घातक बन्दै रासायनिक विषादी

घातक बन्दै रासायनिक विषादी

अधिकांश नेपाली किसान अझै नजिकका एग्रोभेटका सामग्री पाइने पसलमा गएर ‘बालीमा रोग-कीरा लाग्यो, औषधी दिनुस् न’ भनेर माग्छन् र एग्रोभेटवालाहरू किसानलाई विषादी दिएर पठाउँछन्। बालीनाली जोगाउन प्रयोग गरिने रासायनिक विषादी औषधी होइनन्। 

तिनले जीव रक्षा नभई हत्या गर्छन्। अन्य जीवहरूका साथै मानिसका लागि पनि यी घातक त छँदैछन्, बेलैमा होस नपुर्‍याउने हो भने यिनको प्रयोगले अब माटो र पानीका स्रोतहरू पनि बिग्रने अवस्था आउँदैछ।

नेपालको कृषि उत्पादनमा बाली लिनु अघिपछि गरेर रोग, कीरा, झारपात, चरा, मुसा आदिले करिब ३५ प्रतिशत क्षति गर्ने अनुमान छ। यसको नियन्त्रणका लागि बर्सेनि करोडौं रुपैयाँको विषादी विदेशबाट आयात गरिन्छ। आर्थिक वर्ष २०७०-७१ मा करिब ३८० मेट्रिक टन रासायनिक विषादी विदेशबाट आयात गरिएको थियो भने यो परिणाम आर्थिक वर्ष २०७३-७४ मा झन्डै ५६० मेट्रिक टन पुग्यो। विषादीलाई फर्मुलेसनसमेत गरेको हिसाब गर्दा आर्थिक वर्ष २०७३÷७४ मा यस्तो विषादीको परिणाम करिब ६३५ मेट्रिक टन हुन आउँछ। यो ६३५ मेट्रिक टनको मूल्य भन्डै ७५ करोड रुपैयाँ हुन्छ।

पछिल्ला वर्षहरूमा यो परिणाम झनै बढ्दै गएको अनुमान छ। काभ्रे जिल्लाको पाँचखालमा रहेका विभिन्न एग्रोभेट पसलहरूमध्येको ‘पाँचखाल बीज भण्डार एन्ड एग्रो सेन्टर’ का गोविन्द सापकोटा ‘आफूहरूले मात्र अहिले चीनबाट वर्षको करिब दुई करोड रुपैयाँबराबरको रासायनिक विषादी ल्याउने गरेको’ बताउँछन्। यो त विषादी आयात गर्ने एउटा पसल मात्र हो, नेपाल सरकारको ‘विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा’ को प्रतिवेदनअनुसार २०७४ असार मसान्तसम्ममा नेपालमा विदेशबाट विषादी आयात गर्ने २१९ वटा आयातकर्ताहरू छन्।

नेपालको कृषियोग्य जमिनमा विषादीको औसत प्रयोग प्रतिहेक्टर ३९६ ग्रामभन्दा बढी छ। बालीविशेषलाई हेर्ने हो भने त प्रतिहेक्टर कपास खेतीमा २ हजार ५ सय ६० ग्रामभन्दा बढी, चिया खेतीमा २ हजार १ सय ग्रामभन्दा बढी र तरकारी खेतीमा १ हजार ६ सय ग्रामभन्दा बढी विषादी प्रयोग हुने गरेको तथ्यांक छ। यसरी करोडौं रुपैयाँ विदेश पठाई ल्याउने गरेको विषादीले नेपालको भूमि क्रमशः विषादीमय बन्ने क्रम बढिरहेको छ।

माटो मात्र नभई खोलानालाका पानीसमेत क्रमशः विषादीमय बन्ने क्रममा छन्। काभ्रे जिल्लाको पाँचखाल उपत्यकाको झिगु खोलाबाट यसै वर्ष अर्थात् २०७५ सालको भदौ १२ गते ली-बर्ड नामक संस्थामार्फत ‘वाटर इन्जिनियरिङ एन्ड ट्रेनिङ सेन्टर प्रालि’ ले नमुनाका रूपमा लिएको पानी जाँच गर्दा सो खोलामा बहने प्रतिलिटर पानीमा १९५ माइक्रोग्राम ‘सिन्थेटिक प्याराथ्रोरेट’ समूहको विषादीको अवशेष पाइएको छ। यसका साथै ‘कार्बामेट पेस्टिसाइड’ नामक विषादी समूहको अवशेषसमेत झिगु खोलामा फेला परेको सो प्रालिले जनाएको छ। यसरी हामी हाम्रो कृषि उत्पादन र खेतीयोग्य जमिनलाई मात्र नभई अब त खोलाको पानीसमेत विषादीमय बनाउन थालेका छौं।

पाँचखालमा केही वर्षअगाडि घातक विषादीहरूको व्यापक प्रयोग भएको चर्चा चलेपछि ‘त्यहाँका किसानहरूमा क्यान्सरको मात्रा बढेको’ र ‘पाँचखालका चेलीबेटीसमेत विवाह गर्नु हुन्न’ भन्ने हल्ला फैलिएको थियो। काभ्रेबाटै बिक्रीका लागि कालीमाटी लगिएको केही ट्रक तरकारी अत्यधिक विषादी प्रयोगका कारण फर्काइएको पनि थियो। यस्तो अवस्था उत्पन्न भएपछि पाँचखाल क्षेत्रमा घातक विषादी प्रयोगको मात्रा करिब ५० प्रतिशतले नै घटिसकेको स्थानीय किसान तथा अन्य जानिफकारहरू बताउँछन्।

उमेरले ६१ हेमन्त पार गरेका पाँचखाल नगरपालिका- ३ का किसान कृष्णबहादुर दनुवार भन्छन्, ‘अहिले त यहाँका खोलाहरूमा केही मात्रामा माछा, भ्यागुत्ता र सर्पहरू पनि देखिन थालेका छन्।’ यो राम्रो लक्षण हो। पाँचखाल नगरपालिकाले पनि स्थानीय किसानहरूलाई प्रांगारिक खेतीतर्फ आकर्षित गर्ने विषयलाई आफ्नो ‘आर्थिक वर्ष २०७५-७६ को नीति, बजेट तथा कार्यक्रम’ मा समावेश गरेको छ।

बेलैमा होस नपुर्‍याउने हो भने मानिस, माटो र पानीका साथै जस्ता प्रकृतिका महत्वपूर्ण पक्षहरूमा रासायनिक विषादीले गम्भीर असर पार्नेछ।

पाँचखाल र त्यहाँको झिगु खोला एउटा सानो उदाहरण मात्र हो। देशका अन्य क्षेत्रका माटो र खोला-नालाजस्ता पानीका स्रोतहरूमा विषादीको प्रयोग कति होला ?        अध्ययनको विषय बनेको छ। मत्स्यपालन तथा जल संसाधन स्रोत विषयमा विगत ३५ वर्षदेखि प्राध्यापन गरिरहेका कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा. दिलीपकुमार झा भन्छन्, ‘बालीनालीमा प्रयोग गरिने रासायनिक मल र विषादीहरू खेतबारीबाट बहेर नदी, खोला र पोखरीहरूमा पनि जान्छन् र तिनले जलचरको जीवन-चक्रमा असर पारी हानि पुर्‍याउँछन्। यस सन्दर्भमा नेपालमा अहिले आत्तिइहाल्नुपर्ने अवस्था त आइसकेको छैन तर अब होसियारी अपनाउनुपर्ने अवस्थाचाहिँ सुरु भइसकेको छ।’

नेपाल सरकारको ‘विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा’ ले प्रकाशित गरेको ‘विषादीका विविध पक्षहरू’ नामक पुस्तकमा उल्लेख गरिएको छ, ‘कुनै पनि बालीमा प्रयोग गरिएको करिब ८० प्रतिशत जीवनाशक विषादी साधारणतयाः माटोमा टुंगिन पुग्छ। माटोमा पुगेको विषादी निष्क्रिय हुन निकै समय लाग्छ। यसबाट माटोमा रहेका सूक्ष्म जीवाणुलाई आघात पुग्न जानुका साथै भूमिगत जलस्रोत, खाल्डो र खोलामा विष प्रदूषण हुने खतरा बढ्न जान्छ।’

