कांग्रेसमा गुटै गुटको जञ्जाल
काठमाडौं : कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदै छ। तर, अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन। जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति।
कांग्रेसमा मुख्य गरी दुई गुट छन्– सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका। देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला। देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन्। पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ। कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवारको प्रतिनिधि पात्र मात्रै अगाडि उभ्याइदिए पनि जिताउन मरिमेट्छन्। देउवा पक्षबाट अलग्गिएर विमलेन्द्र निधिले आफ्नै गुट बनाएका छन्।
विश्लेषक कृष्ण खनाल कांग्रेसको राजनीति १४औं महाधिवेशनमा देउवा र पौडेलमा गएर नरोकिने बताउँछन्। ‘जति गुट बढ्छन् त्यति नै तिक्तता पार्टीमा देखिन्छ। पार्टी फुट्ने खतरा बढ्न सक्छ’, विश्लेषक खनाल भन्छन्, ‘१४औं महाधिवेशनमा आइपुग्दा दोस्रो पुस्ताका नेतालाई कार्यकर्ताले रुचाएको देखिन्छ। यद्यपि, युवाले आफू पदाधिकारीमा लड्ने आँट नगरे पनि वैकल्पिक नेतृत्व खोजेको देखिन्छ।’
कांग्रेसको राजनीति १४औं महाधिवेशनमा देउवा र पौडेलमा गएर रोकिँदैन। जति गुट बढ्छन् त्यति नै तिक्तता पार्टीमा देखिन्छ। पार्टी फुट्ने खतरा बढ्न सक्छ।
– कृष्ण खनाल, विश्लेषक
बहुदलीय व्यवस्था पुन:स्थापनापछि प्रतिबन्धकालको गुटबन्दी फेरि देखियो। नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच मतभेद थियो।
– पुरञ्जन आचार्य, नेता, कांग्रेस
गुटले पदप्रतिको मोह बढेको प्रष्ट हुन्छ। जो शक्तिमा हुन्छ त्यो गुट झन बलियो लाग्छ। यो संस्कार भने राजनीतिमा खराब छ।
– देवेन्द्रराज कँडेल, केन्द्रीय सदस्य, कांग्रेस
भारतको कलकत्तास्थित महावीर शमशेरको टाइगर प्यालेसमा २००६ चैत २७ गते पार्टी स्थापना हुँदा नै ‘गुटहरूबीचको मिलन’ भनी व्याख्या गरिएको थियो। त्यति बेला बीपी कोइराला र डिल्लीरमण रेग्मी ‘दुई गुट’ मिलेर नेपाली कांग्रेस पार्टी स्थापना भएको कांग्रेसकै पुराना नेता बताउँछन्। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि नै कोइराला र रेग्मीले गुट चलाएका थिए।
गुटकै कारण दुईपटक ठूला विभाजन खेप्नुपर्यो। दुवै पटक कांग्रेसले नै सरकारको नेतृत्व गरेको थियो। पहिलो पटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने बीपी कोइराला पार्टी सभापति। दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने गिरिजाप्रसाद कोइराला सभापति। कोइराला २०५७ सालमा पोखरामा भएको १०औं महाधिवेशनमा देउवालाई पराजित गरी सभापति भएका थिए।

जति बेला माओवादी द्वन्द्व चरम अवस्थामा थियो। पार्टीले देउवालाई २०५९ सालमा संकटकाल नथप्न निर्देशन दियो। देउवाले निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए। केन्द्रीय कार्यसमितिमा कोइराला बहुमतमा थिए। उनले पार्टी बैठक राखेर देउवालाई कारबाही गरे। देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफूनिकट कार्यकर्ताको भेला गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनको घोषणा गरे। त्यति बेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्कालगायत नेताले साथ दिए।
त्यसको पाँच वर्षपछि दुवै कांग्रेसबीच एकता भयो र कोइराला नै सभापति कायम रहे।
कांग्रेस नेता पुरञ्जन आचार्यका अनुसार २००७ सालको क्रान्तिलगत्तै पार्टीमा मातृकाप्रसाद कोइराला र बीपी गुट देखियो। सहोदर दाजुभाइ मातृका र बीपीबीचको गुटबन्दीले अन्तत: पार्टी विभाजन नै भयो। तर, त्यसपछि कायम गरेको एकताका कारण कांग्रेस २०१५ सालको आमचुनावमा विजय हुन सफल भएको थियो। तर, ०१७ साल पुस १ मा पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो। तर, प्रतिबन्धकालमा पनि बीपी र सुवर्णशमशेर राणा गुट देखापरे।
‘बीपी र सुवर्णबीच प्रजातान्त्रिक संघर्षको सञ्चालन, राष्ट्रिय मेलमिलापको नीति, राजासँग सम्बन्धका विषयमा मतान्तर देखिँदै आएको थियो’, आचार्य भन्छन्, ‘बहुदलीय व्यवस्था पुन:स्थापनापछि प्रतिबन्धकालको गुटबन्दी फेरि देखियो। नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच मतभेद थियो।’
कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका अनुसार नेताहरूबीच बोलचालै छैन भनिन्थ्यो। ‘कार्यकर्तामा भ्रम हुन्थ्यो। उहाँहरू आपसमा भने सँगै बस्ने फोटो खिच्ने पनि गर्नुहुन्थ्यो’, नेता कँडेल भन्छन्, ‘गुटले पदप्रतिको मोह बढेको प्रष्ट हुन्छ। जो शक्तिमा हुन्छ त्यो गुट झन बलियो लाग्छ। यो संस्कार भने राजनीतिमा खराब छ।’
गुटकै कारण सिंह र भट्टराई पार्टी परित्याग गर्ने अवस्था आयो। यस्तै गिरिजा र देउवाबीच पनि गुटगत लडाइँकै कारण पार्टी विभाजन हुन पुग्यो। बीपीको निधनपछि देखिएका तीन गुट भट्टराई रहुन्जेल यथावत रह्यो। तर, सुशील कोइरालाको निधनपछि कांग्रेसमा तीन गुट प्रस्ट रूपमा सतहमा आएका छन्। ती हुन् देउवा, पौडेल र सिटौला गुट।
०००
१३ महाधिवेशनबाट छानिएका नेतृत्व
पहिलो महाधिवेशन : २००३ माघ १२–१३ (भारतको कलकत्ता)
भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिवेशन मान्दै आएको छ। तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्य सभापति र विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति निर्वाचित भएका थिए। जति बेला पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो। त्यति बेलादेखि नै कोइराला र रेग्मी गुट थिए।
दोस्रो महाधिवेशन : २००४ माघ २०–२२ (भारतको वनारस)
दोस्रो महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भए। तर, उनी हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइएको थियो। बीपी कोइराला त्यही वर्ष भदौमा जेलमुक्त भए। उनी पुन: कार्यवाहक सभापति पदमा फर्कन चाहन्थे। तर, एक वर्षका लागि चुनिएका रेग्मीले पद त्याग गर्न अस्वीकार गरे। बीपीले २८ असोज २००४ मा आफू नै कार्यवाहक सभापति भएको घोषणा गरे।
रेग्मी त्योभन्दा एक कदम अगाडि बढे। उनले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे र आफैं सभापति भएको घोषणा गरे। त्यसपछि मात्र पार्टीको एउटै नाम नेपाली कांग्रेस राखिएको हो।
तेस्रो महाधिवेशन : २००५ फागुन १८ (भारतको बिहार)
दरभंगामा सम्पन्न महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने। त्यति बेला पनि बीपी कोइराला हिरासतमै थिए। बालचन्द्र शर्मा पार्टीको प्रधानमन्त्री भए।
चौथो महाधिवेशन : २००६ चैत १७ (भारतको कलकत्ता)
नेपाली राष्ट्रिय कांग्रेस र २००४ साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भयो। एकीकरणसँगै कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो। महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो। उक्त महाधिवेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गर्यो।
पाँचौं महाधिवेशन : २००९ जेठ १०–१३ (जनकपुर)
यो महाधिवेशनबाट विश्वेश्वरप्रसाद कोइराला सभापति चयन भए। सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा सम्पन्न महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महावीर शमशेरलगायत नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो।
छैटौं महाधिवेशन : २०१२ माघ (वीरगन्ज)
छैटौं महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति निर्वाचित भए। यो महाधिवेशनले औपचारिक रूपमा समाजवादलाई अंगालेको थियो।
विशेष महाधिवेशन : २०१४ साल (विराटनगर)
आन्तरिक विवादका कारण २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो। यो विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्री तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो।
सातौं महाधिवेशन : २०१६ वैशाख २५–३१ (काठमाडौं)
काठमाडौंमा सम्पन्न महाधिवेशनले बीपी कोइरालालाई पुन: सभापति बनायो। तर २०१७ पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए। तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टीहरू बाधक भएको भन्दै ०१७ पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गरे।
आठौं महाधिवेशन : २०४८ माघ ३ (झापाको कलवलगुडी)
यो महाधिवेशनबाट कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए। गिरिजाप्रसाद कोइराला महामन्त्रीमा निर्वाचित भए। त्यस बेला दुई पक्षलाई मिलाउने पक्षमा गणेशमान सिंह थिए। उक्त महाधिवेशनमा स्टेज काण्ड भएको थियो। गणेशमान स्टेजबाट लडेका थिए। तत्कालीन समयमा खुबै चर्चाको विषय पनि भएको थियो।
नवौं महाधिवेशन : २०५३ (काठमाडौं)
यो महाधिवेशनमार्फत गिरिजाप्रसाद कोइरालाले कांग्रेस सभापतिको नेतृत्व पाए।
१० औं महाधिवेशन : २०५७ (पोखरा)
१० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला नै सभापति निर्वाचित भए।
११ औं महाधिवेशन २०६२ (ललितपुर)
११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला नै सभापति बने।
१२ औं महाधिवेशन : २०६७ असोज १–५ (काठमाडौंको भृकुटीमण्डप)
यो महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गरी सुशील कोइराला सभापति बने।
१३ औं महाधिवेशन : २०७२ फागुन २०–२३ (काठमाडौंको भृकुटीमण्डप)
१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापति निर्वाचित भए। त्यसपछि पाँचौं पटक मिति सारेर १४ औं महाधिवेशन हुन लागेको हो।
०००
महाधिवेशनको उद्घाटन आज
कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन सत्र छ। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। यद्यपि, नेतृत्वले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
कांग्रेसको महाधिवेशनकै पूर्वसन्ध्यामा बिहीबार केन्द्रीय कमिटीको बैठक बसेको थियो। विधान संशोधन गरी पदाधिकारी बढाउने प्रस्तावसमेत तयार भएको हुँदा यो बैठकलाई चासोका साथ हेरिएको थियो। यद्यपि, बैठकमा केही नेता अनुपस्थित रहेकाले मूल मुद्दाले प्रवेश पाएन। संस्थापन पक्षका एक नेताका अनुसार संस्थापन पक्षले विधान संशोधन गरेर पदाधिकारी थप गर्ने तयारीमा थियो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस हुन सकेन।
तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्री र उपसभापतिको संख्या थप्न एजेन्डा अघि लगेको भए पनि उक्त विषयमा छलफल हुन पाएन। संस्थापन समूह र संस्थापनबाहेकका केही नेताहरूले आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए।
कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १÷१ महिलासहित २१ जना आउने छन्। कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।
संस्थापन र संस्थापनबाहेक समूहको सहमति नजुटेकाले पदाधिकारीको एजेन्डा अघि बढ्न नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बिहीबारको बैठकमा कांग्रेसका शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरूको उपस्थिति थिएन।
०००
टिम घोषणा गर्न उभिएका सिटौला रोकिए
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बिहीबार उनको सम्पर्क कार्यालय गौशालामा टिम घोषणा गर्न ‘आफू जहाँ उभिन्छु काँंग्रेस त्यहीं उभिने’ बताएका छन्। बिहीबार गौशालामा टिम घोषणा गर्न आफूनिकटका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटमा उनले भने, ‘म जहाँ छु त्यहीं कांग्रेस हुन्छ।’ उनले भने, ‘हामी पार्टीको १३औं महाधिवेशनमा सानो समूहमा थियौं। तर, अहिले देशभरी झांगिएको छ।’ उनले आफूसँग लागेका सहकर्मीहरूलाई स्थापित गरेर मात्र आफूले विश्राम लिनेसमेत बताएका छन्।
टिम बनाएर महाधिवेशनमा लड्ने बताउँदै आएका सिटौलाले आफ्नो समूह भने शनिबार मात्र निर्माण गर्ने भएका छन्। उनले आफ्नो समूहको सबै जिम्मेवारी युवा नेता प्रदीप पौडेललाई दिएको बताए। यद्यपि, पौडेलले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !