चीनसँग नेपालको प्रस्ताव : ‘केरुङ –काठमाडौं रेल अनुदानमा’

चीनसँग नेपालको प्रस्ताव : ‘केरुङ –काठमाडौं रेल अनुदानमा’

काठमाडौं : सरकारले केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा निर्माण गरिदिन चीनसमक्ष औपचारिक रूपमा प्रस्ताव राखेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूले भ्रमण क्रममा चिनियाँ पक्षसँग उक्त प्रस्ताव राखेको जानकारी दिएका हुन्।

पाँचदिने चीन भ्रमण सकेर शनिबार स्वेदश फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘हिमालय वारपार बहुआयामिक यातायात सञ्जाल विकासमा दुवै पक्षको समान धारणा बन्यो। सञ्जाल विकासका लागि हामीले द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा निर्माण गरिदिन प्रस्ताव गर्‍यौं।’

चीनले यसअघि नै केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी जोड्ने रेल निर्माणमा अभिरुची राख्दै आएको छ। मन्त्री ज्ञवालीले उनका चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्तामा रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिए। ‘सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र साझा समृद्धिका लागि बन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत र सञ्चार क्षेत्रमा काम गर्न दुवै देश सहमत भयौं’, उनले उल्लेख गरे।

त्यसैगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा द्विपक्षीय सम्बन्ध विस्तारका लागि जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा दुवै देश सहमत भएको जनाउँदै मन्त्री ज्ञवालीले भने, ‘बीआरआईअन्तर्गत परियोजना पहिचान गरी समयतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा हामीले जोड दियौं।’ उनले चीनलाई नेपालका प्राथमिकता अवगत गराएको बताए। उनले थपे, ‘हाम्रा प्राथमिकता यातायात सञ्जाल, अन्तरदेशीय विद्युत प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरमा सम्बन्ध विकास रहेको अवगत गरायौं।’

सम्झौता कार्यान्वयनमा जोड

चीनको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा नेपालले जोड दिएको छ। मन्त्री ज्ञवालीका अनुसार ती परियोजनाको सहजीकरणका लागि एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्न दुवै देश सहमत भएका छन्। उनले भने, ‘द्विपक्षीय संयन्त्रको बैठक यथाशीघ्र गर्ने र वार्ताका क्रममा रहेका सम्झौताहरूलाई यथाशीघ्र टुंग्याउन आपसी परामर्शलाई निरन्तरता दिइनेछ।’

द्विपक्षीय व्यापार

विदेशमन्त्रीस्तरीय प्रतिनिधिमण्डलसँगको भेटवार्तामा नेपाली पक्षले चीनसँग बढ्दै गएको व्यापार घाटा उल्लेख गर्दै चीनमा नेपालबाट निर्यात बढाउनुपर्ने आवश्यकतामा जोड दिइएको मन्त्री ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘चीनका विदेशमन्त्री वाङ यीले नेपाली उत्पादनलाई चीनमा राम्रो बजार पहुँच सुविधा दिने आश्वासन दिँदै चीनको खुलापन र सुधारबाट सिर्जित अवसरका फाइदा लिन नेपालसँग आग्रह गर्नुभयो।’

‘हिमालय वारपार बहुआयामिक यातायात सञ्जाल विकासका लागि हामीले द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा निर्माण गरिदिन प्रस्ताव गर्‍यौं।’
–परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्ताहरूसँग आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ। नेपालमा लगानीको वातावरण बन्दै गएको र सरकारले विदेशी लगानीलाई स्वागत गर्ने नेपाली पक्षको भनाइ थियो भने चिनियाँ लगानीकर्ताले लगानी प्रक्रिया सरल र सहज बनाउन आग्रह गरेका थिए।

द्विपक्षीय वार्ताकै क्रममा रसुवागढी–केरुङ र तातोपानी–झाङमु नाकाको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सुचारु गर्न आफूले आग्रह गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। उनले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने छलफल भए पनि मिति भने तय भइनसकेको दोहोर्‍याए। उनले भने, ‘मैले पहिले पनि भन्दै आएको छु, सन् २०१८ भित्रै दुई देशबीच उच्चस्तरीय भ्रमण हुन्छ तर मिति अझै निश्चित भइसकेको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.