पत्रकार सम्मेलनमै डा. दम्पत्तिको घम्साघम्सी : श्रीमानको गलामा सल बेरेर तानेपछि .. (तस्बिरसहित)
वीरगन्ज : दाइजो नपाएको निहुँमा श्रीमतीलाई यातना दिएको आरोप लागेका डा. राजेश साहलाई श्रीमती डा. निलम साहले बुधबार पत्रकार सम्मेलनमै गाली गलौज र दुर्व्यवहार गरेकी छन्। गत आइतबार निलमले पत्रकार सम्मेलन गरेर दाइजोको निहुँमा आफ्ना श्रीमान् राजेशसहित सासू र ससुराले यातना दिएर घरबाट निकाल्ने प्रयास गरेको आरोप लगाएकी थिइन्।
सञ्चारमाध्यममा निलमले झुठा प्रचार गरेर आफूलाई बदनाम गरेको भन्दै बुधबार राजेशले आफ्ना कुरा राख्न पत्रकार सम्मेलन गरेका थिए। नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै प्रवेश गरेर निलमले राजेशलाई गाली गलौज गर्दै बोल्न नदिएकी हुन्।बोल्न खोज्दा निलमले राजेशलाई पटकपटक तानेपछि दुवैबीच घम्साघम्सी परेको थियो।उनीहरुको घम्साघम्सीले पत्रकार सम्मेलनस्थल नै केहीबेर तनावग्रस्त बनेको थियो।
पत्रकारले राजेशलाई कुरा राख्न दिन निलमलाई पटकपटक आग्रह गर्दा पनि आफ्नो सल श्रीमानको गलामा बेरेर लछारपछार पार्ने प्रयास गरेकी थिइन्।निलमले जबरजस्ती गरेपछि करिब आधा घण्टासम्म पत्रकार सम्मेलन तनावग्रस्त बनेको थियो।
झगडा नगरी आफ्ना कुरा राख्न आग्रह गर्ने पत्रकारमाथि नै निलम जाइलागेपछि सञ्चारकर्मीले निलमको व्यवहारप्रति आपत्ति जनाएका थिए।राजेशले विवाहको केही समय राम्रो सम्बन्ध भए पनि निलमले छोडेर केही वर्षदेखि नै अन्तै बसेको बताए।
‘बिहे पछिका १५ दिनमात्र निलम मेरो घरमा बसिन्’, राजेशले भने, ‘त्यसपछि एमबीबीएस अध्ययनका लागि उनी जानकी मेडिकल कलेज जनकपुर गइन्।अध्ययन सकेपछि काठमाडौं पुगिन्।उतै मामा र बुबासँग बसिन्।
उनले आफ्नो सम्बन्धबारे बताउँदै भने, ‘त्यस बेलासम्म म एमडी पढ्नका लागि चीन जानु पर्ने भयो।त्यसबेला मैले घरमै आएर बस भन्दा पनि उनले इन्कार गरिन्।त्यसपछि हाम्रो दूरी बढेको हो ।’
अध्ययनकै बीचमा राजेश चीनबाट घर फर्किदा निलमले पनि चीन जाने इच्छा देखाइन्।पत्रकार सम्मेलनमा सहकार्यबारे बताउदै राजेशले भने, ‘एमडी पढ्ने इच्छा देखाएपछि चीन जान राहदानी बनाइदिएँ।हामी दुवैजना एउटै प्लेनमा चिन उड्यौँ।प्लेन एउटै भए पनि उनी मसँग बसिनन्।चीनको एयरपोर्टमा झरेपछि पनि उनी एक्लै हिडिन्।चीनमा उनी उनकै आमासँग बसिन् ।’ राजेशका अनुसार उनी आमा रम्भादेवी अध्ययनका लागि चीनमै थिइन्।चीन अध्ययनको अवधिमा यो दम्पत्तीसँग एक पटक पनि भेट भएन।
चीनबाट एमडीको अध्ययन सकाएर नेपाल फर्किएपछि थप अध्ययनका लागि राजेश न्युजिल्यान्ड गए।अहिले पनि उनी त्यही अध्ययनरत छन्। न्युजिल्याण्ड गएको र अहिले पनि आफू त्यही अध्ययनरत रहेको राजेशले जानकारी गराए।‘म न्युजिल्याण्डमै रहेका बेला निलमले आफू घरेलु हिंसामा परेको।घरबाट निकालिएको झुठा उजुरी प्रहरीमा दिएको थाहा पाएपछि अध्ययन छोडेर नेपाल आएँ’, राजेशले भने, ‘घरमा निलमले बुबाआमालाई गाली गलौज गर्दै दुःख दिन थालेपछि गत माघ ९ गते मालपोतमा आफ्नो अशंको जग्गा लिएर छुट्टै बस्दै आएको छु ।’
छुट्टै बस्न थालेपछि निलमले घरेलु हिंसाको बनावटी उजुरी दिएको राजेशको आरोप छ।उजुरीपछि पटकपटक भएको छलफलमा पनि निष्कर्ष निस्कन नसकेपछि मानसिक पीडा खप्न नसकेर गत चैत १२ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएको र मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको राजेशले सुनाए।
अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा निलमले दुःख दिने योजनामा वैशाख १५ गते घरमा बस्ने, खाने वातावरण मिलाई घरेलु हिंसाबाट मुक्त गरी संरक्षात्मक आदेश पाऊँ भन्दै निवेदन दिएको राजेशले बताए।
‘त्यही निवेदनका आधारमा वैशाख १६ गते अदालतले अब आइन्दा घरबाट कुनै हिंसामा पारी निकाला नगर्ने भन्ने अन्तरिक आदेश दियो।तर, त्यही आदेशको आडमा निलमले वैशाख १९ गते बुबा बस्दै आएको माइस्थानको घरमा जबरजस्ती ताल्चा फोडेर पसिन्’, राजेशले भने, ‘अहिले उनी त्यही बस्दै आएकी छिन् ।’ 







प्रतिक्रिया दिनुहोस !