कोरोनाविरुद्ध संसदमा विशेष प्रस्ताव : कालोबजारीमा कडा कारबाही , संक्रमण रोक्न उच्च सतर्कता
काठमाडौं : शुक्रबार प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सक्रमणविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ।
नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन्। उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ ? भन्ने प्रश्न गर्दै यो प्रस्ताव पेश गरेका हुन्। थापाले अस्पतालको अवस्थामाथिसमेत प्रश्न गरेका छन्।
थापाले पेश गरेको जरुरी सार्वजनिक पस्तावको समर्थनमा सञ्चयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका छन्। संसदमा बोल्दै अधिकांश सांसदले संक्रमण रोक्न तयारी नहुँदा जनताको असन्तुष्टि बढेको बताएका छन्।
कोरोना संक्रमण बढ्दै जाँदा मास्को अभाव, कालोबजारीप्रति सरकारको ध्यानाकर्षण सांसदले गराएका छन्। कोरोनाप्रति सचेत हुन सरकारले नसकेको भन्दै सांसदले आपत्ति जनाएका छन्।
चीन र दक्षिण कोरियाजस्ता विश्वकै शक्ति देशलेसमेत नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल समयमै सचेत हुनुपर्ने सांसदको भनाइ छ। कोरोना रोक्न सरकार र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने सांसदको माग छ।
सांसद भीम रावल, रामकुमारी झाक्री, मेटमणि चौधरी, मीन विश्वकर्मा लगायतले कोरोनाविरुद्ध सरकारले तयारीमा जोड दिनुपर्नेमा जोड दिए।
संघीय सरकार मात्र नभएर प्रदेश सरकारसमेत संक्रमणबाट जोगिन सचेत हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस !