पोखराका प्रख्यात तीन शक्तिपीठ (तस्बिर)
विन्ध्यववासिनी मन्दिर
पोखरामा रहेका प्रमुख तीन शक्तिपीठ मध्ये विन्ध्यवासिनी मन्दिर एक हो। पोखरा महानगरपालिका वडा नम्बर २ स्थित होचो डाँडा माथि विन्ध्यवासिनी मन्दिर रहेको छ। मन्दिर परिसरमा विन्ध्यवासिनी माताको साथै शिव, गणेश, सरस्वती, कृष्णका छुट्टा छुट्टै मन्दिर रहेको छन्।
मन्दिर परिसरबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखलाको साथै पोखरा बजार पनि देख्न सकिन्छ। प्राचिन यस मन्दिरमा वृद्धवृद्धा दर्शनार्थीको सहजताका लागि लिफ्टको व्यवस्था पनि गरिएको छ। व्यापारिक घरना लक्ष्मी ग्रुपले लिप्ट बनाएको हो। धार्मिक पर्यटनको प्रमुख गन्तव्यमा विन्ध्यवासिनी मन्दिर पनि पर्दछ। पोखरा आएका भारतीय पर्यटकहरु मन्दिर दर्शनका लागि ठुलो संख्यामा पुग्ने गर्दछन्। अन्य विदेशी पर्यटक पनि हिन्दु संस्कृतिको अवलोकन गर्न जाने गर्दछन्।
तालबाराही मन्दिर
ताल बाराही मन्दिर पोखराको फेवातालको बीचमा रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्थित तालको बीचमा रहेको यस मन्दिर एतिहासिक रहेको छ। मन्दिर दर्शन गर्न डुंगा चढेर जानु पर्दछ।
मन्दिर परिसरबाट फेवातालको दृश्यावलोकनको साथै अन्नपूर्ण, माछापुच्र्छे हिमाल तालमा तैरिएको सुन्दर दृश्य पनि देख्न सकिन्छ। मन्दिर परिसरबाट तालका माछा ठुलो संख्यामा देख्न सकीन्छ। भक्तजनहरुले तालका माछालाई आहारा दिएर रमाउँछन भने मन्दिर परिसरमा रहेका परेवा संग पनि रमाउने गर्दछन्।
तालको बिचमा रहेकोले तालबाराही मन्दिरमा भारतीय पर्यटकको साथै पोखरा आउने अधिकांश पर्यटक मन्दिर पुग्ने गर्दछन्। हिन्दु धर्मालम्बी पर्यटकहरुले मन्दिरको दर्शन गर्न पुग्छन भने अन्य विदेशीहरु हिन्दु संस्कृतिको अध्ययन गर्न मन्दिर पुग्दछन्।
भद्रकाली मन्दिर
भद्रकाली मन्दिर पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरमा पर्दछ। पोखरा बजार देखि उचाईको पहाडमा रहेको भद्रकाली मन्दिर जान दुई तिरबाट सिडी राखिएको छ। डाँडाको हरियाली बनको बिचमा रहेकोले यस मन्दिरको छुट्टै आकर्षण रहेको छ।
हरियाली वनको बिचमा उत्तर पूर्व र दक्षिण तर्फ बनाइएका दुबै तर्फका सिडी हुँदै मन्दिर यात्रा गर्दा चराको चिरबिर आवाजले निकै आनन्दीत बताउँछ्। कलात्मक मन्दिरमा दर्शन गर्न युवायुवती निकै पुग्ने गर्दछन्। बिहान सवेरै मनिङवाकमा पुग्ने पनि उति नै हुन्छन्। मन्दिर दर्शन गर्न भारतीय पर्यटक पनि पुग्ने गर्दछन्। पोखरामा सितला देवी, अकला देवी लगायत धेरै शक्तिपीठ रहेका छन्।
बडा दसैंमा सवै शक्तिपीठहरुमा दर्शन गर्नेको उतिकै भिड लागेको छ। बिहानै देखि युवायुवती देखि बृद्धबृद्धा सम्म मन्दिर दर्शन गर्न पुगेका थिए। आज दसैंका महानवमीको दिन सबै मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको थियो।
प्रतिक्रिया दिनुहोस !