबै विद्यार्थीलाई स्थानीय उत्पादनमा आधारित दिवा खाजा उपलब्ध गराइनेछ ।

विद्यालयलाई अपांगता र बालमैत्री बनाइने योजना अघि सारिएको छ । भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिनेछ । नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभासे तालिम र यसको विकासलाई प्रोत्साहन गरिनेछ । अपांगता भएका बालबालिकाको पहुँच वृद्धि गर्न प्रत्येक प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षाप्रदायक आवासीय विद्यालय सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

स्थानीय तहमा क्रमशः प्राविधिक शिक्षालय तथा विद्यालय पुर्‍याइने प्रतिबद्धता उल्लेख गरिएको छ । यो प्रतिबद्धता चुनौतीपूर्ण देखिएको शिक्षाविद्हरू बताउँछन् ।

मदरसा, गुरुकुल र गुम्बा शिक्षालाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ । दलित तथा लोपोन्मुख समुदायका बालबालिकालाई सबै विषयमा उच्चशिक्षा निःशुल्क हुने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहमा क्रमशः प्राविधिक शिक्षालय तथा विद्यालय पुर्‍याइने प्रतिबद्धता उल्लेख गरिएको छ । यो प्रतिबद्धता चुनौतीपूर्ण देखिएको शिक्षाविद्हरू बताउँछन् । सामुदायिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्न थप ८४ करोड तीन लाख बजेट छुट्याइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनर्संरचना, प्राविधिक शिक्षकको तालिम कार्यक्रमको विस्तार तथा प्राविधिक क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गर्न पनि बजेट विनियोजन गरिएको छ । शिक्षा संकायमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीका लागि सामुदायिक विद्यालयमा अनिवार्य इन्टर्नसिप गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

विद्यार्थी संख्या, विषयगत आवश्यकता र भौगोलिक अवस्थासमेतका आधारमा विद्यमान शिक्षक दरबन्दीको न्यायोचित पुनर्वितरण गरिने भएको छ । माध्यमिक तहका विज्ञान, गणित, अंग्रेजी र प्राविधिक विषयका लागि थप शिक्षक व्यवस्था गर्न विद्यालयलाई थप अनुदान प्रदान गरिने उल्लेख छ । सबै सामुदायिक विद्यालयमा उच्चगतिको निःशुल्क इन्टरनेट सेवा पुर्‍याइने कार्यलाई सकारात्मक रूपमा लिएको शिक्षाविद् डा. कोइराला बताउँछन् ।

विपन्न, सीमाान्तकृत समुदाय र लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच प्रतिशत ब्याज अनुदानमा शैक्षिक ऋण उपलब्ध हुने व्यवस्था मिलाइने उल्लेख छ ।

विश्वविद्यालयलाई प्रदान गरिने अनुदानलाई कार्यसम्पादन नतिजामा आधारित बनाइने भएको छ । यसका लागि अनुदान आयोगमा जाने अनुदानमा उल्लेख्य वृद्धि गरी १४ अर्ब ३६ करोड रुपैयाँ पुर्‍याइएको छ ।

सामुदायिक विद्यालयमा पूर्वाधारको विकास, नवीन प्रविधिको प्रयोग र शैक्षिक मापदण्ड सुधार गरिनेछ ।


स्वास्थ्यमा १० अर्ब बढ्यो

हरेक वर्ष उपेक्षा गर्दै आएको स्वास्थ्य क्षेत्रमा यस पटक बजेट वृद्धि गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ४८ अर्ब विनियोजन गरिएको थियो । गत वर्ष भन्दा यस वर्ष झण्डै १० अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेकोमा खुसी व्यक्त गर्छन् पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती । ‘विनियोजित बजेट पर्याप्त त छैन । तर पनि निरास हुनुपर्ने अवस्था पनि छैन’, उनले भने ।

स्वास्थ्य सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय तुल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ । आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम मुलुकभर विस्तारित गरिनेछ । ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको एक लाखसम्म बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले बेहोर्ने जनाइएको छ ।

आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्थादेखि नै प्रसूति सुरक्षा सेवा पुर्‍याइनेछ । यसअन्तर्गत गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि गरिँदै आएको यातायात खर्च रकम दोब्बर गरिएको छ । वीर अस्पतालको गुरुयोजनाअनुसारको निर्माण कार्य प्रारम्भ गरिनेछ । उच्च प्रविधियुक्त रोग निदान केन्द्रका रूपमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गाैला उपचार केन्द्र काठमाडौंमा स्थापना गरिनेछ ।

सातै प्रदेशमा सरकारी स्तरमा एकएक वटा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान रहने गरी थप संस्था खोल्ने प्रक्रिया अघि बढाइने भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित एवं प्रभाकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत ऐन ल्याइनेछ ।

आयुर्वेदिक औषधिको अनुसन्धान तथा विकास गर्न र आयुर्वेद शिक्षा प्रदान गर्न विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । आयुर्वेदिक, होमियोपेथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।

प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आ श्रम सञ्चालन गरिनेछ । तराई मधेसमा आर्सेनिकबाट सुरक्षित खानेपानी कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा अघि सारिएका कार्यक्रम महत्वाकांक्षी देखिए पनि प्रभावकारी संयन्त्र बनाउने हो कार्यान्वयन गर्न सकिने पूर्वस्वास्थ्य सचिव डा. उप्रेतीको भनाइ छ । ‘कार्यान्वयन पक्षमा समस्या हो । तर प्रभावकारी संयन्त्र बनाएर परिचालन गर्नुपर्छ’, उनले भने, ‘कार्यन्वयन गर्नै नसकिने खालका महत्वाकांक्षी कार्यक्रम छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.