कांग्रेसका ‘शेर’
काठमाडौं : कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राजधानीमा जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा देउवाले दोस्रो पटक जितेका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार पाँचौं पटक प्रधानमन्त्री रहेका देउवाले २ हजार ७ सय ३३ (५९.२२ प्रतिशत) मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ (४०.७७ प्रतिशत) मत प्राप्त गरेका छन्। ४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ।
पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। त्यसपछि डा. कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए। पहिलो चरणमा जित्न उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपथ्र्यो। त्यसरी मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार दोस्रो चरणमा निर्वाचन भएको हो।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला कांग्रेसको राजनीतिमा पहिलो पुस्ता मानिन्छन्। दोस्रो पुस्ताका रूपमा कांग्रेसभित्र थुप्रै नेता जन्मिए। तर, शेरबहादुर देउवा मात्र जहिल्यै ‘शेर’ बनिरहेका छन्।
समकालीन नेताहरू राजनीतिबाटै अलग भइसकेका बेला देउवाले १३औं महाधिवेशनबाट कोइराला परिवारको विरासत अन्त्य गरे। पार्टीको नेतृत्व खोसेर आफ्नो हातमा लिए। त्यसलाई जोगाउँदै १४औं महाधिवेशनबाट पुन: चार वर्षका लागि सभापति निर्वाचित भएका छन्। संयोग नै मान्नुपर्छ, १३औं महाधिवेशनमा झैं यसपटक पनि पहिलो चरणबाट नभई दोस्रो चरणको निर्वाचनबाटै देउवा सभापति बनेका हुन्।
देउवा कम बोल्ने तर स्पष्ट वक्ता मानिन्छन्। कसैलाई नहोच्याउने र सबैलाई सम्मान गरी अघि बढ्ने स्वभाव र शैलीकै कारण दोस्रो पुस्तामा देउवा मात्र सरकार र पार्टीको कार्यकारी पदमा पुग्न सफल भएको कांग्रेस नेताहरू बताउँछन्। ‘उहाँसँग राजनीतिमा सबैलाई एकीकरण गरेर लैजान सक्ने क्षमता छ’, देउवालाई नजिकबाट चिन्ने नेता रमेश लेखक भन्छन्, ‘कुन साथीभाइलाई कुन स्थानमा मिलाएर सबैलाई समेटेर लैजान सकिन्छ त्यो ठाउँ उहाँले नयाँ बनाएरै भए पनि सबैलाई एक जुट हुने वातावरण मिलाउन सक्नुहुन्छ। यो नै उहाँले पाउने सफलताको मूल सूत्र हो।’
देशसँगै पार्टीलाई अघि बढाउँछु भन्ने एजेन्डा अघि सारेरै फेरि चुनाव जितेका देउवाका चुनौती भने बग्रेल्ती छन्। डडेलधुराको असीग्राममा २००३ सालमा जन्मिएका देउवाले विद्यार्थी जीवनबाटै कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्रावि, निम्न माध्यमिक शिक्षा महेन्द्र मावि र माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका हुन्।

एसएलसीपछि उच्च शिक्षा लिन काठमाडौं आए। २०२१ सालमा त्रिचन्द्र कलेजमा भर्ना भए। त्रिचन्द्र कलेजबाटै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए। सानैदेखि निडर स्वभावका देउवाले विद्यार्थीको हकहितका लागि कलेजमा भिड्ने नै गर्थे।
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरे। उनी २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको प्रथम निर्वाचित सभापति बने। संघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिक जीवनलाई सशक्त रूपमा अगाडि बढाए। देउवाले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
उनी १९ वर्षको हुँदा अर्थात् २०२२ सालदेखि नै कांग्रेसको राजनीतिमा आबद्ध भएका हुन्। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाए। उनलाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए।
पञ्चायतविरोधी राजनीति गर्दा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताए। त्यस्तै तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि देउवामाथि भ्रष्टाचार अभियोग लगाइएको थियो। त्यस बेलासमेत उनी केही समय जेल परेका थिए।
उनी २०४६ सालको जनआन्दोलनदेखि सुदूरपश्चिम क्षेत्रमा अहिलेसम्मै राजनीतिक प्रमुखको भूमिकामा छन्। २०४८ सालमा डडेलधुराबाट सांसद बने। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने। २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता बने। एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि २०५२ सालमा पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बने।
राजनीतिको धेरै उतारचढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा किसुनजी र गणेशमान सिंहको प्रत्यक्ष/अप्रत्यक्ष साथ पाए। कोइराला परिवारले राजनीतिमा अघि बढाएका देउवाले पार्टीको १०आंै महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई नै नेतृत्वमा चुनौती दिए। २०५७ सालमा भएको उक्त महाधिवेशनमा देउवा कोइरालाविरुद्ध सभापति उठे। तर, पराजित भए।
देउवा सबैभन्दा धेरै मन्त्री सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए। त्यो पूरा नभएको भन्दै त्यही वर्ष फागुन १ गतेदेखि माओवादीले सशस्त्र विद्रोह सुरु गरेको थियो।
त्यस बेलासम्म देशमा माओवादी युद्धले पकड जमाइसकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो। एमालेले ५७ दिनसम्म संसद् घेराउ गरेको थियो। जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा राजीनामा दिए। त्यसपश्चात् फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुन: कांग्रेस संसदीय दलका उम्मेदवार बने। सुशील कोइरालालाई हराएर उनी नेता भए। संसद्मा पार्टीको बहुमत भएकाले उनी दोस्रो पटक प्रधानमन्त्री भए।
डडेलधुराबाटै २०५६ सालमा निर्वाचित देउवा २०५८ साउनमा दोस्रो पटक प्रधानमन्त्री बन्न पुगे। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई प्रधानमन्त्री पदबाट निकाले।
गिरिजाप्रसाद कोइरालासँगको द्वन्द्वका कारण उनले २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ जेठमा देउवालाई फेरि प्रधानमन्त्री बनाए। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते ‘शाही कू’ गरी सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए। त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो। केही समयमै सर्वोच्च अदालतले उक्त आयोग नै खारेज गरिदिएपछि उनी छुटेका थिए।
२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको पार्टी पुन: नेपाली कांग्रेसमा एकीकृत भयो। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री बने। उनकै पालामा नेपालमा नयाँ संविधान लागू भएपछिको पहिलो आमनिर्वाचन सम्पन्न भएको थियो।
२०७२ फागुनमा भएको १३औं पार्टी महाधिवेशनबाट सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता रहेका थिए। कांग्रेसको राजनीतिमा पाँच दशकपछि र ७० वर्षको उमेरमा २०७२ सालको १३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेस सभापतिमा विजय भएका थिए।
उनी काठमाडौं बूढानीलकण्ठमा बसोबास गर्दै आएका छन्। १४औं महाधिवेशनमा आरजू राणा केन्द्रीय सदस्यकी उम्मेदवार छिन्। उनी देउवासँगै राजनीतिमा छन्। छोरा जयवीरसिंह देउवा लन्डनबाट पढाइ सकेर देउवालाई नै अदृश्य रूपमा सघाइरहेका छन्। जयवीर पनि क्षेत्रीय प्रतिनिधि जितेका छन्।
देउवाबारे नेपाली राजनीतिमा अनेक चर्चा हुने गर्छन्। विशेष गरी ०४७ सालको परिवर्तनपछि देउवा राजनीतिक चर्चा र विवादको केन्द्र भागमा रहँदै आएका छन्। देउवाको ‘सेक्रेट’ नै यही हो कि उनको खल्तीमा सीमान्तकृतदेखि एलिटसम्मका मुद्दा, आशा र मागपत्र छन्। मधेसी, पहाडे र खस सबैका मागपत्र हुने गर्छन्। देउवाले विगतमा आफू प्रधानमन्त्री भएका बेला जनजाति आयोग, दलित आयोग, कमैया मुक्ति, भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरी समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कर्णालीका जनताको हितमा महत्वपूर्ण काम गरे।
नेता पूर्णबहादुर खड्का भन्छन्, ‘सुदूरपश्चिमको क्षेत्रीय धरातल र जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउन उहाँ सफल हुनुहुन्छ।’
देउवा बीपीजस्तै राजाबाट गलहत्याइएका पात्र हुन्। उनलाई चिन्ने अति नजिकैका नेता, पत्रकार र विश्लेषक समग्रमा देउवा निकै रमाइला नेता मान्छन्। धेरै बोल्दैनन्। आफूले बोलेको अरूले बुझ्दैनन् भन्नेमा उनी सचेत छन् र थोरै बोल्छन्। तर, उनी हक्की स्वाभावका छन्। आफूसँग नजिक भएका नेता तथा कार्यकर्तालाई सार्वजनिक कार्यक्रम तथा सभा समारोहमा पनि झपार्न, गाली गर्न पछि पर्दैनन्।
नेता बालकृष्ण खाँण भन्छन्, ‘उहाँको बानी नै हो झर्किने। कुनै दिन नझर्की बोल्नुभयो भने पनि हामिलाई अचम्म लाग्छ। उहाँको अचम्मको बानी भने उहाँ कसैलाई पनि छुटाउन चाहनुहुन्न। पार्टीका साथीहरू एकजुट भएरै जाउँ भन्ने उहाँलाई छ।’
निकटस्थका अनुसार देउवा निकै दिलदार र सहयोगी छन्। कुनै कुरामा हठ राखेर बस्दैनन्। समयअनुसार आफूलाई परिवर्तन गर्न सक्ने नेता मानिन्छन्। देउवा शास्त्रीय राजनीतिज्ञ होइनन्, व्यावहारिक राजनीतिज्ञ हुन्। यही कारणले उनी पार्टीभित्र रामचन्द्र पौडेलभन्दा सफल मानिन्छन्। १४औं महाधिवेशनमा कोइराला पक्षका डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायतलाई साथमा लिएर हिँड्न सफल भए।
उनी डडेलधुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। गत असार २९ गते उनी पाँचौं पटक प्रधानमन्त्री भएका हुन्। सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्यासनलको उपाध्यक्ष रहे। सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कुल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो लिने विद्यार्थीका रूपमा थिए। देउवाले भारत, कतार, चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्कटल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन्।
प्रतिक्रिया दिनुहोस !