नेपाली कांग्रेसको अर्को इतिहास

मैले इतिहासका धेरै पात्रहरूबारे जान्न पाएको छैन । तीमध्ये एक थिए, सूर्यप्रसाद उपाध्याय । रामेछाप पुख्र्यौली भएका काठमाडौंका ढुंगेल । नेपाली कांग्रेसको चार तारामध्ये एक तारा । ती तारा कांग्रेसको झन्डामा अझै छन् । सानैदेखि कांग्रेसको संगतमा रहँदा पनि गाउँतिरका नेताहरूले उनको नाम लिएको मलाई थाहा छैन । बीपी कोइरालाका किताबहरूमा उनको नाउँ सुन्न पाएको पनि हो । तर, त्यति ख्याल गरिएन । होला कुनै मान्छे भन्ने भयो । कति कांग्रेसीले त चिन्दा पनि चिन्दैनन् होला । उनीबारे जानकारी दिने पुस्तक हालै प्रकाशन भएको छ । पुस्तक हो, 'प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्वः सूर्यप्रसाद उपाध्याय' ।
पुस्तकमा उपाध्यायका परिचितहरूले उनीबारे सम्झना लेखेका छन् । आत्मसंस्मरण नभए पनि बीपी कोइरालाको 'जेल जर्नल, 'आत्मवृत्तान्त', गणेशमानका जीवनी, कृष्णप्रसादको 'मेरो म', गिरिजाप्रसादकै आत्मसंस्मरणकै निरन्तरतामा यो पुस्तकलाई राख्न सकिन्छ । पुस्तकले उपाध्यायको जीवनका विविध पाटाहरू उजागर त गर्छ नै । सूर्यप्रसाद मेलमिलापका प्रणेता हुन् भन्ने मूलबोली पनि बोल्छ ।
२००७ सालपूर्व राणाहरूसँग असन्तुष्ट दुई शक्ति थिए । एउटा प्रजातन्त्र कांग्रेस र अर्को राष्ट्रिय कांग्रेस । प्रजातन्त्र कांग्रेसमा राणाजी, शाहजीहरू पनि थिए । सुवर्णशमशेर, महेशविक्रम शाह सूर्यप्रसाद आदि थिए । अर्को राष्ट्रिय कांग्रेस जसमा बीपी, गणेशमान, कृष्णप्रसाद आदि थिए । यी दुई पृष्ठभूमिबाट आएका मान्छेको उद्देश्य भने समान थियो-राणाशासन उन्मूलन । समान उद्देश्यले नै दुई पार्टीबीच एकता भई नेपाली कांग्रेसको स्थापना भएको थियो । एकीकृत कांग्रेसको गठनपछि पनि फरक पृष्ठभूमिबाट आएका एकले अर्कालाई शंका गर्थे ।
बीपीले सुवर्णशमशेर र सूर्यप्रसादको समूहलाई र त्यसैगरी सुवर्ण र सूर्यप्रसादले बीपी गणेशमानको समूहलाई । राजा महेन्द्र, सुवर्ण र सूर्यप्रसादलाई नजिक ठान्थे । कांग्रेसमा सुवर्ण र सूर्यप्रसादको प्रभाव होस् भन्ने चाहन्थे । त्यसैले २०१५ सालको चुनावअघि महेन्द्रले सुवर्णशमशेरलाई चुनाव गराउने चिफ मिनिस्टर (प्रधानमन्त्री सरह, २०६२/६३ पछि खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएजस्तै) बनाएका थिए । बीपीलाई यो मन परेको थिएन ।
त्यतिबेला भारतको नजिक कांग्रेसभन्दा राजा हुनुपर्छ किनभने राणालाई हटाउन राजा त्रिभुवन भारत पुगेका थिए । अर्कोतर्फ सूर्यबाबुहरू पनि भारतीय स्वतन्त्रता संग्राममा किदवाई (भारतीय स्वतन्त्रता आन्दोलनका नेता) मार्फत नेहरूसँग नजिक थिए, भने बीपी साना सोसलिस्ट पार्टीको नजिक । यी प्रसंग यो पुस्तक र बीपीको आत्मवृत्तान्तमा उल्लेख छ । यो पुस्तकका लेखकहरूले बीपी र सुवर्णशमशेरबारे धेरै प्रसंग कोट्याएका छन् । यसबाट पञ्चायतको सुरुवाती चरण पनि बुझ्न सकिन्छ । प्रजातन्त्र र पञ्चायतबीचको संक्रमणबारे थाहा हुन्छ ।
पुस्तक अनुसार बीपीले सूर्यप्रसादलाई सधैं शंकाले हेर्थे । उनले २०१५ सालमा सूवर्ण र सूर्यप्रसादलाई हराउन चाहेका थिए । काठमाडौं र रामेछाप दुई ठाउँबाट सूर्यप्रसादले हारे पनि । तर सुवर्णलाई भने हराउन सकेनन् । राजा महेन्द्र बीपीलाई चाहँदैनथे, मन पराउँदैनथे । बीपी पनि महेन्द्रसँग झुक्न खोज्दैनथे । यी दुई शक्तिबीचको टकरावबाट २०१७ सालको संक्रमण आएको हो भन्नेमा यो समय बुझेका मानिसको एउटै मतो छ ।
यो पुस्तकका लेखकहरूको तर्क छ, पञ्चायत सुरु भएपछि पनि प्रजातन्त्र आउन सक्थ्यो । राजा र कांग्रेस मिलेर जान सक्थे । राजाले त्यो बीपीबाट त्यस्तो आशा पनि गरेका थिए । तर बीपी अडिग भए । राजा र बीपीबीचमा मध्यस्थता गर्न सक्ने व्यक्ति सूर्यप्रसाद थिए । उनले त्यो प्रयास २०१८ सालदेखि नै गरेका हुन् । त्यही हुनाले राजाले सूर्यप्रसादलाई २०१७ सालको कु पछि तुरुन्तै छोडे । सुवर्ण भारत पसे । गिरिजाप्रसादलाई २०२२ सालमा पनि छोडे । पछि, सूर्यप्रसादको पहलमा बीपीलाई पनि छोडे ।
सूर्यप्रसाद पञ्चायत सुधारेर प्रजातन्त्र ल्याउन चाहन्थे । तर बीपीको अडानले राजा र कांग्रेस मिलेर प्रजातन्त्र आउन सकेन । त्यसैले बीपीले सूर्यप्रसादलाई कहिले राणाको, कहिले भारतको, कहिले राजाको भन्थे । बीपीले लगाएको आरोपको पछाडि केही तर्क पनि हुन्थे । सूर्यप्रसादले राणाकालमा शिक्षा इन्सपेक्टरको जागिर खाएका थिए ।
राणालाई सुधार गर्दै प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सोच विफल भएपछि, जागिर छोडेर राणाको विरोधमा सुवर्ण शमशेरसँग मिलेर सशस्त्र क्रान्ति गरेका थिए । २००८ सालमा मातृका र बीपीबीच विवाद हुँदा र कांग्रेस टुक्रिँदा पनि सूर्यप्रसादले बीपीको साथ दिएका थिए । उनी भारतीय स्वतन्त्रता संग्राममा नेहरूसँग सम्बन्ध बढाएका मान्छे थिए । २०१७ सालपछि उनी वरिष्ठ नेताहरूमा सबैभन्दा पहिला रिहा भए ।
पञ्चायतका ठूलठूला पदहरूलाई स्वीकार गरेनन् । तर सानो पद उनले स्वीकारेका थिए । पञ्चायतको किसान संगठनको सदस्य भएका थिए उनी । जनमत संग्रहमा उनी र बीपीको मेल नहुँदा पञ्चायतले बाजी मारेको थियो । त्यसैले सूर्यप्रसाद २००७ साल, २०१७ साल देखि २०३७ सालसम्मका एक महत्त्वपूर्ण द्रष्टा हुन् । यो इतिहासको किनारै किनार हिँडेका साक्षी हुन् ।
पुस्तकका लेखकहरूको तर्क छ-सूर्यप्रसाद जोसँग नजिक भए पनि वा सम्बन्ध बढाउन खोजे पनि उनले सधैं मेलमिलापको पक्षको राजनीति गरेका थिए । राणालाई पनि सुधारेर प्रजातन्त्र ल्याउन खोजेका थिए । राजा र बीपीबीचको लामो 'शीतयुद्ध' मा पनि मिलाउन खोज्ने व्यक्ति थिए । यो पहल उनले २०१८ सालदेखि नै गरेका थिए । बीपीले 'आत्मवृत्तान्त'मा लेखेका छन्, 'एक दिन गणेशमानले मलाई झपारे, सूर्यप्रसाद हामीलाई रिहा गर्न कति कोसिस गरिरहेका छन्, तपाईं भने सधैं शंका गर्ने ? '
यो पुस्तकमा लेखकहरूले सूर्यप्रसादको विद्वताको प्रशंसा गरेका छन् । लेनिन पढेर संगठन गर्न सिक भनेर कम्युनिस्ट नेताहरूलाई उनैले लेनिनका किताब सिफारिस गरेको विष्णुबहादुर मानन्धरले बताएका छन् । उनको लाइब्रेरीको प्रशंसा गरेका छन् । भारत र अमेरिकाबाट निस्कने प्रसिद्ध म्यागेजिनहरू उनको लाइब्रेरीमा आउँथ्यो । लोकराज बराललगायतका व्यक्तिले उनको लाइब्रेरीबाट किताब किनेर पढेको प्रसंग छ । लेखकहरूले उनी विद्वान हुनुका खासै महत्त्वपूर्ण तर्क दिएका छैनन् । तर लेखिएअनुसार बीपी कोइराला पनि उनैका कुरालाई उदाहरण बनाएर भाषण गर्थे । टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मीभन्दा विद्वतामा अब्बल थिए ।
उनको कूटनीतिक क्षमताको पनि प्रशंशा गरेका छन् । खासगरी भारतसँगको सम्बन्धबारे । भारतको इतिहासमा लामो इतिहास बोकेको धेरैजसो सत्तामा रहेको भारतीय कांग्रेसको नजिक बीपीहरू पुग्न सकेनन् । सानातिना समाजवादी दलहरूसँग मात्र आफ्नो हेमप्रेम बढाउन सके । सूर्यप्रसाद भारतको सत्ताधारीसँग नजिक हुन सके । त्यसैले पनि २०१५ सालमा दुई ठाउँबाट हार्दा पनि गृहमन्त्री हुन सके ।
पटना युनिभर्सिटीमा पढ्दा गुरुमार्फत भारतीय स्वतन्त्रता संग्रामका रफीअहमद किदवाईसँग उनको राम्रो सम्बन्ध थियो । उनैबाट नेहरू तथा गान्धी परिवारसँग उनको सम्बन्ध राम्रो बन्दै गयो । नेपालमा भारतीय दूतावासले उनको सम्मान गथ्र्याे । राजदूतहरू उनको घरमा आउँथे । रमेशप्रसाद ढुंगेलले यो प्रसँग उल्लेख गरेका छन् । उनका अनुसार जवाहरलाल नेहरू युनिभर्सिटीमा पीएचडीको निम्ति उनी काकामार्फत सूर्यप्रसादकहाँ गएका थिए ।
सूर्यप्रसादकहाँ भारतीय राजदूत आइरहन्थे । सूर्यप्रसादले भनेर रमेश ढुंगेलले जेएनयूमा पीएचडी गर्न पनि पाएका थिए । तर विभिन्न कारणले उनी गएनन् । अर्थात् सूर्यप्रसादलाई भारतीय संस्थापन पक्षले धेरैपछिसम्म पनि मान्यता राख्थ्यो । यता बीपीको सम्बन्ध चाहिँ भारतीय संस्थापन पक्षसँग भएन । विपक्षी पार्टीका जयप्रकाश नारायण आदिसँग भयो । यसले गर्दा पनि हुन सक्छ, बीपीले सूर्यप्रसादलाई भारतको नजिक, राजाको नजिकको भनेर शंका गर्ने कारण पनि यही थियो ।
मानिसहरू सूर्यप्रसादलाई मान्छेहरू राम्रो कूटनीति गर्न सक्ने व्यक्तित्वको रूपमा चिन्छन् । देशभित्र पनि उनी सुधार गर्दै प्रजातन्त्रमा देशलाई लैजाने सोच भएका व्यक्तिको रूपमा चिनिन्थे । त्यसकारण सत्ताको नजिकै रहेका थिए । २०१७ सालमा राजाले सैनिक कु गरेपछि पनि थोरै समय जेल बसे । बीपीले शंका गरे । तर उनले जेलबाहिर बसेर थुप्रै कांग्रेसीलाई छुटाउने प्रयास गरे । यसमध्ये गिरिजाप्रसाद पनि हुन् । बीपी गणेशमानलाई पनि उनैले जेलबाट छुटाउन पहल गरेका हुन् । तर बीपीले उनलाई शंका गर्न छोडेनन् ।
बीपीले सूर्यप्रसादलाई सधैं शंकाले हेर्थे । उनले २०१५ सालमा सुवर्ण र सूर्यप्रसादलाई हराउन चाहेका थिए । काठमाडौं र रामेछाप दुई ठाउँबाट सूर्यप्रसादले हारे पनि । तर सुवर्णलाई भने हराउन सकेनन् ।
लेखकहरूको भनाइ छ, २०१८ सालबाट नै उनले मेलमिलापको नीति लिएका हुन् । तर बीपीले नमान्दा त्यो सम्भव भएन । लोकराज बराल लेख्छन्ः 'जेलजर्नल लेख्दा राजा मान्दिनँ भन्ने, आत्मवृत्तान्त लेख्दा राजासँग घाँटी जोडिएको छ भन्ने बीपीले सूर्यप्रसादलाई सधैं अर्घेलो देखे । राजावादी भयो भने । बीपीको अर्घेल्याइँले नेपालमा प्रजातन्त्र संस्थागत हुन सकेन ।'
सुवर्णशमशेरले पार्टीलाई पालेका थिए । सूर्यप्रसादले कार्यकर्तालाई । उनीकहाँ ठूला नेतादेखि धेरै कार्यकर्ता जाने । कार्यकर्तालाई गर्जो टार्न पैसा पनि दिने गर्थे सूर्यप्रसाद । भने जति पैसा नपाए कार्यकर्ता रिसाएर पनि हिँड्ने । तर बीपीले त्यहाँ पनि शंका गर्ने कहाँबाट आयो यति धेरै पैसा ? उनीहरूको आशंका थियो भारतीय संस्थापनले दिन्छ कि ? लेखकहरू भन्छन्- भारतीय संस्थापनसँग उनको सम्बन्ध हुनु नराम्रो थिएन । उनको कूटनीतिक दक्षताको कारण त्यो भएको थियो । पदको लोभ लालचले होइन ।
यो पुस्तक र सूर्यप्रसादको जीवनको प्रयास अहिले पनि सान्दर्भिक छ । नेपाल दुई ठूला छिमेकीको बीचमा रहेको मुलुक भएकाले यहाँ सधैं 'मेलमिलाप' को राजनीति हुनुपर्छ भन्ने हो । एकले अर्कालाई अर्घेल्याइँ गर्दा कसैलाई पनि फाइदा हुँदैन भन्ने कुरा यो किताबले देखाउँछ । २००७ सालमा प्रजातन्त्र आउँदा पनि संस्थागत हुन नसक्नुमा एकले अर्काको सम्मान गर्न नसक्नु नै नेपाली इतिहासको दोष देखिएको छ । मेलमिलापको नीति नै नेपालको मूल नीति हुनुपर्छ, त्यसैले यो पुस्तक नेपाली राजनीतिमा महत्त्वपूर्ण छ ।
प्रतिक्रिया दिनुहोस !