यसैगरी दक्षिण एसियामा वातावरण क्षमता निर्माणका लागि कार्यरत ‘एग्रिकल्चर एन्ड वाटर पोलुसन प्रोजेक्ट’ ले घातक कीटनाशक विषादी, रासायनिक मल र खेती गरिने जमिनले सोसेका यस्ता अन्य पदार्थ भूमिगत पानी, नदी, तालतलैया र सागरमा समेत पुग्न सक्ने र घातक रसायनहरू फैलिन सक्ने जनाएको छ। त्यस्तो पानी पिउने मानिस, जनावर र जीवहरूको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने पनि सो प्रोजेक्टले आफ्नो जानकारीमूलक सामग्रीमा उल्लेख गरेको छ। नेपाल सरकारको काभ्रे जिल्लाको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पूजन जंगम उल्लेख गर्छन्, ‘उपयुक्त अध्ययन त भएको छैन तर नेपालका खोला र पोखरीहरूमा पनि विषादीका अवशेषहरू कुनै न कुनै रूपमा बहेर जाने गरेका छन्।

यसो भएकाले खानेपानीका मूलमा विषादीका अवशेषहरू मिसिन्छन्। पोखरीमा माछाहरू मरेका उदाहरण पनि पाइएका छन्।’ फरवार्ड नेपाल नामक संस्थाका कृषि सुधार तथा ग्रामीण कल्याणका क्षेत्रमा कार्यरत वातावरणविद् वेदप्रसाद भुर्तेल र टंकप्रसाद आचार्य भन्छन्, ‘रासायनिक विषादी मिसिएको पानीमा रहेका माछाहरूको बोसोमा विस्तारै थुप्रिँदै गएको विषादीले माछालाई त असर पार्छ नै, त्यस्ता माछा उपभोग गर्दा मानिसको स्वास्थ्यमा पनि नराम्रो असर पर्छ।’

नेपालमा बालीनालीमा प्रयोग गरिने रासायनिक विषादीको उपयुक्त प्रयोग, प्रयोगपछि बार्नुपर्ने अवधिको पालना एवं विषादीका अवशेषको सही ढंगको विसर्जनको अभाव र तिनको दुरुपयोगले किसान, कृषि उत्पादनका उपभोगकर्ता एवं विभिन्न प्रकारका जीव तथा सर्वसाधारणको जीवनमा असर परिरहेको चर्चा त बारम्बार हुने गरिरहेकै छ, तर बेलैमा होस नपुर्‍याउने हो भने माटो र पानीजस्ता प्रकृतिका महत्वपूर्ण पक्षहरूमा पनि रासायनिक विषादीले नकारात्मक असर पार्ने र अन्ततोगत्वा त्यसले मानिसलाई नै आघात गर्ने कुरा बिर्सन मिल्दैन।

यस्ता समस्याको समाधानका लागि रासायनिक विषादीको अनावश्यक एवं जथाभावी प्रयोग रोक्नुपर्ने, जैविक विषादी तथा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धतिको प्रयोग प्रवद्र्धन गर्नुपर्ने, विषादीका अवशेष सुरक्षित रूपमा नष्ट गर्ने विशेष ‘ट्रिटमेन्ट’ सुविधा व्यवस्थित गर्नुपर्ने, विषादी प्रयोगमा अनिवार्य रूपमा कृषि प्राविधिकको सल्लाह लिनुपर्ने, खोलानाला तथा पानीका स्रोतहरूमा रासायनिक विषादीका अवशेष नपुगून् भन्नेमा ध्यान दिनुपर्ने र समस्या भइसकेपछि उपचार गर्नेभन्दा बेलैमा होसियारी अपनाउनुपर्नेमा प्राथमिकताका साथ लाग्नुपर्ने अवस्था आइसकेको छ।

अहिले मनाउन थालिएको ‘विषादी प्रयोगमुक्त सप्ताह’ जस्ता जनचेतनामूलक कार्यक्रममा विषादीले माटो र पानीजस्ता प्राकृतिक स्रोतलाई पार्न थालेको असरका विषयमा पनि छलफल गर्ने र यसको नियन्त्रण वा न्यूनीकरणका उपयुक्त उपाय अवलम्बन गर्नेतर्फ जोड दिनु जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.