‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज घोषणा

नेपालगञ्ज : वी विल राइज फाउण्डेशनले 'मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा भिडियो प्रतियोगिता गर्ने भएको छ। बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी फाउन्डेसनले ओझेलमा परेका सांस्कृतिको प्रवर्द्धनका लागि भिडियो च्यालेन्ज गर्न लागेको जनाएको छ।
फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले प्रचारमा आउन नसकेका सांस्कृतिक, पर्यटकीय क्षेत्र, भेषभुषा, खानपान लगायतको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको जानकारी दिए।
‘निश्चित विषयवस्तुमा आधारित कुनै पनि विषयको बढीमा पाँच मिनेटको एचडी क्वालिटीको भिडियो प्रतिष्पर्धामा सहभागी हुन पाउँछ', उनले भने। प्रतिस्पर्धामा क्यामेरा तथा मोबाइलले खिचेका भिडियोलाई सहभागी गराइनेछ। एक जनाको पाँच वटासम्म भिडियो प्रतिस्पर्धामा समावेश गर्न सकिने आयोजकले जानकारी दियो।
प्रतियोगिताको प्रचारप्रसार गर्न १३ पटक सगरमाथा चढेका आरोही फुर्वा तेन्जिङ शेर्पा, अर्की सगरमाथा आरोही तथा पत्रकार रोजिता बुद्धाचार्यलगायत 'वी विल राइज फाउन्डेसन' को टोली नेपालगञ्ज आएको हो।
देशैभरीबाट संकलन भएका भिडियोमध्ये १० वटा छनोट गरी ६ वटालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। उत्कृष्ट भिडियोले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन्।
पब्लिक च्वाइसका आधारमा उत्कृष्ट हुने भिडियोलाई पनि एक लाख रुपैयाँ उपलब्ध गराउने श्रेष्ठले बताए। उत्कृष्ट स्क्रिप्ट र उत्कृष्ट सम्पादनले भने जनही २५/२५ हजारको पुरस्कार पाउने छन्।
हौसियो फोटो वाकर ग्रुप
फोटोको माध्यमबाट नेपालगञ्ज सहर चिनाउन चार वर्षदेखि ‘नेपालगञ्ज फोटो वाकर’ समूह बाँकेमा क्रियाशील छ। डिएसएलआर क्यामरा बोकेका दुई दर्जनको हाराहारीका युवा हरेक शनिबार सहरदेखि गाउँसम्म पुग्छन् र फोटो खिच्छन्। तिनै फोटोले मिडिया र सोसल मिडियामा स्थान पाउँछन्।
‘फोटोको माध्यमबाट गाउँ सहर चिनाउन मद्दत गरेको छ’, नेपालगञ्ज फोटो वाकरका संस्थापक विशाल राना मगर भन्छन्, ‘अब हाम्रो ध्यान भिडियोबाट पर्यटन प्रवर्द्धन गर्नु हुनेछ।’
वी विल राइज फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो प्रतियोगिताबारे जानकारी गराएपछि फोटो वाकर ग्रुप हौसिएको छ।
‘कसले के भिडियो बनाउने भन्नेबारे चाँडै बैठक डाकेर हामी योजना बनाएर नै काम गर्छौँ। यो हाम्रा लागि अवसर हो’, मगरले भने।
यो समूह मात्र होइन, जिल्लामा रहेर श्रव्यदृश्य माध्यममा काम गर्ने पत्रकार र भिडियोकर्मी पनि पर्यटन प्रवर्द्धनमा भिडियो बनाउन उत्साही भएका छन्।
प्रतिक्रिया दिनुहोस !
