‘बजारले सस्तो गीत रोज्यो’

‘बजारले सस्तो गीत रोज्यो’

करिब तीन दशकदेखि गीत लेखनमा कलम चलाइरहेका छन्, रमेश दाहाल (४१) । पेसाले इन्जिनियर दाहाल सानैदेखि गीत तथा कविता लेख्न रुचाउँथे । उनको ‘बालुवाको घर’ र ‘हिउँको फूल’ गीतिसंग्रह प्रकाशित छ । अहिलेसम्म करिब साढे आठ सय गीत रचेका गीतकार दाहालका दुई सय पचासभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनीसँग सपना महर्जनले गरेको कुराकानी : 

गीत लेखनमा कसरी लगाव बढ्यो ?

विद्यालय पढ्दादेखि नै गीत, कविताप्रति रुचि थियो । लोकगीत, गायन प्रतियोगितामा भाग लिँदा सधैं प्रथम हुन्थेँ ।

नारायणगोपाल, अरुणा लामा, भक्तराजका गीत सुन्दा आनन्दित हुन्थेँ । आफूले पनि लोकलय, आधुनिक पप गीत लेख्दा साथीहरूले हौसला दिन्थे । यसले गीत लेखनप्रति रुचि बढ्दै गयो ।

पढाइ र गीत लेखनलाई कसरी सँगै लानुभयो ?

मेरो पढाइ पनि राम्रै थियो । एसएलसीपछि म चरीकोटबाट काठमाडौं आएँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना हुँदा साहित्यप्रति झुकाव राख्ने साथीहरूसँग संगत बढ्यो । आफ्ना रचना उनीहरूलाई बेलामौकामा सुनाउँथेँ । पछि केही संगीतकारसँग चिनजान भएपछि गीत लेखनमा धेरै कमीकमजोरी नियाल्न पाएँ । लेख्ने हुटहुटी बढ्दै गयो ।

कस्ता विषयमा गीत लेख्न रुचाउनुहुन्छ ?

सामाजिक मुद्दा, मानव अधिकार, लैंगिक समानता, महिला अधिकार, भेदभाव, राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा कलम चलाउन मन पर्छ । विश्वव्यापी घटनाक्रमलाई समेटेर मैले ५० वटा अंग्रेजी गीतसमेत लेखेको छु । गीतसंगीतले समाजमा कस्तो प्रभाव छाड्छ भन्ने विषयमा सचेत हुन्छु ।

 पहिलो गीत रेकर्डको दिनलाई कसरी सम्झनुहुन्छ ?

यशोदा पराजुलीले गाउनुभएको ‘फेरि तिम्रो सम्झना’ बोलको मेरो पहिलो गीत रेकर्ड हुँदा खुसीको सीमा थिएन । आफ्नो सिर्जनाको आफैं कतिसम्म फ्यान भएँ भने रातभर सोही गीत सुनिरहँे ।

 गीत लेख्दा पनि मुड चाहिन्छ ?

चाहिन्छ नि । आफैं दुःखी हुँदा गीत लेख्न सकिन्न । म त ट्रेजेडी गीतहरू पनि ह्यापी मुडमा लेख्छु । आफ्नो पीर व्यथाभन्दा पनि अरूको कथामा गीत बनाइन्छ । लेख्छु नै भनेर निश्चित योजना बन्दैन । हिँड्दाहिँड्दै मनमा फुरेका शब्द मोबाइलमै भए नि टाइप गर्छु ।

 गायक गायिकाले स्टेजमा गाएको राम्रै पारि श्रमिक लिइरहेका छन् । सर्जक ओझेल परेजस्तो लाग्दैन ?

लाग्छ । सर्जक ओझेल पर्दा दुःख लाग्छ । अचेलका गायकलाई त झन् कन्सर्टमा दर्शक उफार्ने गीत चाहिन्छ । यस्ता गीतमा साहित्यिक वजन पनि हुँदैन । गीतकारहरू यस्ता गीत मन नलागी नलागी लेख्न बाध्य छन् ।

 यसको मतलब अहिलेका गीत बजारमुखी छन् ?

हो, अहिले साहित्यिक चेत भएका विम्बात्मक गीत कमै बन्छन् । गीत रचनामा पनि कुनै सेन्सर छैन । सर्जकहरू पनि सेल्फसेन्सर गर्दैनन् । गीतमा छाडापन मौलाएको प्रस्टै देखिएको छ । मौलिक पर्वका रूपमा मनाइने तीज गीतसमेत परिवारसँगै बसेर हेर्ने, सुन्ने अवस्था छैन । म्युजिक उद्योगमा एक खेमाका व्यक्तिहरू जस्तोसुकै गीत बनाउनुपर्ने पक्षमा छन् । सायद अहिलेको बजारले नै सस्तो गीत रोज्यो ।

 कस्तो किसिमको गीत बन्नुपथ्र्यो त ?

सबैभन्दा पहिले त गीत लेख्न पनि अध्ययन आवश्यक छ भन्ने भुल्नु हुँदैन । बजारकेन्द्रित गीत केही समयका लागि आउँछन् जान्छन् । तर भूगोल, सामाजिक, सांस्कृतिक पक्ष बुझेर कोरिएका गीत नै पछि कालजयी हुन्छन् । गीतले तत्कालीन परिवेश बुझाउने क्षमता राख्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.