धरावासीको लीला प्रवचन
भरतपुर : मदन पुरस्कार विजेता आख्यानकार कृष्ण धरावासीले जीवन खेलजस्तै हो भन्ने बोध नहुँदा मानिसको जीवन तनावमा बित्ने गरेको बताएका छन् । चितवन साहित्य परिषद्ले शनिबार नारायणगढमा आयोजना गरेको 'लीलाबोध र धरावासीका आख्यान : सिद्धान्त र सिर्जनामाथि बहस' कार्यक्रममा बोल्दै आख्यानकार धरावासीले यस्तो बताएका हुन् ।
लीला लेखनबारे एक घन्टासम्म प्रवचन दिएका ५६ वर्षीय धरावासीले उपयोगिता, प्रयोग र अर्थले सत्य फरक हुने बताए । 'जसरी खेलमा सकेसम्म विपक्षीलाई हराउने मानसिकताले खेलाडीहरू खेल्छन् र खेल सकिएपछि सबै तिक्तता बिर्सन्छन्, त्यसरी नै हामीले पनि जीवनलाई खेलजस्तै हो भन्ने बोध गर्नुपर्छ', उनले भने, 'हामी सधैं जित्न खोज्छौं, हार्न तयार हुँदैनौं वा हार पनि हुन्छ भन्ने कुरा बिर्सन्छौं र तनावपूर्ण जीवन व्यतीत गर्छौं ।'
नेपाली साहित्यमा इन्द्रबहादुर राईले २०३४ सालमा भ्रान्तिबारे लेख लेखेपछि लीला लेखन सुरु भएको उनले बताए । 'लीला लेखनमा नायक धेरै हुन्छन् । सबैको भूमिका मुख्य हुन्छ', धरावासीले भने, 'प्रत्येक व्यक्ति आफ्नो जीवनको नायक हो । कुनै पनि विचार, दृष्टिकोण र वाद पूर्ण छैन ।' लेखकले विभिन्न आग्रह र पूर्वाग्रहबाट मुक्त हुने प्रयास गर्नुपर्ने बताउँदै धरावासीले यो लेख्छु, त्यो लेख्दिनँ भनेर लेखकले सेल्फसेन्सर गर्न नहुने धारणासमेत राखे ।
साहित्यका विभिन्न विधामा कलम चलाउनेले आफूलाई कमभन्दा कम भूमिकामा राख्नुपर्ने उनले बताए । विशालता र सूक्ष्मताको असीमिततालाई बुझेर म ठीक तँ गलत भन्ने अन्धताबाट लेखकहरू मुक्त हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा आख्यानकार धरावासीको व्यक्तित्वबारे प्रकाश पार्दै अर्का आख्यानकार अमर न्यौपानेले शोकको घडी होस् वा भोकको घडी, धरावासीले सबै अवस्थामा लेख्ने गरेको बताए । 'सुख, दुःख, पीडा, अभाव, प्राप्ति यी सबै अवस्थामा लेख्नसक्ने व्यक्ति हुनुहुन्छ धरावासी दाइ', न्यौपानेले भने ।
धरावासीलाई पारदर्शी लेखक भन्दै न्यौपानेले खुल्न सक्नु उनको शक्ति भएको उल्लेख गरे । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कार्यक्रममा आख्यानकार धरावासीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !