‘बजारले सस्तो गीत रोज्यो’
करिब तीन दशकदेखि गीत लेखनमा कलम चलाइरहेका छन्, रमेश दाहाल (४१) । पेसाले इन्जिनियर दाहाल सानैदेखि गीत तथा कविता लेख्न रुचाउँथे । उनको ‘बालुवाको घर’ र ‘हिउँको फूल’ गीतिसंग्रह प्रकाशित छ । अहिलेसम्म करिब साढे आठ सय गीत रचेका गीतकार दाहालका दुई सय पचासभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनीसँग सपना महर्जनले गरेको कुराकानी :
गीत लेखनमा कसरी लगाव बढ्यो ?
विद्यालय पढ्दादेखि नै गीत, कविताप्रति रुचि थियो । लोकगीत, गायन प्रतियोगितामा भाग लिँदा सधैं प्रथम हुन्थेँ ।
नारायणगोपाल, अरुणा लामा, भक्तराजका गीत सुन्दा आनन्दित हुन्थेँ । आफूले पनि लोकलय, आधुनिक पप गीत लेख्दा साथीहरूले हौसला दिन्थे । यसले गीत लेखनप्रति रुचि बढ्दै गयो ।
पढाइ र गीत लेखनलाई कसरी सँगै लानुभयो ?
मेरो पढाइ पनि राम्रै थियो । एसएलसीपछि म चरीकोटबाट काठमाडौं आएँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना हुँदा साहित्यप्रति झुकाव राख्ने साथीहरूसँग संगत बढ्यो । आफ्ना रचना उनीहरूलाई बेलामौकामा सुनाउँथेँ । पछि केही संगीतकारसँग चिनजान भएपछि गीत लेखनमा धेरै कमीकमजोरी नियाल्न पाएँ । लेख्ने हुटहुटी बढ्दै गयो ।
कस्ता विषयमा गीत लेख्न रुचाउनुहुन्छ ?
सामाजिक मुद्दा, मानव अधिकार, लैंगिक समानता, महिला अधिकार, भेदभाव, राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा कलम चलाउन मन पर्छ । विश्वव्यापी घटनाक्रमलाई समेटेर मैले ५० वटा अंग्रेजी गीतसमेत लेखेको छु । गीतसंगीतले समाजमा कस्तो प्रभाव छाड्छ भन्ने विषयमा सचेत हुन्छु ।
पहिलो गीत रेकर्डको दिनलाई कसरी सम्झनुहुन्छ ?
यशोदा पराजुलीले गाउनुभएको ‘फेरि तिम्रो सम्झना’ बोलको मेरो पहिलो गीत रेकर्ड हुँदा खुसीको सीमा थिएन । आफ्नो सिर्जनाको आफैं कतिसम्म फ्यान भएँ भने रातभर सोही गीत सुनिरहँे ।
गीत लेख्दा पनि मुड चाहिन्छ ?
चाहिन्छ नि । आफैं दुःखी हुँदा गीत लेख्न सकिन्न । म त ट्रेजेडी गीतहरू पनि ह्यापी मुडमा लेख्छु । आफ्नो पीर व्यथाभन्दा पनि अरूको कथामा गीत बनाइन्छ । लेख्छु नै भनेर निश्चित योजना बन्दैन । हिँड्दाहिँड्दै मनमा फुरेका शब्द मोबाइलमै भए नि टाइप गर्छु ।
गायक गायिकाले स्टेजमा गाएको राम्रै पारि श्रमिक लिइरहेका छन् । सर्जक ओझेल परेजस्तो लाग्दैन ?
लाग्छ । सर्जक ओझेल पर्दा दुःख लाग्छ । अचेलका गायकलाई त झन् कन्सर्टमा दर्शक उफार्ने गीत चाहिन्छ । यस्ता गीतमा साहित्यिक वजन पनि हुँदैन । गीतकारहरू यस्ता गीत मन नलागी नलागी लेख्न बाध्य छन् ।
यसको मतलब अहिलेका गीत बजारमुखी छन् ?
हो, अहिले साहित्यिक चेत भएका विम्बात्मक गीत कमै बन्छन् । गीत रचनामा पनि कुनै सेन्सर छैन । सर्जकहरू पनि सेल्फसेन्सर गर्दैनन् । गीतमा छाडापन मौलाएको प्रस्टै देखिएको छ । मौलिक पर्वका रूपमा मनाइने तीज गीतसमेत परिवारसँगै बसेर हेर्ने, सुन्ने अवस्था छैन । म्युजिक उद्योगमा एक खेमाका व्यक्तिहरू जस्तोसुकै गीत बनाउनुपर्ने पक्षमा छन् । सायद अहिलेको बजारले नै सस्तो गीत रोज्यो ।
कस्तो किसिमको गीत बन्नुपथ्र्यो त ?
सबैभन्दा पहिले त गीत लेख्न पनि अध्ययन आवश्यक छ भन्ने भुल्नु हुँदैन । बजारकेन्द्रित गीत केही समयका लागि आउँछन् जान्छन् । तर भूगोल, सामाजिक, सांस्कृतिक पक्ष बुझेर कोरिएका गीत नै पछि कालजयी हुन्छन् । गीतले तत्कालीन परिवेश बुझाउने क्षमता राख्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !