पाल्पामा बढ्यो फूल खेती, तिहारमा स्थानीय फूलको माला
तानसेन : पहिला घर-घरमा मात्र प्रयोग हुँदै आएको फूल र मालाको पाल्पामा व्यवसाय सुरु भएको छ। माग बढेपछि पाल्पामा व्यवसायिक फूल खेती बढ्दै गएको हो।
घरयासी पूजाआजा, विवाह, वर्तबन्धको लागि मात्र प्रयोग हुँदै आएको फूल मालाको प्रयोग बढ्दै गएपछि पाल्पामा व्यवसायिक रुपमा फूल खेती बढेको हो। विगतमा पाल्पामा बाहिरी जिल्लाबाट फूल र माला आउने गरेको थियो। यो वर्ष भने जिल्लामा उत्पादित फूल र मालाले बजार धानेको छ।
व्यबसायिक फूल उत्पादनमा स्थानीय सरकारदेखि प्रदेश सरकारले विभिन्न किसिमको सहयोग गरेकोले यसतर्फ आर्कषण बढेको हो। स्थानीय सरकारको सहयोगपछि तानसेनका महिलाले पुष्प महिला समुह गठन गरी फूल खेती गर्दै आएका छन्।
फूल खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भए पनि यस वर्ष बेमौसमी वर्षाले फूलमा क्षति पुर्याउँदा २० हजार मालाको माग आए पनि बिक्री गर्न नपाएको पुष्प महिला समुहकी अध्यक्ष प्रतिक्षा गाहा सिंजालीले बताइन्। समुहले प्रति माला एक सय रुपैयाँमा बिक्री गर्दै आएको छ।
तानसेनका नगरपालिको प्रत्येक वडा वडामा पुष्प महिला समुहले फूल खेती गर्दै आएको छ। गाउँघरको खेतबारी, कान्लामा फूल खेती फष्टाएको छ। फूल र मालाको अडर राम्रो आएकोले ७० प्रतिशत फूल तिहारमै बिक्री हुने तानसेन १० की फूल खेती कृषक सितादेवी आलेले बताइन्।
पाल्पाको रामपुर, मागागढीको सराइ, बगनासकालीको आर्यभञ्ज्याङ्ग क्षेत्रमा व्यवसायिक रुपमा फूल खेती हुँदै आएको छ। मर्दा पर्दादेखि मानिसका हरेक शुभ कार्यमा फूल र मालाको प्रयोग बढ्दै गएकोले पुष्पखेतीमा स्थानीय सरकार चासो दिएका छन्। पाल्पामा चिसो मौसम भएकोले १२ महिना फूल खेती गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !