शव व्यवस्थापनमा अवरोध भएपछि गोरखामा लाठीचार्ज (फोटो र भिडियो)
गोरखा : कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध हुँदा लाठीचार्ज भएको छ। शनिबार बिहान कोरोनाकै कारण ज्यान गुमाएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको हो।
नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि शनिबार दिउँसो सहिद लखन गाउँपालिका-१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्।
शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको थियो। तनाव बढ्दै गएपछि अहिले लाठीचार्ज गरेको हो। असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो। 
सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ। तर, १५ घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका उनी मधुमेह रोगी भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी गराएको थियो। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !