किन पढ्ने कोर्स बाहिरका किताब ?
केही साताअगाडि काठमाडौं विश्वविद्यालयमा व्यवस्थापन विषय पढाउने केही साथीहरू मेरो घरमा आउनुभएको थियो। उहाँहरू एमबीएको पाठ्यक्रममा हेरफेर गर्दै हुनुहुँदो रहेछ। त्यसका लागि कर्पोरेट हाउसहरूमा केकस्तो चाहिन्छ भनेर कुरा गरिरहनुभएको रहेछ। त्यसैक्रममा मजस्ता केही प्राध्यापकहरूसँग पनि छलफलका लागि जानुभएको रहेछ। म उहाँहरूप्रति सुरुमै आक्रामक हुँदै भनें, ‘तपाईंहरूको समस्या नै विद्यार्थी हो।’
मेरो कुरा सुनेर उहाँहरू अकमकाउनुभयो। मैले उहाँहरूलाई प्रस्ट पार्न थालें।
मैले विद्यार्थी नै समस्या भन्नुको पछाडि कारण छ। एमबीए पढ्ने विद्यार्थी बीबीए गरेर आएको हुन्छ। उसलाई कुनै कार्यालयमा काम गरेको अनुभव पनि हुँदैन। त्यस्तो विद्यार्थीलाई यस्तो ज्ञान दिनुपर्छ ताकि उसले पछि गएर कर्पोरेट संसारमा लडेर, जुधेर, भिडेर विजय प्राप्त गरोस्। एमबीए कार्यक्रमको उद्देश्य नै त्यही हो। विद्यार्थीलाई पढाएर पठाउने मैदान त्यही हो। तर विचरा विद्यार्थी अनुभवविहीन छन्।
अर्कोतर्पm हाम्रा विद्यार्थीलाई स्कुलदेखि नै छुट्टाउन सुरु गरिन्छ। एसईई उत्तीर्ण गर्नासाथ विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा के पढ्ने भनेर छुट्ट्याइन्छ। त्यससँगै कोही डाक्टर, कोही इन्जिनियर, कोही बैंकर्स आदिआदि बन्ने सपना देख्न थाल्छन्। त्यो अभ्यासमा विद्यार्थीबाट लिबरल आर्ट्स (साहित्य, दर्शन आदि विषय) पूरै छुट्छ। जतिजति माथिल्लो कक्षा चढ्दै गयो, विद्यार्थी उतिउति साँघुरिँदै जान्छन्। ग्र्याजुएट तहसम्म पुग्दा त ऊ मानवीय इतिहासबाट टाढा पुग्छ। उसले सभ्यता, साहित्य, इतिहास, दर्शन, भूगोल, संस्कृति आदि पढेकै हुँदैन। यो समस्या एमबीए कोर्स पढ्न जाने विद्यार्थीमा मात्र नभई सबैमा लागू हुन्छ।
हाम्रो पढाइ असाध्यै परीक्षामुखी छ। परीक्षामुखी शिक्षा प्रणालीले गर्दा विद्यार्थीहरू पाठ्यपुस्तकमा सीमित भएका छन्। बाबुआमाले पनि पाठ्यपुस्तक कण्ठ पारेर राम्रो अंक ल्याइदेओस् भन्ने चाहन्छन्। खालि आफ्नो पाठ्यपुस्तकमा मात्र सीमित हुने र पाठ्यपुस्तकभन्दा बाहिर चासो नदिने विद्यार्थीलाई राम्रो विद्यार्थी मान्ने मानसिकता छ। त्यसलाई शिक्षाशास्त्रीहरूले न्यारोइङ अफ् करिकुलम (पाठ्यक्रम साँघुरिँदै जानु) भन्छन्। यस्तो स्थिति सबैजसो डिसिपिलिनमा छ। प्राविधिक अध्ययनका क्षेत्रमा यस्तो समस्या सबैभन्दा बढी छ। अहिले हामी रिङरोड पैदलयात्रुमैत्री हुन सकेन भनेर गुनासो गरिरहेका छौं। त्यस्तो किन भयो भने त्यो डिजाइन गर्ने इन्जिनियरहरूले प्राविधिक रूपबाट मात्र हेर्नुभयो। त्यसमा मानवीय संवेदना जोड्न सक्नुभएन। त्यो बाटो जनताका लागि हो भन्ने नै उहाँहरूलाई थाहा भएन।
त्यसैले प्राध्यापक साथीहरूलाई मेरो सुझाव छ, अब उहाँहरूले स्कुलदेखिकै पाठ्यक्रम सुधार्न लाग्नुपर्छ। स्कुलको पाठ्यक्रमदेखि नै लिबरल आर्ट्स पढाउनुपर्छ। लिबरल आर्ट्स प्राविधिक क्षेत्रमा पनि चाहिन्छ। अहिले अमेरिकाको येल विश्वविद्यालयमा ‘ह्युम्यानिटिज इन मेडिसिन’ भन्ने विषयको पढाइ हुन्छ। अहिले मेडिकल ह्युम्यानिटी भन्ने विषय पनि आएको छ। डाक्टर भनेको बायोमेडिकल साइन्स मात्र पढ्ने होइन। उनीहरूले थरीथरीका मानिसहरूसँग व्यवहार गर्नुपर्छ। बिरामीलाई क्लिनिकल्ली हेरेर मात्र साँचो उपचार हुँदैन। त्यसैले डाक्टरहरूलाई पनि लिबरल आर्ट्स पढाउन जरुरी छ।
