दूधे बालक छाडेर यार्सा टिप्न
जुम्ला : पातारासी गाउँपालिका–३ का फूलमाया र पदमराज महतारा दुई सातादेखि नौमहिने छोरा छाडेर यार्सा टिप्न पाटन गएका छन्। छोरा छाडेपछि घरमा कोही नहुँदा अहिले बालक विदानको हेरचाह मामा घरकी हजुरआमाले गर्नुपरेको छ। ‘आमाको खोजीमा होला रोइरहन्छ, खाना खाँदैन, तौल घट्दै छ’, विदानकी हजुरआमा धनरुपा महताराले भनिन्, ‘पाटनमा आमालाई दूध पोलेर हैरान छ रे, यता बाबुलाई गाई, भैंसीको दूध खुवाउन गाउँ चहार्नुपर्छ।’ घरका सबै अभिभावक यार्सा टिप्न पाटन गएपछि पातारासी गाउँपालिकाका चौर र छुम गाउँका मात्रै ५० भन्दा बढी घरका बालबालिका आफन्तको घरमा अलपत्र परेका छन्।
‘दुई गाउँका तीन सयभन्दा बढी घरका सबै अभिभावक पाटन गएका छन्’, स्थानीय रणबहादुर महताराले भने, ‘त्यसमा पनि ५० भन्दा बढी घरका अभिभावकले त घरको ढोका नै बन्द गरी दूधे बच्चा आफन्तलाई बुझाउँदै पाटन गएका छन्।’ यो सिजनमा यार्साको कमाइले वर्षभरिको घरखर्च चल्ने भएकाले यहाँका स्थानीयमा पाटन जाने प्रतिस्पर्धा छ।
दुःख पर्दा कोही छैन
आठ वर्षमाथिका अधिकांश विद्यार्थी र गाउँका सबै युवा/युवती यार्सा टिप्न पाटन गएपछि पातारासी गाउँपालिकामा रहेका विद्यालय र गाउँ सुनसान छन्। जिल्लाका अन्य स्थानीय तहको तुलनामा पातारासी गाउँपालिका क्षेत्रबाट पाटन जानेको संख्या अत्यधिक छ। गाउँका सबै युवा/युवती पाटन लागेपछि सुनसान देखिने पातारासीका गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन्। हरेक विद्यालयका ७५ प्रतिशत विद्यार्थी पाटनमै छन्।
‘गाउँमा मर्दा–पर्दा सहयोग गर्ने तन्नेरी पुस्ता कोही छैनन्’, चौरगाउँका वृद्ध गोरबहादुर रावतले भने, ‘तर यो बेला घरकालाई मात्र होइन, पाटन गएकालाई समेत कोही–कसैको स्वास्थ्यमा केही नहोस्।’ पाटन क्षेत्रमा चल्ने हावाहुरी, चिसो र हिमपहिरोका कारण आफन्तको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
विद्यार्थीले निर्देशन टेरेनन्
यार्सा संकलनका लागि वैशाख अन्तिमतिर पाटन हिँडेका बालबालिकादेखि अभिभावक असार लागेपछि मात्रै घर फर्किने गर्छन्। हरेक वर्ष विद्यालय ठप्प पारी विद्यार्थी यार्सा टिप्न जान थालेपछि पातारासी गाउँपालिकाले विद्यार्थीलाई यार्सा टिप्न रोक लगाउने निर्णय गरेको थियो।
तर, त्यो निर्णय विद्यार्थी र अभिभावकले अस्वीकार गरिदिएका छन्। विद्यार्थी पाटन गएपछि पठनपाठन प्रभावित भएको छ। लामो समयसम्म विद्यार्थी पाटन बस्दा उनीहरूको शिक्षा तथा स्वास्थ्यमा असर परिरहेको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘विद्यार्थीले पाटनमा पैसा त कमाउँछन् तर पढाइ बिगारेर पैसाले उनीहरूको भविष्य नै अन्धकारतिर धकेलिँदै छ।’ उनका अनुसार पालिकाले यस विषयमा अभिभावकलाई समेत परिपत्र गरेको थियो।
प्रतिक्रिया दिनुहोस !