पेट्रोल बमदेखि नक्कली बम, विस्फोटदेखि आगजनीसम्म : विप्लव बन्दको आतंक (अपडेट)
काठमाडौँ : प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ।
राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन्। तर निजी तथा सरकारी विद्यालय बन्द भएका छन्। कतिपय स्कुल र कलेजहरूले आज पढाई नहुने सूचना दिइसकेका छन्। देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा शंकास्पद बस्तुहरू फेला परेको खबरहरू प्राप्त भएका छन्।
सप्तरी
बन्दका कारण सप्तरीका शिक्षण संस्था बन्द छन्। निजी तथा सामुदायिक विद्यालय तथा क्याम्पसको पठनपाठन बन्द हुँदा करिब एक लाख ३५ हजार विद्यार्थीको कक्षा अवरुद्ध भएको जिल्ला शिक्षा विकास समन्वय ईकाईले जनाएको छ। बन्दका कारण सप्तरीमा रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पससहित ३३ उच्च माध्यमिक विद्यालय, ४४ माध्यमिक विद्यालय, ९९ निम्न माध्यमिक विद्यालय र दुई सय ३६ प्राथमिक विद्यालयको पठनपाठन बन्द छ। संस्थागत विद्यालयतर्फ ८१ प्राथमिक विद्यालय, २५ निम्न माध्यमिक विद्यालय, ३५ माध्यमिक विद्यालय र १२ उच्च माध्यमिक विद्यालयको पठनपाठन समेत प्रभावित बनेको सम्वाददाता मनोहर पोखरेलले जनाएका छन्।
तेह्रथुम
विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव तेह्रथुममा पनि परेको छ। बन्दका कारण सदरमुकाम म्याङलुङबाट छुट्ने साना तथा ठुला सवारी साधनहरु ठप्प भएका छन्। बजार पसल पनि छिटफुट मात्र खुलेका छन्। उद्योगभन्दा तथा शैक्षिक संस्था समेत बन्द भएका छन्। बन्दका बेला कुनै क्षति नहोस भनेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको सम्वाददाता टीआर लिम्बुले जनाएका छन्।
रुपन्देही
रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पथ्थरडाँडामा यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार भएको प्रहरीलाई उद्धृत गर्दै सम्वाददाता सलमान खानले जनाएका छन्। पेट्रोल बम प्रहारबाट बसमा सवार रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए। प्रहरीले बमप्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सिद्धार्थ राजमार्ग र हुलाकी मार्गमा सवारीसाधनका साधन चलेका छैनन्। मोटरसाइकल र साना सवारीहरू समान्य रुपमा चलेका छन्।
भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु भैरहवा बसपार्कमै थन्किएका छन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, बैंक वित्तीय संस्था बन्द रहेका छन्। बन्दका कारण भारतबाट आउने नेपाली सीमा नाका बेलहियामा अलपत्र परेका छन्।
रोल्पा

बन्दका कारण सुनसान बनेको रोल्पा सदरमुकाम लिबाङ बजार।
रोल्पाको सदरमुकाम लिबाङको लहरी खोलामा मंगलबार बिहान विष्फोट गराइएको छ। पूर्वी सुलिचौरमा पनि विष्फोटको आवाज सुनिएको थियो। नेकपाले बन्द आह्वान गरेकोले नेकपा कार्यकर्ताले दुबै ठाउँमा विष्फोट गराएको अनुमान गरिएको छ। बम वा अन्य कुनै विष्फोटक पदार्थ के पड्काएको भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक थापाले त्रास फैलाउन विष्फोट गराएको हुनसक्ने बताएको सम्वाददाता खेमबहादुर बुढाले जनाएका छन्।
डोटी
बन्दको डोटीमा पनि आंशिक प्रभाव परेको छ। सडकमा फाट्टफुट्ट सवारी साधन देखिएका छन्। डोटीका मुख्य बजार बन्द गरिएका छन् भने ग्रामीण क्षेत्रका बजार भने संचालनमा छन्। स्थानीय स्तरमा संचालनमा आउने ठूला सवारी साधन पूर्णरुपमा बन्द रहेको र डोटीबाट चल्ने लामो दूरीका सवारी साधन समेत नचलेको सम्वाददाता खगेन्द्रबहादुर सिंहले जनाएका छन्।
दिपायल सिलगढीमा संचालनमा रहेका दुईवटा नगरबस भने प्रहरीको सहयोगमा संचालनमै रहेका छन्। दुईवटै नगर बसमा हतियारधारी प्रहरीको एक/एक टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मकवानपुर
मकवानपुरको थाहा नगरपालिका ११ देउरालीमा एउटा स्कुल बस बन्दकर्ताले जलाएको खबर छ। सम्वाददाता कृष्ण सारु मगरका अनुसार पालुङबाट नौबिसे जाँदै गरेको नम्बर प्लेट नहालेको स्कुलबस बन्दकर्ताले पेट्रोल हालेर आगो लगाएका हुन्। मकवानपुर प्रहरी प्रमुख बुद्धि गुरुङका अनुसार बस पूर्ण रुपमा जलेको छ। बन्दका कारण यहाँ लामो रुटका गाडी चलेका छैनन् भने स्थानीय गाडी फाट्टफुट्ट चलिरहेका छन्।
रुकुम
रुकुम पूर्व र पश्चिममा बन्दको प्रभाव परेको छ। सम्वाददाता महेश केसीका अनुसार यहाँ यातायात, विद्यादलय र कलकारखाना बन्द छन्। बन्दकर्ताले सरकारी कार्यालय पनि बन्द गर्न उर्दी जारी गरेका छन्।
महोत्तरी

पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिबासस्थित रातु–छहरा पुलमा कुकर बम राखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका क्रममा २४ घण्टा व्यस्त रहने यो पुलमा राखिएको सम्वाददाता राजकरण महतोले जनाएका छन्।

पुलमै कुकर बम राखिएपछि यहाँबाट पूर्व–पश्चिम राजमार्गको यातायात एक घण्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ। यातायात रोकिँदा सयौँ सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
लमजुङ

प्राप्त खबरअनुसार बन्दका कारण यहाँ बजार बसल बन्द छन्। अन्नपूर्ण सम्वाददाता नवीन कुइँकेलका अनुसार बन्दका कारण यहाँ छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन्। लमजुङको राईनास नगरपालिका-५ तिनिपप्लेमा सुतली बम फेला परेको प्रहरीले जनाएको छ।

कपिलवस्तु
अन्नपूर्ण सम्वाददाता दीपक आचार्यका अनुसार कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परे पनि अन्य ८ स्थानीय तहमा बन्दको आंशिक प्रभाव परेको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी, उद्योगभन्दा, शिक्षण संस्था, कलकारखाना चलेका छैनन्। बन्दकर्ता सडकमा नउत्रिए पनि बन्दका प्रभाव यहाँ देखिएको हो।
बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बम विष्फोट गराएको ठूलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाई छ।
जिल्लाका मुख्य बजार ४ नं. जीतपुर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर लगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ। उद्यपि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सिरहा

नेपाल बन्दको प्रभाव सिरहामा परेको छैन। सिरहा सम्वाददाता सन्तोष यादवका अनुसार पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा सवारी साधन अन्य दिनझैं आज पनि गुडिरहेका छन्। बजार र विद्यालय समेत खुलेका छन्। उद्योग कलकारखाना समेत संचालनमा रहेका छन्। सडकमा कतै बन्दकर्ता पनि देखिएका छैनन्। अन्य दिनको तुलनामा आज राजमार्ग क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
ललितपुर
अन्नपूर्ण सम्वाददाता नितु घलेका अनुसार ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ। लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको हानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।
तीनवटै ठाउँमा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको डिएसपी चन्दको भनाई छ। यी तीनै ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम राखेको पत्तो लगाएको थियो।
नवलपरासी
पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ। हाम्रा सहकर्मी हरि शर्माका अनुसार कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
बाजुरा

बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ। झोलामा बम भएको हुन सक्ने स्थानीयले बताएपछि त्यहाँ सुरक्षाकर्मीको टोली पुगिसकेको हाम्रा सहकर्मी रमित बिकले जनाएका छन्।
भक्तपुर
यहाँका सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो।
राससका अनुसार सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो। दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए। उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी खटाइएको बताए।
अर्घाखाँची
विप्लवले गरेको नेपाल बन्दको कारण विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ। विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन नचलेका हाम्रा सहकर्मी प्रेमनारायण आचार्यले जनाएका छन्।
अर्घाखाँचीमा बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन्। बजारमा बन्दकर्ता नदेखिए पनि बन्दको प्रभाव पूर्णरुपमा परेको छ। विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो।
गुल्मी
गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए। सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन।
विप्लवका कार्यकर्ताहरुले जिल्लाका धार्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा पनि मंगलबार राति मसाल जुलुस निकालेका थिए। विप्लवका कार्यकर्ता सक्रिय भएपछि त्यहाँ पनि बन्दको असर परेको छ।
प्रतिक्रिया दिनुहोस !