केहीअगाडि शिक्षा मन्त्रालयमा पाठ्यक्रम सुधारबारे भएको एक कार्यक्रममा पनि मैले पाठ्यक्रममै लिबरल आर्ट्स पढाउन सिफारिस गरेको थिएँ। पछि गएर पाइलट, इन्जिनियर, डाक्टर, बैंकर्स जे बने पनि लिबरल आर्ट्स अनिवार्य पढाउनैपर्छ।
त्यसैले मैले काठमान्डु विश्वविद्यालयका ती प्राध्यापक साथीहरूलाई भनें, ‘तपाईंहरूले पाठ्यक्रमलाई पूरै सुधार गर्न नसके पनि अलिअलि भए पनि लिबरल आर्ट्स पढाउनुस्। पछि गएर कर्पोरेट संसारको संघर्षमा होमिने विद्यार्थीलाई अलिअलि भए पनि अरू ज्ञानको ढोका खोलिदिनुस्।’
उहाँहरूले जस्तै भनेर सोध्नुभयो। मैले भनें, ‘साहित्य, दर्शन, समाज र संस्कृति अध्ययन पढाउनुपर्छ।’
मेरो कुरा सुनेर उहाँहरूले फेरि प्रश्न गर्नुभयो, ‘एमबीए पढ्ने विद्यार्थीलाई साहित्यको के काम सर ? ’ यो आम प्रश्न हो। प्रायले सोध्नुहुन्छ, साहित्य पढेर के हुन्छ ?
साहित्य सबैलाई काम लाग्ने विधा हो। साहित्यले मानवीय संवेदना बढाउँछ। मानवीय संवेदनता त डाक्टर, इन्जिनियर, म्यानेजर सबैलाई चाहिन्छ।
साहित्यतर्पm नोबेल पुरस्कार विजेता डरेस लेसिङले भनेकी छन्, ‘साहित्यले आफैंले आफैंलाई अरूले हेरेजस्तै गरेर हेर्न सिकाउँछ।’
त्यसो भए दर्शनको के काम छ ?
केही दिनअघि मात्र मैले एउटा लेख पढेको थिएँ, रोबर्ट रुबिनको। उहाँ क्लिन्टन सरकारको पालामा संयुक्त राज्य अमेरिकाको अर्थमन्त्री हुनुहुन्थ्यो। गोल्डम्यान स्याक्समा २६ वर्ष सहअध्यक्ष भएर काम पनि गर्नुभयो उहाँले। उहाँले हार्वर्ड विश्वविद्यालय, येल विश्वविद्यालय र लन्डन स्कुल अफ् इकोनोमिक्स जस्ता एकदमै राम्रा विश्वविद्यालयमा पढ्नुभएको थियो। उहाँले आफ्नो लेखमा भन्नुभएको छ, ‘मैले त्यति राम्रा विश्वविद्यालयहरूमा पढें, तर अमेरिकी सरकारको अर्थमन्त्री हुँदा र बैंकिङमा मलाई काम गर्दा सबैभन्दा ठूलो सहयोग पु¥याएको विषय हो– हावर्डको अन्डरग्य्राजुएटमा पढाइएको ग्रिक दर्शन।’
अर्थमन्त्री भएको मानिसलाई अर्थशास्त्र, वित्तशास्त्रभन्दा पनि ग्रिक दर्शन काम लाग्यो। रोबर्ट रुबिनले ग्रिक दर्शनशास्त्र र क्याफ्टेरियामा गर्ने प्राध्यापक र साथीहरूसँग गर्ने अस्तित्ववादसम्बन्धी बहसले आफ्नो हेर्ने दृष्टिकोण र निर्णय प्रक्रियामै प्रभाव पारेको बताउनुभएको छ।
पाठ्यक्रमबाहिरको पुस्तक पढेर हाम्रा विद्यार्थीलाई कक्षाको जाँचमा कति फाइदा पुग्छ, म यकिन गरेर भन्न सक्दिनँ। तर म ठोकुवाका साथ के भन्न सक्छु भने उनीहरूले जीवनको परीक्षा भने राम्रोसँग उत्तीर्ण गर्नेछन्। त्यसो त सन् २००४ मा एसएलसी नतिजा अध्ययन गर्दा हामीले पाठ्यक्रमबाहिरका किताब धेरै पढ्ने विद्यार्थीले परीक्षामा पनि राम्रो अंक ल्याएको पाएका थियौं। त्यसैका आधारमा हामीले हरेक विद्यालयमा पुस्तकालय हुनुपर्छ भनेर सिफारिस पनि गरेका थियौं।
अन्त्यमा एकजना अज्ञात लेखेका भनेका छन्, तपाईं चिन्तनबाट भाग्न खोजेर पढ्नुहुन्छ भने नपढेकै बेस।
(काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको ‘बाईसौं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ को उद्घाटन समारोहमा माथेमाले दिएको विद्वत् प्रवचन।)
प्रतिक्रिया दिनुहोस !