अझै हटेन तुइनको कहर

अझै हटेन तुइनको कहर

दैलेख : कर्णाली नदीमा तुइन तर्ने क्रममा अछाम तुर्माकाँधका मानबहादुर बुढाले हातका औंला गुमाए। नदीमा वारपार गर्ने अर्को कुनै विकल्प नभएपछि उनी तुइनबाटै यात्रा गर्न बाध्य भए। त्यहीबेला तुइनमा च्यापिएर उनका हातका औंला गुमे। दैलेख चामुण्डाविन्द्रासैनीका खगेन्द्र शाहीको हात नै भाँचियो। कर्णाली नदी तर्ने क्रममा तुइनमा च्यापिँदा उनको हात नै भाँचिन पुग्यो।

दैलेख र अछामको सिमानामा रहेको कर्णाली नदीमा हालसम्म पुल नहुँदा स्थानीय सास्ती भोग्न बाध्य छन्। अछामको तुर्माकाँध गाउँपालिका र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाअन्तर्गत कर्णाली नदी किनारमा बस्दै आएका बासिन्दालाई कर्णाली नदीमा वारपार गर्न निकै सास्ती भइरहेको छ। नदीमा पुल नहुँदा अहिले यहाँका नागरिक तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तुइनमा जोखिमपूर्ण यात्रा गर्नुबाहेक नदी वारपार गर्ने अर्को विकल्प नभएपछि हिजोआज स्थानीयले देउता भाकेर मात्र नदी तर्ने गरेका छन्। तुइनबाट यात्रा गर्दा अंगभंग हुने र ज्यानै जोखिममा पर्न थालेपछि हिजोआज स्थानीयले तुइनको यात्रा सुरक्षित होस् भन्दै आफ्नो कुलदेउतालाई भाकेर मात्र नदीमा वारपार गर्दै आएका हुन्।

स्थानीयलाई हरेक दिन ज्यानकै बाजी थापेर तुइनबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ। दिनहुँजसो नदी वारपार गर्नै पर्ने बाध्यता भएका स्थानीय कहिलेकाँही त्यही तुइन नचल्दा थप समस्यामा पर्ने गरेका छन्। अधिकांश बालबालिकालाई विद्यालय पुग्न पनि यही तुइनको यात्रा गर्नुपर्ने बाध्यता छ। तुइनमा यात्रा गर्दा धेरैले औंला गुमाइसकेको स्थानीय खगेन्द्र शाहीले बताए। ‘मेरो त हातै भाँचियो, यो तुइनले गाउँमा धेरैका औंला खाएको छ’, उनले भने, ‘तीन वर्षअघि डुंगा पल्टिँदा मैले श्रीमती नै गुमाएँ, त्यसपछि सुरक्षित होला भनेर यो तुइन जोड्यौं। यसले पनि हामीलाई सुविधा भएन, अब त सरकारले झोलुंगे पुल बनाइदेओस्।’ उनले अब नदीमा पुल बनाइदिन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरे।

बारम्बार नदीमा डुंगा दुर्घटना भएपछि स्थानीयले आफ्नै पहलमा नदीमा तुइन जोडेका थिए। तर, उक्त तुइनले पनि हातका औंला काट्न थालेपछि अचेल स्थानीय नदी वारपार गर्न त्रसित बनेका छन्। तुइनको यात्रा असुरक्षित भए पनि अर्को विकल्प नहुँदा आफूहरू बाध्य बनेको स्थानीयको दुखेसो छ। ‘मैले हातका औंला मात्र गुमाएँ, कुनै दिन मान्छेले ज्यानै गुमाउने जोखिम छ’, अछाम तुर्माकाँधका मानबहादुर बुढाले भने, ‘हातमुख जोड्न नदी वारपार गर्नै पर्ने बाध्यता छ, पुल नहुँदा तुइनमा यात्रा गर्नै प¥यो। मनमा त्रास भएर पनि आँखा चिम्लेर नदी तर्दै आएका छौं, तुइनको यात्रा सुरक्षित होस् भनेर अचेल यहाँका मान्छे देउता भाकेर मात्र तुइनमा बस्छन्।’ सरकारले आफूहरूको पीडा र दुःख नसुन्दा स्थानीय बासिन्दा देउताको शरणमा पुगेको उनले सुनाए।

स्थानीयले दैनिक उपभोग्य सामान पनि यही तुइनबाट ओसार्दै आएका छन्। वर्षातको भेलमा कर्णाली उर्लने गरेको र तुइनमा वारपार गर्न नसकिएको स्थानीय बताउँछन्। आफूहरूले ज्यान नै जोखिममा राखेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीयले तत्काल पुल निर्माण गरिदिन माग गरेका छन्। तीन वर्षअघि प्रधानमन्त्री बनेलगत्तै केपी ओलीले नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए। तर, उनको उक्त घोषणा हालसम्म पनि कागजमा सीमित रहेको स्थानीय मानबहादुर बुढाले बताए। उनले आफूहरूको पीडा सुनेर तीन वर्षअघिको आफ्नै घोषणा कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। नदीमा पुल नहँुदा दैलेखको चामुण्डाविन्द्रासैनी र अछामको तुर्माकाँध गाउँपालिकाका बासिन्दा तुइनबाटै कर्णाली नदी वारपार गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.